हुवावे मोबाइलमा गुगलको प्राविधिक सहायता बन्द, प्लेस्टोर र जिमेल नचल्ने

काठमाडौँ । गुगलले चिनियाँ मोबाइल कम्पनी हुवावेसँगको व्यापार सीमित पार्दै उसका मोबाइल सेवाहरूबाट वञ्चित गरिदिएको बताएको छ । यसको अर्थ ह्वावेईले अब गुगलको प्राविधिक सहायता पाउने छैन र उसका नयाँ स्मार्टफोनहरूले लोकप्रिय गुगल एप तथा सेवामा पहुँच पाउने छैनन् । गुगलका एक प्रवक्ताले अमेरिकी सरकारको पछिल्लो निर्णय स्वीकार गर्ने क्रममा गुगल रहेको बताए । रोयटर्स समाचार संस्थाका अनुसार नयाँ हुवावे स्मार्टफोनहरू गुगलका केही सेवाबाट वञ्चित हुनेछन् । उक्त समाचार संस्थाका अनुसार हुवावेका नयाँ स्मार्टफोनहरूले गुगलको एप स्टोर तथा उसको जिमेल जस्ता सेवामा अब पहुँच पाउने छैनन् । हुवावेले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । रोयटर्सले नाम नखुलाइएको सूत्रलाई उद्धृत गर्दै कस्ता कस्ता सेवाबाट हुवावेलाई वञ्चित गराइने भन्ने बारे गुगल अझै छलफलरत छ । तर, हुवावेले अझैपनि ओपन सोर्स लाइसेन्समार्फत उपलब्ध एन्ड्रोइड अपरेटिङ सिस्टम भने प्रयोग गर्न सक्नेछ । ठूलो प्रभाव बुधवार ट्रम्प प्रशासनले ह्वावेईलाई कालो सूचीमा राख्ने निर्णय गर्दै अनुमति विना उसलाई कुनै प्रविधि बेच्न अमेरिकी कम्पनीहरूमाथि रोक लगाएको थियो । ‘गुगलको तर्फबाट प्रस्ट वक्तव्य नआएसम्म के कस्ता प्रभाव पर्नेछन् भनेर विस्तृत बताउन गाह्रो छ,’ सीसीएस इनसाइट कन्सल्टेन्सीका बेन वुडले बताए । ‘तर यदि रोयटर्सको विवरण साँचो हो भने ह्वावेईको उपभोक्ता व्यापारमा त्यसको ठूलै असर हुनेछ,’ उनले भने। विश्वभर कैयौँ सरकारहरूले सुरक्षा चिन्ता दर्साउँदै नौलो फाइभजी मोबाइल सञ्जाल विकासमा हुवावेका उपकरण प्रयोग गर्न रोक लगाएका छन् । हालसम्म ब्रिटेनले हुवावेलाई औपचारिक प्रतिबन्ध लगाइसकेको छैन । ‘हुवावेले उसको आफ्नै एप ग्यालरी तथा अन्य सफ्टवेअर विकास गर्न परिश्रम गरिरहेको छ। आफ्नो भाग्य आफैँ निर्धारण गर्न उसले यी सब चीज गरिरहेको मान्न कठिन छैन,’ वुडले भने। ह्वावेईलाई अल्पकालीन क्षति ? बीबीसीका प्रविधि सम्पादक लियो केलियोन भन्छन् अल्पकालका निम्ति हुवावेलाई गुगलको निर्णयले क्षति पुग्नेछ । उनी भन्छन्– गुगलको प्लेस्टोरमा पहुँच नभएको स्मार्टफोन किन्न उपभोक्ताहरू हिच्किचाउने छन् । तर दीर्घकालमा भने स्मार्टफोन विक्रेताहरूलाई गुगलको अपरेटिङ सिस्टमको भरपर्दो विकल्प निर्माण गर्नेतर्फ गम्भीरतापूर्वक सोच्न यसले बाध्य बनाउन सक्छ । ह्वावेईको हकमा उसले अमेरिकी प्रविधिबाट आफू वञ्चित हुन सक्ने स्थितिको आकलन गरिसकेको जस्तो देखिन्छ । उसका स्मार्टफोन आफ्नै स्वामित्व भएका प्रोसेसरबाट सञ्चालित हुँदैछन् तथा गत वर्ष सो कम्पनीका एक वरिष्ठ अधिकारीले छुट्टै अपरेटिङ सिस्टम बनाएको बताएका थिए । तर, जे होस् यो निर्णयले ह्वावेईको सामसुङलाई जितेर सन् २०२० मा नम्बर एक मोबाइल कम्पनी बन्ने लक्ष्यमा भने धक्का पुग्नेछ। अमेरिकी नीतिको असर अमेरिकी वाणिज्य मन्त्रालयले ह्वावेईले चिनियाँ सरकारको निम्ति अमेरिकी सञ्जालमाथि जासुसी गर्न सक्ने चिन्ताकामाझ उसलाई कालो सूचीमा राखेको केही दिनपश्चात् गुगलको यस्तो निर्णय आएको छ । नयाँ नियम अनुसार अमेरिकी कम्पनीहरूले हुवावेलाई प्रविधि हस्तान्तरण वा विक्री गर्न अब अनुमति लिनुपर्नेछ । चिनियाँ कम्पनीले ट्रम्प प्रशासनको चिन्तालाई निराधार भन्दै आफू बेइजिङ सरकारबाट स्वतन्त्र रहेको बताउँदै आएको छ। (बीबीसीबाट)

