अन्तर्राष्ट्रिय गन्तव्यमा उडान बढाउँदै निगम

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गर्ने भएको छ । निगमले भारतको नयाँ दिल्लीमा तीन र दुबई गन्तव्यमा एक उडान बढाउन लागेको जनाएको हो । अन्तर्राष्ट्रिय गन्तव्यमा उडान बढाउँदै लैजाने प्रयासअनुरुप दुई गन्तव्यमा उडान वृद्धि गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनका अनुसार निगमका जहाजको उपयोगिता बढाउन तथा उपलब्ध पाइलटबाट बढीभन्दा बढी उडान गर्ने योजनाअनुरुप हाललाई दिल्ली र दुबई उडान थप गरिएको छ । ती गन्तव्यमा उडान थपका लागि विमानस्थलबाट ‘स्लट’ पनि प्राप्त भइसकेको छ । निगमले ‘वाइडबडी’ जहाज र ‘न्यारोबडी’ जहाजमार्फत काठमाडौँ–दिल्ली गन्तव्यमा समान सात उडान गर्नेछ । यसअघि दिल्ली गन्तव्यमा हरेक साता ११ उडान भइरहेकामा हाल १४ पुर्याएको छ । यो गन्तव्यमा साताको २१ उडान भर्ने निगमको योजना छ । यस्तै दुबईमा हरेक साता तीन उडान गरिँदै आएकामा एक उडान थप गरी चार उडान पुर्याइएको छ । निगमले आन्तरिक उडानमा पूर्ण क्षमताका साथ जहाज उडाउनका लागि विमान चालकको तालिम सञ्चालन गर्न संस्थागत कार्य अघि बढाइएको जनाएको छ । वाइ–१२ जहाज उडान गर्न दुई जना वरिष्ठ पाइलटको असार मसान्तभित्रै तालिम सम्पन्न गरी जहाज सञ्चालन गर्नेतर्फ निगम सक्रिय रहेको विज्ञप्तिमार्फत जनाएको छ । निगमको ट्विनअटर जहाज सञ्चालन गर्ने आवश्यक जनशक्ति व्यवस्था गर्दै जाने योजनाअनुरुप हाल एक जना वरिष्ठ क्याप्टेन नियुक्त गरी तालिम गरिरहेको, साथै दुई वर्षदेखि रोकिएको को–पाइलटको तालिम सञ्चालन गराई एक जनाको तालिम सम्पन्न गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स प्राप्तिको प्रक्रियामा रहेको जनाएको छ । आगामी साउन मसान्तभित्र सम्पन्न गर्ने गरी बाँकी तीन जनाको पनि तालिम सञ्चालन भइरहेको छ । अन्तर्राष्ट्रिय कम्पनी विसिटीले गरिरहेको विमान मर्मतसम्भार कार्य जुलाई महिनादेखि निगमका इञ्जिनीयरबाट गर्ने प्रक्रिया अगाडि बढाइएको छ । यसबाट निगमको मासिक रु ६० लाख बचत हुने निगमले जनाएको छ । निगमले गत जेठ महिनामा कन्टिन्युइङ एयरवर्डिनेश म्यानेजमेन्ट विभागले (आइएसओ ९००१ः२०१५०) को सफल अडिट गराई प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ । भूमिस्त व्यवस्थापन (ग्राउण्ड ह्याण्डलिङ) तर्फ आयटाले गरेको परीक्षण (आइसागो) नवीकरण गरी प्रमाणपत्र प्राप्त गरेकाले यसबाट अन्तर्राष्ट्रियस्तरको उडान सुरक्षाको सुनिश्चितता हुने निगमले दाबी गरेको छ । निगमले दुई वाइडबडी, दुई न्यारो बडी र एक बोइङमार्फत विभिन्न मुलुकका आठ गन्तव्यमा उडान भर्दै आएको छ । रासस

स्मार्ट लाइसेन्स पुनः छपाइ गर्दा कार्यालयकाे गल्तीमा सेवाग्राहीले जरिवाना तिर्न नपर्ने

काठमाडौं । चालक अनुमतित्रपत्र छपाईमा कार्यालयकै गल्तीका कारण पुनः छपाइ गर्दासमेत सेवाग्राहीले जरिवाना तिर्दै आएकामा सो जरिवाना हटाउने तयारी भएको छ । नयाँ चालक अनुमतिपत्र वा नवीकरण गर्दा ‘स्मार्ट’ चालक अनुमतिपत्रमा फोटो वा विवरण स्पष्ट नहुँदा दिइएको प्रतिलिपिका लागि पनि चालक रकम तिर्न बाध्य थिए, यसैगरी सेवाग्राहीको गल्ती नभए पनि विगतमा पुनःछपाइ गर्दा उनीहरुसँग रकम लिने गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले बताए । उनले भने, “चालक आफ्नै कारण प्रतिलिपि लिँदाजस्तै गरेर हाम्रै कारणले प्रतिलिपि दिँदा दस्तुर लिनुहुँदैन भनेर हटाएका छौँ ।”प्रवक्ता खनालका अनुसार विभागले छपाइ चाँडो गर्न भन्दै गतवर्ष निजी कम्पनीलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्ने जिम्मेवारी दिएको थियो । उक्त कम्पनीले रङ्गिन छपाइ गर्दा कतिपयमा सेवाग्राहीको फोटो त कतिमा नाम, ठेगाना, रक्त समूहलगायत विवरण स्प्रष्ट बुझिने थिएन । अहिले विभाग आफैँले छापिरहेकाले यी समस्या नरहेको जानकारी दिँदै उनले भने, “हामीले उक्त परिचयपत्र श्यामस्वेत नै छापिरहेकाले नबुझने समस्या छैन ।” निजी कम्पनीले चालक अनुमतिपत्र छपाइ गर्दा झण्डै १३ हजार कार्डमा समस्या भएको थियो । तीमध्ये कतिपयले प्रतिलिपि लिइसकेका छन् भने कतिपयले लिन बाँकी छ । कार्यालयले अहिले ‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै नौ लाख ५४ हजार कार्ड छाप्न बाँकी छ । दैनिक झण्डै तीन हजारले चालक अनुमतिपत्रका लागि आवेदन दिइरहेका छन् । रासस

नेपाल टेलिकमद्धारा धनकुटामा द्रुत गतिको इन्टरनेट सेवा विस्तार

काठमाडौ । नेपाल टेलिकमले धनकुटामा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र दु्रत गतिको ईन्टरनेट प्रयोगमा ल्याउन मिल्ने (एफटीटीएच) सेवाको बिस्तार गरेको छ । उक्त सेवाको बिस्तार कम्पनीले गत शुक्रबार गरेको हो । सोही कार्यक्रमको उद्घाटनमा बोल्दै प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले भने–‘२०७६ साल भित्रमा प्रदेश नम्बर १ लाई डिजिटल प्रदेश बनाउने छौँ र सो कार्यमा नेपाल टेलीकमले सहयोगी भुमिका खेल्ने छ ।’ उनले प्रदेश नम्बर १ को सबै स्थानिय निकाय र शहरहरुमा डिजीटल सेवाको बिस्तार गर्ने लक्ष्य रहेको बताए । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई काठमाडौमा फोन गर्दै सो सेवाको उद्घाटन गरेका थिए । सेवा उद्घाटनकै अवसरमा नेपाल टेलिकमले पुरानो र खर्चालु तामाको तारबाट टेलिफोन र ईन्टरनेट उपलब्ध गराउने प्रविधिलाई विस्थापित गर्दै फाईबर मार्फत गुणस्तरीय सेवा दिन लागेको बताए । नेपाल टेलिकमका पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक रामप्रसाद उपाध्यायको सभापतित्वमा भएको उक्त कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी सीताराम कार्की र धनकुटा नगरपालिका वटा नम्बर ७ का वडाध्यक्ष जंगबहादुर राईले नेपाल टेलीकमलाई धन्यवाद ज्ञापन गरेका थिए । हाल धनकुटामा जडान गरिएका फाइबर मार्फत ७ सय ५२ लाईन एफटीटीएच सेवा वितरण हुनेछ । कम्पनीले व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराईरहेको छ । प्याकेजमा न्यूनतम मूल्य निर्धारण गरी एक बर्षकालागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ । नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर र एक सय मिटर फाईबर निःशुल्क प्राप्त हुनेछ । साथै, नयाँ लाईन जडानकर्ताहरुले ३ महिनासम्म निःशुल्क कुरा गर्न सक्नेछन् । एफटीटीएच सेवा आर्एपीमा आधारित रहेको नेपाल टेलिकमका सह–प्रवक्ता कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।