एनसेलले ल्यायो भ्यालेनटाइन अफर, अाफ्नाे प्रिय मान्छेलार्इ ५० पैसामा फाेन गर्न सकिने
काठमाडौं । एनसेलका ग्राहकहरुले आफुले छानेको एउटा विषेश नम्बरमा अब अझ सुलभ दरमा कुरा गर्न सक्नेछन् र रिङ ब्याक टोनमा पनि ५० प्रतिशत छुटको मजा पनि लिन सक्नेछन् । यही बुधबार (माघ २६) देखि लागु हुने गरी देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले भ्यालेनटाइन अर्थात प्रणय दिवशको अवसारमा दुई आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग पेयर गरी आफ्नो प्रियजनसँग अझ सुलभ दरमा कुरा गर्न सक्नेछन् । आफ्नो नम्बरसँग आफुले चाहेको अर्को एनसेल नम्बर पेयर गरी मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटमा कुरा गर्न सक्नेछन् । यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउनेछन् । प्राप्त एसएमएस १५ दिनको लागि मान्य हुनेछ र निःशुल्क एसएमएस पेयर गरिएको नम्बरमा मात्र पठाउन सकिने साे कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार ग्राहकहरुले १७१०६ डायल गरी यो सेवा निःशुल्क सुचारु तथा आफुले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् । ग्राहकले एस्ट्रिक्स् १७१०६ एस्ट्रिक्स् पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरेर पनि यो सेवा सुचारु गर्न सक्नेछन् । त्यस्तै एसएमएम मार्फत पनि यो सेवा सुचारु गर्न सक्नेछन् । यसका लागि ग्राहकले अंग्रेजीमा एड अर्थात एडिडि (ठूलो ए र सानो अक्षरमा डिडि) स्पेस पेयर गरिने मोबाइल नम्बर टाइप गरी १७१०६ मा एसएमएम पठाउन सक्नेछन् । त्यस्तै पिआरबिटि सेवाको छुट अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७११७ डायल गरी प्राप्त निर्देशन अनुसार २० वटा रोमान्टिक गीतहरुको सुचिबाट आफ्नो रोजाइको गीतलाई ५०% छुटमा आफ्नो रिङ ब्याक टोन बनाउन सक्नेछन् । आफ्नो साथीभाईलाई कल गर्दा बज्ने रिङ ब्याक टोन यदी मन परेमा ग्राहकले उक्त टोन बजिरहेको बेलामा एस्ट्रिक्स् डायल गरि त्यस टोनलाई कपी गर्न सक्नेछन् । यसरी कपी गरिएको टोन यदी अफरको सुचिमा समावेश गरिएका २० वटा गीत मध्य भयो भने ग्राहकले रिङ ब्याक टोनमा ५०% छुट पाउनेछन् । ‘‘ग्राहकहरुका लागि सुलभ दरमा आफ्ना प्रियजनसँग कुरा गर्न तथा निःशुल्क एसएमएसको मजा लिन सकिने यी अफरहरु ल्याउन पाउँदा हामी हर्षित छौ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । ‘‘एउटा नम्बर पेयर गरी सुलभ शुल्कमा कुरा गर्न सकिने र ५० प्रतिशत छुटमा आफुलाई मन परेको गीत रिङ ब्याक टोन राख्न मिल्ने सुविधाले ग्राहकलाई थप मुल्य प्रदान गर्नेमा हामी विश्वस्त छौ ।’’ यी दुवै अफरहरु १५ दिनको लागि मान्य रहनेछ ।
अस्वस्थ प्रतिस्पर्धामा टेलिकम कम्पनीहरु, आफैले गरेको सम्झौता विपरित कल ब्लक, सेवाग्राही मार्कामा
काठमाडौं। नियम विपरित टेलिकम कम्पनीहरुले अवैद्य रुपमा कललाई ब्लक गर्ने गरेको खुलेको छ। त्यसमा पनि टेलिकमका दुई ठूला प्लेयर नेपाल टेलिकम र एनसेलले अस्वस्थ प्रतिश्पर्धामा उत्रिएर कल ब्लक गरेका छन्। एक आपसमा कल अवरोध नगर्ने भनी सम्झौता गरेका टेलिकम र एनसेलले ब्लक गरेर सर्वसाधारणलाई सास्ती दिइरहेको दूरसञ्चार प्राधिकरणको अनुसन्धानमा खुलेको छ। नेपाल टेलिकम र एनसेल पूर्ण रूपमा असल नियतका साथ फोन कलहरूमामा कुनै अवरोध गर्ने छैनन् भनेर टेलिकम र एनसेलबीच २०६८ सालमा गरेको व्यावसायिक सम्झौता उल्लङ्घन गरेका हुन। सम्झौतामा स्वदेशी र विदेशी दुवैखाले कलमा अवरोध कृतिम रूपमा अन्तरआबद्धता अवरोध गर्ने काम गरिने छैन भनेर हस्ताक्षर गरेका थिए। दुवै कम्पनीले पटकपटक आफूविच र नियामक नेपाल दूरसञ्चार प्राधिकरणको रोहवरमा गरेको सहमतिसमेत उल्लंघन गरी कल ‘ब्लक’ गरेको पाइएको हो । आम्दानीको लडाइँमा यी कम्पनीले एक अर्काको नेटवर्कबाट हुने कल ‘ब्लक’ गर्दा उपभोक्ताले सास्ती पाइरहेका छन्। टेलिकम हरेक महिना विदेशबाट आउने २० करोड मिनेट कल ‘टर्मिनेट’ गरी एनसेलको नेटवर्कमा निर्वाध रूपमा पठाउने भनिएको छ। त्यस्तै एसनेलले पनि हरेक महिना विदेशबाट आएका १५ करोड मिनेट कल ‘टर्मिनेट’ गरी टेलिकमको नेटवर्कमा पठाउनेछ भनिएको छ तर सम्झौता विपरित दुवै कम्पनीले एक अर्कामा सो नियमको पालना गरेका छैनन्। गत बर्ष नियामक निकाय दूरसञ्चार प्राधिकरणले दुवै पक्षलाई राखेर कल ब्लकका विषयमा छलफल गरेपनि त्यसको कार्यान्वयन भएको छैन। प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्रले धेरैपटक कल ब्लक गरेको रेकर्ड भेटिएकाले यसलाई अझ कडाइका साथ लागु गर्नुपर्ने बताए। उनले पटकपटक चेतावनी दिँदा पनि नमानेकाले अव कानून ल्याएर कम्पनीहरुलाई कार्वाहिको दायरामा ल्याउनुपर्ने बताए। दुवै कम्पनीले अहिले पनि आफैंले गरेका सहमति विपरीत विदेशबाट आउने मात्र होइन, स्वदेशी कलमा समेत अवरोध गरिरहेका छन्। यसरी अवरोध गर्नु कम्पनी बीचको सम्झौता मात्र होइन, दूरसञ्चार ऐन र अन्तरआबद्धता निर्देशिका विपरीतसमेत भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले केहि समय अगाडि टेलिकम र एनसेललाई अवरोध नगर्न निर्देशनसहितको पत्राचार गरिसकेको छ। सहमति र नियम विपरीत कल ‘ब्लक’ गर्ने कार्य जारी राखे कम्पनीहरूलाई कानुनी कारबाही अघि बढाउने कानुनमा प्रावधान रहेको छ। त्यसको पालन नभए प्राधिकरणले कानुनी कारबाही अघि बढाउँने मिश्रले बताए। ऐनमा यस्ता कार्य गर्नेलाई ५ लाखसम्म जरिवाना र क्षतिपूर्तिसमेत भराउने व्यवस्था छ।
टेलिकमको प्रिपेड मोबाइलमा फोरजी सेवा शुरु, फेसबुक चलाउनेलाई २० रुपैयाँमा १०० एमबी डाटा
