२०१८ को चौथो त्रैमासिकमा आउँदैछ सामसङको ‘ग्यालेक्सी एक्स’, यस्ता छन् फिचर (डिजाइन सहित)

काठमाडौं । यसअघि नै सामसङले अर्को वर्ष फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने घोषणा गरिसकेको छ । यो फोनको नाम ग्यालेक्सी एक्स हुनेछ । यो स्मार्टफोनले गत सेप्टेम्बरमा नै ब्लुटुथ सर्टिफिकेशन प्राप्त गरिसकेको छ । प्राप्त जानकारीअनुसार अब कम्पनीले यसको प्याटेन्ट पनि दर्ता गराउँदैछ । लेट्सगोडिजिटल वेबसाइटका अनुसार सामसङले वर्ल्ड इन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेसन (डब्लुआईपृ)मा प्याटेन्टका लागि आवेदन दिइसकेको छ । उक्त प्याटेन्टका अनुसार यो स्मार्टफोनमा दुईवटा स्पोर्टिङ स्क्रीन छ, जसको बीचमा एउटा मेटल जडान गरिएको छ । यसबाट यो उपकरण फोल्ड गर्न मिल्ने भएको प्रमाणित हुन्छ र यसको डिजाइन जेडटिइ एक्जोन एम जस्तो हुनेछ । त्यसबाहेक फोल्डेबल स्मार्टफोन ग्यालेक्सी एक्स ट्रिपल एन्टिनाका साथ आउनेछ । यसले स्मार्टफोनको नेटवर्कलाई फोल्ड हुँदा पनि प्रभावित गर्दैन । उक्त रिपोर्ट अनुसार प्रयोगकर्ताले यो फोनको दुवै स्क्रिनलाई एकैसाथ प्रयोग गर्नसक्नेछन् । यो फोनलाई ग्यालेक्सी नोट लाइनअपमा प्रस्तुत गरिनेछ । यसको अर्थ कम्पनीले यो स्मार्टफोनलाई अर्को वर्षको तेस्रो वा चौथो त्रैमासिकमा प्रस्तुत गर्ने सम्भावना छ । हाल कम्पनीले अर्को फ्ल्यागशिप फोन ग्यालेक्सी एस९मा ध्यान केन्द्रित गरेको छ । कम्पनीले ठुलो स्तरान यसको लार्ज स्टोरेज चिप्स तथा प्रोसेसर बनाउन सुरू गरेको छ । सामसंग स्न्यापड्रागन ८४५ को क्वालकममा पनि यो काम गरिरहेको छ ।

टेलिकमको जिएसएम सेवा अब मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा

काठमाडौं । नेपाल टेलिकमले मुलुकका ग्रामीण तथा अति दुर्गम क्षेत्रका विभिन्न नयाँ स्थानमा जिएसएम मोबाइल उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले मुलुकको अति विकट मुस्ताङको स्याङबोचे भ्यु प्वाइन्ट र दोलखाको डाँडाखर्कमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । स्याङबोचे भ्यु प्वाइन्टमा मंसिर १५ र डाँडाखर्कमा मंसिर ११ गतेदेखि सेवा सञ्चालनमा आएको हो । मुस्ताङ जिल्लाको जोमसोमदेखि करिब ४० किलोमिटर टाढा करिब ४ हजार मिटरको उचाईको दालोमे गाउँपालिका ३ मा स्याङबोचे भ्यु प्वाइन्टको बिटिएस टावर स्थापना गरिएको छ । मुक्तिक्षेत्र गाउँपालिकाको ४ हजार २ सय ५० मिटर अग्लो स्थानमा अवस्थित घिउलाडाँडामा रिपिटर स्टेशन राखी माइक्रोवेभ लिंकमार्फत बिटिएससँग सम्पर्क कायम गरिएको छ । सो टावरले छुसाङ, समर, घमी, सुरखाङ र अपर मुस्ताङको जोमसोम-कोरला हाइवे अन्तर्गत ताङवे देखि जैतेसम्मकोे अधिकांश स्थानमा सेवा उपलब्ध गराउछ । यसबाट अपर मुस्ताङ र दामोदर कुण्डको भ्रमणमा आएका पर्यटकका साथै सो क्षेत्रका ४ सय भन्दा बढी घरधुरी लाभान्वित हुने टेलिकमले जनाएको छ । त्यसैगरी, दोलखा जिल्लाको डाँडाखर्कमा स्थापना गरिएको बिटिएसबाट ४ हजार भन्दा बढी सेवाग्राही लाभान्वित हुने छन् । दोलखाको मेलुङ गाउँपालिका, डाँडाखर्क, चिन्ने, फड्के, सर्नथली, घलडाँडा, भेड्फु र रामेछापको फुलासी, डडुवा र हरिया चिन्नेका सेवाग्राही यसबाट लाभान्वित हुने छन् । अब यी स्थानमा मोबाइलमार्फत कुराकानी गर्ने सुविधा उपलब्ध हुनुको साथै डाटा चलाउन समेत सकिने छ ।

सिटिजन्स बैंकको नयाँ वेवसाइट सार्वजनिक, घरबाटै खाता खोल्न मिल्ने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो अत्याधुनिक वेवसाइट सार्वजनिक गरेको छ । डाइनामिक भर्सनमा स्तर वृद्धि गरिएको यस वेवसाइटलाई जुनसुकै स्मार्ट फोनबाट सजिलै  प्रयोग गर्न सकिने छ । यस वेवसाइटमा घरबाट नै खाता खोल्न मिल्ने , कर्जाको लागी आवेदन दिन मिल्ने तथा अरु अत्याधुनिक सुविधाहरु उपलब्ध रहेको बैंकले जनाएको छ । अनलाइन आस्बा, डिम्याट, केवाइसी, मेरो सेयर, स्मार्ट बैंकिङ जस्ता आकर्षणहरु रहेको योे वेबसाइट अत्यन्तै ग्राहकमुखी रहेको छ ।  जसमार्फत सरोकारवालाहरुले बैंकको बारेमा प्राथमिक जानकारी लिन अब बैंक धाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ । यस नयाँ वेबसाइटको सार्वजनिक गर्ने कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले समयको प्रवाहसंग बैंक चल्दै आएकोे बताएका छन्  ।