‘बक्स अफिस’ लागू , अनलाइनमार्फत चलचित्रको काराेबार सुरू

काठमाडौ । नयाँ प्रविधि र विकाससँगै सरकारले पहिलोपटक ‘बक्स अफिस’ प्रणाली शुरु गरेपछि नेपाली फिल्मी क्षेत्र उत्साही देखिएको छ । बक्स अफिस लागू नहुँदा विगत लामो समयदेखि निर्माताले आफ्नो फिल्मको आम्दानीबारे सही विवरण नपाइरहेको सन्दर्भमा सरकारले यही साउन १ गतेदेखि बक्स अफिस लागू गरेपछि फिल्मी क्षेत्र थप उत्साही देखिएको हो । नेपाली चलचित्र क्षेत्रमा विगत लामो समयदेखि बहसमा रहेको बक्स अफिसको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उपत्यकाका फिल्म हलमा लागू गरेको हो । नेपाल चलचित्र विकास बोर्डका सदस्य सचिव महेन्द्रप्रसाद साँखीले साउन १ गतेदेखि बक्स अफिस लागू भएपछि समग्रमा फिल्मि क्षेत्र अत्यन्त उत्साही भएको बताए । बक्स अफिस लागू भएपछि अनलाइन डाटामार्फत चलचित्रको आयको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिन्छ भने त्यसबाट राजश्व सङ्कलनमा राज्यलाई सहयोग पुग्नेछ । बक्स अफिस प्रणालीमा टिकट लिएको करीब आधा घण्टामा चलचित्र विकास बोर्ड, आन्तरिक राजश्व विभाग र हल सञ्चालकलाई जानकारी हुन्छ । बक्स अफिस लागू भएसँगै हलको वर्गीकरण हुने र विदेशी विज्ञापन बन्द हुने मन्त्रालयले जनाएको छ । बक्स अफिस कार्यान्वयन समितिको बैठकले २०७५ वैशाख १ देखि परीक्षण गर्ने र साउन १ गतेदेखि लागू गर्ने निर्णय गरेको थियो । उपत्यका बाहिरका जिल्लामा भने माघ १ गतेदेखि लागू गर्ने सरकारको योजना छ । कुन फिल्मि हलमा कति टिकट बिक्री भयो भनेर अनलाइनबाटै आधारित तथ्याङ्क लिन सकिने ‘इ–टिकेटिङ’ प्रणाली हो बक्स अफिस । हलबाट सफ्टवेयरमार्फत सर्भरमा जोडेर तथ्याङ्क सङ्कलन गरेपछि हल सञ्चालकले लगानीकर्तालाई छल्न नपाउने नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । “बक्स अफिस लागू हुनु नै ठूलो कुरा हो, यसले हामीलाई उत्साही, खुशी नै बनाएको छ, तर राज्यले सक्रियरुपमा अनुगमन गर्नुपर्ने पनि देखिन्छ”, अध्यक्ष अधिकारीले भने। बक्स अफिसबारे सर्भरलाई चलचित्र विकास बोर्डमा राखिएको छ । बोर्डले फिल्म वितरण, निर्माता र कर कार्यालयलाई सर्भरको कोड दिएपछि मात्र अनलाइनमार्फत सम्बन्धित फिल्मको व्यापारबारे जानकारी लिन सकिन्छ । फरक फिल्मलाई फरक कोड दिइने र त्यो कोर्ड सम्बन्धित प्राधिकरणलाई मात्र थाहा हुने सदस्य सचिव साखीले जानकारी दिए। बोर्डका अनुसार अहिले उपत्यकाका २० वटा चलचित्र हलमा मात्र बक्स अफिस लागू भएको छ । उपत्यकाका अन्य हल र उपत्यका बाहिरका हलवालालाई बक्स अफिसका लागि पूर्वाधार तयार गर्न पत्र पठाइसकिएको छ । राष्ट्रिय चलचित्र नीति २०७१ मा चलचित्र वितरण तथा प्रदर्शनमा बक्स अफिस प्रणालीको व्यवस्था गरिने उल्लेख गरिएको छ । सरकारले बजेटमार्फत राजश्व सङ्कलनसँगै हेर्नेका लागि लिइने टिकट प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन साउन १ गतेदेखि बक्स अफिस प्रणाली लागू गर्ने घोषणा गरेको थियो । नेपाल चलचित्र संघले भने नेपालका कतिपय स्थानमा अहिलेसम्म पनि इन्टरनेटको सुविधा नभएको भन्दै बक्स अफिस अहिले नै पूर्ण हुन नसक्ने धारणा राख्दै आएको छ । रासस

