प्राधिकरणको निमित्त अध्यक्ष खनाल, सिजी कम्यूनिकेशनबारे के हुँदैछ निर्णय ?

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणमा निमित्त अध्यक्षको जिम्मेवारी पुरुषोत्तम खनालले पाएका छन् । अध्यक्ष दिगम्बर झाले पुस १२ गते पदबाट राजीनामा दिएपछि सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले खनाललाई निमित्त अध्यक्षको जिम्मेवारी तोकेको हो । झाको राजीनामा स्वीकृत नभएकोले खनाललाई कार्यवहाक अध्यक्षको जिम्मेवारी नतोकि निमित्तको जिम्मेवारी मात्र तोकिएको बुझिएको छ । खनाल प्राधिकरणका वरिष्ठ निर्देशक हुन् । निमित्त अध्यक्षलाई आर्थिक तथा प्रशासनिक काम गर्न र प्राधिकरण विरुद्ध अदालतमा परेको मुद्दाहरुको प्रतिरक्षा गर्ने अधिकार ताेकिएकाे छ। प्राधिकरणको वार्षिक बजेट, योजना, कार्यक्रमअनुसारका प्राधिकरणका नियमित अगाडि बढाउने खनालले बताए । राजीनामा दिनुपूर्व झाले सर्तअनुसार सेवा सञ्चालन नगर्ने यूटीएल, सिजी कम्यूनिकेशन, नेपाल स्याटलाईट लगायत कम्पनीलाई कारवाही गर्ने बताएका थिए । यी सबै काम नियम, कानुनअनुसार हुने खनालले बताए । झाले राजीनामा दिएकै दिन सर्वोच्च अदालतले सिजी कम्यूनिकेशनलाई मोबाइल सेवा सञ्चालनका लागि अनुमति दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सो कम्पनीलार्ई मोबाइल सेवा सञ्चालनका लागि अनुमति प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका नाममा अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चको उक्त आदेश कार्यान्वयनमा लैजाने वा प्रतिरक्षा गर्ने भन्ने विषयमा अध्ययन भइरहेकाे निमित्त अध्यक्ष खनालले बताए । ‘सिजी कम्यूनिकेशनबारे अध्ययन भईरहेको छ । अदालतको निर्णय कानुनको रुपमा पालना गर्नुपर्ने पनि हुन्छ । त्यसमा पुनरावलोकनको माग गर्न पनि सकिन्छ । यसबारे मैले अहिले यहि हुन्छ भन्न सकिदैन’ खनालले भने । प्राधिकरण स्रोतका अनुसार निमित्त अध्यक्षलाई सञ्चालक समितिको बैठक राख्ने अधिकार दिईको छैन । ‘सञ्चालक समितिको बैठक बोलाउने वा राख्ने अधिकार निमित्त अध्यक्षलाई दिईएको छैन । त्यसैले सञ्चालक समितिबाट निर्णय गर्नु पर्ने सबै काम नयाँ अध्यक्ष नियुक्त नभएसम्मलाई रोकिने भएको छ’ स्रोतले भन्यो ।

इन्टरनेटको स्पिड बढाउँदै भायनेट, ल्यायो नयाँ योजनासहित आकर्षक प्याकेजहरु

काठमाडौं । नेपालकै पहिलो एफटीटीएच(फाइबर–टु–द–होम)इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले आफ्नो अन्लिमिटेड इन्टरनेटको स्पिडमा वृद्धि गरिरहेको छ । कम्पनीले इन्टरनेटको स्पिडमा वृद्धि गर्दै ग्राहकहरुको लागि ‘गो फर स्पिड, गो फर भायनेट’ नामक योजना बजारमा ल्याएको छ । स्पिड वृद्धि गर्ने क्रममा भायनेटले २० एमबिपिएसलाई बढाएर ३० एमबिपिएस बनाएको छ भने ३० एमबिपिएस लाई बढाएर ४० एमबिपिएस बनाएको छ । त्यसैगरी, भायनेटले सर्वाधिक ६० एमबिपिएस स्पिड पनि ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको छ । वार्षिक ग्राहकहरुले ३० एमबिपिएस इन्टरनेटको लागि प्रतिमहिना १२०० रुपैयाँ, ४० एमबिपिएस इन्टरनेटको लागि प्रतिमहिना १४०० रुपैयाँ र ६० एमबिपिएस इन्टरनेटको लागि प्रतिमहिना १७२० रुपैयाँ तिर्नु पर्नेछ । यसका साथै, ग्राहकहरुले ५५ एचडी र १३५ वटा एसडी च्यानलहरु रहेको नेट टिभी समेत निःशुल्क पाउन सक्नेछन् । यो योजनाअन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिना र ६ महिनाको लागि पनि विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने छ ।

अब सम्पूर्ण भुक्तानी सीजी पे बाटै गर्न सकिने, राष्ट्र बैंकले दियाे अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले सीजी ग्रुपअन्तर्गतको सीजी पे नेपाल प्रा.लि. लाई भुक्तानी सेवा प्रदायको काम गर्ने अनुमति पत्र दिएको छ । उक्त अनुमति पाएसँगै सीजी पेबाट विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ । सीजी पेबाट मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट आफ्नो बैंक खाता प्रयोग गरी विभिन्न भूक्तानी तथा रकम स्थानान्तरण गर्न सकिन्छ । यस सीजी पे वालेट प्रयोग गरी विभिन्न मनी ट्रान्सफर गर्न सकिन्छ । साथै, टेलिकमहरुको रिर्चाज, टि.भी., ईन्टरनेट बिल, स्कुल तथा कलेजको बिल, पानी, बत्तीको बिल, सिनेमाको टिकेट, बस टिकेट, प्लेन टिकेट (विदेशीतथा स्वदेशी) स्वदेशी मनी ट्रान्सफर गर्ने तथा गराउने, विभिन्न पसल तथा रेष्टुरेन्टको बिल पेमेन्ट तथा अन्य पेमेन्ट सीजी पे बाटै गर्न सकिने कम्पनीले जनाएको छ । सीजी पे मोवाइल एप तथा वेब दुबै माध्यमबाट चल्ने तथा यसबाट ग्राहक(यूजर)लाई सजिलो तथा समयको बचत हुनेछ । यो सम्पूर्ण कारोबार बैङ्किङ् प्रणाली मार्फत सम्पन्न हुनेछ । सीजी पे सँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सजिलै यो सेवा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।