अघि बढ्यो टेलिकमको फोरजी सेवा विस्तार, ६५ लाख जनतामा उच्च गतिको डाटा

काठमाडाैं । नेपाल टेलिकमको फोरजी/एलटीई सेवा देशभर विस्तार कार्यका लागि सम्झौता सम्पन्न भएको सम्बन्धमा यसैसाथ संलग्न प्रेस विज्ञप्ति प्रकाशन/प्रसारण गरी सहयोग गरिदिनु हुन अनुरोध छ । नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि आइतबार सम्झौता सम्पन्न भएको छ । संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको हो । फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क-यानको लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता सम्पन्न भएको हो । यस सम्बन्धी छुट्टाछुट्टै सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् । नेपालभर ६५ लाख क्षमताको फोरजी/एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा ¥यान नेटवर्क तयार गरिने छ । यसका लागि मूख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ । ¥यान नेटवर्क अन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ । सम्झौता पश्चात् एक वर्ष भित्रमा परियोजना सम्पन्न हुने छ । नेपाल टेलिकमले मुलुकमै पहिलो पटक मिति २०७३ पौष १७ गते काठमाडौँ उपत्यका र पोखरामा फोरजी/एलटीई सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरले सञ्चालन गरी ग्राहकलाई आ-आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्राप्त हुनेछ । यसबाट मुलुकभर द्रुत गतिको डाटा तथा अन्य सेवा उपयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’, सुबिधा यसरी लिन सकिन्छ

काठमाडौँ । एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग सुलभ दरमा असीमित कुराकानीको मजा लिन सक्ने भएका छन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेलले आफ्ना ग्राहकका लागी भ्यालेन्टाइन अफर ल्याएको छ, जसअन्तर्गत ग्राहकले आफुले छानेको एउटा विषेश एनसेल नम्बरमा मात्र ५० पैसा(कर सहित ६४ पैसा) प्रति मिनेटका दरले कुरा गर्न सक्नेछन् । यो भ्यालेनटाइन अफर यहि शुक्रबारबाट लागु हुनेछ । अफर अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग बिना कुनै शुल्क पेयर गरी मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटमा फेब्रुअरी महिना(माघ १८ देखि फागुन १६ गते) भर कुरा गर्न सक्नेछन् । यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउने छन् । यसरी प्राप्त निःशुल्क एसएमएस पेयर गरीएको नम्बरमा सन्देशहरु पठाउन प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले एस्ट्रिक्स् १७१०६ एस्ट्रिक्स् पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्नेछन् । ग्राहकहरुले सिधै १७१०६ डायल गरेर पनि अफर सुचारु गरी आफुले चाहेको एनसेल नम्बर पेयर गर्न सक्नेछन् । साथै उनीहरुले एनसेल एपबाट पनि यो सेवा सहजै सुचारु गर्न सक्छन् । भ्यालेन्टाइन अफरले ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

क्यान इन्फोटेककाे दाेस्राे दिनमा एक लाखद्वारा अवलोकन

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेलाको दुई दिन दिनमै एक लाखभन्दा बढीले अवलोकन गरेका छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ १५ गतेदेखि आयोजना गरेको २५औं संस्करणको क्यान इन्फोटेक २०१९ मा अवलोकनकर्ताले उत्साहजनक सहभागिता जनाएका हुन् । ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ईसेवा’ नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका छन् । मेलामा बुधबारदेखि सुरु भएको रोबोट ब्याटल कम्पिटिसनमा अवलोकनकर्ताको विशेष आकर्षण देखिएको छ । मेलामा रहेको रोबोटिक्स जोनमा मेलाको अन्तिम दिन आइतबार (२० गते)सम्म पाँच दिन रोबोट ब्याटल कम्पिटिसन हुनेछ । कम्पिटिसनमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटबीच ब्याटल कम्पिटिसन हुनेछ । कुल १७५ स्टल रहेको मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवाप्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्सलगायतका स्टल छन् । मेला अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १०० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । माघ १७ गते बिहीबार बिजनेस डेका दिन भने सबैले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ । प्रविधि मेलामा सामूहिक रुपमा आउन चाहने सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालयबाट पत्र लिएर आएमा निःशुल्क प्रवेश पाउने व्यवस्था मिलाइएको छ । त्यस्तै, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई पनि निःशुल्क प्रवेशको सुविधा दिइएको छ । २५औं संस्करणको क्यान इन्फोटेकको मुख्य प्रायोजक सुबिसु केबलनेट प्रा.लि. हो भने एसोसिएट प्रायोजक ई सेवा फोन पे प्रा.लि. हो । डाइमन्ड स्पोन्सरमा प्रभु ग्रुप रहेको छ । त्यस्तै, गोल्ड स्पोन्सरमा एनसेल प्रा.लि. र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन रहेका छन् ।