टेलिकमले ल्यायो प्रमोसनल अफर, एफटीटीएच सेवामा निःशुल्क भ्वाइस सेवा

काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फिफ्थ फाइबर टु द होम) सेवाको आरम्भको अवसरमा ३ महिनाको लागि प्रमोसनल अफर ल्याएको छ । उक्त अफरको रुपमा कम्पनीले यही साउन १० गतेदेखि कात्तिकसम्म कम्पनीको नेटवर्क भित्र भ्वाइस सेवा निःशुल्क गरेको छ । टेलिकमले वितरण गरिरहेको एफटीटीएच (फिफ्थ फाइबर टु द होम) सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आईपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा पनि प्रदान गर्न शुरु गरेको छ । आईपी बेस प्रविधि अन्तर्गतको एफटीटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटा(हाई स्पीड इन्टरनेट) का साथसाथै सोही फाइबरबाट भ्वाइस सेवा समेत उपलब्ध हुन्छ ।  यसका लागि ग्राहकलाई नयाँ नम्बर प्रदान गरिने छ । हाल यो भ्वाइस सेवा एफटीटीएच सेवा वितरण भइरहेका स्थानहरुमा डाटाका साथ उपलब्ध गराइएको छ । बाँकी स्थानहरुमा पनि एफटीटीएच विस्तारसँगै क्रमशः उपलब्ध गराइने छ । हाल काठमाडौं उपत्यकाको कीर्तिपुर, सैंबु, गोंगबु, गोठाटार, दरबार मार्ग, ठमेल, हात्तीसार, जावलाखेल, लगनखेल, कलंकी र उपत्यका वाहिर भरतपुर राजमार्ग क्षेत्र, बुटवल, वीरगन्ज तथा पोखरा लेकसाइड क्षेत्रमा यो सेवा उपलब्ध छ । टेलिकमले मुलुकभर उच्च गतिको डाटा सेवा उपलब्ध गराउने योजना अनुरुप फाइबरबाट उच्च गतिको एफटीटीएच सेवा वितरण गरिरहेको छ । साथसाथै, कम्पनीले एफटीटीएच सेवा वृहत रुपमा विस्तारको लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको छ । परम्परागत कपर नेटवर्कको सट्टामा ग्राहकहरुको घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपल प्ले(भ्वाइस, हाई स्पीड इन्टरनेट, भिडीयो) सेवाहरु प्रदान गर्न सकिने भएकोले यो सेवा प्रभावकारी हुन्छ । कम्पनीले एफटीटीएच सेवा उपलब्ध गराउनका लागि हाल मनसुन अफर अन्तर्गत विभिन्न प्याकेजको रुपमा सहुलियतपूर्ण महसुलमा सेवा उपलब्ध गराइएको छ । व्यक्तिगत र कर्पोरेट ग्राहकका लागि फरक फरक महसुल दर निर्धारण गरिएको छ ।

सात वर्ष अघिदेखिको पहलमा बल्ल ल्यान्डलाइन टेलिफोन जडान

काठमाडौं। छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा सात वर्ष अघिदेखिको पहलमा बल्ल टेलिफोन जडान गरिएको छ । सञ्चारको बढ्दो विकास हुँदा समेत टेलिफोन नपुगेको शुक्रबारे बजारमा गाउँपालिकाको पहलमा  गरिएको हो । गाउँवासीको सुविधालाई लक्षित गरी उक्त टेलिफोन जडान गरिएको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए। पहिलो चरमा गाउँपालिकाको केन्द्रमा रहेको शुक्रबारे बजार क्षेत्रमा ३५ वटा टेलिफोन र १७ वटा एडिएसएल इन्टरनेट सेवा जडान गरी टेलिकमले सेवा शुरु गरेको छ । अहिले १५ वटा लाइन जडानको प्रक्रियमा रहेको नेपाल टेलिकम लेखा कार्यालय धनकुटाका प्राविधिक रिजेन्द्र दुलालले बताउनुभयो । वर्षांदेखिको जनप्रतिनिधिको सक्रियतामा फोन जडान भएपछि बजारमा खुलेका सरकारी तथा गैसरकारी कार्यालयलाई समेत सहज भएको छ। मोवाइलको सेवा भरपर्दो नहुने र ल्याण्डलाइन फोन समेत नभएका कारण कठिनाइ भोग्दै आएका यहाँका बासिन्दालाई उक्त फोन सेवाले सहज बनाएकोे स्थानीय बजार व्यवस्थापन समितिका अध्यक्ष नारायण सुब्बाले बताए । फोनसँगै एडिएसएलको इन्टरनेट सेवा समेत पाइने भएपछि बजारवासी हर्षित छन् । रासस