इन्स्टाग्राममा नेपालको पर्यटकीय क्षेत्रको प्रचार, पर्यटक बढाउन सघाउने
काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राम खासगरी तस्विरहरु पोस्ट गर्नका लागि चर्चित छ । नेपालमा सर्वसाधारणदेखि सेलिब्रिटीले इन्स्टाग्रामको प्रयोग गर्दै आएका छन् । इन्स्टाग्राम केवल रमाइलो र समय कटाउनका लागि मात्रै होइन केही राम्रा कामका लागि पनि सदुपयोग हु“दै आएको पाइन्छ । यसमा फोटो र भिडियो दुबै अपलोड गर्न सकिन्छ । नेपालका कतिपय इन्स्टाग्राम प्रयोगकर्ताहरूले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि आफ्नो तर्फबाट विशेष पहल गरिरहेका छन् । ती मध्ये एक हुन्, नेपाल पर्यटन बोर्र्डका रिसर्च, प्लानिङ एण्ड मोनिटरिङ विभागका सिनियर म्यानेजर सुनिल शर्मा । घुमघाममा निकै सोख राख्ने शर्मा समय मिल्यो कि क्यामेरा भिरेर नेपालका कुना कन्दरा दौडिन पुग्छन् । मिडियामा नआएका, खासै प्रचार–प्रसार नभएका नयाँ र/नयाँ गन्तव्य उनको प्राथमिकतामा पर्छन् । नयाँ ठाउँ पुगेर त्यहाँको वस्तुस्थिति, रहनसहन बुझ्नु, स्थानिय बासिन्दास“ग गफिनु र सुन्दर तस्विरहरू कैद गर्नु उनको रुची हो । आफू घुम्ने मात्र होइन । यसरी घुम्दा खिचिएका आकर्षक तस्विरहरुलाई उनी इन्स्टाग्राममा पोस्ट गर्छन् । पर्यटनका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था, पर्यटनसँग सम्बन्धित निकायलाई ट्याग गर्छन् । जसले गर्दा उनका तस्विरहरुमाथि धेरैको नजर पर्छ । ‘अबको समय नै सामाजिक सञ्जालको हो ।’ शर्माले प्रष्ट्याए, ‘चिरपरिचित मानिसहरुमाझ पुग्न यो भन्दा प्रभावकारी माध्यम अरु हुनै सक्दैन ।’ नेपाल पर्यटन बोर्र्डका शर्मा जस्तै नेपालमा अरु युवाहरु पनि छन्, जसले इन्स्टाग्राममार्फत नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउने कोशिश गरिरहेका छन् । कुनै गन्तव्यलाई प्रचारप्रसार गर्न इन्स्टाग्राम निकै प्रभावकारी माध्यम हो । इन्स्टाग्रामरहरुले नेपालका हिमाली क्षेत्रहरु र अरु मानिसहरु सहजै घुम्न, पुग्न, नसकिने स्थानका तस्विरहरु पोस्ट गर्दै आएका छन् । इन्स्टाग्राममा एड्भेन्चर फोटोहरु पोस्ट गरेर चर्चामा आउनेहरुमा मोहन के दुवाल, सन्तोषराज पाठक, प्रकाश बुढा, रिसभ अधिकारी, उज्जवल राई, अनुज डि. अधिकारी रहेका छन् । मनै लोभ्याउने यी तस्विरहरू देख्दा जो कोहीलाई घुमौंघुमौं लाग्छ । यी इन्स्टाग्रामरहरुले पोस्ट गरेका तस्विरमा आउने विदेशी नागरिकहरुका प्रतिक्रियाले पनि त्यसको पुष्टि गर्छ । घुम्नका लागि नेपाललाई प्राथमिकतामा राखेका प्रतिक्रिया प्रशस्त पढ्न पाइन्छ । केही हदसम्म यसले नेपालको पर्यटन गन्तव्यको प्रचार प्रसारमा इट्टा थप्ने काम गरेको मान्न सकिन्छ । नेपालमा २ हजार भन्दा बढी ट्रेकिङ एजेन्सीहरु छन् । तिमध्ये अधिकांशले पर्यटकहरुलाई अन्नपूर्ण र सगरमाथा बेस क्याम्प घुमाउ“छन् । दुई वर्षअघि खुलेको माउन्टेन मेनिया टेक्स एण्ड एक्सपेडिसन्सले भने नयाँ/नयाँ रुटलाई प्राथमिकता दिएको छ । माउन्टेन मेनियाले आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत नयाँ ट्रेकिङ रुटहरुको प्रचार–प्रसार गर्दै आएको छ । ‘हाम्रो अफिसियल इन्स्टाग्राम फोटो हेरेरै पनि पर्यटकहरु घुम्न आएका छन् ।’ माउन्टेन मेनियाका रुपक पराजुली भन्छन् ‘ट्राभल व्यवसाय चल्ने भनेकै फोटो र भिडियोकै कारणले हो । मानिसहरु पहिला फोटो नै हेर्छन् । पछि घुम्ने निर्णय गर्छन् ।’ इन्स्टाग्रामले राम्रै प्रभाव पारिरहेको छ । नेपालमा विदेशी पर्यटकहरु आएको थुप्रै उदाहरणहरु रहेको उनी बताउ“छन् । माउन्टेन मेनियाले ट्रेकिङका लागि पहिल्यैदेखि चलिरहेका रुट भन्दा नयाँ रुटलाई बढी प्राथमिकता दिन्छ । हरेक गन्तव्यका तस्विरहरुलाई आफ्नो अफिसियल इन्स्टाग्राममा पोस्ट गर्छ । ‘अरु भन्दा फरक हुन मन लाग्यो ।’ पराजुली भन्छन् । नेपाल भ्रमण वर्ष सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने तयारी भइरहेको छ । यस्तो बेला नेपाल सरकारले सामाजिक सञ्जालको प्रयोगमार्फत नेपालको पर्यटन प्रचार–प्रसार गर्न एकदमै जरुरी रहेको पराजुली सुझाउँछन् । सामाजिक सञ्जालको प्रयोगमार्फत गरिने यस्तो प्रचारले आउँदा दिनमा पक्कै त्यसको प्रभाव पर्नेमा उनी विश्वस्त छन् । इन्स्टाग्राममार्फत नेपालको प्रचार–प्रसार गर्नेहरुलाई माउन्टेन मेनिया टेक्स एण्ड एक्सपेडिसन्सले आफ्नो वेवसाइटको लिस्टमा राख्ने गरेको छ । माउन्टेन मेनियाका अनुसार इन्स्टाग्रामरहरुलाई उत्साह दिन र उनीहरुमा आत्मविश्वास थप्न यस्तो गरिएको हो । ओड्से नेपाल, नेपाल एट वन्डर लगायतको एकाउन्टहरुले पनि इन्स्टाग्राममार्फत नेपालको प्रचार–प्रसार गरिरहेका छन् । नेपाल बाहिरबाट सञ्चालित स्टोरी अफ हिमालयज्ले पनि नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सघाइरहेको छ । सन् २०१० को अक्टोवरमा लन्च गरिएको इन्स्टाग्राम विश्वभरी फैलिसकेको छ । फोटो र छोटो भिडियो सेयरिङका लागि प्रख्यात इन्स्टाग्राम केभिन सेस्ट्रोम र माइक क्रेइजरले निमार्ण गरेका हुन् । जसको स्वामित्व पछि फेसबुकले खरिद ग¥यो । यसले सर्टी अवार्डस् फर एप्स हात पारेको थियो । हाल ३६ वटा भाषामा यो उपलब्ध छ । एक वेवसाइट https://napoleoncat.comले प्रकाशित गरेको एक तथ्यांकअनुसार नेपालमा ११ लाख २३ हजार ४ सय प्रयोगकर्ताहरु छन् । जुन नेपालको जनसंख्याको ३.७ प्रतिशत हो । नेपालमा १८ वर्षदेखि २४ वर्ष उमेर समुहका व्यक्तिहरु इन्स्टाग्रामका प्रयोगकर्ताहरु छन् । विश्वमा सबैभन्दा बढी लोकप्रियता हासिल गरेको इन्स्टाग्रामका प्रयोगकर्ताहरु दिनहुँ बढिरहेका छन् । अरु सोसल मिडिया भन्दा यसमा इङ्गेजमेन्टको दर पनि बढी (२.३ प्रतिशत) नै छ । त्यसो त पछिल्लो समय मार्केटिङका लागि सामाजिक सञ्जालहरु प्रभावकारी माध्यम बनेका छन् । परम्परागत सञ्चार माध्यम रेडियो, टेलिभिजन, पत्रपत्रिकामा पहिले भन्दा तुलनात्मक रुपमा विज्ञापन दिने क्रम घट्दो छ । त्यसको स्थान फेसबुक, युट्युब, इन्स्टाग्रामले लिन थालेका छन् । विश्वमा विभिन्न सेलिब्रिटीहरुले चर्चित ब्राण्डका प्रोडक्टको इन्फ्लुयन्सरका रुपमा पनि काम गरिरहेका छन् ।
