चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना, नासासंग १ अर्ब ६० करोड डलरमा सम्झौता
लस एन्जलस । स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ । अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ । अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका व्यक्तिका लागि यो एउटा प्रस्थानविन्दु हो ।स्पेसएक्सले यसबारेमा थप विवरण सार्वजनिक गरेको छैन । टेस्ला विद्युतीय कार निर्माता कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले चन्द्रमाको परिधिमा यात्रु लैजाने घोषणा गरेको यो पहिलोपटक भने होइन । क्यालिफोर्नियाको यो कम्पनीले यसअघि पनि अन्तरिक्षमा पर्यटक लैजाने घोषणा गरेको थियो । सन् २०१७ को फेब्रुअरीमा स्पेसएक्सले सन् २०१८ को अन्त्यसम्ममा दुई जना पर्यटकलाई अन्तरिक्षमा पठाउने घोषणा गरेको थियो । स्पेसएक्सले हाल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आवश्यक सामग्री लैजाने काम गरिरहेको छ । स्पेसएक्सले यसअघि फाल्कन हेभी रकेट प्रक्षेपण गरिसकेको छ । तर, हालैका महिनामा यात्रुलाई अन्तरिक्षमा लैजाने कुरा स्थगित भएको थियो । अन्तरिक्षमा जान चाहने दुई व्यक्तिको नाम र उनीहरुले भुक्तानी गर्नुपर्ने रकमका बारेमा कम्पनीले कहिल्यै सार्वजनिक गरेको थिएन ।स्पेसएक्स समक्ष एएफपीले विस्तृत विवरण उपलब्ध गराउन अनुरोध गरेपनि कम्पनीले सोमबार मात्र विस्तृत जानकारी दिइने जनाएको छ ।मानवले सन् १९७२ मा एपोलो रकेट मार्फत चन्द्रमामा पहिलो पाइला टेकेका थिए । चन्द्रमामा अहिलेसम्म केबल २४ जनाले पाइला टेकेका छन् । स्पेसएक्स अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) को मुख्य व्यापारिक साझेदार कम्पनी हो । यसले अन्तरिक्ष स्टेसनका लागि आवश्यक सामान ओसारपसारको काम गर्ने लक्ष्य राखेको छ ।बोइङ कम्पनीले पनि रकेट निर्माणको काम गरिरहेको छ, र यसको रकेट सन् २०१९ भित्र प्रक्षेपण गर्ने योजना छ । स्पेसएक्सले हाल अन्तरिक स्टेसनका लागि सामान लैजान नासासँग १ अर्ब ६० करोड डलरको सम्झौता गरेको छ । स्पेसएक्सले नयाँ डिजाइन गरेको बीएफआरमा ३१ वटा इन्जिन रहेका र यसले १५० टन भारी बोक्न सक्दछ । एएफपी/रासस
नेपाल भित्रियो भिभोको भी ११ प्रो र भि ११, मूल्य ४९४९०/३९९९० रुपैंयाँ
काठमाडौं । भीभोको भी ११ प्रो र भि ११ मोबत्राइल नेपाली बजारभा भित्रिएको छ । भी११ प्रोको मूल्य ४९ हजार ४ सय ९० रुपैंयाँ तोकिएको छ भने भी ११ को मूल्य ३९ हजार ९ सय ९० रुपैंयाँ कायम गरिएको छ । भीभोको भी ११ प्रोमा न्यू हालो फूलभ्यू डिस्प्ले राखिएको छ । भीभो नेपालका ब्राण्ड म्यानेजर पेङ्गदाले नयाँ स्मर्ट फोनहरुले नेपाली उपभोक्ताहरुको मन जित्न सफल हुने दावी गरे । उत्कृष्ट फोटोग्राफीका लागि भी ११ प्रोमा १२ मेगा पिक्सेल प्लस ५ मेगा पिक्सेलको ड्यूल मुख्य क्यामेरा रहेको छ । सेल्फीका लागि स्मार्टफोनमा २५ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । १२ मेगापिक्सेलको मुख्य क्यामेराले ड्यूलपिक्सेल सेन्सरहरुलाई उच्च प्रकाश संवेदनका लागि २ करोड ४० लाख फोटो सेन्सेटिभ यूनिटमा परिवर्तन गर्न सक्दछ । यसले केबल ०.