स्याङ्जाको लल्याङमा नेपाल टेलिकमको सेवा विस्तार, ५० घरधुरी लाभान्वित

काठमाडौं । नेपाल टेलिकम, दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको लल्याङमा आफ्नो पिएसटिएन तथा एडिएसएल सेवाको विस्तार गरेको छ । विस्तार पश्चात अब लल्याङका करिब ५० घरधुरी प्रत्यक्ष रुपमा पिएसटिएन तथा एडिएसएल सेवाको उपभोगबाट लाभान्वित हुन सक्ने नेपाल टेलिकम गल्याङ्का कार्यालय प्रमुख रामराज उपाध्यायले जानकारी दिए । गल्याङस्थित नेपाल टेलिकमबाट मात्र करिब दुई किलोमिटरको दुरीमा रहेको लल्याङमा करिब पाँच वर्ष अघिदेखि उक्त सेवा विस्तारको प्रयास गरिएको थियो तथापी हाल आएर नयाँ नेटवर्किङ गरि सम्पन्न भएकोमा त्यहाँका वडा अध्यक्ष महेश भट्टराइले खुसी व्यक्त गरेका छन् । नेपाल टेलिकमको पिएसटिएन (पब्लिक स्विच्ड टेलिफोन नेटवर्क) फिक्ड ल्याण्डलाइन हो जस्बाट पाँच एमबीपिएससम्म स्पिड क्षमता भएको ब्रोडव्याण्ड एडिएसएल इन्टरनेट सस्तो दरमा चलाउन सकिन्छ ।

सामाजिक सञ्जाल फेसबुक पनि ह्याकरको पहुंँचमा, ३ करोड प्रयोगकर्ताको विवरण चोरी

सानफ्रान्सिस्को । विश्वकै सबैभन्दा चर्चित सामाजिक सञ्जाल कम्पनी फेसबुक इंकले आफ्ना करिब २ करोड ९० लाख प्रयोगकर्ताको व्यक्तिगत विवरणमा ह्याकरको पहुँच रहेको जनाएको छ ।फेसबुकले यसअघि साइबर आक्रमणका कारण ५ करोड प्रयोगकर्ताका एकाउन्टमा प्रभाव परेको जनाएको थियो । “अहिले हामीले के थाहा पाएका छौं भने सोचिएभन्दा केही कम व्यक्तिलाई असर परेको छ,” फेसबुकका उपाध्यक्ष गाए रोसेनले बताए । पहिचान अझै नखुलेका केही व्यक्ति (ह्याकर) ले करिब १ करोड ५० लाख फेसबुक प्रयोगकर्ताको नाम, फोन नम्बर र इमेल ठेगाना चोरेको उनले जानकारी दिए ।अरु १ करोड ४० लाख प्रयोगकर्ताका विवरण पनि जोखिममा रहेका छन् । फेसबुकले साइबर आक्रमणकारीले प्रयोगकर्ताका अरु विवरणहरु जस्तै लिङ्ग, धर्म, गृहनगर, जन्ममिति र स्थान तथा हालै भ्रमण गरेका ठाउँ पनि सङ्कलन गरेको जनाएको छ । यस आक्रमणबाट फेसबुकले सञ्चालन गरेका मेसेन्जर, मेसेन्जर किड्ज, इन्स्टाग्राम, ह्वाट्सएप, ओक्युलस, वर्कप्लेस, पेजेज, पेमेन्टमा असर नगरेको कम्पनीले बताएको छ ।क्यालिफोर्नियास्थित फेसबुक कम्पनीले यस घटनाका सम्बन्धमा अमेरिकी सङ्घीय जाँच ब्यूरो (एफबीआई), अमेरिकी सङ्घीय व्यापार आयोग, आइरिस डाटा प्रोटेक्सन कमिसन तथा अरु निकायसँग छलफल थालेको छ । रासस÷एएफपी

टेलिकमबाट ६ रुपैयाँमा ६० मिनेट कुरा गर्न सकिने, ६०० मा भ्वाइस र एसएमएस अनलिमिटेड

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको विजया दशमीको उपलक्ष्यमा फोन र इन्टरनेट सेवामा विभिन्न छुट योजना ल्याएको छ । कम्पनीले भ्वाइस प्याक अन्तर्गत ६ रुपैयाँमा निरन्तर ६० मिनेट भ्वाइस सुविधा उपभोग गर्न सकिने जनाएको छ । एक दिनका लागि मात्र उपलब्ध हुने सो सुविधा विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । तर भ्वाइस सुविधा नेपाल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ । डाटा प्याक अन्तर्गत प्रत्येक दिन ६ रुपैयाँमा ३६ एमबी डाटा एक दिनका लागि उपलब्ध हुनेछ । सो डाटा पनि विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म उपभोग गर्न सकिने छ । उपरोक्त अफरहरु यही असोज २४ देखि कात्तिक ७ सम्म खरिद गर्न सकिने छ । कम्पनीका अनुसार ६०० रुपैयाँमा १५ दिनसम्म जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । प्रत्येक दिन २ जीबी प्याक गरी १५ दिन समयावधिको ३० जीबी उपलब्ध गराउने भएको छ । सोही प्याक ७ दिन समयावधिका लागि ३०० मा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । सो प्याक लिने सेवाग्राहीलाई वाउटाइम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सर्भिस निःशुल्क उपलब्ध गराइने छ । कम्पनीले आगामी असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान जनाएको छ । १००, २०० को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्ज मार्फत रिचार्ज गर्दा १० प्रतिशत, ५००, १०००, को रिचार्ज कार्ड वा इलेक्ट्रोनिक रिचार्जबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस दिने कम्पनीका प्रवक्ता प्रतिभा बैद्यले जनाइन ।