टेलिकमको एफटीटीएचमा अब थप सुविधा, कम्बो र अन्य अफर प्रयोग गर्न सकिने
काठमाडौँ । नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम(एफटीटीएच) सेवालाईसाउन ५ गतेदेखि लागु हुने गरी थप व्यवस्थित गरेको छ । एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन टेलिकमले जनाएको छ । यसअघि जडान भएका तथा नयाँ जडान हुने सबै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्ड लाइनबाट देशभरका अन्य अपरेटरको नेटवर्कमा पनि साउन ५ गतेदेखि कल गर्न सकिने सुविधा स्वतः उपलब्ध भएको छ । नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क राखी आवश्यकता अनुसार आईएसडी लगायतका विभिन्न सेवा समेत थप गर्न सकिने छ । नेपाल टेलिकमले प्रबद्र्धनात्मक अफर अन्तर्गत यो सेवा लिने ग्राहकहरुका लागि कम्पनीको नेटवर्क भित्र मात्र कल गर्न मिल्ने गरी निःशुल्क भ्वाइस कल सेवा उपलब्ध गराइरहेको थियो । सो अफर असार मसान्तदेखि समाप्त भएकोले साउन ५ गते पश्चात एफटीटीएच प्रविधिमार्फत सञ्चालित ल्यान्डलाइन नम्बरमा पर्याप्त व्यालेन्स नभएमा भ्वाइस कल सेवा बन्द हुन सक्नेछ । त्यसैले समयमै मासिक रेन्टल चार्जको रुपमा न्यूनतम २ सय ६० रुपैयाँ रिचार्ज गरी सेवा सुचारु राख्न सकिनेछ । मासिक रेन्टल वापत नेपाल टेलिकमको नेटवर्क भित्र २ सय ५० मिनेटसम्म निःशुल्क कल गर्न सकिनेछ भने अन्य कलको लागि ल्यान्डलाइन टेलिफोनसरह शुल्क लाग्नेछ । हाल प्रयोगमा रहेको ल्यान्डलाइन(पीएसटीएन) टेलिफोनमा जस्तै एफटीटीएच प्रविधिबाट सञ्चालित ल्यान्डलाइनमा पनि विभिन्न तरिकाले महशुल बुझाउन वा रिचार्ज गर्न सकिन्छ । नजिकको दूरसञ्चार कार्यालयबाट, एमपोस प्रविधिबाट, बैंकबाट, नेपाल टेलिकमका कुनै पनि नम्बरबाट १४१२ मा डायल गरी वा नेपाल टेलिकमको वेबसाइटमार्फत रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न सकिने छ । नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । जस अन्तर्गत ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका उपलब्ध प्याकेजहरु प्रयोग गर्न सकिन्छ भने कर्पोरेट प्याकेज अन्तर्गत १० र २० एमबीपीएसका ३ महिना, ६ महिना र एक वर्ष समयावधिका एफटीटीएच इन्टरनेट प्याकेजहरु उपलब्ध छन् । नयाँ लाइन जडान गर्दा एक वर्षको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीई निःशुल्क उपलब्ध गराइने छ भने छ महिनाको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीईको मूल्यमा रु. ३ हजार छुट उपलब्ध गराइने छ । यसैगरी सबै नयाँ जडान गर्ने ग्राहकहरुलाई एकसय मिटर फाइबर निःशुल्क उपलब्ध गराइने छ । हालै समर अफर अन्तर्गत एफटीटीएच इन्टरनेट सेवामा नयाँ कम्बो प्याकेज ल्याइएको छ । यी प्याकेजहरु १५ एमबीपीएस, २५ एमबीपीएस, ४० एमबीपीएस र ६० एमबीपीएसमा उपलब्ध छन् । १५ एमबीपीएसको एक महिनाको १ हजार २ सय