०३ सेकेण्डमा नै फोकसलाई लक गर्नसक्ने डिएसएलआर गुणस्तरको ड्यूल–पिक्सेल अटोफोकोस प्रविधि अवलम्बन गरेको छ । यसमा ६ जीबी र्यामका साथमा १२८ जीबीको आन्तरिक स्टोरेज(रोम) रहेको छ । एन्ड्रोयड ८.१ माआधारित भीभोको आफ्नै फन टचओएस ४.५ (अपरेटिंग सिस्टम) र भीभोको जोभीएआई इन्जिनले सीपीयू र मेमोरी रिसोर्सलाई पहिचान गर्न सँगसँगै कार्य गर्दछ । भीभो भी ११ प्रोमा १९.५ः९ एस्पेक्ट रेसियोसहितको ६.४१ इन्चको सूपर एमोलेड हालो फूलभ्यू डिस्प्लेका साथमा ९१.२७ प्रतिशतको स्क्रीन–टू–बडि रेसियो रहेको छ । यो स्मार्टफोन १.७६ मिलिमिटर मोटाईको मात्र छ । यी फोनहरु बजारमा २०७५ असोज ४ गते देखि उपलब्ध हुनेछन् ।
सरकार समाजिक सञ्जालमा, ११० कार्यलय जोडिए
काठमाडौ । जनतासँगको संवादलाई प्रभावकारी बनाइ जनगुनासाको शीघ्र सम्बोधन गर्न सामाजिक सञ्जालमा सहभागिता जनाउनुपर्ने निर्णय भएसँगै सरकारी निकायले धमाधम सामाजिक सञ्जालको प्रयोगलाई तीव्रता दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै २१ वटै मन्त्रालयले सञ्चार तथा सूचनाका क्षेत्रमा उपलब्ध नयाँ प्रविधिको भरपूर प्रयोग गरेका छन् । सबै मन्त्रालयले आफ्नो आधिकारिक ‘फेसबुक’ तथा ‘ट्वीटर’जस्ता सामाजिक सञ्जाल सञ्चालनमा ल्याइ जनगुनासा तत्काल सम्बोधन तथा सुझाव ग्रहण गर्दा सरकार जनताको हातहातमा उपलब्ध भएको प्रष्टिन्छ । त्यस्तै मन्त्रालयको नेतृत्व गर्ने मन्त्री, राज्यमन्त्री, उनीहरूको सचिवालयले पनि आधिकारिक सूचना सम्प्रेषण गर्न सामाजिक सञ्जालको प्रयोगलाई व्यापक बनाइरहेका छन् । उनीहरूले सामाजिक सञ्जालबाटै जनतासँग प्रत्यक्ष तथा परोक्ष अन्तरक्र्रिया गरिरहेका हुन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी, खानेपानीमन्त्री बीना मगरलगायत मन्त्री सञ्जालमार्फत नै हरपल जनतासँग जोडिइराखेका छन् । प्रविधिको उपलब्धता र सहजतासँगै सामाजिक सञ्जाल मानव जीवनको अभिन्न अङ्ग नै बनिसकेको छ । सरकारको सूचना प्राप्त गर्न होस् वा सरकारलाई सुझाव दिन सामाजिक सञ्जालले पुलको काम गर्दै आएका छन् । मन्त्रालयले सार्वजनिक सूचना प्रेषित गर्न, मातहतका कार्यालयलाई निर्देशन, परिपत्र गर्न तथा जनताका गुनासालाई आफूसम्म प्राप्त गर्न तथा समाधानका लागि सामाजिक सञ्जालको प्रयोगलाई व्यापकता दिइरहेका छन् । मन्त्रालयदेखि वडा कार्यालय, विभिन्न सरकारी निकाय, बोर्ड, प्रतिष्ठान, समिति, संस्थान सबैले ट्वीटर र फेसबुकको प्रयोगलाई अपरिहार्य ठान्दै सञ्जालमा उपस्थिति जनाउँदै आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सरकार’ आधिकारिक ‘ट्वीटर ह्यान्डल’ मा धमाधम सरकारी निकायले सामाजिक सञ्जालको प्रयोग शुरु गरिएको जानकारी गराएका छन् । ‘हेलो सरकार’ का संयोजक प्रद्मुम्न उपाध्यायले ११० सरकारी निकायले आधिकारिक रूपमा ट्वीटर खाता सञ्चालनमा ल्याइसकेको बताउनुभयो । छिटोभन्दा छिटो सूचना आदानप्रदान गर्न सामाजिक सञ्जाल सशक्त माध्यम भएको उहाँ बताउछन्। सूचना पाउन र गुनासो गर्न