विद्युतीय प्रणालीसम्बन्धी मापदण्ड लागू गर्न सूचना विभागलाई निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्माण तथा खरिदका लागि विद्युतीय प्रणालीसम्बन्धी उपकरण तथा सफ्टवेयरको मापदण्ड बनाई लागू गराउन सूचना प्रविधि विभागलाई निर्देशन दिने भएको छ । उक्त मन्त्रालयको सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशक समितिले सरकारी एकीकृत तथ्याङ्क केन्द्रमा भण्डारण भएका सूचना प्रविधि प्रणाली तथा तथ्याङ्क नियमित रुपमा ‘डिजास्टर रिकभरी सेन्टर’मा भण्डारण गर्ने र त्यसका लागि उक्त सेन्टरको क्षमता विस्तार गर्न राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई समेत निर्देशन दिइने निर्णय गरेको छ । समितिको बैठकले सूचना प्रविधि आकस्मिक सहायता समूह सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७५ को दफा १० (७) ले व्यवस्थाबमोजिम साइबर सुरक्षाका लागि समन्वय गर्न सबै सरकारी निकायले एक कर्मचारीलाई सम्पर्क अधिकृतको रुपमा काममा खटाउन तोक्नेबारे सबै निकायलाई पत्राचार गर्नेसमेत निर्णय गरेको जनाइएको छ । “विषयगत क्षेत्रमा साइबर सुरक्षाका लागि ‘सिमुलेसश एण्ड टेस्टिङ’को प्रयोजनार्थ तयार भएको आवरण बमोजिम हाललाई वित्तीय तथा दूरसञ्चार गरी दुई क्षेत्रमा ‘साइबर सेक्युरिटि सिमुलेशन एण्ड रिसर्च ल्याब’ स्थापना गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने उक्त मन्त्रालयद्वारा जारी विज्ञाप्तिमा भनिएको छ । त्यसैगरी, समितिले मौजुदा राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रलाई अन्तर्राष्ट्रियस्तरको ‘एनसिइआरटि अपरेशन सेन्टर’ बनाउने सम्बन्धमा ‘क्याप एनालाइसिस’सहित अवधारणा पत्र तयार गर्न उक्त केन्द्रलाई निर्देशन दिने भएको छ । समितिले क्षेत्रगत सूचना प्रविधि आकस्मिक सहायता समूह गठनका लागि क्षेत्र पहिचान गरी आगामी बैठकमा पेश गर्न राष्ट्रिय सूचना प्रविधि आकस्मिक सहायता समूहलाई निर्देशन दिने र ‘एशिया प्यासिफिक सिईआरटि’लागयत अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाको सदस्यता लिई अन्तर्राष्ट्रियस्तरमा पहुँच बढाउनेतर्फ पहल गर्ने पनि निर्णय गरेको छ । रासस
एप निर्माण गर्दै दूर सञ्चार प्राधिकरण, फोन गर्दा नसुनिए रिपोर्ट गर्न पाइने
काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले ग्राहकलाई फोन गर्दा सन्तुष्टी मिले नमिलेको जानकारी प्राप्त गर्ने एप्लिकेशन निर्माण गर्ने भएको छ । एप निर्माण भएपछि मोबाइल तथा टेलिफोन सेवाग्राहीले आफूले गरेको कलबाट सन्तुष्टी नमिले सहजै रिपोर्ट गर्न पाउने छन् । प्राधिकरणले आफूले गर्ने कलबाट कति सन्तुष्ट लिए भन्ने कुराको जानकारी ग्राहकबाटै प्राप्त गर्ने तयारी स्वरुप यो एप निर्माण योजना अघि बढाएको हो । अहिले फोन गर्दा आमग्राहकहरू फोन काटिएर, नबुझिएर र नेटवर्क बिजी भएका कारण फोन नलागेर हैरान हुने गरेका छन् । नेटवर्कमा सुधार गर्न प्राधिकरणले यस्तो मोबाइल एप्लिकेशन निमार्ण गर्न यो योजना अघि बढाएको प्राधिकरणका अध्यक्ष पुरुर्षोत्तम खनालले जानकारी दिए । समग्रमा नेटवर्क सुधारको लागि उक्त एप निर्माण गर्न लागिएको उनले बताए । अबको ४–५ महिनासम्म उक्त एप तयार भइसक्छ, उनले भने– ‘एक मिनेटमा कति जनाको कल काटिन्छ वा सुनिदैन त्यो ग्राहकलाई थाहा हुँदैन ।’ ग्राहकलाई त आफ्नो फोन काटिएको मात्रै थाहा हुन्छ र उसले तुरुन्त फोन थिचिहाल्छ । यद्यपि यसको वारेमा सेवा प्रदायकलाई भने थाहा हुन्छ । यसको वारेमा सहजै सेवाग्राहीले समेत थाहा पाउने बनाउन एप निर्माण कार्य अघि बढाइएको हो । फोनबाट ग्राहकलाई सन्तुष्ट मिले नमिलेको सन्तुष्टी नाप्ने एप्लिकेशन तयार भएपछि ग्राहकले आफुले गरेको कलमा कुनै समस्या आए वा अन्य अनुभव गरेमा यस विषयमा सिधै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिन सक्ने छन् । आफ्ना ग्राहकलाई सेवा दिन प्राधिकरणले छुट्टै एप्लिकेशन निर्माण प्रक्रियामा लागेको हो । प्राधिकरणले कलको क्वालिटीको जानकारी ग्राहकबाटै लिने तयारी गरेको हो । सेवाग्राहीले आफ्नो मोबाइलमा उक्त एप्लिकेशन डाउनलोड गरेर उक्त एपले गुणस्तरको विषयमा आवश्यक सूचना संकलन गर्नेछ । प्राधिकरणसँग रहेका उपकरणबाट यस्तो जानकारी संकलन गर्न सकिन्छ, त्यो एपले नै स्वतः संकलन गर्नेछ । एपमा गुणस्तरको विषयमा जस्तै प्रश्न सोधिने छ । उत्तर इन्ट्री गरेपछि एपले आफै रेटिङ गर्ने छ ।
अब बन्ने भयो जाजरकोटका सबै टावर, तोकिएको मितिमा सम्पन्न हुने
जाजरकोट । जाजरकोटमा नेपाल टेलिकमका सबै टावर निर्माण हुने भएको छ । उक्त टावर तोकिएको मितिमा भारतीय एम एस आस्टर कम्पनीका अधिकारी र जनप्रतिनिधिबीच माघ मसान्तभित्र निर्माण सम्पन्न गर्ने सहमति भएको हो । सात वटा स्थानीय तहका सरकार प्रमुख, जाजरकोट (क)का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह, प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, प्रहरी नायब उपरीक्षक श्याम खत्री, सशस्त्र प्रहरी बलका डिएसपी योग्य बस्नेतको रोहवरमा आइतबार साँझ लिखित सहमति गरिएको हो । जुनीचाँदे गाउँपालिकाको मजकोट, बारेकोट गाउँपालिकाको सक्ला र नायकवाडा, कुशे गाउँपालिकाको पैंक, शिवालय गाउँपालिकाको शेरी र नलगाड नगरपालिकाको डाडागाउँमा टेलिफोन टावर निर्माण गर्नका लागि भारतीय कम्पनीले चरम लापर्वाही गरेको भन्दै विरोध हुँदै आएको थियो । पटकपटक निर्माण गर्छु भनी लिखित कागजसम्म गरेको भारतीय कम्पनीले तोकिएको मिति धेरै पटक गुजारेको भन्दै यहाँका जनप्रतिनिधिले आक्रोस व्यक्त गर्दा घम्साघम्सीसमेत भएको थियो । टेलिकमसँगको सम्झौता, कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहसँग गरेको लिखित प्रतिबद्धता र स्थानीय जनप्रतिनिधिको निरन्तरको ताकेताको चरम बेवास्ता गरेपछि नेपाल टेलिकमको नेपालगञ्ज कार्यालयका प्राविधिक प्रमुख शिवराज खनाल र कम्पनीका प्रोजेक्ट मेनेजर महेशचन्द पुजारी अर्का प्रतिनिधि भोजराज बढुप्रति चर्को आक्रोस र असन्तुष्टि पोख्दै सम्झौताअनुसार तुरुन्त काम सक्न अल्टिमेटम दिइएको थियो । प्रदेशसभा सदस्य सिंहको पहल र प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको समन्वयमा बसेको बैठकले कम्पनीलाई मजकोट, शेरी र नायकवाडामा मङ्सिर मसान्तभित्र र पैंक, सक्ला र डाँडागाउँमा माघ मसान्तभित्र टावर निर्माणको सबै काम सक्न अन्तिम अल्टिमेटम दिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताएका छन् । रासस