नबिल बैंकले शुरु गर्यो क्यिूआर कोड प्रणाली, फोनबाटै चाहेको सामानको भुक्तानी गर्न सकिने

काठमाडौं । नबिल बैंकले नेपालमा नै पहिलो पटक आफ्नो मर्चेन्ट नेटवर्क मार्फत “यूनियनपे इन्टरनेशनल क्विक रेसपोन्स (क्यिूआर कोेड) एक्वाएरिङ सर्भिस”को शुभारम्भ गरेको छ । उक्त प्रणाली मार्फत क्यिूआर कोेडको प्रयोग गरी नबिल बैंकसँग आबद्ध मर्चेन्टहरूले यूनियनपेका अन्तरार्ष्ट्रिय कार्डहरू स्विकार गरी सरल तथा सुरक्षित वातावरणमा आफ्नो उत्पादन र सेवाहरूको भुक्तानी लिन सक्नेछन् । क्यिूआर कोेड म्याट्रिक्स बारकोड (वा दुई–आयामी बारकोड) को एक प्रकार हो । बारकोड मेशिनद्वारा सजिलै पढ्न सकिने अप्टिकल लेबल हो, जसमा संलग्न भएको वस्तुको बारेमा जानकारी समावेश गरिएको हुन्छ । क्यिूआर कोडमा सेतो पृष्ठभूमिमा कालो स्क्वाएर ग्रीडहरु हुन्छन् जसलाई छविको रूपमा इमेजिङ यन्त्र जस्तै क्यामेराद्वारा पढेर प्रशोधन गरि कारोबार गर्न सकिने बैंकले जनाएको छ । क्यिूआर कोेड प्रणाली मार्फत उपभोक्ताहरूले व्यापारीक बिक्री केन्द्रमा रहेको क्यिूआर कोडलाई आफ्नो फोनबाट नै स्क्यान गरि आफूले रोजेको सामान र सेवाहरूको भुक्तानी गर्न सक्नेछन् । यस भुक्तानी प्रणालीमा विद्धमान प्रक्रिया जस्तो फिजिकल प्वोइन्ट अफ सेल्स(पीओएस) टर्मिनलहरूको आवश्यकता नपर्नुका साथै कार्डको समेत सिधा सम्पर्कको आवश्यक पर्दैन । क्यिूआर कोड मार्फत गरिने भुक्तानी र सो सम्बन्धी जानकारी ग्राहक स्वयमको मोबाइलमा नै उपलब्ध हुन्छ । “पहिलो चरणमा हामीले यो सेवा मुख्य रूपमा चिनियाँ पर्यटकहरुलाई लक्षित गरेका छौं । चीनमा निकै नै प्रख्यात रहेको अत्यन्त सरल र सुरक्षित क्यिूआर कोड प्रणाली मार्फत नेपालमा समेत चिनियाँ पर्यटकहरुले आफूले रोजे बमोजिमका सामान र सेवाको भुक्तानी सजिलै गर्न सक्नेछन् । निकट भविष्यमा हामीले आफ्ना ग्राहकहरूको लागि समेत उक्त सेवा विस्तार गर्ने योजना गरेका छौं ।” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले बताए । यस बैंकले भिसा इन्टरनेशनल, मास्टर र्काड इन्टरनेशनल र युनियन पे इन्टरनेशनलको मुख्य सदस्य हो र यसले डेबिट, प्रिपेड, क्रेडिट कार्डहरु जारी गर्दछ साथै उक्त कार्डहरुबाट यसका एटिएम, पीओएस तथा पेमेण्ट गेटवे सञ्जालहरु मार्फत कारोबार स्विकार गर्दछ ।  बैंकले युनियन पे इन्टरनेशनलको सहकार्यमा यो थप सेवाको शुरुवात गरेको हो । यस यूपीआई क्यिूआर कोड सेवाको शुरुवात मार्फत न्युन शुल्कमा नै व्यवसायी र ग्राहकहरुले इ–कमर्स कारोवार सरल, सहज र सुरक्षित रुपमा गरी लाभान्वित हुन सक्नेछन् ।

