नेपाल टेलिकमको मोवाइल सेवा: ‘ताप्लेजुङदेखि मुस्ताङसम्म पुग्यो टेलिकमको नेटवर्क’
काठमाडौँ । नेपाल टेलिकमले रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दूर्गम र विकट भेगहरुमा मोवाइल सेवा बिस्तार गरेको छ । हालसम्म मोबाइल तथा टेलिफोन जस्ता सञ्चार सेवाबाट वञ्चित भौगोलिक रुपले अति विकट यी स्थानहरुमा हालै कम्पनीले सञ्चार सेवा पु¥याउन सफल भएको जनाएको छ । कम्पनीले ४ हजार २९० मिटर उचाईमा अवस्थित रसुवाको पाङसाङ डाँडामा बीटीएस राखेर सेवा प्रदान गरेको छ । यसबाट लाङटाङ ट्रेकिङ रुट, गोसाइकुन्ड ट्रेकिङ रुटको केही भाग, ठूलो स्याफ्रु, भिम्सा, सिंगवा, नागथली, ग्यात्लाङ, शेर्पा गाउँ, लामा होटल, घोडा तबेला, मुन्टु, सिङडुङ, खाङजिम आदि स्थानमा मोवाइल सेवा उपलब्ध हुनेछ । सो क्षेत्रका ५ सय घरधुरीका करिब २ हजार जनसंख्यालाई सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । रसुवाकै ३ हजार २४२ मिटर उचाईमा अवस्थित लाङटाङ पदमार्गमा पनि अर्को बीटीएस टावर स्थापना गरिएको छ । यसबाट लाङटाङ उपत्यकाका २ सय घरधुरीका करिब ७ सय जनसंख्याले सञ्चार सेवा उपभोग गर्न पाउने छन् । यता, ताप्लेजुङको विकट स्थान घुन्सामा पनि सेवा उपलब्ध गराइएको छ । ३ हजार ८२५ मिटर उचाईमा अवस्थित टावरमार्फत घुन्सा, थामे, ज्याल्पा र कन्चनजंघा बेसक्याम्प आदि स्थानमा सेवा उपलब्ध हुनेछ । यसबाट ८० घरधुरीका करिब ३ सय जनसंख्या लाभान्वित हुने नेपाल टेलिकमले जनाएको छ । यसैगरी डोल्पाको मुकोट र शे फोक्सुन्डोमा पनि हालै बीटीएस सञ्चालनमा आएका छन् । ३ हजार ३१६ मिटर उचाईको मुकोटमा अवस्थित टावरमार्फत छार्का तान्सुङ गाउँपालिकाका दुई वडा र काइके गाउँपालिकाका दुई वडा तान्छिन र खानीगाउँमा सेवा उपलब्ध हुनेछ । त्यसैगरी ३ हजार ७०४ मिटरको से फोक्सोन्डुमा अवस्थित टावरमार्फत से फोक्सुन्डोका दुई वडा र्याती र पुग्मा तथा रिग्मो, रिखे, ताप्रिजा र फोक्सुन्डो तालसम्म सेवा प्रयोग गर्न सकिने छ । दुवै टावरमार्फत करिब २ हजार सेवाग्राहीले सेवा पाउने कम्पनीद्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ । कम्पनीले हालै मुस्ताङको घमी र छोसेरमा समेत सेवा उपलब्ध गराएको छ । घमी ३ हजार ८ सय मिटर र छोसेर ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित छन् । यसबाट याराघारा, घमी, ढाकमर, गर्थु, न्याम्दो, चुङजुङ र कोरला जाने रुटसम्म सेवा उपलब्ध हुनेछ । त्यसैगरी उपल्लो मुस्ताङको छुसाङमा पनि थ्रीजी मोबाइल सेवाको शुरुवात भएको छ । यहाँस्थित बीटीएसले त्यहाँका छुसाङ, जेताङ र चैले गाउँका वासिन्दालाई मोबाइल र इन्टरनेट सुविधा उपलब्ध गराउने छ । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने कम्पनीको नीति रहेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जनाएकी छन् ।
मुस्ताङको छोसेरमा टेलिकमको टावर, पहिलो पटक फोन र नेट चलाउन पाउने
काठमाडौँ । नेपाल टेलिकमले हिमाल पारीको जिल्ला भनिने मुस्ताङको पनि अति विकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेर भन्ने स्थानमा सोमबारदेखि जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याएको छ । मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट र अन्य स्थानीय जनप्रतिनिधिहरुका साथै नेपाल टेलिकमका कर्मचारीहरुको समेत उपस्थितिमा सो साइट सञ्चालनमा ल्याइएको हो । दुर्गम तथा विकट हुनुका साथै चीनको सीमानासम्म जोडिएका ती गाउँमा जीएसएम मोबाइल टावर स्थापनाको कार्य निकै कठिनाईका बाबजुद सफलतापूर्वक सम्पन्न गरी जीएसएम मोबाइलको पहुँच पुर्याएको जनाइएको छ । यसअघि सो स्थानमा कुनै पनि मोबाइल सेवाको पहुँच थिएन । अब उक्त भेगमा समेत टुजी तथा थ्रीजी मोबाइल सेवा सञ्चालनमा आएका छन् । उक्त मोबाइल सेवा सञ्चालन पश्चात समुद्र सतहदेखि करिब ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित सो क्षेत्रका ४ गाउँ गर्थु, न्याम्दो, चुङजुङ र कोरलाका १ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुने कम्पनीले जनाएको छ । अब सो क्षेत्रका वासिन्दाले जीएसएम मोबाइलबाट डाटा चलाउन र फोन गर्न सक्नेछन् । त्यसैगरी भ्रमणका लागि गएका आन्तरिक तथा बाह्य पर्यटकहरु समेत लाभान्वित हुनेछन् ।
टेलिकमले ल्यायो ‘रिपब्लिक डे अफर’, ५० रुपैयाँमा ४ सय एमबी डाटा र ३० मिनेट भ्वाइस कल
काठमाडौँ । नेपाल टेलिकमले गणतन्त्र दिवस २०७६ को अवसरमा मंगलबारदेखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराउने भएको छ । यो अफर ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । सो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने छ । यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । सो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।