आजबाट अप्टिकल फाइबर बिछ्याइँदै, धादिङ, सिन्धुली र धनकुटाबाट एकसाथ शुरु

काठमाडौँ । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ । सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ः०० बजे गर्दै हुनुहुन्छ । त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि सोमबार नै फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात हुनेछ । टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिछ्याउनेछ । यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पुर्याउनेछ । सरकारले देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्याउँदै डिजिटल नेपालको आधार तयार गर्ने लक्ष्यका साथ हरेक जिल्लासम्म अप्किटल बिछ्याउने परियोजना अघि सारेको थियो । सरकारको उक्त परियोजना अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष अन्तर्गत करिब नौ अर्ब रुपियाँ लगानीमा अप्टिकल फाइबर बिछ्याउने योजना बनाएको थियो । सोही योजना अनुसार प्रदेश १, २ र ३ मा फाइबर बिछ्याउन प्राधिकरणले टेलिकमलाई चार अर्ब ८८ करोड रुपियाँमा जिम्मा दिएको थियो । यस विषयमा २०७३ असोज १२ गते प्राधिकरण र टेलिकमबीच सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार उपकरण उपलब्ध गराउने विषय टुङ्गो लागेपछि दुई वकर्षभित्र फाइबर बिछ्याउनुपर्ने प्रावधान छ । बाँकी गण्डकी प्रदेश र प्रदेश ५ मा यूटीएल तथा कर्णाली र सुदूर पश्चिमा स्मार्ट टेलिकमले फाइबर बिछ्याउने जिम्मा पाएका छन् । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार फाइबर बिछ्याउन आवश्यक उपकरणका लागि सबै सम्झौता पूरा भइसकेकाले सोमबार यसको औपचारिक सुरुवात गर्न लागिएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

एनसेलले ल्यायो ‘ट्राभलर्स सिम’, यस्ता छन् सुबिधा, कति लाग्छ शुल्क ?

काठमाडौँ । विश्वका विभिन्न कुनाबाट बिदा मनाउन वा व्यवसायिक कामको लागि नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’ मार्फत आकर्षक भ्वाइस तथा डेटा बण्डलिङ्ग सेवाको फाइदा लिन सक्ने भएका छन् । एनसेल प्रालिले मंगलबारदेखि लागु हुने गरी ‘ट्राभलर्स सिम’ योजना ल्याएको हो । यस अन्तर्गत, नेपाल भ्रमणमा आउने विदेशी पाहुनाले मात्र रु ११० (कर सहित) मा सजिलै ट्राभलर्स सिमको स्टार्टर प्याक खरिद गर्न सक्नेछन् । यसका साथै पर्यटकले आफ्नो आवश्यकता तथा नेपालमा रहने अवधि अनुसार विभिन्न भोल्युमका कम्बो प्याकहरुबाट फाइदा लिन सक्नेछन् । स्टार्टर प्याकको खरिदमा पर्यटकले ट्राभलर्स सिम सहित रु ३० को मेन ब्यालेन्स र तीन दिनको लागि मान्य हुने ३०० एमबी डेटा प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने मेन ब्यालेन्स एनसेल नेटर्वक भित्र कुरा गर्न प्रयोग गर्न सकिनेछ । ‘ट्राभलर्स सिम’ अन्तर्गत स्टार्टर प्याक सुचारु भएपछि पर्यटकहरुले आफ्नो आवश्यकता अनुसार रु ४९० देखि रु १,९६० सम्मका विभिन्न समयसिमा रहेका भ्वाइस तथा डेटा बण्डलिङ्ग गरिएको कम्बो प्याकहरु खरिद गर्न सक्नेछन् । यो योजनामा अन्तर्गत कम्बो प्याकमा लाइट, मिडियम, हेभि र सुपर गरी चार वटा विकल्पहरु रहेका छन् । पर्यटकले ७ जिबी डेटा र २० मिनेट अन नेट टक टाइम रहेको लाइट प्याक कर सहित मात्र रु ४९० मा सुचारु गर्न सक्नेछन् । यो प्याक सुचारु गरेको दिन देखि ७ दिन सम्म मान्य रहनेछ । अलि लामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले मिडियम तथा हेभि प्याक लिन सक्नेछन् । मिडियम प्याक अन्तर्गत ग्राहकले कर सहित रु ९८० मा १४ जिबी डेटा तथा ३० मिनेट अन नेट टक टाइम प्राप्त गर्नेछन् र यो १४ दिनको लागि मान्य रहनेछ । त्यस्तै हेभि प्याक अन्तर्गत कर सहित रु १,४७० मा २१ जिबी डेटा र ४० मिनेट अन नेट टक टाइम पाइने छ । यो २१ दिनको लागि मान्य रहनेछ । नेपाल भ्रमणमा रहेको बेला भ्वाइस तथा डेटा भोलुम बढी चाहिने ग्राहकले कर सहित मात्र रु १,९६० मा सुपर प्याक सुचारु गर्न सक्नेछन् । यो प्याक अन्तर्गत ग्राहकले २८ दिन समयसिमा रहेको २८ जिबी डेटा र ५० मिनेट अन नेट टक टाइम पाउनेछन् । ‘ट्राभलर्स सिम’ योजनाको कम्बो प्याक ग्राहकले एस्ट्रिक्स१७१०५ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सक्नेछन् । विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागि भ्वाइस र डेटा सेवा बण्डल गरी ‘ट्राभलर्स सिम’ योजना संचालनमा ल्याउन पाएकोमा कम्पनि हर्षित रहेको एनसेलले जनाएको छ । यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाहरुको सञ्चार सेवाको आवश्यकतालाई सहज रुपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास एनसेलले लिएको छ । शुरुमा यो सिम एनसेलको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरुमा उपलब्ध हुनेछ र पछि बिस्तारै एनसेलका सबै प्वाइन्ट अफ सेल्सहरुबाट पनि लिन सकिने कम्पनीले जनाएको छ ।