दोस्रो पुस्ताको राडार सञ्चालन पछि मुलुकको हवाई क्षेत्र थप सुरक्षित

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याएको दोस्रो पुस्ताको राडार सञ्चालनमा आएपछि मुलुकको हवाई क्षेत्र थप सुरक्षित र व्यवस्थित भएको छ । अनाधिकृतरुपमा नेपाल प्रवेश गर्न खोज्ने विदेशी जहाज तथा अन्य उडान सुरक्षामा समेत उक्त राडार प्रभावकारी देखिएको प्राधिकरणले जनाएको छ । यही माघ १८ गतेदेखि उक्त राडार सञ्चालनमा ल्याइएको हो । एयर ट्राफिक कन्ट्रोलर सीताराम भण्डारीका अनुसार दोस्रो पुस्ताको राडार सञ्चालनमा आएपछि हवाई क्षेत्र थप सुरक्षित र व्यवस्थित भएको छ । उनले भने , “एयर स्ट्रेस क्यापासिटी बढेको छ । एयर ट्राफिक म्यानेजमेन्टमा समेत थप सहजता आएको छ । विगतमा भन्दा सेवा पनि स्तरीय र प्रभावकारी देखिएको छ ।” सबैभन्दा महत्वपूर्ण उपलब्धिका रुपमा निगरानी क्षमतामा समेत बढोत्तरी भएकाले नेपालको आकाश थप सुरिक्षत भएको प्राधिकरणको भनाइ छ । विगतमा रेडियो तरंगमार्फत सम्पर्क स्थापित गरिन्थ्यो भने हाल श्रव्य तथा दृश्य नै उपलब्ध हुने भएकाले जहाजको उडान अवस्थाका बारेमा सहजै जानकारी लिन सकिन्छ । हवाई सेवा सुरक्षित र भरपर्दो भएको जानकारी दिनुहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले प्रविधिको प्रयोग थप उचाइमा पुगेको बताए। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान गरिएको उच्च क्षमताका ‘टु जी राडार’ सञ्चालनमा ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल ६० एरोनटिकल माइल क्षमताको राडार सञ्चालनमा रहेकामा आजदेखि १२० एरोनटिकल माइलमा स्तरोन्नति भएको छ । नयाँ प्रणाली जडानसँगै आकाशमा जहाज ‘होल्ड’ गर्नुपर्ने समस्यासमेत क्रमशः अन्त्य हुँदै गएको छ । भट्टेडाँडाको ८ हजार २०० फिट अर्थात् २ हजार ३०० मिटर उचाइमा जडान गरिएको राडार र अन्तर्राष्ट्रि«य विमानस्थलमा जडित नयाँ प्रणालीको नियमित अनुगमन तथा परीक्षणसमेत भइरहेको छ । विगतमा रेडियो तरंगमार्फत वायुयानको जानकारी लिन सकिन्थ्यो भने हाल सञ्चालनमा रहेको राडारबाट श्रव्य दृश्यसहितको जानकारी लिने गरिएको छ । उक्त राडारको लागत १ अर्ब रुपैयाँ छ । राडारको गतिविधिबारे सात दिनसम्म नियमित अनुगमन गरी त्यसबाट प्राप्त भएको तथ्यांकलाई विश्लेषण गरिएको छ । “राडारको कामको सूक्ष्म अनुगमन नियमितरुपमा भइरहेको छ । यसको प्रभावकारिताका बारेमा विश्लेषण पनि भइरहेको छ । हवाई उडानमा केही सहजता थपिएको छ,” प्रवक्ता ठाकुरले भने। नयाँ राडारबाट काठमाडौदेखि ४५० किलोमिटरको दूरीमा रहेको जहाजको अवस्थाबारे जानकारी लिन सकिएको छ । विभिन्न उचाइमा उडिरहेका जहाजको अवस्थाका बारेमा जानकारी लिन वा दिन सकिने भएपछि सहजता उत्पन्न भएको हो । भट्टेडाँडामा जडान गरिएको ‘इन रुट राडार’ र विमानस्थलमा जडित ‘टर्मिनल राडार’ले हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने प्राधिकरणको भनाइ छ । नयाँ राडार सञ्चालनमा आएपछि देशका धेरै भू–भाग समेटिएको र उडान थप सुरक्षित हुने प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनले हवाई सुरक्षाको क्षमता अभिवृद्धि भएको र ट्राफिक व्यवस्थापनमा समेत सहजता थपिएको बताए। “नेपालको हवाई आकाश सुरक्षित बनाउन यो प्रविधिले ठूलो भूमिका खेल्नेछ,” उनले भने। नेपालको पूर्वका सबै भू–भाग र पश्चिममा सुर्खेतसम्मको विमानको गति, उचाइलगायतका विषयमा जानकारी पाइएकाले पनि थप सुरक्षित र व्यवस्थित महसुस भएको प्राधिकरणको भनाइ छ । पुरानो राडारले करिब ११० किमी ९६० एरोनटिकल माइल परसम्मको जहाजको अवस्था थाहा पाउन सकिन्थ्यो भने भट्टेडाँडामा जडान गरिएको नयाँ राडारबाट ४५० किमी ९२५० एरोनटिकल माइल०सम्मको जहाजको सम्पूर्ण जानकारी पाउन थालिएको छ । निर्माणाधीन गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि हाल जडित राडारलाई विस्तार गर्ने योजना अगाडि सारिएको छ । उक्त विमानस्थलमै नयाँ राडार जडान गरेर देशको सबै उडान क्षेत्र समेट्ने तयारी पनि सँगसँगै भइरहेको छ । आगामी डेढ वर्षभित्र उक्त विमानस्थल सञ्चालनमा ल्याउने तयारी छ । रासस

