टेलिकमले ल्यायो एयरटाइम क्रेडिट सुविधा, जीएसएम तथा सीडीएमए प्रिपेडमा लोन पाइने

काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेडका उपभोक्ताहरु माझ एयरटाइम क्रेडिट सुविधा ल्याएको छ । उक्त सुबिधा अन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड सेवाका सेवाग्राहीहरुले ब्यालेन्स नहुँदा कल गर्न लोन रकम पाउने कम्पनीले जनाएको छ । उक्त सुविधा सम्बन्धी नेपाल टेलिकम र हंकङ्गस्थित टिआक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रा.ली. बीच सम्झौता भएको थियो । उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टर प्रा.ली. को तर्फबाट सो प्रा. लि.का निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार उपभोक्ताले कम्पनीको जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुने कम्पनीले जनाएको छ । सीडीएमए तथा जिएसएम प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै ब्यालेन्स सकिए पनि कुराकानी निरन्तर भइरहोस् भन्ने उद्देश्यले कम्पनीले एयरटाइम क्रेडिटको सुविधा ल्याएको बताएको छ । यो सुविधा प्रयोग गरे वापत थप कुनै चार्ज वा ब्याज नलिई उपभोक्तालाई लोन रकम उपलब्ध हुने छ, र रिचार्ज पछि उपलब्ध हुने ब्यालेन्सबाट कट्टा हुने कम्पनीले जनाएको छ । सम्झौता अनुसार यो सुविधा आगामी ५ महिना भित्रमा सञ्चालन गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

हवाई यात्रामा ल्यापटप, ट्यावलेट, क्यामेरा लगायत इलेक्ट्रोनिक सामाग्री प्रतिबन्द

काठमाडौं । हिजो बेलायतको राजधानी लण्डनमा आतंकबादीहरुले नयाँ तरिकाबाट हमला गरे । घट्नामा कम्तिमा ४ जना मारिए भने २९ जना घाइते भए  । अतिवादीहरुले अक्रमणको नौलो तरिका अपनाएपछि बेलायत सरकारले विमान यात्रुलाई साथमा ल्यापटप, ट्यावलेट, क्यामेरा, डीभीडी प्लेयर तथा इलेक्ट्रोनिक गेम्स राख्न प्रतिबन्द लगाउने तयारी गरेको बीबीसीले जनाएको छ । बेलायतमा मात्र होइन, यदि तपाई मध्यपूर्व तथा उत्तर अफ्रिकाका तोकिएका विमानस्थलबाट अमेरिका जाँदै हुनुहुन्छ भने आइन्दा तपाईले स्मार्ट फोनभन्दा ठूला कुनै पनि इलेक्ट्रोनिक उपकरण आफूसाथ क्याबिनमा लैजान पाउनुहुन्न । यो नियमले १० वटा विमानस्थलका ९ विमान कम्पनीलाई प्रभावित गर्नेछ । ती सबै मुसलमान बहुल देशमा पर्छन । जेट विमान हमला गर्न अतिवादीहरुले नौलो तरिका खोजिरहेको अमेरिकी अधिकारीहरुले बताएका छन् । बमलाई ल्यापटप, ट्यावलेट, क्यामेरा, डीभीडी प्लेयर तथा इलेक्ट्रोनिक गेम्समा लुकाइन सक्ने उनीहरुको विश्वास छ । गत वर्ष बम राखिएका ल्यापटप पड्कँदा एक सोमाली विमानमा ठूलो प्वाल परेको थियो । उक्त विमान त्यतिखेरा भर्खरै मोगादिशुबाट उडेको थियो । विमानमै रहेका स्वीडेनका लागि सोमाली राजदूले घटनाको भिडियो खिचेका थिए । विमान धेरै माथि नउडिसकेको हुनाले पाइलटले सुरक्षित अवतरण गराउन सके । (बीबीसीमा अाधारित)

बोल्दाबोल्दै फोन काटियो भने क्षतिपूर्ति पाइने, सेवाप्रदायकलाई नियमावली बनाएर कस्दै

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अबदेखि फोन गर्दा यस्ता समस्या आए दूरसञ्चार सेवा प्रदायक कम्पनीबाट सेवाग्राहीलाई क्षतिपूर्ति दिलाउने गरी कानुनी व्यवस्था गर्न लागेको छ । पहिलो चरणमा बीचमै बोल्दाबोल्दै फोन काटिए सो कल बापतको पैसा फिर्ता गर्ने नियमावली र प्रविधि लागू गर्न गृहकार्य थालिएको, दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ । ‘पैसा घट्दै जाने तर कुरा गर्न नपाउने समस्यामा अझै सुधार हुन सकेको छैन । अहिलेको दूरसञ्चार नियमावलीमा क्षतिपूर्तिसम्बन्धी प्रावधान छैन, त्यसैले अब हामी नयाँ नियमावली बनाउँदैछौँ । त्यसमा ‘कल ड्रप’ भएको समयको पैसा फिर्ता गर्नुपर्ने प्रावधान राख्दैछौँ’, प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले जानकारी दिए। उनले तोकिएको मापदण्ड पूरा नभएको बारेमा प्राधिकरणलाई वेबसाइट र मोबाइल एप (एनटीए)बाट गुनासो र उजुरी गर्न सकिने बताए। ‘पहिला सेवाग्राहीले हामीलाई तथ्यपरक गुनासो गर्नुपर्छ, त्यसपछि हामी एकरएक गरी कारबाही गर्छौं, कसैलाई छाड्दैनौँ’, उनले भने। सूचना तथा सञ्चार मन्त्रालयले एक महिनाअघि दूरसञ्चार नीतिको समीक्षा गर्दा प्राधिकरणलाई दूरसञ्चारको गुणस्तर सुधार गर्न यससम्बन्धी मापदण्ड र कार्यविधि बनाउन निर्देशन दिएपछि प्राधिकरणले नयाँ गुणस्तर नियमावली बनाउन थालेको हो । कानुनी रूपमा सेवा प्रदायकसँग क्षतिपूर्ति लिने अधिकार अहिलेको विनियमावलीमा नभएकाले परिवर्तन गरी नयाँ नियमावलीको तयारी प्राधिकरणले गरेको छ । नियमावलीमा भ्वाइस तथा डाटाको गुणस्तर कायम गर्नुपर्ने तथा नभएको अवस्थामा सेवाग्राहीलाई क्षतिपूर्तिको व्यवस्थालगायत विषय उल्लेख गरिनेछ । गोरखापत्र दैनिकबाट ।