नेपाल टेलिकमले फेरि ल्यायो निशुल्क भ्वाइस कल सेवा, आगामी कात्तिक सम्म लागु
काठमाडौं । नेपाल टेलिकमले प्रयोगकर्ताले एकअर्कामा निशुल्क भ्वाइस कल गर्न मिल्ने कर्पोरेट युजर ग्रुप (सीयुजी) सुविधा मंगलबारदेखि फेरि सुरु गरेको छ । अब सीयूजी सुविधा प्रयोग गरी एउटै सीयूजी प्याकेज अन्तर्गत रहेका कर्पोरेट ग्राहकहरुले एक अर्कामा निःशुल्क रुपमा असीमित भ्वाइस कल गर्न सक्ने छन् । टेलिकमका अनुसार यो सुविधा आगामी कात्तिक २७ गतेसम्म लागू हुनेछ । जीएसएम पोष्टपेड मोबाइलका कर्पोरेट ग्राहकका लागि टेलिकमले नयाँ महसुल दर समेत निर्धारण गरेको छ । साथै कर्पोरेट युजर ग्रुप वाहेक नेपाल टेलिकमकै नेटवर्क भित्रका अन्य नम्बरमा समेत भ्वाइस कल गर्न र डाटा चलाउन पाइने छ । कम्पनीले कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी कर सहित ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सीयूजी प्याकेजहरु उपलब्ध गराएको छ । सबैभन्दा सस्तो प्याकेज ४ सय रुपैयाँमा रहेको छ । यस अन्तर्गत सीयूजी ग्रुप भन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइने छ । त्यसैगरी ७ सय रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिने छ । यो वाहेक १ हजार रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र १५०० एमबी डाटा चलाउन, १३ सय रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र २१०० एमबी डाटा चलाउन तथा १६ सय रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र २७०० एमबी डाटा चलाउन पाइने छ । सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ । कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जीएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुन सक्ने टेलिकमले जनाएको छ । कर्पोरेट हाउसले आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराए पछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइएको छ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिने छ ।
नेपाल टेलिकमको सहुलियत थप तीन महिना
काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्तालाई नयाँ वर्ष तथा अन्य अवसरमा उपलब्ध गराएका विभिन्न सुविधालाई तीन महिना थप गरेको छ । उपभोक्ताले अत्याधिक रुचाएकोले यसलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । यो सहुलियत आउदो कात्तिक २३ गतेसम्म कायम रहने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । अफर अन्तर्गत अल टाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फेसबुक÷इन्स्टाग्राम डाटा प्याक, फोरजी डाटा प्याक र नाइट भ्वाइस प्याकेज रहेको जानकारी दिइएको छ । जीएसएम प्रिपेड÷पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज प्रयोग गर्न सकिने छ । नाइट भ्वाइस प्याकेज अन्तर्गत २५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म २५० मिनेट कल सुविधा सात दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराएको टेलिकमले जनाएको छ । अल टाइम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ । त्यसैगरी, ५० रुपैयाँमा १५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १२५ एमबी डाटा, १ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४ सय एमबी डाटा, २ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ८५० एमबी डाटा र ३ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५ सय एमबी डाटा उपलब्ध गराइएको जाकारी दिइएको छ । त्यसैगरी, नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा ५ सय एमबी डाटा ७ दिनसम्म र ९० रुपैयाँमा १२ सय एमबी डाटा १५ दिनसम्म चलाउन पाइने कुरा उल्लेख छ । सो वाहेक २ सय रुपैयाँमा ३ जीबी डाटा र ३ सय रुपैयाँमा ६.