ग्लोबल बैंकले पनि शुरु गर्यो भाइवर बैंकिङ्ग सेवा, बैंकमा खाता नभए सेवा लिन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले भाईबर मार्फत बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त भाईबर बैंकिङ्ग सेवा मार्फत ग्राहक महानुभावहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्पुटर लगायतबाट बैंकिङ्ग सेवाको बारेमा जानकारी लिन सक्ने बैंकले जनाएको छ । भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहक महानुभावहरुको मोबाइल नम्बर उक्त बैंकको ग्लोबल स्मार्ट मोबाईल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । ग्लोबल स्मार्ट मोबाईल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको मोबाईलका प्रयोगकर्ता ग्राहकहरुले भाईबर बैंकिङ्ग मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, क्रेडिट कार्ड, कर्जा सुबिधा, मुद्धती खाता लगायत बैंकका अन्य सेवाको बारेमा जानकारी लिनसक्ने बैंकले जनाएको छ । यो सेवा ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले यो सेवा उपयोग गर्न सक्ने बैंकले जनाएको छ । खाता नभएका व्यक्तिले यो सेवा मार्फत बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् । बिज्ञान प्रबिधिले नयाँनयाँ आयामहरु भित्राइरहेको अहिलेको समयमा आफ्ना ग्राहकको सुबिधालाई ध्यानमा राख्दै बैंकले समय समयमा आफ्ना सुबिधाहरु परिमार्जन गर्दे आईरहेको छ । सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०८ वटा शाखा ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, १२३ वटा एटीएम, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ८ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

नबिल बैंकले भाईबर बैंकिङ्ग सेवा ल्यायो, डिजिटल बैंकिङ्ग क्षेत्रमा नयाँ आयाम

नबिल बैंकले नेपालमा नै पहिलो पटक नबिल भाईबर बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । नबिल भाईबर बैंकिङ्ग भाईबर प्लेटफर्म मार्फत उपलब्ध गराईएको एक सेवा हो । नबिल भाईबर बैंकिङ्ग सेवा मार्फत बैंकका ग्राहकहरुले आफ्नो खाताको मौज्दात जांच गर्न, खाताको छोटो कारोबारको विवरण लगायत अन्य विवरणको साथै विनिमय दर÷ब्याजदर आदि विभिन्न जानकारी लिन सक्ने बैंकले जनाएको छ । ग्राहकहरुले नबिल भाईबर बैंकिङ्गद्वारा बैंकबाट प्रेषित गरिएका सूचनाहरु, बैंकका शाखा तथा एटिएमका बारे जानकारी, बैंकिङ्ग समय बारेको जानकारी, बैंकका सेवा तथा प्रबर्धन सम्बन्धि जानकारी आदी प्राप्त गर्न सक्नेछन् । यस सेवाका लागि बैंकका ग्राहकहरु स्वयंले भाईबरमा उपलब्ध नबिल बैंकको सार्वजनिक खाता ‘नविल बैंक’मा दर्ता हुनु पर्नेछ । “डिजिटल बैंकिङ्ग क्षेत्रमा नयाँ आयाम थप्दै यस नबिलभाईबर सेवाले बैंकिङ्ग सेवाहरुलाई प्रोत्साहन गर्दै नयाँ उचाईमा पुर्याउन कोशेढुंगा साबित हुनेछ” नबिल बैंककका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले भने । नबिल बैंक सदैव नयाँ प्रविधि ग्रहण गर्न तथा नविन बैकिङ्ग सुविधाहरुको उपलब्धताको लागि अग्रपक्तिंमा रहँदै आएको छ । यस नबिलभाईबर बैंकिङ्ग सेवामार्फत ग्राहकहरुले घर वा कार्यालयबाटै थप डिजिटल माध्यमबाट आफ्नो खातामा पुहंच पुर्याई लाभ प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

