टेलिकमको सीममा डाटा रोमिङ सेवा सुचारु, भारत जाँदा टेलिकमकै सीमबाट इन्टरनेट चलाउन मिल्ने
काठमाडौं । नेपाल टेलिकमले रोमिङ सेवा प्रयोग गर्ने ग्राहकहरुका लागि डाटा सेवा समेत उपलब्ध गराउने भएको छ । यसअघि भ्वाइस र एसएमएस सुविधा मात्रै उपलब्ध गराउँदै आएको टेलिकमले अब इन्टरनेट समेत सीममार्फत् चलाउन सकिने व्यवस्था गरेको हो । हाल नेपाल टेलिकमले पोस्टपेड ग्राहकहरुका लागि ८७ मुलुकमा र प्रिपेड ग्राहकका लागि भारत र चीनमा रोमिङ सेवा उपलब्ध गराउँदै आएको छ । पहिले पनि अन्तराष्ट्रिय डाटा रोमिङ सेवा सञ्चालन गरिएको भए पनि त्यसलाई परिमार्जन गर्न भन्दै टेलिकमले सो सेवा बन्द गरेको थियो । अब त्यो सुचारु भएको हो । डाटा रोमिङ सेवाका लागि बिहीबारसम्म रोमिङ सेवा क्रियाशील भएका मोबाइलहरुमा यो सेवा स्वतः सुचारु हुनेछ भने अन्यको हकमा रोकिङ सेवा लिएपछि सो सेवा सुरु हुनेछ । यो सेवा हाललाई भारतमा मात्रै लागु हुने र पछि अन्य देशहरुमा समेत विस्तार गरिने टेलिकमले जनाएको छ ।
कनेक्ट आइपिएस युजरबीच फण्ड ट्रान्सफर अब निःशुल्क
काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमा युजरबीच निःशुक्ल फण्ड ट्रान्सफरको सुविधा सुरु गरेको छ । सीमित अवधिका लागी सुरु गरिएको सो सुविधा अन्तर्गत यस प्रणालीमा आफ्नो बैंक खाता लिंक गरी भेरीफाइ गराइसकेका ग्राहकहरुले मोबाईल नम्बरको आधारमा गरिने फण्ड ट्रान्स्फर निःशुल्क गरिएको हाे । यस सेवाले कनेक्ट आइपिएसका ग्राहकहरुलाई सिधैं आफ्नो बैंक खाताबाट रियल–टाइम फण्ड ट्रान्सफर गर्न थप सुविधा पुग्ने अपेक्षा गरिएको छ । एनसीएचएलले ५३ भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुमार्फत ग्राहकहरुका लागि बैंक खातामा आधारित रियल–टाइम भुक्तानी गर्न कनेक्ट आइपिएस प्रणाली संञ्चालन गरिरहेको छ । यस प्रणालीमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिलभुक्तानी लगायत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेका छन् । बैंकका ग्राहकले यस प्रणालीमा आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाइ लिंक तथा भेरिफाइ गराइ यसमा उपलब्ध हुने भुक्तानी सेवाहरु प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले कनेक्ट आइपिएसको डब्लुडब्लुडब्लु डट कनेक्टटिप्स डटकममा गएर अथवा मोबाईल एप्सको प्रयोग गरी अथवा सेवा प्रदायकहरुको पोर्टलमा को पेमेन्ट प्रोसेसर (गेटवे)मा गएर भुक्तानी गर्न सक्नेछन् ।
नेपाल टेलिकमको फाईबर टु द होम सेवा महेन्द्रनगरमा सुरु
काठमाडौं। नेपाल टेलिकमले एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटीटीएच) सेवाको शुभारम्भ कन्चनपुरको महेन्द्रनगरमा पनि गरेको छ । कम्पनीले विहिबार महेन्द्रनगरमा पहिलो पटक एफटीटीएच सेवाको औपचारिक शुभारम्भ गरेको हो । महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा एफटीटीएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट क्षेत्रीय निर्देशनालय धनगढीका निर्देशक नामाकर न्यौपानेले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई फोन गरेर सो सेवाको शुभारम्भ गरेका हुन्। निर्देशक न्यौपानेले प्रबन्ध निर्देशक अधिकारीलाई महेन्द्रनगरमा एफटीटीएच वितरण शुभारम्भ भएको जानकारी गराउदै सो क्षेत्रमा यसको क्षमता र आगामी दिनको योजना बारेमा बताउनु भएको थियो । प्रबन्ध निर्देशक अधिकारीले नयाँ प्रविधि शुभारम्भ भएकोमा खुसी व्यक्त गर्दै नयाँ ग्राहकहरुलाई बधाइ दिएका थिए। कार्यक्रममा उपस्थित नयाँ ग्राहकहरुलाई क्षेत्रीय निर्देशक न्यौपानेले एफटीटीएच जडानका लागि आवश्यक सीपीई (कस्टमर प्रिमिसेज इक्विपमेन्ट) वितरण गरेका थिए। हाल महेन्द्रनगरमा जडान गरिएका दुईवटा एफडीसी (फाइबर डिष्ट्रिब्युसन क्याबिनेट) को १ हजार २४ लाइन एफटीटीएच वितरण क्षमता रहेको छ। यसमध्ये ७ सय ६८ लाइन तत्काल वितरण गर्न सकिने छ । महेन्द्रनगरको बजार क्षेत्रमा गल्ली नम्बर १ देखि ४ सम्म एफटीटीएच हाल उपलब्ध छ । आगामी दिनमा जिल्लामा थप ७ वटा एफडीसी जडान गरी प्राय शहर र घना वस्ती क्षेत्रमा सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको छ । नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । जस अन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ । हाल एफटीटीएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर फाइबर निःशुल्क प्राप्त गर्नेछन् । एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी र अत्याधुनिक पनि छ । पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले पनि अपग्रेड गरी एफटीटीएच सेवा लिन सक्नेछन् । यो आईपीमा आधारित सेवा हो ।