काठमाडाैं । नेपाल टेलिकमले काठमाडौं र पोखरामा जीएसएम प्रिपेड सेवामा फोरजी सेवा शुरु गरेको छ । कम्पनीले १३ औ वार्षिकोत्सवको अवसरमा कम्पनीले यो सेवा शुरु गरेको हो । त्यसैगरी कम्पनीले सीआरबीटी सेवा पुनः सञ्चालन गरेको छ । मोबाइल सेवामा कल वेटिङ र कल फरवाडिङ सेवा जस्ता सुविधा उपलब्ध गराइएको छ । जीएसएम नेटवर्कका सेवाग्राहीहरुलाई १०० एमबीको फेसबुक प्याकेज २० रुपैयाँमा दिने भएको छ । १०० एमबी डाटा ५ दिन सक्नुपर्ने कम्पनीले जनाएको छ । यी वाहेक अन्य विभिन्न सेवाहरुमा विभिन्न प्रकारको अफर र छुटको व्यवस्था गरिएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले नेपाल टेलिकमले तथ्यांक भन्दा पनि परिणाममा जोड दिनु पर्ने बताउदै प्रतिस्पर्धात्मक रुपमा नेपाली जनताको हितमा समर्पित हुने गरी कार्य गर्न आग्रह गरे । उनले देशका दुर्गम स्थान र सहरी क्षेत्रका अस्पताल र स्कुल÷कलेजहरुमा नेटवर्क विस्तार गरी सबैलाई प्रविधिको माध्यमबाट एक अर्कासँग सम्पर्क गर्न र विश्वको अवस्थासँग परिचित हुने कार्यमा सहयोग पु¥याउन कम्पनीलाई सुझाव दिए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले प्रतिस्पर्धाको बजारमा सधैँ सतर्क रहनु पर्ने आवश्यकता औल्याउदै नवीनतम प्रविधिको माध्यमबाट सधै सेवाग्राहीलाई सन्तुष्टी प्रदान गर्न सुझाव दिए । उनले लामो समयदेखि सेवा प्रदान गरिरहेको र विश्वसनिय समेत भएकाले नेपाल टेलिकमलाई नै प्राधिकरणले समेत विश्वास गरिरहेको बताए । नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले हाल १ करोड ६२ लाख ग्राहक आधार भएको कम्पनीले प्रत्येक वर्ष सरकारलाई समेत सबैभन्दा बढी कर तिरेर सम्मानित भएको बताइन् । कम्पनीलाई अझै प्रतिस्पर्धी बनाउनका लागि रणनीतिक साझेदार भित्र्याउने प्रक्रियामा रहेको र यसका लागि परामर्श कार्य एक वर्षमा पूरा हुने अपेक्षा बताइन् । कम्पनीले सिंहदरबार अगाडिको यूएनआई शान्तिमार्ग मर्मतका लागि ४० लाख रुपैयाँ सहयोग गरेको छ । माननीय मन्त्री सुरेन्द्रकुमार कार्कीले सो बराबरको चेक आज काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङलाई हस्तान्तरण गरेका छन् । वार्षिकोत्सवको अवसरमा कम्पनीमा २० वर्ष भन्दा बढी सेवा गर्ने काठमाडौ क्षेत्रका कर्मचारीहरुलाई संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले दीर्घसेवा पदकले सम्मानित गरे । काठमाडौं क्षेत्रका १ सय ३० कर्मचारीहरु सहित अन्य क्षेत्र समेत गरी २ सय ६३ कर्मचारीलाई आज सो पदकले सम्मानित गरिएको छ । त्यसैगरी उत्कृष्ट कार्य गरे वापत ५० हजार रुपैयाँ राशीको पुरस्कार सहित १० जना कर्मचारीलाई मन्त्री कार्कीले सम्मानित गरे । प्रशंसनीय कार्य गरे वापत १७ जना कर्मचारीलाई संसदको सार्वजनिक लेखा समितिका सभापति माननीय डोरप्रसाद उपाध्यायले प्रमाणपत्र सहित सम्मानित गरेका छन् ।