शिक्षामन्त्री जाक्साको सम्मेलनमा
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल जापानी अन्तरीक्ष अन्वेषण संस्था (जाक्सा) ले आज जापानमा आयोजना गरेको नेपालको पहिलो भू उपग्रह नेपाली स्याट–१ ले गर्ने पृथ्वी परिक्रमाको प्रत्यक्ष ‘भिडियो कन्फरेन्स’मा सहभागी भएका छन्। शिक्षा मन्त्रीका साथमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा– प्रतिष्ठान (नाष्ट) का उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ पनि सो सम्मेलनमा सहभागी भएक नाष्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए । उनले भने, “नेपाली स्याट–१ बारे जानकारी लिन गत शनिबार उनीहरु जापान प्रस्थान गरेका थिए । सम्मेलन सकिएपछि आउँदो बुधबार उनीहरु नेपाल फर्कने भएका छन् । नेपालले पहिलोपटक प्रक्षेपण गरेको भू–उपग्रह नेपाली स्याट–१ ले पृथ्वी परिक्रमा गर्ने भएको छ । जापानस्थित क्युटेको विश्वविद्यालयले नेपालका लागि उक्त भू–उपग्रह गत वैशाख ४ गते प्रक्षेपण गरेको थियो । डेढ महिनाअघिबाट अन्तरराष्ट्रिय अन्तरीक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भू–उपग्रहले साेमबारदेखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो । नाष्टले आफ्नै कार्यालयको स्रोतागण कक्षबाट अपरान्ह साढे १२ बजेदेखि सो भू–उपग्रह प्रक्षेपणको प्रत्यक्ष प्रसारण देखाउने नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिएका छन् । उनले भने, “जापानबाट जाक्साका तीन विज्ञ भू–उपग्रहको प्रत्यक्ष प्रसारणका लागि सहयोग गर्न नेपाल आइसकेका छन् ।” साेमबार बेलुका ५ बजेसम्म नाष्टले प्रत्यक्ष प्रसारणको कार्यक्रम आयोजना गर्ने बताइएको छ । रासस
काभ्रेपलाञ्चोकको सिपाघाटमा नयाँ टेलिफोन एक्सचेन्जको उद्घाटन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जेठ ३२ गते काभ्रेपलाञ्चोक जिल्लाको सिपाघाटमा नयाँ टेलिफोन एक्सचेन्जको उद्घाटन गरेका छन् । नयाँ स्थापित एक्सचेञ्जबाट सञ्चालित टेलिफोनमार्फत मण्डन देउपुर वडा नम्बर ६ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यलाई फोन गरेर उनले सो एक्सचेञ्जको उद्घाटन गरेका हुन् । सो अवसरमा उनले ‘जहाँ जनता त्यहाँ विकास’ भन्ने नारालाई साकार पार्ने क्रममा सिपाघाटमा सञ्चार सेवा पु¥याइएको र यसबाट सस्तोमा भरपर्दो टेलिफोन तथा इन्टरनेट चलाउन पाइने बताए । उनले समृद्ध नेपालको महाअभियानमा नेपाल टेलिकम अत्याधुनिक सूचना र सञ्चार सेवाको पहुँच मुलुकभर पुर्याएर महत्वपूर्ण सहयात्री बनिरहेको पनि बताए । सोही कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका कुनाकाप्चाका वासिन्दालाई पनि सेवाको भावनाले सञ्चार प्रविधिका माध्यमबाट जोड्ने र समृद्धिको अभियानमा उनीहरुलाई पनि समेट्ने प्रयास नेपाल टेलिकमले गरिरहेको बताए । नव शहरका रुपमा विकास भइरहेको सिपाघाटमा गरिएको टेलिफोन र इन्टरनेट सेवाको विस्तार समृद्धिमा सूचना प्रविधिको माध्यमबाट सहयोग पु¥याउने प्रयासको नमूना भएको पनि उल्लेख गरे । कार्यक्रममा एक्सचेञ्च रहेको ६ नम्बर वडाका वडाध्यक्ष डिल्लीप्रसाद आचार्यले आफूहरुको माग बमोजिम नेपाल टेलिकमले एक महिनामै १ सय २८ लाइन टेलिफोन र उत्तिकै क्षमताको एडीएसएल