३ महिनामा फेसबुकको नाफा ३ अर्ब डलर, सेवा सुधार्न ३ हजार कर्मचारी थप्ने घोषणा

क्यालिफोर्निया- फेसबुकभित्रको संसार फराकिलो हुँदै गएको छ। मार्क जुकेरबर्गको फेसबुकले फिचरहरु बढाइरहँदा यसका प्रयोगकर्ता पनि थपिने क्रम बढेको हो। पछिल्लो तथ्याङ्कले फेसबुक प्रयोगकर्ता २ अर्ब नजिक पुगेको देखाएको छ। फेसबुकले भनेको छ , ‘प्रत्येक महिना सक्रिय फेसबुक प्रयोग गर्नेहरुको संख्या बढेर १ अर्ब ९४ करोड पुगेको छ।’ यी मध्ये १ अर्ब ३० करोड व्यक्ति प्रत्येक दिन फेसबुकमा आउने गरेको उसको दाबी छ। सन् २०१७ को पहिलो ३ महिनामा फेसबुकको नाफा बढेर ३ अर्ब डलर पुगेको छ। यो गत वर्षकोभन्दा ७६ प्रतिशत वृद्धि हो। फेसबुकले विज्ञापनबाट हुने आम्दानी घट्ने प्रक्षेपण गरेको छ। फेसबुक पछिल्लो समय सामाजिक अपराधका कारण विवादित बनिरहँदा उसले विज्ञापनबाट गर्दै आएको कमाइ घट्ने अनुमान गरेको हो। बुधबार फेसबुक संस्थापक एवं सिइओ मार्क जुकेरबर्गले आपत्तिजनक एवं हिंसाका सामग्री रोक्न कडाइ गर्ने घोषणा गरे। उनले कन्टेन्ट मोडरेट गर्न ३ हजार कर्मचारी भर्ना गर्ने जानकारी दिए।

भूकम्प अति प्रभावित पाँच जिल्लाका जनतालाई दुई बर्षसम्म निःशुल्क इन्टरनेट

काठमाडौं । भूकम्पबाट अति प्रभावित जिल्लामध्ये काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा द्रुतगतिको इन्टरनेट सेवा पुग्ने भएको छ । उपभोक्ताहरुलाई यो सेवा दुई वर्षसम्म निःशुल्क उपलब्ध हुनेछ । नेपाल टेलिकमले ग्रामिण दुर सञ्चार कोषको २१ करोड १६ लाख रकम खर्चेर यस्तो सेवा विस्तार गर्न लागेको हो । सो सम्बन्धी नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र प्राधिकरणका अध्यक्ष दिगम्बर झाले हस्ताक्षर गरेका हुन् । प्राधिकरणका अध्यक्ष झाले ग्रामीण दूरसञ्चार विकास कोषको रकम पनि सदुपयोग होस् र भूकम्प प्रभावित जिल्लाहरुमा दु्रत गतिको इन्टरनेट सेवा पनि पुगोस् भन्ने उद्देश्यले नेपाल टेलिकमसँग सम्झौता गरेको बताए । टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनीलाई विश्वास गरेर दोश्रो आयोजना कार्यान्वयन गर्न दिएकोमा धन्यवाद दिदै उच्च प्राथमिकता दिएर समयमै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आयोजना सञ्चालन गरिने जिल्लाहरुमा विस्तृत अध्ययन भईसकेको र ती स्थानहरुमा जिएसएम, सिडिएमए, एडिएसएल र वाइम्याक्समध्ये उपयुक्त विकल्पको प्रबिधी जडान गर्ने बताईन् । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका सरकारी एवं सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्र, आर्युवेद केन्द्र, वडा कार्यालय, गाउँपालिका र नगरपालिहरुमा दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउनेछ । साथै सो सेवाको सञ्चालन तथा मर्मत कार्यमा पनि कम्पनीले भूमिका निर्वाह गर्नेछ । भूकम्पले अति प्रभावित चार जिल्लामध्ये काभ्रेपलाञ्चोकका गाउँपालिका तथा नगरपालिकाका ८० स्थानमा, ११८ वटा सरकारी तथा सामुदायिक विद्यालयमा र ६९ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्रमा सेवा उपलब्ध गराउने छ । त्यस्तै सिन्धुपाल्चोकका गाउँपालिका तथा नगरपालिकाका ७० स्थानमा, ८२ वटा सरकारी तथा ससामुदायिक विद्यालय र ६१ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्रमा, नुवाकोटका गाउँपालिका तथा नगरपालिकाका ६२ स्थानमा, ९५ वटा सरकारी तथा सामुदायिक विद्यालय र ६१ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्रमा र रसुवाका गाउँपालिका तथा नगरपालिकाका १८ स्थानमा, १६ वटा सरकारी तथा सामुदायिक विद्यालय र १५ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्र गरी जम्मा ७४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराउने छ ।

