८६ करोडको नक्कली चिट्ठामा विश्वास, २ करोडको घर नै गुम्यो, चिनजान फेसबुकबाट
काठमाडौं । डेढ करोड लगानी गर्दा ३५ करोड आम्दानी हुने प्रलोभनमा पोखराका बेलबहादुर गुरुङ लोभिए । तर, त्यो वास्तविकता नभई ठगको जाल मात्र थियो भन्ने गुरुङले पत्तै पाएनन् । एक महिनामै ३५ करोड कमाउन खोज्दा उनले दुई करोडको घर गुमाएका छन् । दक्षिण कोरियामा १७ वर्षदेखि काम गर्दै आएका गुरुङले विदेशकै कमाइले पोखरामा घर किनेका थिए । तर, रातारात करोडौँ कमाउन खोज्दा एकैपटक उनको वर्षौँको कमाइ गुमेको हो । ८६ करोड रुपैयाँको चिट्ठा परेको भन्दै एक युवकले उनको एक करोड ४२ लाख रुपैयाँ ठगी गरेका हुन् । उनको दुई करोड पर्ने घरसमेत अर्कैको हातमा पुगेको छ । लमजुङ घर भई महाराजगन्ज बस्ने सोयम (यमराज) गुरुङले आफूलाई ८६ करोडको चिट्ठा परेको र त्यसको ३५ करोड रुपैयाँ दिने भन्दै उनको घरसमेत बेच्न लगाएर एक करोड ४२ लाख रुपैयाँ ठगी गरेका हुन् । सोयमलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । वृत्तका प्रमुख डिएसपी गोविन्द पुरीका अनुसार सोयमले आफू अन्तर्राष्ट्रिय फेसन डिजाइनर भएको भन्दै भ्रममा पारेर ठगी गरेका हुन् । अमेरिकाको अन्तर्राष्ट्रिय फेसन डिजाइनसम्बन्धी प्रतिस्पर्धामा आफू प्रथम भएको र ८६ करोड रुपैयाँ आउने भन्दै सोयमले बेलबहादुरलाई झुक्याएका थिए । सो पैसा नेपाल ल्याउन आफूलाई खर्च अभाव भएको भन्दै नाटकीय शैलीमा सोयमले ठगी गरेका हुन् । सोयमले दुई करोड सहयोग गरे ३५ करोड रुपैयाँ दिने बताएपछि बेलबहादुर लोभिएका थिए । सोहीअनुसार पोखरास्थित दुई करोड पर्ने घर गत असोजमा बिक्री गरी बेलबहादुरले सोयमलाई पैसा दिएका थिए । तर, सोयमले चिट्ठा परेर फेसन डिजाइनको प्रतिस्पर्धा जितेको कुरा गलत भएको र पैसा पनि फिर्ता नगरेपछि उनले प्रहरीमा उजुरी दिएका हुन् । दुई साताअघि सोयमलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी गोविन्द पुरीले बताए । फेसबुकको चिनजानले बिचल्ली बेलबहादुर र सोयमबीच करिब ६ महिनाअघि फेसबुकमार्फत चिनजान भएको थियो । चिनजानका क्रममा सोमयले आफू अन्तर्राष्ट्रिय फेसन डिजाइनर भएको बताउँदै प्रभावमा पारेका थिए । उनको फेसबुक प्रोफाइलमा पनि त्यही कुरा उल्लेख थियो । प्रहरीका अनुसार दुईजनाबीच च्याटमा बारम्बार गफ हुन थाल्यो । सोयमकै प्रस्तावमा गत भदौमा बेलबहादुर नेपाल आए । उनलाई भेट्न सोयम पोखरा नै गए । आफू फेसन डिजाइनसम्बन्धी कार्यक्रममा भाग लिन जान लागेको र थोरै पैसा नपुगेको भन्दै दुई लाख रुपैयाँ लिए । त्यसरी विभिन्न बहानामा उनले ४२ लाख रुपैयाँ हात पारे । पैसा नपुग्दा चिट्ठाको पैसा आउन ढिला भएको भन्दै पछि सोयमले बेलबहादुरसँग दुई करोड मागेका थिए । तर, बेलबहादुरसँग त्यति पैसा थिएन । चिट्ठाको ३५ करोड दिने बताएपछि उनले घर नै बिक्री गरेर सोयमलाई पैसा दिए । पैसा दिएको एक महिनापछि ३५ करोड रुपैयाँ खातामा आउने भनेर उनले विश्वस्त बनाएका थिए । एउटै बैंक खातामा त्यति धेरै पैसा नआउने भन्दै पाँचवटा बैंकमा खाता खोल्न लगाएर नाटक गरेका थिए । ३५ करोड खातामा आएपछि मात्र सबैलाई सरप्राइज दिन भन्दै उनले यसबारे कसैलाई जानकारी दिएका थिएनन् । तर, एक महिना होइन दुई महिना कुर्दा पनि पैसा आएन । त्यसपछि बेलबहादुरले