एनआईबीएल क्यापिटलको निःशुल्क एसएमएस सेवा

काठमाडौं । एनआईबीएल क्यापिटल मार्केटस् लिमिटेडले आफना हितग्राही खातावालालाई निशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ । उक्त सेवाबाट खातावालाले आफ्नो शेयर कारोबारबाट डिम्याट खातामा भएको घटबढको बारेमा तुरुन्तै जानकारी पाउने छन् । कम्पनीले हालसम्म १ लाख १४ हजार ९०० ग्राहकहरुलाई हितग्राही खाता सम्बन्धी सेवा प्रदान गर्दे आइरहेको छ ।

दोस्रो पुस्ताको राडार सञ्चालनमा आउँदै

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन दोस्रो पुस्ताको राडार सञ्चालनमा ल्याउने भएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान भएको उच्च क्षमताका ‘टु जी राडार’ केही दिनभित्रै सञ्चालनमा ल्याउन लागिएको हो ।   प्राधिकरण, यहाँस्थित जापानी दूतावास र जाइकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले बुधबार प्राविधिक परीक्षणको अनुगमन गर्ने तयारी गरिएको प्राधिकरणका निमित्त उपमहानिर्देशक नरेन्द्र थापाले जानकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल ६० एरोनोटिकल माइल क्षमताको राडार सञ्चालनमा रहेकामा अब १२० एरोनोटिकल माइलमा स्तरोन्नति हुनेछ । नयाँ प्रणाली जडानसँगै आकाशमा जहाज ‘होल्ड’ गर्नुपर्ने समस्याको अन्त्य हुनेछ । भट्टेडाँडाको ८ हजार २०० फिट अर्थात् २ हजार ३०० मिटर उचाइमा जडान गरिएको राडार र अन्तर्राष्ट्रि«य विमानस्थलमा जडित नयाँ प्रणालीको परीक्षण सफल भइसकेको छ । उपत्यका बाहिर उडिरहेका जहाजलाई अहिलेसम्म रेडियो सिग्नलका आधारमा सम्पर्क गरेर अवस्था थाहा पाउनुपर्ने बाध्यता रहेकामा नयाँ राडार जडानपछि हवाई यात्रा सुरक्षित बनाउन मद्दत पुग्नेछ । उक्त राडारको लागत १ अर्ब रुपैयाँ छ । नयाँ राडार जडान भएपछि काठमाडौंदेखि ४५० किलोमिटरको दूरीमा रहेका जहाजको अवस्थाबारे जानकारी लिन सकिनेछ । हाल नयाँ जडित राडारले उचाइमा उडिरहेका जहाजको अवस्थाका बारेमा पनि जानकारी लिन वा दिन सकिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। राडार जडानपछि नेपालको बाटो प्रयोग गर्दा अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकलाई समेत सहज हुने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आवतजावत गर्ने सम्पूर्ण विमानको अवस्था जानकारी पाउन सहज हुने उनको भनाइ छ । भट्टेडाँडामा जडान गरिएको ‘इनरुट राडार’ र विमानस्थलमा जडिन गरिएको ‘टर्मिनल राडार’ले हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने प्राधिकरणको भनाइ छ । नयाँ राडार सञ्चालनमा आएपछि देशका धेरै भूभागलाई समेटिने र उडान थप सुरक्षित हुने प्राधिकरणका निमित्त उपमहानिर्देशक थापाले बताए । अनौपचारिक रुपमा सञ्चालनमा आएको उक्त राडारको गत कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्म संयुक्त राज्य अमेरिकाको ‘फेडरल एभिएसन एड्मिनिस्ट्रेसन’को जहाजले उडान गरी परीक्षण गरेको थियो । भट्टेडाँडामा जडित राडारले नेपालको पूर्वको सबै भूभाग र पश्चिममा दाङसम्मको विमानको गति, उचाइलगायतको जानकारी पाउन सकिने प्राधिकरणका निमित्त उपमहानिर्देशक थापाले जानकारी दिए । पुरानो राडारले करिब ११० किलोमिटर ९६० एरोनोटिकल माइल परसम्मको जहाजको अवस्था थाहा पाउन सकिन्थ्यो भने भट्टेडाँडामा जडान गरिएको नयाँ राडारबाट ४५० किलोमिटर २५० एरोनोटिकल माइलसम्मको जहाजको सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ । नयाँ राडार सञ्चालनमा आएपछि उडिरहेका जहाजबीचको दूरी घट्न जाने तथा पाँचदेखि नौ किलोमिटरको अन्तरमा राखेर विमानले उडान÷अवतरण गर्न सकिनेछ । अहिलेसम्म २० देखि २८ किलोमिटर अन्तरको दूरीमा राखेर उडान÷अवतरण गराउँदै आएको थियो । विसं २०५७ मा पहिलोपटक नेपाली आकाशलाई सुरक्षित बनाउन जापान सरकारको सहयोगमा राडार जडान गरिएको थियो । उक्त राडार पुरानो प्रविधिको भएकाले नयाँ राडार सञ्चालनमा ल्याइएको हो । थाइ एयरको जहाज रसुवाको घोप्टेभीरमा दुर्घटना भएपछि राडार जडान गरिएको थियो । रासस

आशा लघुवित्तको २ दिने त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबार ३६ वटा शाखा कार्यालयका शाखा प्रमुखहरुको २ दिने त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । उक्त गोष्ठी कृषि विकास बैंकको क्षेत्रिय तालिम केन्द्र चितवनको विरेन्द्रनगरमा सम्पन्न भएको छ । कार्यक्रममा वर्तमान परिस्थितीमा विपन्न वर्गमा लघुवित्त कार्यक्रमको प्रभावको समिक्षा, प्रगति र व्यक्तित्व विकासको विषयमा छलफल भएको छ । सो कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलाल, प्रमोद भट्टराई, जीवन खनाल, रविन खतिवडा, दिपेन्द्र खनाल, सुजित खतिवडा, अशोक कोईराला र सुशिल पौडेलले कार्यक्रममा विविध विषयमा सहभागीहरुलाई तालिम दिएका हुन् । कार्यक्रममा प्रभु मनी ट्रान्सफरका संजय थापाले वर्तमान स्थीतिमा ग्रामिण जनता समक्ष मनी ट्रान्सफरले दिएको सेवाको बारेमा समेत छलफल गरेका थिए ।