इन्टरनेट सेवा समेत उपलब्ध हुनेगरी योजना सञ्चालन गरिदिएकोमा कम्पनीप्रति कृतज्ञता व्यक्त गरे । काभ्रेको सदरमुकाम धुलिखेलबाट करिव २७ किलोमिटर उत्तरमा इन्द्रावती नदीको किनारमा रहेको सो वस्तीमा टेलिफोन र इन्टरनेट सेवाको पहुँच पुगेपछि विकासमा फड्को मारिएको महशुस गरेको स्थानीय वासिन्दा बिदुर बानियाँले बताए । वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोद कुमार परमारले एक्सचेञ्जको तत्कालको क्षमता १ सय २८ लाइनको भए तापनि आवश्यकता बमोजिम क्षमता अभिवृद्धि गर्न सकिने बताए । सो अवसरमा काठमाडौ क्षेत्रीय निर्देशनालयका निमित्त निर्देशक राजेश उप्रेतीले कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा कम्पनीका उच्च पदस्थ कर्मचारीहरुका साथै स्थानीय जनसमुदायको बाक्लो सहभागिता रहेको थियो ।
एनसेलले ल्यायो आकर्षक योजना, फोरजीमा अब डबल डेटा
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समयसिमा भएको गज्जबको डेटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डेटा भोलुम प्राप्त गर्न सक्नेछन् । बिहीबारदेखि लागु भएको उक्त अफरले देशको १,००० भन्दा बढी स्थानमा फोरजी सेवा विस्तार भएको घोषणा गरेको छ । दुई साता भित्रै एनसेलले अझ सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटि सुनिश्चित गर्दै फोरजी डेटा बोनसको योजना ल्याएको हो । यो योजना अन्तर्गत सात दिन समयसिमा भएको ५०० एमबी डेटा र तीस दिन समयसिमा भएको ३ जिबी डेटाको खरिदमा ग्राहकले त्यत्तिनै भोलुम बराबरको फोरजी डेटा बोनस स्वरुप पाउनेछन् । जस्तै यदि ग्राहकले तीस दिन समयसिमा भएको ३ जिबी डेटा कर सहित रु ४५३.३० मा खरिद गरेमा बोनस स्वरुप थप ३ जिबी फोरजी डेटा पाउनेछन् भने ३ जिबी डेटाकै शुल्कमा ६ जिबी डेटाको मजा लिन सक्नेछन् । त्यसैगरी, एनसेलका ग्राहकले सात दिन समयसिमा भएको ५०० एमबी प्याकको खरिदमा ५०० एमबीनै फोरजी डेटा बोनस बापत प्राप्त गर्न सक्नेछन् भने ५०० एमबी प्याक कर सहित रु ९५ं.७७ मा सुचारु गरीे ५०० एमबी डेटाको शुल्कमा १००० एमबी डेटाको फाइदा लिन सक्नेछन् । योजना अन्तर्गत बोनसको लाभ लिनका लागि ग्राहकसँग फोरजी सपोर्ट गर्ने ह्याण्डसेट, यु सिम र फोरजी नेटवर्कमा पहँुच हुनुपर्छ । सात दिन वा तीस दिन समयसिमा भएको डेटा भोलुम टुजी, थ्रिजी वा फोरजी कुनै पनि नेटवर्कमा चलाउन सकिनेछ भने बोनस डेटा फोरजी नेटवर्कमा मात्र चलाउन सकिनेछ । देशका १,००० भन्दा बढी स्थानहरुमा विस्तार गरिसकेको उक्त योजनामा एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको सात दिन वा तीस दिनको गज्जबको डेटा प्याक एसएमएसबाट सुचारु गर्न सक्नेछन् । सात दिनको प्याक सुचारु गर्न ७५ टाइप गरी १७१२३ मा एसएमएस पठाउने र तीस दिनको प्याक सुचारु गर्न ३५५ टाइप गरी १७१२३ मा एसएमएस पठाउन सक्नेछन् । यसरी, ग्राहकहरुलाई नेपालकै सबै भन्दा ठूलो फोरजी नेटवर्कको पहँुचबाट लाभ प्रदान गर्न यो बोनस योजना ल्याएको एनसेलले जनाएको छ । एनसेलको फोरजी नेटवर्कले सरकारको डिजिटल नेपाल फ्रेमवर्क र ब्रोडव्याण्ड पुर्वाधार तथा उच्चगतिको इन्टरनेट सेवामा पहुँच वृद्धि गर्न केन्द्रित राष्ट्रिय ब्रोडव्याण्ड नीतिको कार्यान्वयनमा योगदान गर्नेछ ।