भायनेटको नयाँ शाखा पोखरामा, नोकियासँगको सहकार्यमा १०० एमबीपीएसको नेटवर्क शुरु गर्ने
काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टि.भी. सेवा प्रदायक भायनेट कम्यूनिकेसन्स प्रा. लि. ले पोखरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । पोखरामा कम्पनीको यो पहिलो शाखा हो । भायनेटले नोकियासँगको सहकार्यमा आफ्नो “अल्ट्रा ब्रोडब्यान्ड” क्षमतायुक्त नेटवर्कको शुरुवात गर्दैछ । “अल्ट्रा ब्रोडब्यान्ड” भनेको यस्तो इन्टरनेट सेवा हो जसले १०० एमबीपीएस(मेगाबिट्स पर सेकेन्ड) भन्दा बढीको स्पीड प्रदान गर्न सक्छ । भायनेटका अनुसार यो नयाँ साझेदारीले हरेक प्रयोगकर्तालाई २.५ जीबीपीएस(जीगाबीट्स पर सेकेन्ड)सम्म स्पीड दिन सक्ने नेटवर्क निर्माण गर्न सकिनेछ । जसले गर्दा प्रयोगकर्ताहरुले उच्च मागमा रहेका इन्टरनेट एप्लिकेसनहरु जस्तै अल्ट्रा हाई डेफिनिसन(फोरके) भिडियो सामाग्री, आईपीटिभी, अनलाईन भिडियो स्ट्रिमिङ्ग साइटहरु, भर्चुअल रियालिटी र अरु इन्टरनेट चलाउन मिल्ने डिभाइसहरुलाई सपोर्ट गर्नेछ । भायनेटले फ्युचर प्रुफ नेटवर्क निर्माणमा विश्वास राख्छ र प्रयोगकर्ताहरुलाई सबैभन्दा उत्कृष्ट गुणस्तरको सेवा प्रदान गर्ने प्रतिवद्धता गरेको छ । भायनेटको प्रमुख कार्यकारी अधिकृत प्रशन्न पोखरेलले भने- “भायनेटको प्यान नेपाल एफटीटीएच नेटवर्क विस्तारको योजना अनुरुप हामीले पोखरामा सफलतापूर्वक सेवा विस्तार गर्न पाएकोमा गौरवान्वित छौँ । पोखरामा हामीले आफ्नो पहिलो नोकिया डिभाइसहरु विस्तार गर्न लागेका छौं । जसले गर्दा हामीले आफ्नो प्रयोगकर्ताहरुलाई सँधै नै उच्च गुणस्तरको सेवा प्रदान गर्न अझ बढी सक्षम हुनेछौं ।” अहिलेको स्किममा भायनेटले आफ्नो इन्टरनेट प्लानका वार्षिक ग्राहकहरुलाई १ वर्षको नेट टि.भी. र नेट टि.भी. सेट टप बक्स निःशुल्क प्रदान गरिरहेको छ ।
चिडियाखानामा संरक्षित जीवजन्तुको मृत शरीरकाे प्रतिकृति निर्माण गर्दै
काठमाडौं । सदर चिडियाखानाले अवलोकनकर्ताका लागि संरक्षित जीवजन्तुको मृत शरीरको प्रतिकृति बनाएर राख्ने भएको छ । चिडियाखानाका व्यवस्थापक प्रमुख डा चिरञ्जीवी खनालले विभिन्न कारण वा उमेर पुगेका मृत्यु भएका जनावरको प्रतिकृति बनाउने प्रचलन थिएन, यो पहिलो पटक गर्न लागिएको हो । चिडियाखानामा संरक्षित गरी अवलोकनका लागि राखिएका जनावर मरेमा ती जीवजनावरको भित्री भागलाई फालेर छालाको मात्रै प्रयोग गरी प्रतिकृति निर्माण गरिने छ । मृत जनावरको प्रतिकृति बनाउनका लागि स्थान निर्माणको काम भइरहेको छ, केही महीनाभित्र उक्त स्थान निर्माणको काम सम्पन्न हुनेछ । चिडियाखानामा राखिएका जनावर मरेपछि पहिले कस्ता किसिमका जनावर राखिएको थियो भन्ने जानकारी दर्शकले प्रतिकृति मार्फत पाउनेछन् । स्थानको अभाव र सधैँ सबै प्रकारका जनावर नपाउने भएको हुँदा पनि कुन समयमा कुन जनावर सर्वसाधारणका लागि राखिएको थियो, अहिले उक्त जानवर छ कि छैन भन्ने जानकारी अवलोकन कर्तालाई दिनु यसको मुख्य उद्देश्य रहेको चिडियाखानाले जनाएको छ । सबै संरक्षित जीवको प्रतिकृति राख्न नसके पनि मुख्यगरी बाघ, भालु, गैँडा,हात्ती,रेड पाण्डा, वन मान्छे, रिङटेल्ड लिमर, मयुँर डाँफे जस्ता जीव जनावरको प्रतिकृति बनाइने छ । टिकटघर नजीकै तय गरिएको उक्त प्रतिकृति स्थल दर्शकले भित्र प्रवेश गर्ने बित्तिकै देख्न पाउनेछन् । हाल चिडियाखाना ६ हेक्टर क्षेत्रफलमा १२७ प्रजातिका एक हजार दुई १९ जीवजन्तु छन् । केही वर्षअघि ८०० जीवजन्तु रहेको यहाँ गत वर्ष धेरै चरा ल्याइएकाले सङ्ख्या बढेको छ । गत आर्थिक वर्षमा अवलोकनकर्ताबाट रु १४ करोडको आम्दानी गरेको चिडियाखानामा एक लाख स्वदेशी र विदेशी पाहुना जीवजन्तु हेर्न पुगेका थिए । चिडियाखाना अवलोकन गर्न १२ वर्षमुनिकालाई रु ५०, विद्यार्थीलाई रु १००, सर्वसाधारणलाई रु १५०, सार्क राष्ट्रका पाहुनालाई रु २२० र अन्य देशका नागरिकलाई रु ७५० प्रवेश शुल्क तोकिएको छ । अघिल्लो आर्थिक वर्षमा अवलोकन कर्ताबाट रु १२ करोड आम्दानी गरिएको थियो । तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेर राणाले आफ्नो निजी प्रयोगका लागि निर्माण गरेको उक्त चिडियाखाना तेइस वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत रही व्यवस्थापन हुँदै आएको छ । अहिले चिडियाखानामा ७५ कर्मचारी कार्यरत रहेका छन् । चिडियाखानाले अहिले जीवजनावरलाई गर्नुपर्ने व्यवहार कस्तो हो भन्ने शिक्षा दिनका लागि ‘जुको साथी’ भन्ने कार्यक्रम शुरु गरेको छ । जसअन्तर्गत काठमाडौँ उपत्यकाका पाँच सय विद्यालयका ८० विद्यार्थीले साथीका रुपमा रही आलोपालो गरी चिडियाखानामा रहेका जीवजनावरलाई खुवाउने र स्याहारसम्भार गर्ने गरेको चिडियाखानाका सूचना अधिकारी लिना चालिसेले बताएका छन् । पछिल्लो समय चिडियाखानाले राति पनि अवलोकन गर्न सक्ने व्यवस्था गरेको छ । राति अवलोकन गर्दा थप मनोरञ्जन लिन सकिने बाघ, भालुजस्ता १४ स्तनधारी जनावरको अवलोकन गर्न अवलोकनकर्ता आउने गरेका छन् । रासस
डिसेम्बर २३ देखि काठमाडौंमा मानव स्रोतको रुपान्तरण सम्बन्धी सम्मेलन हुँदै
काठमाडौं । डिजिटल विश्वमा मानव स्रोतको रुपान्तरण सम्बन्धी सम्मेलन आयोजना हुने भएको छ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्सिच्युड अफ नेपाल (बीएफआईएन) ले यही डिसेम्बर २३ तारिखका दिन काठमाडौंको होटल र्याडिसनमा एकदिने सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनमा नेपाल तथा भारतका विज्ञ तथा व्यवस्थापकहरुले आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्ने आयोजकले जनाएको छ । सम्मेलनमा भारतको टाटा कन्सल्टेन्सी सर्भिसेज फाइनान्सियल सोलुसनका उपाध्यक्ष आर. विवेकानन्द, भारतको आईडीएफसी बैंकका मानव संसाधन निर्देशक प्रतिक दुवे, रिस्क म्यानेजमेन्ट एशोसिएसन अफ इण्डियाका महासचिव राकेश अग्रवाल, साउथ एशिया फास्ट ट्रयाक एण्ड एनालाइसिस्टका सम्पादक सौरजित ऐयर लगायतलाई आमन्त्रण गरिएको छ । त्यस्तै, पूर्व मुख्यसचिव विमल कोइराला, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना र नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश कुमार गुरागाईँले सम्मेलनको विभिन्न सेसनको अध्यक्षता गर्नेछन् भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, माइक्रोसफ्टका क्षेत्रीय निर्देशक एलेन विलोचन तुलाधर, नेपाल इन्भेष्टमेन्ट बैंकका सह–महाप्रबन्धक विजेन्द्र सुवालले वक्ताका रुपमा रहेका छन् । त्यस्तै बीएफआईएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेय, ग्लोबल आइएमई बैंककी सहायक महाप्रबन्धक आरती राणा, संजित कुमार, प्रभु बैंककी मानव संसाधन र व्यवसायिक योजना विभाग प्रमुख रश्मी पन्त र लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले पनि कार्यक्रममा बोल्नेछन् । उक्त सम्मेलनमा सहभागी हुन बीएफआईएनका सदस्यहरुले प्रतिव्यक्ति ९००० रुपैंया र सोबाहेकका अन्यले १०००० रुपैंया तिर्नुपर्ने आयोजकले जनाएको छ । उक्त रकममा भ्याट समावेश नगरिएको समेत आयोजकले बताएको छ । उक्त सम्मेलनका लागि दराज डटकम, नेपाल लाइफ इन्स्योरेन्स, मेगा बैंक, कुमारी बैंक, मर्कन्टाइल लगायतले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको बीएफआईएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेयले बताए । अात्रेयले सम्मेलनमा विश्वमा सूचना प्रविधिकाे अाविष्कारसँगै राेजगारीकाे अायामहरुमा परिवर्तन अाउँदै गरेकाे परिप्रेक्षमा भावी दिनहरुमा हुनसक्ने परिवर्तन र त्यस्ता परिवर्तनसँग मानवस्राेतकाे रुपान्तरण कसरी गर्ने भन्ने सम्बन्धमा विज्ञहरुले अाफ्ना विचार प्रस्तुत गर्ने र छलफल हुने बताए ।