टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमले उपत्यकामा नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र शुरु गरेको छ । उक्त केन्द्रको शुभारम्भ शुक्रबार एक कार्यक्रमका बीच सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले गरेका हुन् सो अवसरमा राज्यमन्त्री बिष्टले नेपाल टेलिकमको ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि सोधपुछ तथा ग्राहक सेवा केन्द्रले थप सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । उनले समय सापेक्ष नयाँ प्रविधि भित्र्याएर सेवा उपलब्ध गराए मात्र ग्राहकलाई सन्तुष्ट बनाउन सकिने र राजश्व पनि वृद्धि हुने बताएका छन् । सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले नेपाल टेलिकमका सामू विविध किसिमका चुनौतीहरु पनि भएकाले त्यसलाई अवसरमा परिवर्तन गर्न तथा ग्राहकको गुनासोलाई सम्बोधन गर्नका लागि सेवा केन्द्रले सहयोग पुर्याउने बताएका छन् । त्यस्तै, टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकका जिज्ञासा तथा गुनासालाई समयमै सम्बोधन गर्न र कम्पनीलाई ग्राहकप्रति उत्तरदायी बनाइरहनका लागि सेवा केन्द्रको महत्वपूर्ण भूमिका हुने बताइन् । वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक देवनारायण यादवले यस प्रकारको सेवा पहिले देखि नै सञ्चालन गरिएको भए तापनि हाल नयाँ व्यवस्थापनमा सञ्चालन गर्न लागिएको बताए । १९७ मार्फत हुने सोधपुछ सेवा शुक्रबारदेखि नयाँ संरचनाबाट सञ्चालनमा आइसकेको छ । वायरलाइन ग्राहक सेवाका लागि १९८ र जिएसएम तथा सीडीएमए मोबाइल ग्राहक सेवाका लागि १४९८ नम्बरमा डायल गरेर ग्राहकहरुले उक्त सेवा सम्बन्धी गुनासा तथा जिज्ञासा राख्ने तथा आवश्यक जानकारी लिन सकिन्छ । यी सबै सेवा निःशुल्क रुपमा उपलब्ध छन् । कम्पनीले टेलिफोनबाट मात्र सेवाहरु दिइरहेकोमा सो सेवा केन्द्रबाट छिट्टै नै एसएमएस, इमेल तथा वेब च्याट सेवाको माध्यमबाट समेत सोधपुछ तथा ग्राहक सेवा उपलब्ध गराउने बताएको छ । सोधपुछ तथा ग्राहक सम्बन्धी सेवा बाह्य संस्था मार्फत गर्ने कम्पनीको नीति अनुसार हाल नयाँ व्यवस्थापन सहित हाइवे लिंक प्रालिसँग सम्झौता गरी सेवा उपलब्ध गराउन लागेको कम्पनीले बताएको छ ।  

एनसेलबाट तीनमहिनासम्म निशुल्क आईफ्लिक्स चलाउन पाउने, ५० रुपैयाँ १ घण्टाको भिडियो प्याक  

