एक हप्तादेखि अवरुद्ध सञ्चार सेवा पुनः सञ्चालनमा

हुम्ला । जिल्ला सदरमुकामसहित आसपासका क्षेत्रमा एक हप्तादेखि अवरुद्ध भएको सञ्चार सेवा पुनः सञ्चालनमा आएको छ । जेनेरेटरले काम गर्न छाडेपछि जिल्लाको नेपाल टेलिकम शाखाका सबै सेवा एक हप्तादेखि बन्द भएका थिए । हिल्दुम लघुजलविद्युत् आयोजना मर्मतका लागि बन्द हुँदा काम चलाउ रुपमा प्रयोग गरिएको जेनेरेटर पनि बिग्रिएपछि टेलिकमले आइतबारदेखि एनसेलको टावरबाट विद्युत् सप्लाइ गरेर सिमकोट आसपासका क्षेत्रलाई सञ्चारमा जोडेको निमित्त प्रमुख रामबहादुर बोहराले जानकारी दिएका छन् । गत भदौ २० गतेदेखि विद्युत्का कारण बन्द भएको टेलिकमको जिल्ला शाखाले जेनेरेटरबाट आफ्नो सेवा दिएता पनि जेनेटर बिग्रँदा एनसेलको जेनेरेटरबाट तार जडान गरी आइतबारदेखि नमस्ते टेलिफोन, इन्टरनेट, एडिएल लगायतका सम्पूर्ण सेवा सञ्चालनमा आएका छन् । जेनेरेटर सञ्चालनमा आएपछि टेलिकमका इन्टरनेट, ल्यान्डलाइन, जिएसएम, थ्रिजी, सिडिएमए लगायतका सबै सेवा सञ्चालन भएका छन् । रासस

बेलायतमा हुवावेको तालिम केन्द्र

बर्मिङघम । चीनको विशाल प्रविधि कम्पनी हुवावेले बेलायतको बर्मिङघममा ५जी तालिम केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रमार्फत बेलायतमा ५जीसँग सम्बन्धित सूचना एवं सञ्चार प्रविधिका बारेमा तालिम प्रदान गरिनेछ । केन्द्रमा एक पटकमा २० जनालाई तालिम दिन सकिनेछ । प्रत्येक तालिमका प्रशिक्षार्थीलाई पाँच दिनको तालिम दिइने र यसमा ५जी प्रविधि, आधुनिक नेटवर्क इन्जिनियरिङका सिद्धान्त एवं ५जी नेटवर्कका उपकरणको जडानबारे व्यवहारिक ज्ञान दिइनेछ । हुवावेका अनुसार केन्द्र पूर्णरुपमा सञ्चालनमा आएपछि ५जी प्रविधिसँग सम्बन्धित एक हजार नेटवर्क इन्जिनियरलाई प्रशिक्षण दिइनेछ । हुवावे बेलायतका निर्देशक सर एन्ड्रु काहनले बेलायतमा उच्च गतिको ५जी नेटवर्कसँग सम्बन्धित इन्जिनियरको खाँचो रहेको र तालिम केन्द्रले उक्त अभाव पूरा गर्ने विश्वास रहेको संचार माध्यमसँग जानकारी दिएको छ । रासस/सिन्ह्वा

दशैँ अघिनै सातै प्रदेशमा नेपाल टेलिकमको फोरजी सेवा, तयारी अन्तिम चरणमा

काठमाडौ । नेपाल टेलिकमले देशका सातैवटा प्रदेशका विभिन्न शहरहरुमा फोर जी सेवा बिस्तार गर्ने अन्तिम तयारी गरेको छ । हाल काठमाडौँ र पोखरामा मात्रै फोर जी सेवा संचालन गर्दै आएकोमा टेलिकमले यसलाई देशभरका प्रमुख शहरहरुमा बिस्तार गर्न लागेको हो । एनटीसीले सो सेवा दशैँ अघि नै शुरु गर्ने गरी तयारी गरिरहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । टेलिकमले यसअघि नै फोर जी सेवा बिस्तार गर्ने योजना बनाएको भएपनि सार्वजनिक खरिद ऐनमा रहेको टेण्डर प्रक्रिया सम्बन्धी व्यवस्थाले सो कार्यमा ढिलाई हुँदै आएको थियो । उच्च गतिको इन्टरनेट र भ्वाइस कलको सुविधा रहेको उक्त सेवा बिस्तारका लागि विराटनगर, विर्तामोड, ईटहरी, जनकपुर, पोखरा, बाग्लुङ्ग, पाल्पा, सुर्खेत, नेपालगञ्ज, वीरगञ्ज र काठमाडौँमा समेत एफटीटीएच नेटवर्क निर्माणको काम सकिएको टेलिकमले जनाएको छ । टेलिकमले हाल काठमाडौँ र पोखरामा प्रदान गर्दै आएको फोर जी सेवामा इन्टरनेट मात्रै रहेकाले अब भने भ्वाइस कल सेवा समेत उपलब्ध गराउने तयारी गरेको छ । के हो फोर जी ? फोर जी उच्च गतिको ब्रोर्डव्याण्ड नेटवर्क प्रविधि हो । सो प्रविधिमा यस अघिको टु जी वा थ्री जीको भन्दा १० गुणा छिटो इन्टरनेट चल्छ । फो जी सेवा बिस्तार भएपनि टु जी र थ्री जी सेवा समेत एथावत रहने टेलिकमले जनाएको छ । फोर जी सेवा प्राप्त गर्न भने ग्राहकले नयाँ सिम लिनु पर्ने र फोर जी नेटवर्क सर्पोट गर्नुपर्ने मोवाईल हुनुपर्छ । ठूला भवनहरुले फोर जीको नेटवर्क सिग्नललाई अवरोध नगर्ने टेलिकमले जानकारी दिएको छ । सोही कारण फोर जी ग्राहकहरुको रोजाइमा पर्ने टेलिकमको बुझाई रहेको छ ।