सोयमलाई दबाब दिन थाले । पछि बुझ्दा सोयम अन्तर्राष्ट्रिय फेसन डिजाइनर पनि नभएको र ८६ करोडको चिट्ठा पनि नपरेको खुलेपछि उनले पैसा मागे । तर, सोयमसँग पैसा थिएन । त्यसपछि उनी प्रहरीमा गएका हुन् । पक्राउ परेपछि सोयमले आफूले पैसा लिएको स्विकारेका छन् । २४ वर्षीय सोयमले धेरै नाटकीय शैली अपनाएर बेलबहादुरलाई प्रभावमा पारेको प्रहरीले जनाएको छ । पैसा लिएको प्रमाणसमेत नराखी उनले ठगी गरेका थिए । बेलबहादुरसँग लिएको पैसामध्ये केहीबाट सोयमले महाराजगन्जमा बुटिक पसल खोलेका थिए । ५० लाख बेलायत पठाएको उनले बताएका छन् । ५० लाख बुटिकमा लगानी गरेको र बाँकी अन्यत्र खर्च भएको बयान सोयमले दिएका छन् । व्यवसाय गर्ने पैसाका लागि आफूले चिट्ठा परेको भनेर नाटक गरेको उनले बताएका छन् । ठगी गरेर उनी बेलायत भाग्न खोजेको प्रहरी अनुसन्धानमा खुलेको छ । नयाँ पत्रिका दैनिकबाट ।
टेलिकमले ल्यायो नाइट भ्वाइस प्याक अफर, फागुन १७ गतेसम्म लागू हुने
काठमाडौं । नेपाल टेलिकमले प्रणय दिवस(भ्यालेनटाइन डे) का अवसरमा कम्पनीको जीएसएम सेवाका ग्राहकहरुका लागि नाइट भ्वाइस प्याकेज अफर ल्याएको छ । उक्त अफर अन्तर्गत जीएसएम सेवाका ग्राहकले २५ रुपैयाँमा २५० मिनेटको टक टाइम भएको भ्वाइस प्याकेज लिन सक्नेछन् । कम्पनीका अनुसार यो अफर फागुन ३ गते देखि फागुन १७ गते सम्म लागू हुनेछ । यो प्याकेजको अवधि ग्राहकले लिएको मितिबाट ७ दिनसम्म रहनेछ । यस अफर अन्तर्गत लिएको प्याकेजको उपयोग राती १० बजे देखि विहान ६ बजेसम्म गर्न सकिनेछ । यो प्याकेज लिनका लागि VDAY टाइप गरी १४१५ मा SMS गर्नुपर्ने कम्पनीले जनाएको छ । साथै, कम्पनीले सोही अवसरमा हरेक जीएसएम तथा सीडीएमए प्रिपेड सीम तथा रीमको खरिदमा अर्को त्यस्तै सीम वा रीम निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ । दुवै सीम वा रीममा रु. ५० बराबरको टक टाइम उपलब्ध हुनेछ । यो अफर फागुन ३ गते देखि ५ गतेसम्म लागू हुनेछ । यो अफर सेवा कम्पनीका काउन्टरहरुबाट मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।
एनसेलका ग्राहकले फेसबुक निःशुल्क चलाउन पाउने, ८० लाख नेपालीले फेसबुक चलाउने अाधिकारीक जानकारी
काठमाडौं । एनसेलका ग्राहकहरुले अब मोबाईल डेटा सपोर्ट गर्ने मोबाईल फोनबाट लोकप्रिय सामाजिक सञ्जाल फेसबुक निःशुल्क चलाउन पाउने भएका छन् । ‘इन्टरनेट सबैका लागि’ थिम अन्तर्गत देशको अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले फेसबुकसँगको सहकार्यमा आकर्षक योजना ‘फेसबुक फ्रि’ सार्वजनिक गरेको छ । फेसबुक फ्रि योजना अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले एन्ड्रोइड मोबाईल एप र ब्राउजर (प्रोक्सी बाहेक) बाट फेसबुकमा निःशुल्क आफ्नो स्ट्याटस पोस्ट गर्न, फोटाहरु अपलोड गर्न, अरुको स्ट्याटस हेर्न, लाईक, सेयर तथा कमेन्ट गर्न सक्नेछन् । एनसेलको यो अफर लागु भएपछि फेसबुक पेजमा ‘गो टु फ्रि’ बटन स्वतः देखिने छ । यो बटन क्लिक गर्ने बितिकै, एनसेलका ग्राहकहरुले फेसबुकको निःशुल्क संस्करणबाट फेसबुक ब्राउज गर्न सक्नेछन । ‘‘फेसबुकसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि यो लोकप्रिय सामाजिक सञ्जाल निःशुल्क चलाउन पाउने योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौं । यसले ग्राहकलाई सामाजिक सञ्जाल मार्फत देश विदेशमा रहनु भएका आफन्त, साथीभाई र परिवारजनसँग सजिलै सम्पर्कमा रहन र ईन्टरनेट सेवाको जनघनत्व बढाउन मद्दत पुर्याउनेछ,’’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले मंगलबार अायाेजित पत्रकार सम्मेलनमा भने । विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले ईन्टरनेटको पहुँच र आर्थिक वृद्धिबिच स्पष्ट सम्बन्ध देखाएको परिप्रेक्षमा एनसेल सरकारसँग सहकार्य गर्दै सन् २०२० भित्र सबै गाउँ विकास समितिमा ईन्टरनेट पुर्याउने जस्ता राष्ट्रिय लक्ष्य प्राप्त गर्नमा योगदान पुर्याउन कटिबद्ध रहेको पर्किन्सले बताए । ‘‘ईन्टरनेट कभरेजमा वृद्धि गर्दै, सुलभ दर तथा नविनतम सेवा मार्फत हामी यस्ता राष्ट्रिय लक्ष्यमा योगदान पुर्याउन काम गरिरहेका छौं । प्रविधि तटस्थताले कभरेज विस्तारलाई थप गति प्रदान गर्नेछ,” फेसबुक फ्रि योजना सार्वजनिक गर्दै पर्किन्स्ले भने । पर्किन्स् र फेसबुकको एसिया प्यासेफिक क्षेत्रकी प्रमुख प्रतिनिधि तथा ग्रोथ पार्टनरशिपकी प्रमुख आन्ना नाइग्रेनले संयुक्तरुपमा फेसबुक फ्रि सार्वजनिक गरेका थिए । “एनसेलसँगको सहकार्यमा नेपालमा फेसबुकको यो सामाजिक अफर ल्याउन पाएकोमा हामी हर्षित छौं । यस्तो अफरले नेपालमा थप कनेक्टिभिटी सुनिश्चित गर्दै थप व्यक्तिहरुलाई ईन्टरनेटमा जोड्न योगदान पु¥याउने विश्वास छ,” नाइग्रेनले कार्यक्रममा भनिन् । फेसबुक फ्रि अफर यहि बुधबार (फागुन ४) बाट लागु भई ९० दिनको लागि रहनेछ । यो अफर फेसबुकसँग विश्वब्यापी रुपमा उसको आन्तरिक प्रणालीसँग मिलाईएको हुनाले निःशुल्क संस्करणको मजा लिन ग्राहकले कुनै छुट्टै सेवा सुचारु गर्नपर्ने छैन । अफरमा फेसबुकको अधिकांश फिचरहरु निःशुल्क उपलब्ध छन् । फेसबुकमा अरुले अपलोड गरेका फोटो तथा भिडियो हेर्नको लागि भने विद्यमान डेटा शुल्क लाग्ने छ । ग्राहकले आफुले ब्राउज गरिरहेको फेसबुक पेजको माथि दायाँतिर रहेने ‘सि फोटोज’ बटन क्लिक गरी पेड संस्करणमा फोटो तथा भिडिया हेर्न सक्नेछन् । फेसबुकको फ्रि संस्करणबाट पेड संस्करणमा जानु भन्दा अगावै ग्राहकलाई सुचित पनि गराइने एनसेलले जनाएकाे छ । फेसबुकको पेड संस्करणमा फोटो तथा भिडियोहरु अझ सुलभ दरमा हेर्नका लागि ग्राहकहरुले फेसबुक पेजबाटै आफ्नो आवश्यकता अनुसारको डेटा प्याकहरु खरिद गर्न पनि सक्नेछन् । त्यसैगरी एस्ट्रिक्स १२३ ह्यास डायल गरि प्राप्त निर्देशन अनुसार पनि ग्राहकहरुले आफुलाई चाहिएको डेटा प्याक खरिद गर्न सक्नेछन् । फेसबुकका अनुसार, हाल नेपालबाट ८० लाख भन्दा बढि मानिसहरु फेसबुकका माध्यमबाट सामाजिक रुपमा आवद्घ रहेका छन् । यसअघि कति नेपालीले फेसबुक चलाउँछन् भन्ने अाधिकारिक तथ्याङ्क सार्वजनिक भएकाे थिएन । फेसबुक फ्रि ब्राउजिङको सुविधा प्रोक्सी ब्राउजरमा उपलब्ध हुने छैन । उदाहरणका लागि ओपेरा मिनि जस्ता प्रोक्सी ब्राउजरहरुबाट फेसबुक प्रयोग गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । त्यस्तै ग्राहकले फेसबुकका अन्य बाह्य लिङकहरु क्लिक गर्दा फेसबुक फ्रि संस्करणबाट बाहिर गएको सुचित गराइने छ र ग्राहकले यदि फेसबुक फ्रिबाट बाहिर जान चाहेमा विद्यमान डेटा शुल्क लाग्ने कम्पनीले जनाएकाे छ ।