अब सातै प्रदेशमा टेलिकमको फोरजी सेवा, के हाे र कसरी गर्ने ‘एक्टिभेट’ ?
काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले ३२ जिल्लाका ५० भन्दा बढी शहरमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ गरेका हुन् । टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो । टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोवार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गरेको हो । त्यसका लागि करीब १५० भन्दा बढी स्थानमा बिटिएस टावर जडान गरिएको छ । सातै प्रदेशका मुख्यमुख्य शहरमा फोरजी सेवा विस्तार गरिएको छ । प्रदेश नं १ को चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान र धनकुटामा फोरजी सेवा सञ्चालनमा आएको छ । यस्तै प्रदेश नं २ को जनकपुर, जलेश्वर, मलङ्गवा, बारा, पर्सा, सिमरा, कलैया र गौरमा पनि सेवा शुरु भएको छ । प्रदेश नं ३ को धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भीमेश्वर, सिन्धुलीमाडी, चितवन, सौराहा तथा गण्डकी प्रदेशको पर्वत, कुश्मा र बाग्लुङमा पनि सेवा सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको प्रादेशिक राजधानी पोखरामा यसअघि नै फोर जी सेवा सञ्चालनमा आइसकेको छ । प्रदेश ५ को तौलिहवा, बुटवल, देवदह, तुल्सीपुर, घोराही, नेपालगञ्ज र कोहलपुर, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको भीमदत्तनगर, झलारी पिपलाडी, चौमाला र अत्तरियामा सेवा सञ्चालनमा आएको छ । फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ । गत माघमा सम्झौता भएबमोजिम नै एक वर्षभित्र देशभर नै उक्त सेवा पुर्याउने लक्ष्य साथ युद्धस्तरका काम भइरहेको छ । उक्त सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको छ । सरकारले अगाडि सारेको ‘डिजिटल नेपाल’को अवधारणालाई सार्थक बनाउन फोरजी सेवालाई महत्वपूर्ण साधनका रुपमा हेरिएको छ । सरकारले डिजिटल नेपाल निर्माण गरी देशको सर्वाङ्गीण विकास गर्न फोरजी सेवाले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । सूचना तथा प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्ने लक्ष्यका साथ गत माघमा फोरजी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटिई कर्पोरेशन र हङकङको सिसिएसआई कम्पनीसँग सम्झौता भएको थियो । सम्झौताअनुसार तोकिएको अवधि पूरा हुन चार महीना बाँकी रहेको भए पनि निर्धारित समयमै काम सकिने देखिएको छ । दैनिक १६ देखि १८ घण्टासम्म निरन्तर खटिई काम सम्पन्न गरिएको थियो । टेलिकमले फोरजीका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ काठमाडौँ र बुटवलमा राखेको छ । टावरको फाउन्डेशन, विद्युत् जडान, घरवालासँगको सम्झौता, जग्गा भाडाको सबै काम सम्पन्न गरिसकेको छ । देशभर सेवा विस्तार गरेर थप ६५ लाख ग्राहक थप्ने योजनासाथ काम भइरहेको टेलिकमको दाबी छ । गत असार मसान्तको विवरणअनुसार हाल टेलिकमका ग्राहक दुई करोड २६ लाख ९६ हजार छन् । त्यसमा मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या मात्रै दुई करोडको हाराहारीमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । टेलिकमले गत शुक्रबार मात्रै फोरजी विस्तार गर्ने स्थानमा आवश्यक परीक्षण गरेको थियो । के हो फोरजी सेवा ? फोरजी सेवा प्रयोग गरी कुराकानी गर्न तथा भिडियो, अडियो र सामान्य इन्टरनेट प्रयोगसहितका बहुआयामिक उपयोगिता हासिल गर्न सहज हुने बताइएको छ । सन् १९८० को दशकमा व्यावसायिक रुपमा शुरु भएको ताररहित वा बेतार मोबाइल फोन सेवाले आजको दिनमा आइपुग्दा प्रविधिगत र व्यावसायिक रुपमा ठूलो फड्को मारेको छ । यो उच्च गुणस्तरको भ्वाइस कल सेवा दिने प्रविधि हो । फोरजी सेवाबाट ताररहित उच्च गतिको इन्टरनेट प्रयोग गर्न सकिनेछ । यसले द्रुतगतिमा डाटा ‘अपलोड’ र ‘डाउनलोड’ गर्ने क्षमता राख्दछ । फोरजीबाट थ्रिजीभन्दा पाँच गुणा बढी गतिको इन्टरनेट चल्दछ । अन्तर्राष्ट्रिय दूरसञ्चार संस्थाले बनाएको मापदण्डले १०० एमबिपिएस गतिको इन्टरनेट सेवालाई फोरजीका रुपमा मानिएको छ । फोरजी प्रविधिअन्तर्गत टेलिकमको नेटवर्कमा ८०० मेगाहर्ज, १८०० मेगाहर्ज र भविष्यमा २३०० मेगाहर्जसमेत गरी तीन अलगअलग फ्रिक्वेन्सी ब्यान्डमा सेवा सञ्चालन गरिने टेलिकमले जनाएको छ । फरकफरक ब्यान्डले सेवाको ‘कभरेज’ र डाटा क्षमतामा प्रभाव पार्ने भएकाले पनि नयाँ विस्तारित सेवा क्षमताको हिसाबले पहिलो विद्यमान फोरजी सेवाभन्दा राम्रो रहेको टेलिकमको दाबी छ । कसरी गर्ने ‘एक्टिभेट’ ? टुजी र थ्रिजी सिमलाई फोरजीमा रुपान्तरण गर्दा कुनै शुल्क नलाग्ने टेलिकमले जनाएको छ । अन्य सिमकार्डको प्रयोग गरेका ग्राहकले मोबाइलमा स्टार ४४४ ह्यास डायल गरी फोरजी सेवा निःशुल्क ‘एक्टिभेट’ गर्न सक्नेछन् । पुरानो सिमले फोरजी सेवा सपोर्ट नगरेमा टेलिकमको जुनसुकै ग्राहक सेवा केन्द्रमार्फत सिम परिवर्तन गर्न सकिनेछ । थ्रिजी तथा टुजीको दरमा नै फोरजी सेवा लिन सकिने र थप शुल्क नलाग्ने टेलिकमले जनाएको छ । टेलिकमले दशैँका अवसरमा आइतबारदेखि नै फोरजी र अन्य सेवामा विशेष छुट दिएको छ । कम्पनीका अनुसार पहिलो पटक फोरजी ‘एक्टिभ’ गर्ने ग्राहकले दुई दिनको समयसहितको दुईसय एमबी डाटा बोनस पाउनेछन् ।
बुधबारदेखि ३२ जिल्लाका प्रमुख शहरमा नेपाल टेलिकमको फोरजी, प्रधानमन्त्री ओलीबाट सफ्ट लञ्च गरिने
काठमाडौँ । नेपाल टेलिकमले फोरजीरएलटीई सेवाको नेटवर्कसातै प्रदेशका प्रमुख शहरहरुमा बिस्तार गरेको अवसरमा असोज १५ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट सफ्ट लञ्च गरिने भएको छ । हाल यो सेवा सातै प्रदेशका गरी कुल ३२ जिल्लाका प्रमुख शहरमा विस्तार गरिएको छ । यसको प्रयोग पश्चा् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुनेछ । मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत सुधार हुनेछ । विस्तारित फोरजीरएलटीई सेवा एलटीई एड्भान्स्ड प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिने छ । हाल सञ्चालनमा ल्याइएको नयाँ फोरजीरएलटीई सेवा विद्यमान मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको र सबै वस्तीहरुमा सेवा पु¥याउने गरी संरचना तयार गरिएकाले दीर्घकालसम्म कम्पनीको सेवा विस्तारका लागि समेत महत्वपूर्ण पूर्वाधार सावित हुनेछ । नेपाल टेलिकमले देशमै पहिलो पटक वि.सं. २०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजी÷एलटीई सेवाको शुरुवात गरेको थियो । यस सेवाको विस्तारका क्रममा देशभर सातै प्रदेशमा सेवा सञ्चालनका लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको थियो । यसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएका थिए । कम्पनीले सम्झौताको एक वर्षभित्रै देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्यका साथ कार्य अघि बढाइरहेको कम्पनीले जनाएको छ । सम्झौता अन्तर्गतको कार्य तदारुकताका साथ भइरहेको र सो अनुसार हालसम्म देशका सातै प्रदेशमा सो सेवाको नेटवर्क पुगिसकेको