रुपैयाँ, ३ महिनाको ३ हजार ४ सय रुपैयाँ, ६ महिनाको ६ हजार ४ सय रुपैयाँ र एक वर्षको १२ हजार ३ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । त्यसैगरी २५ एमबीपीएसको कम्बो प्याकेज १ महिनाको १ हजार ९ सय, ३ महिनाको ५ हजार ४ सय ५०, ६ महिनाको ९ हजार ७ सय र एक वर्षको १७ हजार २ सय रुपैयाँमै उपलब्ध गराइएको छ । ४० एमबीपीएसको प्याकेजका लागि मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक शुल्क क्रमशः २ हजार २ सय ५०, ६ हजार ४ सय ५०, १० हजार ७ सय र १९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यता ६० एमबीपीएसको सोही प्याकेजको मूल्य क्रमशः २ हजार ४ सय ५०, ७ हजार ५०, ११ हजार ८ सय र २१ हजार ४ सय रुपैयाँ रहेको छ । यी सबै कम्बो प्याकेजमा उल्लेखित इन्टरनेट व्यान्डविथको अलावा १ महिना, ३ महिना, ६ महिना र एक वर्षको लागि क्रमशः २ सय ५० मिनेट, ७ सय ५० मिनेट, १५ सय मिनेट र ३ हजार मिनेटसम्म नेपाल टेलिकमको नेटवर्क भित्र निःशुल्क कल गर्न सकिने सुबिधा उपलब्ध गराइएको छ । एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी छ । पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले समेत एफटीटीएच सेवा अपग्रेड गरी लिन सक्ने टेलिकमले जनाएको छ ।
एनटीएले सार्वजनिक गर्यो १६ अर्ब ६९ करोडको वार्षिक कार्यक्रम
काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरण(एनटीए) ले आर्थिक बर्ष २०७६/७७ को प्रस्तावित वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा प्राधिकरणको अनुमानित बजेट कुल १६ अर्ब ६९ करोड ७८ लाख रुपैयाँ रहेको छ । यसमा ग्रामीण दूरसञ्चार कोषतर्फ ६ अर्ब ५० करोड रुपैयाँ रहेको छ । प्राधिकरण तर्फको जम्मा रकम भने १० अर्ब १९ करोड ७८ लाख रुपैयाँ रहेको छ । यस्ता छन् प्रस्तावित कार्यक्रमः दूर सञ्चार सेवा सर्व सुलभ बनाउने शीर्षकमा ४३ करोड रुपैयाँ छुट्याईएको छ । नेपाल भर दूरसञ्चार सुविधा पुर्याउने शीर्षकमा ६८ करोड ५१ लाख रुपैयाँ छुट्याईएको छ । त्यसैगरी स्वस्थ प्रतिस्पर्धा गर्ने शीर्षकमा ५० लाख रुपैयाँ छुट्याईएको छ । यन्त्रको स्तर तोक्न १ अर्ब ९० करोड रुपैयाँ छुट्याईएको छ । सञ्चार सेवालाई व्यवस्थित बनाउन ९ करोड २० लाख रुपैयाँ छुट्याईएको छ । अनुमति पाएका व्यक्तीले दूर सञ्चार सेवा उपलब्ध गराउने सम्बन्धमा ५ लाख रुपैयाँ छुट्याईएको एनटीएले जनाएको छ । फ्रिक्वेन्सी सम्बन्धी काम गर्न १५ करोड २० लाख रुपैयाँ छुट्याईएको छ भने नयाँ प्रविधिको विकास तथा उपयोग, अनुसन्धान गर्न १ करोड २० लाख रुपैयाँ छुट्याईएको छ । दक्ष जनशक्ती विकास गराउन ५५ लाख रुपैयाँ छुट्याईएको छ । उपभोक्ता हक हितकोलागि १ अर्ब रुपैयाँ छुट्याईएको एनटीएले जनाएको छ । दूर सञ्चार सेवाको विकास र प्रवद्र्धनको लागि आवश्यक काम गर्न ३ अर्ब ८८ करोड रुपैयाँ छुट्याईएको छ । आवश्यक प्रशासनिक कार्य गर्नको लागि १ अर्ब ९२ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।