नेपाल इन्भेष्टमेण्ट बैंकको थप दुई शाखा विस्तार
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले थप दुई शाखा कालिकोट र दैलेखमा विस्तार गरेको छ । बैंकले आफ्नो ६२औं शाखा कालिकोटको नाग्ममा र ६३औं शाखा दैलेखको डाबमा विस्तार गरेको हो । यी दुई शाखासहित सुर्खेत र जुम्ला गरी अब प्रदेश नम्बर ६ मा यस बैंकको चार वटा शाखा पुगेको छ । बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको हो । बैंकिङ सुविधाबाट टाढा रहेका ग्रामिण क्षेत्रका स्थानीयलाई आर्थिक कारोबारमा सहज हुने र सहुलियत रुपमा ऋण उपलब्ध गराई साना तथा मझौला उद्योग तथा कृषि व्यवसायमा सहयोग गर्ने बैंकको उदेश्य रहेको छ । बैंकको हाल ६३ वटा शाखा (नारायणघाट र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९७ वटा एटिएम पुगेको छ ।
एभरेष्ट बैंकको नयाँ निक्षेप खाता संचालनमा, दुर्घटना र औषधी उपचार बीमा पाइने
काठमाडौं । एभरेष्ट बैंकले ‘एभरेष्ट स्पेशल सेभिङ’ नामक नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । यस योजना मार्फत खाता खोल्ने ग्राहकले ५ लाख रुपैयाँ बराबरको दुर्घटना मृत्यु बीमा र एक लाख रुपैयाँ बराबरको औषधी उपचार बीमा प्राप्त गर्न सक्ने छन् । त्यस्तै, कुनै पनि ब्रान्चबाट कारोबार, डिम्याट एकाउन्ट र लकर सुविधामा ५० प्रतिशत छुट दिने बैंकले जनाएको छ । साथै, बैंकले आफ्ना ग्राहकलाई ४ प्रतिशत आर्कषक ब्याजदरमा क्रेडिट कार्ड समेत उपलब्ध गराउने छ । त्यसैगरी, बैंकले यो खाता खोल्ने ग्राहकलाई निःशुल्क डबिट कार्ड, इन्टरनेट र एसएमएस सुबिधासमेत दिने जनाएको छ । साथै आफ्ना ग्राहकलाई ४ प्रतिशत आर्कषक ब्याजदरमा क्रेडिट कार्ड समेत उपलब्ध गराउने छ ।
ग्लोबल आइएमई बैंकको ५५ औँ शाखारहित बैकिङ्ग सेवा सङ्खुवासभामा
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो थप ५५ औँ शाखारहित बैंकिङ्ग सेवा सङ्खुवासभा जिल्लाको याखा चोकमा सञ्चालन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले स्थानिय ९० बर्षिय ज्येष्ठ नागरिक ललुमाया सुबेदिको नाममा खाता खोलि व्यक्तिगत रुपमा २,५०० रुपैयाँ जम्मा गरिदिएर उक्त सेवाको कारोबार शुभारम्भ गरेका हुन् । साथै, उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय अनिरुद्र सिहं लिङ्गखालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको याखा चोक लगायत त्यस वरपरका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले उक्त स्थानमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो ।