स्याङ्जाका मिर्मिमा नेपाल टेलिकमको टेलिफोन क्षमता विस्तार

काठमाडौं । नेपाल टेलिकम दूरसञ्चारका गल्याङले स्याङ्जाको पर्यटकीय क्षेत्रको रुपमा रहेको मिर्मिमा आफ्नो पिएसटिएन टेलिफोन लाईन तथा एडिएसएल वितरणको क्षमतामा विस्तार गरेको छ । विस्तार पश्चात अब पिएसटिएन तथा एडिएसएल सेवाका नयाँ उपभोक्ताहरुले सहजै सेवा प्राप्त गर्ने भएका छन् । टेलिकमका गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायका अनुसार मिर्मिका उपभोक्ताहरुले नयाँ लाइन नपाएका कारण एडिएसएल समेत चलाउन नपाएको अत्याधिक गुनासो गरेपछि उक्त सेवा सञ्चालनमा ल्याइएको हो । साथै, हाललाई यसअघि वितरित लाइन भन्दा ४८ लाइनको क्षमता मात्रै विस्तार गरिएको हो । तथापी आगामी दिनमा माग बढ्दै गए पुनः क्षमता विस्तार गर्दै लगिनेछ उनले बताए । समयमा नयाँ लाइन नपाएका कारण विगत दुई महिनादेखि लाईनको पर्खाइमा रहेको प्राइम कमर्शियल बैंक मिर्मि शाखाले अब आपूmलाई आवश्यक लाइन तुरुन्त पाइने भएकोमा खुशी लागेको बैंकका शाखा प्रबन्धक लोकबहादुर कुँवरले बताए । नेपाल टेलिकमद्वारा वितरित पिएसटिएन फिक्ड लाइन भरपर्दो टेलिफोनका रुपमा लिइन्छ भने सोमार्पmत फाइभ एमबिपिएस स्पिड क्षमता भएको हाईस्पिड ब्रोडव्याण्ड एडिएसएल इन्टरनेट समेत सहजै चलाउन सकिन्छ ।

टेलिकमले विद्यार्थीलाई मिदास ई-क्लास सेवा दिने, मंगलबारदेखि उपभोग गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमले मिदास एजुकेसन प्रालिसँग सहकार्य गरी मिदास ई-क्लास सेवा उपलब्ध गराएको छ । विद्यालय तहमा पढाइने पाठ्यक्रम विद्यार्थीहरुलाई मोबाइल फोन, ट्याब्लेट र कम्प्युटर माध्यमबाट उपलब्ध गराई सिक्न सघाउने यो एक प्लेटफर्म हो । उक्त प्लेटफर्मको माध्यमबाट उपलब्ध गराइने शैक्षिक सामग्रीहरु श्रब्य, दृश्य माध्यममा हुने भएकाले बालबालिकालाई रुचिपूर्ण र बुझ्न तथा सम्झन सहज हुने अपेक्षा गरिएको छ । विद्यालयमा पढ्नु पर्ने पाठमा आधारित क्विज र गेम पनि यसमा उपलब्ध छन् । टेलिकमका ग्राहकहरुले इन्टरनेटको प्रयोग गरी मोबाइल फोन र ट्याब्लेटमार्फत मिदास ई-क्लास प्रयोग गर्न सक्ने छन् । मिदास ई-क्लासमा शिशु कक्षा (प्लेग्रुप) देखि कक्षा १० सम्मका विभिन्न विषयहरु समावेश गरिएको छ । मिदास ई-क्लासको सहयोगले बालबालिकाले नबुझेका विषयवस्तुको वारेमा अनलाइनमार्फत शिक्षकसँग सम्पर्क गरी सिक्न सक्ने छन् । शिक्षकले बिद्यार्थीका लागि आवश्यक पाठ्य सामग्री यसैमार्फत उपलब्ध गराउन सक्नेछन् । त्यसैगरी, अभिभावकले पनि शिक्षकसँग अन्तरक्रिया गरी सिकेर आफ्ना बालबालिकालाई सिकाउन सक्नेछन् । मिदास ई-क्लासको प्रयोग गर्नका लागि गुगल प्ले स्टोरमार्फत मिदास ई-क्लास एप डाउनलोड गर्नुपर्छ । यो सुविधा मिति २०७५ असार १२ देखि उपलब्ध हुनेछ । यसका लागि नेपाल टेलिकमका ग्राहकले दैनिक १५ रुपैयाँ, साप्ताहिक ७० रुपैयाँ र मासिक २५० रुपैयाँमा यो सुविधा खरिद गर्न सक्ने छन् । यो सुविधा उपभोग गर्न वाइफाई वा मोबाइल डाटा सेवा आवश्यक पर्छ । मोबाइल डाटा प्रयोग गर्दा डाटाको अतिरिक्त शुल्क लाग्ने छ । टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकहरुको प्रयोग गरी यो सेवा उपयोग गर्न सकिने छ ।  

‘भूमि सुशासन एप्स’ सञ्चालनमा अायाे, अब दिन गए मालपोत दलालहरुको

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सम्बन्धी सम्पूर्ण जानकारी सहितको मोवाइल एप्स प्रयोगमा ल्याएको छ । मन्त्रालयले कार्यक्रम गरी ‘भूमि सुशासन’ नामक एप्सको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चत्रपाणी खनालले सार्वजनिक गरेका हुन् । एप्समा मन्त्रालयका कार्यक्रम, भूमि सम्बन्धी सेवाहरुको जानकारी, कार्यालयहरुको लोकेशन, ऐन–कानुन, नीति–निर्देशिका, कार्यविधि, भूमि शब्दकोष समावेश गरिएको छ । त्यस्तै सजिलोमा कन्भर्ट हुने गरी भूमि सम्बन्धित नाप जाँज सम्बन्धि इकाइ, नापी क्याल्कुलेटर, सूचना, गतिविधि, सेवाग्राहीबाट बारम्बर सोधिने प्रश्नहरु पनि मोवाइल एप्समा समेटिएको छ । मोवाइल एप्स सार्वजनिक गरेपछि मन्त्री खनालले यो एउटा सानो सुरुवात भएपनि यसले प्रयोगकर्तालाई केही राहात मिल्ने बताए । ‘अझै प्रविधिको क्षेत्रमा मन्त्रालयले धेरै गर्न बाँकी छ,’ उनले भने ‘मन्त्रालयमा कार्यारत प्रविधिहरुलाई यप्रति ध्यानकार्षण यसै कार्यक्रममार्फत गराउछु ।’ मन्त्रालयका अनुसार एप्स नेपाली र अंगेजी दुबैमा उपलब्ध छ । एप्स राम्रोसँग प्रयोग गर्न सकेमा मालपोत कार्यालयहरुमा दलालहरुको बिगबिगि अन्त्य हुने मन्त्रालयका सहसचिव जनकराज जोशीले कार्यत्रममा बताए । यस्ता छन् एप्समा समेटिएका विषय एप्लिकेसनमा विभिन्न विषय वस्तुहरु समेटिएको छ । जसमा मन्त्रालयका प्राथमिकता प्राप्त कार्यक्रमहरुको संक्षिप्त परिचय र उपलब्धी बारे जानकारी, मन्त्रालयबाट प्रदान हुने सेवाहरु बारे जानकारी, सेवा वडापत्र छन् । त्यस्तै मन्त्रालय अन्तर्गतका कार्यालयहरुको कार्यक्षेत्र बारे जानकारी, सेवाग्राहीले कार्यालय (मालपोत, नापी र भूमिसुधार)मा पेश गर्नुपर्ने निवेदनका ढाँचाहरु, विभिन्न ऐन, नियम नीति, निर्देशिका, आवश्यक कार्यविधिहरु समेटिएको छ । मन्त्रालय र अन्तर्गतका निकायहरुको अवस्थिति देखाउने नक्सा, भूमि शब्दकोश, नापी क्यालकुलेटर, सूचना तथा गतिविधि, सेवाग्राहीबाट बारम्बार सोधिने प्रश्न लगायत विविध विषयहरु समेटिएको मन्त्रालयको भनाइ छ ।