काठमाडौं । अब एनसेलका ग्राहकले विहीबारदेखि तीन महिनासम्म आइफ्लिक्सका सेवा निशुल्क चलाउन पाउनेछन् । एनसेल र आइफ्लिक्सबीच बुधबार सहकार्य गर्ने समझदारी भएको छ । तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राती १२ बजे देखि बिहान ५ बजे सम्म एनसेलको डेटा सेवा प्रयोग गरी आईफ्लिक्समा रहेको कुनै पनि सामाग्री निःशुल्क हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । यसका साथै एनसेलका फोरजी ग्राहकले हरेक दिन बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म थप २ घण्टा आईफ्लिक्सको निःशुल्क सेवा लिन सक्ने कम्पनीले जानकारी दिएको छ । एनसेलले आईफ्लिक्स अफर ल्याइएको अवसरमा कर सहित ५० रुपैयाँमा १ घण्टाको भिडियो प्याक पनि ल्याएको छ ।यो प्याक अन्तर्गत ग्राहकले  आईफ्लिक्समा रहेका कन्टेन्टहरु  मध्य कुनै पनि कन्टेन्टको एक घण्टा सम्म लिन सक्नेछन् र ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याकजति पटक पनिलिन सक्नेछन् । ‘‘आफ्ना ग्राहकलाई विश्वस्तरीय मनोरञ्जन प्रदानगर्न आईफ्लिक्ससँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौं । देशको विभिन्न १९ सहरमा फोरजी सेवाविस्तार पश्चातगरिएको यो सहकार्य डिजिटल नेपालनिर्माणको कार्यमा योगदान पुर्याउनएनसेल प्रतिबद्घ रहेको प्रमाण हो र यो सेवाले डेटा तथा कन्टेन्टको बढ्दो मागलाई सम्बोधन गर्नेछ,’’ एनसेलका कर्पोरेट सर्भिसेस् डाइरेक्टर प्रणय आचार्यले भने । नेपालमा आईफ्लिक्स सेवाको शुरुवात भएको अबसरमा, थुप्रै चर्चित सिनेमा तथा टीभी शोहरु नेपाली सब टाइटलमा पनि उपलब्ध हुनेछन् । “आईफ्लिक्स स्थानीय ग्राहकहरुको मनोरञ्जनको माग पुरा गर्न अत्यन्त संवेदनशील छ । हाम्रो सामग्रीको विशाल संकलनबाट विश्वका उत्कृष्ट टीभी शो तथा सिनेमा नेपाली दर्शक तथा ग्राहकलाई आफ्नै रोजाईको डिभाइसमा डाउनलोड वा स्ट्रिम गर्ने सुविधा प्रदान गर्न हामी दत्तचित्त भएर लागेका छौं । यस सेवाको लागि एनसेल, नेपालको अग्रणी मोबाइल सेवा प्रदायकसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं, ” आईफ्लिक्सकालागि नेपालकी कन्ट्री लीड भावना घिमिरेले भनिन् । कम्पनीका अनुसार ग्राहकले गुगल प्ले वाआइओएस एप्पल स्टोरमागई सजिलै आईफ्लिक्स एप डाउनलोड गर्न सक्छन् र आफ्नो इमेल वा फेसबुक अकाउन्ट प्रगोग गरी एपमा रजिष्टर गर्न सक्नेछन् । एप डाउनलोडगर्दा र कन्टेन्टहरु हेर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । एक पटकमा ग्राहकले आफ्ना ५ वटा सम्म डिभाइसमा जस्तै मोबाइल, ट्याबलेट, ल्यापटप, डेस्कटप र टीभीमा आईफ्लिक्सको सुविधा लिन सक्छन् र एकै साथै दुई वटा डिभाइसमा विभिन्न सामाग्रीहरु हेर्न सक्नेछन् ।

भाइबरबाट मोबाइलमा फोन गर्दै हुनुहुन्छ ? पाँच लाख रुपैंयाँ जरिवानामा परिएला

काठमाडौं । के तपाई भाइबरबाट मोबाइल वा ल्याण्ड लाइनमा फोन गर्दै हुनुहुन्छ ? सावधान ! पाँच लाख जरिवानामा परिएला । नेपालमा भाइबरबाट मोबाइल र ल्याण्डलाइन फोनमा कल गर्नुलाई भिओआइपी जस्तै अबैध मानिन्छ । भाइबरबाट मोबाइल र ल्याण्डलाइन फोनमा कल गर्नुलाई प्राबिधिक भाषामा भाइबर आउट भनिन्छ र यसले राजश्व छल्नुका साथै नेपाली मुद्रा अनधिकृत रुपमा विदेशिन्छ । त्यसैले नेपालमा भाइबरका प्रयोग कर्ताहरुमाथी नेपाल दुर सञ्चार प्राधिकरणले निगरानी अघि बढाएको छ । प्राधिकरणले सार्वजनिक सूचना निकालेरै कारवाहीको चेतावनी दिएको हो । ‘भाइबरको प्रयोग गरेर इन्टरनेट कल मात्रै गर्न पाउने व्यवस्था छ तर भाइबरबाट मोबाइल र ल्याण्डलाइनमा समेत फोन गरिएको उजुरी परेको छ, यसले राजश्वमा नोक्सानी पुग्ने र नेपाली मुद्रा अनधिकृत रुपमा विदेशीने देखिएपछि हामीले निगरानी बढाएका हौं’, नेपाल दुर सञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने । उनले भाइबर आउट पनि भिओआइपी जस्तै अबैधानिक भएकाले सचेत रहन उपभोक्ताहरुलाई आग्रह पनि गरे । भाइबर आउटको रिचार्जका लागि विदेशमा पैसा पठाउनुपर्ने भएकाले पनि सबैले सचेत हुनुपर्नेमा जोड दिए । भाइबर आउट गरेमा विगो बमोजिमको जरिवाना र अधिकतम ५ लाखसम्म तिनुपर्ने कानुनी व्यवस्था रहेको छ । नेपालमा भाइबर आउट सेवाका लागि इसेवाले काम गरिरहेको छ । इसेवाले आफ्नो अकाउण्टबाट क्रेडिट कार्डबिनै भाइबर आउटका लागि पैसा तिरिदिँदै आएको छ । इसेवाको आफ्नो वेभसाइटमा पनि भाइबर आउटको रकम तिर्ने सुबिधा रहेको जानकारी राखिएको छ ।