छ । कम्पनीले सातै प्रदेशमा फोरजी÷एलटीई सेवाको शुभारम्भ गरेको अवसरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरुका लागि आकर्षक इन्टरनेट प्याकेज पनि प्रदान गर्ने निर्णय गरेको छ । यसअघि नै मोबाइलका उपभोक्ताहरुलाई प्रदान गरिएका केही अल टाइम डाटा अफरमा शत प्रतिशत डाटा भोल्युम थप गरी साविकको मूल्यमै प्रदान गरिएको छ । यसअघि जम्मा २५ रुपैयाँमा २ सय एमबी डाटा प्रदान गरिरहेकोमा फोरजी एलटीई सेवाका ग्राहकहरुलाई सोही दरमा २०० एमबी थप गरी जम्मा ४०० एमबी डाटा उपलब्ध गराइने छ । यो प्याकेज लिइएको २४ घण्टासम्मा प्रयोग गर्न सकिनेछ । यसैगरी१ सय रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको ५०० एमबी डाटा प्याकेज फोरजी एलटीइका सेवाग्राहीलाई थप ५०० एमबी डाटा वोनसस्वरुप प्राप्त हुनेछ । यसको प्रयोग ७ दिनसम्म गर्न सकिनेछ । साथै २८ दिनसम्म प्रयोगमा ल्याउन सकिने २ सय ४० रुपैयाँमा उपलब्ध डेढ जिबी डाटा प्याकेज फोरजी एलटीई मोबाइल प्रयोगकर्तालाई सोही मूल्यमा ३ जिबी डाटासहित प्राप्त हुने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।
नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याउने, बुधबारदेखि शुरु
सरकारी स्वामित्वको नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । सो सेवा आउँदो बुधबारदेखि शुरु हुनेछ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलले देशका अधिकांश स्थानमा फोरजी सेवा पुर्याएको दाबी गरिरहँदा सरकारी स्वामित्वको टेलिकमले लामो प्रयास पछि सेवा विस्तार गर्न लागेको हो । कम्पनीले काठमाडौँमा कार्यक्रमको आयोजना गरी फोरजी सेवा विस्तार भएको घोषणा गर्ने र उक्त कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने जनाइएको छ । टेलिकमले यसअघि २०७३ पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोर जी सेवा पुर्याएको थियो । टेलिकमले बढी व्यवसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गर्न लागेको हो । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार हालसम्मको तयारी अनुसार ५० शहरी तथा नगर क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा उपलब्ध गराउने तयारी अनुसार काम भइरहेको छ । त्यसका लागि करीब ११० बढी स्थानमा बिटिएस टावर जडान गरिसकेको छ । बुधबारसम्म त्यस्ता टावरको संख्या १५० सम्म पुग्नेछ । हरेक दिन एक दर्जन टावरको संख्या थपिएको र दु््रतगतिमा काम भइरहेकाले तोकिए भन्दा बढी स्थानमा सेवा पुर्याउने योजनामा आफूहरु रहेको प्रवक्ता वैद्यको भनाइ छ । उनका अनुसार चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान, धनकुटामा फोर जी सेवा सञ्चालनमा आउनेछ । यस्तै जनकपुर, जलेश्वर, मलङ्गवा, जलेश्वर, बारा, पर्सा, सिमरा, कलैया, गौरमा चौथो पुस्ताको फोरजी सेवा शुरु हुनेछ । यस्तै,धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भिमेश्वर, सिन्धुलीमाडी, पर्वत, कुश्मा, बाग्लुङ, चितवन, सौराहा, तौलिहवा, बुटवल, देवदहमा त्यस्तो सेवा विस्तार हुनेछ । तुल्सीपुर, घोराही, बाँकेको नेपालगन्ज, कोहलपुर भीमदत्तनगर, झलारी, पिपलाडी, चौमला र अत्तरियामा सेवा सञ्चालनमा आउनेछ । कर्णाली प्रदेशको सुर्खेतमा सोही दिनदेखि उक्त सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको टेलिकमका सहायक प्रवक्ता कृष्ण भण्डारीले जानकारी दिए । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले तोकिएको समयमा नै टेलिकमको फोरजी सेवा विस्तार गर्न दिनु भएको निर्देशन अनुसार नै काम शुरु भएको आठ महिना पुग्दा नपुग्दै मुलुकका ५० बढी स्थानमा एकै पटक उक्त सेवा पुग्न लागेको हो । फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ । गत माघमा सम्झौता भए बमोजिम नै एक वर्षभित्र देशभर नै उक्त सेवा पुर्याउने लक्ष्यसाथ युद्धस्तरका काम भइरहेको टेलिकमले जनाएको छ । उक्त सेवा विस्तारका लागि टेलिकमले रु १८ अर्ब खर्च गरेको छ । मन्त्री बाँस्कोटाले डिजिटल नेपालको अवधारणालाई सरकारले अगाडि बढाएको सन्दर्भमा फोरजी सेवा एउटा महत्वपूर्ण साधन भएको बताउँदै आएका छन् । सूचना तथा प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्ने लक्ष्यका साथ गत माघमा फोरजी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटीई कर्पोरेसन र हङकङको सीसीएसआई कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौता अनुसार तोकिएको अवधि पूरा हुन चार महिना बाँकी रहेको भएपनि निर्धारित समयमै काम सकिने देखिएको छ । नेपालमा हरेक काम तोकिएको समयमा पूरा नहुने र अनेकन बाहना बनाएर पन्छने प्रवृत्तिबाट आहात भएको देशले फोरजी सेवा भने तोकिएको समयमा नै पाउने भएका छन् । उक्त सेवा विस्तारका लागि साँझ बिहान नभनी दैनिक १८ घण्टा बढी काम भइरहेको छ । परिचालन तथा आवश्यक समन्वयका लागि टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेतृत्व लिइरहेका छन् । कुन स्थानको काम के भयो, प्रगति के छ भन्ने देखि समस्या समाधानका लागि प्रबन्ध निर्देशक स्वयम् नै लागेपछि अन्य कर्मचारीलाई दबाब परेको छ । दैनिक नै नयाँ नयाँ प्रगतिका विवरण टेलिकममा प्राप्त भइरहेका छन् । प्रतिस्पर्धाको युगमा निजी सेवा प्रदायकले करिब करिब देशभर सेवा पुर्याइरहेको अवस्थामा सरकारी स्वामित्वको कम्पनीपछि परेको त होइन भन्ने आम नागरिकको गुनासोलाई सम्बोधन हुने गरी काम भइरहेको टेलिकमले जनाएको छ । टेलिकमले फोरजीका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ काठमाडौं र बुटवलमा राखेको छ । टावरको फाउन्डेसन, विद्युत् जडान, घरवालासँगको सम्झौता, जग्गा भाडाको सबै काम सम्पन्न गरिसकेको छ । देशभर सेवा विस्तार गरेर थप ६५ लाख ग्राहक थप्ने योजनासाथ काम भइरहेको टेलिकमको दावी छ । गत असार मसान्तको विवरण अनुसार हाल टेलिकमको ग्राहक दुई करोड २६ लाख ९६ हजार छन् । त्यसमा मोबाइल फोन प्रयोग गर्नेको सङ्ख्या मात्रै दुई करोडको हाराहारीमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । टेलिकमले गत शुक्रबार मात्रै फोरजी विस्तार गर्ने स्थानको आवश्यक परिक्षण गरेको थियो । केही दिन पहिले रासससँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमको फोरजी सेवा विस्तार युद्धस्तरमा भइरहेको र तोकिएको समयमा पूरा हुने विश्वास व्यक्त गरेका थिए । उनले टेलिकमको फोरजी सेवा विस्तार र सञ्चालनको अन्तिम तयारी भइरहेको र त्यसका लागि आवश्यक सबै संयन्त्र परिचालन गरिएको बताए । यस्तै टेलिकमले दशैंको अवसरमा आइतबार घटस्थापनादेखि नै फोरजी र अन्य सेवामा विशेष छुट दिएको छ । टेलिकमको फोरजी सीम परिवर्तन गर्दा कुनै शुल्क नलाग्ने जनाएको छ । कम्पनीका अनुसार पहिलो पटक फोरजी नेटवर्कमा दर्ता हुने ग्राहकले दुई दिनको समयसहितको दुई सय एमबि डाटा बोनस पाउने व्यवस्था गरेको छ । दोस्रो र तेस्रो पुस्ताका सीम चलाइरहेका ग्राहकले सामान्य रुमपा नै आफ्नो सीमलाई फोर जी बनाउन सक्ने जनाएको छ । रासस