केबल टेलिभिजन अपरेटरलाई सरकारको १५ दिने अल्टिमेटम, डिजिटल नबनाए कारबाही

काठमाडौं । सरकारले केबल अपरेटर कम्पनीहरुलाई एनालग केबल प्रणाली हटाएर डिजिटल प्रणाली लागू गर्न १५ दिने अल्टिमेटम दिएको छ । नभए कात्तिक २९ गतेबाट सञ्चार मन्त्रालयले अनुगमन गरी एनालग केबल बन्द गर्नेछ । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा पटकपटक हटाउन दिइएको निर्देशन विपरित केबल कम्पनीहरुले नहटाएपछि अल्टिमेटम दिएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताए । मन्त्रालयका प्रवक्ता ढकालले कात्तिक २९ गतेदेखि सबै केबल अपरेटर कम्पनीहरुमा अनुगमन गर्ने जानकारी दिएका छन् । उनले भने, ‘हामी सूचना जारी भएको १५ दिनपछि अनुगमनमा जान्छौं । अनुगमनमा एनालग प्रणाली लागू नगरिएको पाइएमा स्विच अफ गर्छौं ।’ उनका अनुसार हालसम्म १० वटा केबल कम्पनीले मात्र डिजिटल प्रणालीको लाइसेन्स लिएका छन्, ती मध्ये ८ वटा सञ्चालनमा छन् । यद्दपी उपत्यकामा २५ भन्दा बढी केबल कम्पनी छन् । एनालग प्रणालीमा गुणस्तरीय सेवा र समयसापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ । केबल कम्पनीहरुसँग यसबारे छलफल गरिरहेको मन्त्रालयले जानकारी दिएको छ । ‘यो नियम सबैमा एकैसाथ लागू हुनुपर्ने ठुला एनालग कम्पनीहरुको भनाई छ, ‘उनले भने, ‘एउटामात्र कम्पनीले हटाउँदा त्यहाँको ग्राहक अर्कोमा आकर्षित हुने भएकाले सबै केबललाई एकैसाथ डिजल प्रणाली अनिवार्य गर्नुपर्छ भन्ने केबल अपरेटरहरुले बताएका छन् ।’ यसअघि मन्त्रालयले गत बैशाख १५ पछि काठमाडौंसहित ललितपुर, वीरगञ्ज, बिराटनगर, पोखरा महानगरपालिकाहरुमा केबल टेलिभिजन डिजिटलाइजेशन भएनन् भने टीभी नचल्ने जानकारी दिएको थियो । तर ६ महिना बितिसक्दा पनि यो लागू हुन सकेन । स्रोत अनुसार मन्त्रालयमा नयाँ सचिव केदारबहादुर अधिकारी बहाली भएपछि यो नियमलाई फेरि अनिवार्य गर्न खोजिएको हो । सुरुमा महानगरपालिकामा मात्र लागू गर्ने योजना व्यवहारिक नभएकाले कार्यान्वयनमा आउन नसकेको मन्त्रालयका केबल टेलिभिजन समन्वय शाखाका इञ्जिनियर अनिल भुजेलले जानकारी दिए । उनले भने, ‘महानगरपालिका, उपहानगरपालिका र नगरपालिका एकअर्कोमा केबल बाडेर चलाउने भएकाले सुरुमा लागू गर्न गाह्रो भएको थियो । अहिले तीन वटै क्षेत्र अन्तर्गतको केबल हटाउने योजना व्यवहारिक छ ।’ एनागल प्रणालीलाई डिजिटलमा रुपान्तरण गर्न ग्राहकले हरेक टेलिभिजनका लागि छुट्टा छुट्टै सेट-टप बक्स लगाउनुपर्ने भुजेलले बताए । केबल कम्पनीले भने आफ्नो हेड-इन (कन्ट्रोल रुम) मा एनालग उपकरण हटाएर सबै उपकरण डिजिटलाइज्ड गर्नुपर्ने उनले जानकारी दिए । नेपालभर करिब ८५० वटा केबल कम्पनीले एनालग केबल प्रणालीको लाइसेन्स लिएका छन् । आगामी २०७५ बैशाख १५ सम्ममा देशभरीका एनालग प्रणालीलाई डिजिटलमा रुपान्तरण गर्ने मन्त्रालयको लक्ष्य रहेको छ । एनालगबाट सरकारले वार्षिक करोडौं रुपैयाँ राजश्व गुमाएको छ ।