दक्षिण कोरियाको क्युएस रेमिटबाट हिमाल रेमिट सेवा शुरु, कोरियाका नेपालीलाई सजिलो

काठमाडौं । हिमालयन बैंक लिमिटेड र एनएनपी कोरिया कम्पनी लिमिटेड (क्युएस रेमिट) बीच रेमिट्यान्स सेवा सम्बन्धि सम्झौता भई रेमिट्यान्स कारोबार शुरु भएको छ । दक्षिण कोरियाको दोङ्देमुन स्थित क्युएस रेमिटको केन्द्रिय कार्यालयबाट नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि सिवाकोटी तथा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबराले उक्त सेवाकाे कारोबार शुरु गरेका हुन् । क्युएस रेमिटका कम्पनी अध्यक्ष लि जोङ्ग टिइगले यस सहकार्यबाट दक्षिण कोरियामा कार्यरत नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने जानकारी दिएका छन् । दक्षिण कोरियाको बैंक बाहेक रेमिट्यान्स कारोबार गर्न स्वीकृति प्राप्त रेमिट्यान्स कम्पनी मध्ये एक क्युएस रेमिट मार्फत नेपाल आउने विप्रेषण हिमालयन बैंकको ४७ वटै शाखा तथा ८ हजार ५ सयभन्दा बढी हिमाल रेमिट काउन्टरबाट सजिलै भुक्तानी लिन सकिने बैंकले जनाएको छ । यस सम्झौताबाट दक्षिण कोरियामा कार्यरत करिब ४० हजार नेपालीहरुले सरल र सुरक्षित विप्रेषण सेवाको उपभोग गर्न पाउने बैंकले जनाएको छ । हिमालरेमिट बैकको आफ्नै अनलाइन रेमिट्यान्स सेवा हो जसको विश्वभरि ९० भन्दा बढी अन्तराष्ट्रिय व्यावसायिक साझेदारहरु रहेका छन् ।