५ जीबी डाटा तीस दिनसम्म चलाउन पाउनुको साथै नाइट डाटा प्याकेज राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने कम्पनीले जनाएको छ । फेसबुक÷इन्स्टाग्राम डाटा प्याक अन्तर्गत २५ रुपैयाँमा ११० एमबी डाटा ७ दिन र ५० रुपैयाँमा २३० एमबी डाटा १४ दिन तथा एक सय रुपैयाँमा ५ सय एमबी डाटा र २ सय रुपैयाँमा ११ सय एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ ।
नेपाल टेलिकमको सेयर मूल्य ९ वर्षयताको उच्चतम, बजार मूल्य १ खर्ब ६ अर्ब
काठमाडौं । नेपाल टेलिकमको सेयर मूल्य ९ वर्षयताको उच्चतम विन्दुमा पुगेको छ । सोमबार यस कम्पनीको सेयर प्रतिकित्ता ७१२ रुपैयाँमा कारोबार भयो । यो मूल्य २०६५ सालयताको अधिकतम मूल्य हो । सोमबार कम्पनीको पूँजीकरण १ खर्ब ६ अर्ब रुपैयाँ नाघेको छ । २०६५ भदौमा टेलिकमको सेयर प्रतिकित्ता करिव १४०० रुपैयाँमा कारोबार भएको थियो । २०६७ सालमा यस कम्पनीको सेयर मूल्य घटेर ३५० रुपैयाँसम्म झरेको थियो । गत वर्ष नेप्से परिसूचक १८८१ रुपैयाँ पुग्दा पनि नेपाल टेलिकमको सेयर मूल्य ७०६ रुपैयाँ भन्दा माथि जान सकेको थिएन । गत चैत १ गते यस कम्पनीको सेयर मूल्य ६२० रुपैयाँमा झरेको थियो । किन बढ्यो मूल्य कम्पनीको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले गत साता संसदीय समिति बोल्दै टेलिकमले गत आर्थिक वर्षमा खुद नाफा १५ अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको बताएकी थिइन् । उनको भनाई सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२ रुपैयाँले बढेको छ । कम्पनीले गत वर्ष गरेको नाफा चुक्ता पुँजीभन्दा ४२ करोड रुपैयाँ बढी हो । यस कम्पनीले पहिलो पटक चुक्ता पुँजी भन्दा बढी खुद नाफा आर्जन गरेको हो । नेप्सेमा सूचिकृत कम्पनीमध्ये सेयर पुँजी, वार्षिक नाफा र संचित कोषमा बचत भएको रकमका आधारमा नेपाल टेलिकम सबैभन्दा ठूलो कम्पनी हो । टेलिकमको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ । गत चैत मसान्तसम्ममा कम्पनीको संचित कोषमा ७४ अर्ब ८६ करोड रुपैयाँ रहेको छ र कम्पनीको इक्विटी करिब ९० अर्ब रुपैयाँ पुगेको छ । बजारमा अरु कम्पनीको तुलनामा नेपाल टेलिकमको सेयर सस्तो छ । कम्पनीका प्रतिसेयर आम्दानी १०३ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ ५९९ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थको ५ गुणा बढी मूल्यको सेयरलाई जोखिम मुक्त सेयर मानिने गरेको नेपाल स्टक एक्स्चेञ्जका सहायक प्रवक्ता मुराहरि पराजुली बताउँछन् । यस आधारमा टेलिकमको सेयर मूल्य सस्तो र कम जोखिमयुक्त मान्न सकिने उनको भनाई छ । नेपाल टेलिकमको सेयरमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न थालेको कालिका सेक्यूरिटीजका प्रबन्ध निर्देशक नरेन्द्रराज सिजापतिले बताए । बैंकिङ क्षेत्रमा तरलता वृद्धिसँगै सेयरमा लगानी वृद्धि हुन थालेको छ । ‘बैंकहरुले बैंक तथा फाइनान्सको सेयर किन्न पाउँदैनन्, बीमा क्षेत्रको सेयर मूल्य माथि हुनुको साथै धेरै परिमाणमा किन्नको लागि सेयर नै पाइदैन’ सिजापति भन्छन्–‘टेलिकम कम्पनी पनि राम्रो छ, धेरै सेयर किन्न पनि पाइन्छ ।’ कम्पनीले प्रत्येक वर्ष ४० देखि ५० प्रतिशत नगद लाभांश वितरण गर्दै आएको छ । गत गर्षको नाफाबाट कम्पनीले २० प्रतिशत संचित कोषमा जम्मा गरेर पनि सेयर धनीलाई ८० प्रतिशत लाभांश दिन सक्छ । तर कम्पनीले लाभांश दरमा क्रमिक वृद्धि गर्ने नीति लिएमा ६० देखि ७० प्रतिशत नगद लाभांश वितरण गर्न सक्छ ।