महिनौँ दिन लाग्ने समयावधि प्रविधिले छोट्याइदिएको स्मरण गर्दै उनले सञ्जालमार्फत सूचना सम्बन्धित व्यक्ति तथा संस्थासमक्ष प्रेषित गर्न सहज भएको बताए । करीब दुई हजारभन्दा बढी सरकारी निकायले सामाजिक सञ्जालको सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । पछिल्लो समयमात्रै जिल्ला जनस्वास्थ्य कार्यालय ताप्लेजुङले कार्यालय प्रमुखको कुर्सीमा राखेको तौलिया हटाइएको तस्वीर समेट्दै सञ्जालको प्रयोग गरिएको जानकारी गराएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, दाङ, रौतहट, रुकुम पूर्व र ओखलढुङ्गा, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पनि आधिकारिक ट्वीटर खाता सञ्चालनमा ल्याएका छन् । त्यस्तै सिरहाको नरहा गाउँपालिकाले ट्वीटर खाता सञ्चालन गर्दै गरीब परिवारका लागि ‘गरीब घर परिवार पहिचान परिचय पत्र’ वितरण कार्यक्रम शुरु गरिएको जानकारी गराएको छ । उक्त गाउँपालिकाले सामाजिक सञ्जालबाट नागरिकसँगको सम्बन्ध अझ गाढा बन्ने विश्वास व्यक्त गरेको छ । बडिगाड गाउँपालिका बागलुङ, जिल्ला अस्पताल नुवाकोट, इलाका प्रशासन कार्यालय दिङ्ला (भोजपुर) र बाणगङ्गा (कपिलवस्तु) , बाँकेको जैसपुर स्वास्थ्य चौकी, पशु क्वारेन्टाइन कार्यालय बाँकेले पनि सूचना सम्प्रेषण र गुनासो सम्बोधनका लागि आधिकारिक ट्वीटर र फेसबुक खाता सञ्चालनमा ल्याएका छन् । ट्वीटरमा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय ट्वीटरमा निकै सक्रिय देखिएका छन् । उनले द्रूतगतिमा सरकारको निर्णय तथा सूचना जनतासमक्ष पस्कने गरेका छन् । त्यस्तै सामाजिक सञ्जालमार्फत नै जनगुनासाको ग्रहण गरी तत्काल समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिने गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत पछिल्लो समय विभिन्न पाँच भाषामा धारणा सार्वजनिक गर्दै आएका छन् । यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सामाजिक सञ्जालमा त्यत्तिकै सक्रिय छन् । उनले ट्वीटरको माध्यमबाट नै आफ्नो धारणा जनतासमक्ष पस्कने गरेकाछन् । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत धारणा सार्वजनिक गर्नेमा अग्रपङ्क्तिमा छन् । त्यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सञ्जालमा सक्रिय छन्। प्रविधिमैत्री स्थानीय सरकार नवीनतम् प्रविधिको भरपूर प्रयोगमा स्थानीय सरकार निकै अगाडि देखिएका छन् । स्थापनाको निकै छोटो समयमै ७५३ तहले वेभसाइट सञ्चालनमा ल्याइसकेका छन् भने आधिकारिक ट्वीटर र फेसबुक एकाउन्टको समेत प्रयोग गरिसकेका छन् । त्यसो त केही स्थानीय तहले मोबाइल एप्स निर्माण गरी सूचना सम्प्रेषण र गुनासो सुन्ने र तत्काल सुनुवाइ गर्ने गरेका छन् । काठमाडौँ महानगरपालिकाले जनताको गुनासो सुन्नका लागि नै केएमसी गुनासो एप्स निर्माण गरेको छ । उक्त एप्समार्फत आफ्नो टोल छिमेकमा देखिएको समस्या तत्काल महानगरलाई जानकारी गराउन सकिनेछ । त्यस्तै ललितपुर महानगरपालिका, कागेश्वरी मनहरा नगरपालिकालगातयको स्थानीय तह मोबाइल एप्समार्फत जनतासँग जोडिएका छन् ।रासस