काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आइटी) ले आगामी मे १५, २०२६ मा अमेरिकाको टेक्सास राज्यको ग्रेपभाइनस्थित इमब्यासे सुइट बाइ हिल्टनमा आयोजना हुने 'नेपाल टेक रोडशो यूएसए २०२६' को घोषणा गरेको छ ।
नेपालको प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस रोडशोमार्फत नेपालको आईटी क्षमतालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुका साथै अमेरिकी कम्पनीहरू, लगानीकर्ता तथा गैरआवासीय नेपाली समुदायसँग अर्थपूर्ण व्यावसायिक सम्बन्ध स्थापना गर्ने लक्ष्य राखिएको छ ।
यस पहलले नेपाललाई सफ्टवेयर विकास, कृत्रिम बौद्धिकता, डाटा तथा डिजिटल रूपान्तरण सेवाका लागि भरपर्दो र प्रतिस्पर्धी गन्तव्य का रूपमा स्थापित गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।
यसअघि भएका अन्तर्राष्ट्रिय पहलहरूको सफलतापछि आयोजना हुन लागेको नेपाल टेक रोडशो यूएसए २०२६ नेपाली आईटी कम्पनीहरूलाई अमेरिकी बजारसँग प्रत्यक्ष रूपमा जोड्ने लक्ष्यसहित अघि बढाइएको हो । यस कार्यक्रममार्फत नेपालको प्रविधि क्षमता प्रदर्शन, दीर्घकालीन साझेदारी विकास तथा विश्वकै प्रमुख प्रविधि बजारमध्ये एकमा नेपाली कम्पनीहरूको अवसर विस्तार हुने अपेक्षा गरिएको छ ।