क्यान महासंघले रजत जयन्ती मनायो, समृद्धिमा सवैभन्दा बढी योगदान सूचना र प्रविधिको रहने

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने हाम्रो उद्धेश्य अनुरुप क्यान महासंघको रजत जयन्ती र राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०१७ को अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसलाई सार्थक र व्यवहारिक बनाउने क्रममा राजधानीमा चेतनामूलक प्रभातफेरी कार्यक्रम तथा अन्य कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रम क्यान महासंघको २५ भन्दा जिल्ला शाखाहरुमा ५० भन्दा बढी कार्यक्रमहरु एकै दिन सम्पन्न गरिएको छ । सूचना प्रविधि विभाग, नेपाल सरकार, क्यान महासंघ लगायतका विभिन्न संघसस्थाहरुको समन्वयमा आयोजित प्रभातफेरी कार्यक्रम भृकुटीमण्डपबाट सुरु भएर शहिदगेट, एनएसी, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुगेर समापन गरिएको छ । कार्यक्रममा सूचना तथा संचार प्रविधि क्षेत्रमा कार्यरत विभिन्न संघसंस्था, शिक्षण संस्था र सूचना प्रविधिसँग सम्वन्धी व्यक्तिहरुको सहभागिता थियो । त्यस्तै क्यान महासंघ र सूचना प्रविधि विभागको आयोजनामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०१७ वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्धघाटन  गर्दै माननीय विज्ञान तथा प्रविधि मन्त्री प्रेम बहादुर सिंहले सूचना प्रविधिको पंहुच पुगेका र नपुगेका नागरिकहरु बीचको दुरी घटाउनुपर्ने धारणा राखे । उनले अब स्मार्ट सिटीको निर्माणमा जोड दिनुपर्ने उनले बताए । क्यान महासंघका अध्यक्ष ई. विनोद ढकालले मे २ लाई सरकारले राष्ट्रियताको मान्यता दिनुपर्ने वताए । सबैभन्दा प्राथमिकतामा राख्नु पर्ने प्रविधि क्षेत्र न्यून प्राथमिकतामा परेको भन्दै अध्यक्ष ढकालले सरकारले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने हो भने मुलुकको समृद्धिमा सवैभन्दा बढी योगदान पुग्ने बताए । कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक विरेन्द्रकुमार मिश्र, नेपाल चेम्वर अफ कमर्सका प्रथम उपाध्यक्ष, ज्ञानेन्द्र रत्न तुलाधरज्यू लगायत क्यान महासंघका पूर्व अध्यक्षज्यूहरु सहभागि थिए । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार २०१७ वितर राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रविधि क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरुलाई राष्ट्रिय पुरस्कारले सम्मान गरिएको छ । कार्यक्रममा बेस्ट आईसीटी युजर ईन पब्लिक सेक्टर अवार्ड २०१७ सर्वोच्च अदालत नेपाललाई प्रदान गरिएको छ । त्यस्तै बेस्ट आईसीटी युजर ईन प्राईभेट सेक्टर अवार्ड २०१७ इन्फो डेभलपर्स प्रा लि लाई प्रदान गरिएको छ भने नेशनल आईसीटी एक्सिलेन्स अवार्ड २०१७ मनोहर कुमार भट्टराईलाई प्रदान गरिएको छ । भट्टराईलाई अवार्ड र ५१ हजार राशि समेत प्रदान गरिएको छ । नेपालमा सूचना तथा प्रविधिको विकास र विस्तारमा उहाँहरुले पु¥याउनु भएको योगदानको कदर गर्दै आगामी दिनहरुमा थप प्रोत्साहनका लागि यो अवार्ड वितरण गरेका हो ।