नेपाली बजारमा ल्यापटपः डेलको माग बढी, अरुको अवस्था कस्तो ?
काठमाडौं । नेपाली बजारमा विभिन्न ब्राण्डका ल्यापटपहरु उपलब्ध छन् । ती मध्येपनि डेल, लेनोभो र एचपी ग्राहकको रोजाइमा अगाडि छन् । मोबाइल फोनमा इन्टरनेट प्रयोग गर्न मिलेपनि ल्यापटप नै खोज्ने ग्राहकहरु नभएका भने होइनन् । कार्यालयको कामदेखी लामो समय लगायर गरिने काममा लागि मोबाइल भन्दा ल्यापटप आवश्यक हुन्छ । पुतली सडकमा रहेको मल्टी इन्टरनेशनल प्राइभेट लिमिटेडले नेपालीहरुको महान् चाड तिहारको अवसरमा ल्यापटप किन्ने ग्राहकहरुको लागि छुटको अफर ल्याएको छ । विभिन्न ब्राण्डका ल्यापटक किन्दा ग्राहकहरुले झोला, किबोर्ड, ल्यापटपको खोल, इयरफोन, ल्यापटप क्लिनर तथा वायरलेस माउस लगायतका गिफ्ट पाउँदै आएका छन् । यस्तो छ मुल्य नेपालमा किनबेच हुँदै आएको ल्याटपहरुमा सबैभन्दा बढी बिक्री हुने ल्यापटपमा डेल कम्पनी पर्छ भने दोस्रोमा एचपी पर्छ । यस्तै, तेस्रोमा एसर, लेनोभो पर्न आउँछन् । यसरी अगाडि पछाडी देखिएपनि बजारमा ग्राहकको रोजाइमा भने यी कम्पनीहरुमा खासै ठूलो अन्तर नरहेको व्यापारीहरुले बताए । डेल कम्पनीको ल्यापटप गेमिङ्ग (महङ्गगो) ब्राण्डका खरिद गर्दा ग्राहकले २ लाख रुपैयाँसम्म तिर्नु पर्छ । सोही डेल ब्राण्डको (सेलिङ्ग) सस्तो ल्यापटप भने ३० हजार रुपैयाँसम्ममा पाउन सकिन्छ । एचपी कम्पनीको गेमिङ्ग (महङ्गगो) ब्राण्डका ल्यापटप लाई ९९ हजार पर्छ । सोही एचपी कम्पनीको (सेलिङ्ग) सस्तो ल्यापटपको मूल्य ४७ हजार रुपैयाँसम्म पर्छ । यस्तै, एसर कम्पनीको ल्यापटप महङ्गगो (प्रिडियटर) तथा सस्तो (आई थ्री) को मूल्य पनि एचपीकै हाराहारीमा रहने व्यवसायीले बताएका छन् । घटबढ भइरहन्छ ल्यापटपको बिक्री वितरणमा लामो समय बिताएका केही ग्राहकहरुले यसको मूल्यमा एकरुपता नरहने बताएका छन् । प्रायः हप्ता दिन जस्तोमा नै ल्याटपको मूल्यमा परिवर्तन आइरहने गर्छ । बेलामा ल्यापटपको माग र बिक्रीमा हुने परिवर्तनले मूल्य घटबढ हुनमा भूमिका खेल्ने व्यवसायीहरु बताउँछन् । मोबाइलका कारण ल्यापटपको ब्यापार खस्किंदै पछिल्लो समय नेपाली बजारमा ल्यापटप (कम्प्युटर)को बिक्री खस्केको छ । ल्यापटपको बजारलाई मोबाइल फोनले असर गरेको हो । ल्यापटपले गर्ने काम मोबाइलबाटै सम्भव हुने थालेपछि मोबाइल फोनमा आकर्षण बढ्न थालेको हो । कम्प्युटर एशोसियशन अफ नेपाल(क्यान महासंघ)का निवर्तमान अध्यक्ष बिनोद ढकालका अनुसार–‘टेक्नोलोजी समय अनुसार परिवर्तन हुँदै जाने भएकाले अघिल्ला बर्षमा आएका ब्राण्डको मूल्य अर्को बर्ष केही सस्तो हुन जान्छ । यस्तै, ब्राण्ड उही भएपनि भिन्न किसिमका फिचरहरु ल्याउँदा मूल्यमा वृद्धी हुने उनकोे बुझाई छ । राजधानीको पुतलिसडकस्थित ‘डिजिटल वन’ नामक मोवाइल पसलका संचालक रमेश महर्जन भन्छन्-‘अहिले ल्यापटप खासै बिक्दैन, मोबाइलले बजार खाएको कारण यस्तो भएको हुन सक्छ ।’ महर्जनले मोबाइल फोन बोक्न सहज तथा विभिन्न काममा सहयोगी हुने भएकाले यस्तो भएको हुनसक्ने तर्क गरे ।
‘हेलो सरकारका गुनासा स्थानीय तहबाटै सम्बोधन’, ट्वीटरबाट बढी गुनासा
काठमाडौं । सरकारले स्थानीय तहबाट नै जनताका गुनासो सम्बोधन गर्न थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको हेलो सरकार शाखाले ‘हेलो सरकार’को नयाँ सफ्टवेयर पोर्टल जडान गरेसँगै ७ सय ५३ वटै तहबाट जनताका गुनासो सम्बोधन हुने गरेका छन् । शाखाका प्रमुख शेखर पौडेलले साउनदेखि नयाँ पोर्टल जडान गरेपछि जनताका गुनासो सम्बन्धित स्थानीय तहबाट नै सम्बोधन हुन थालेको जानकारी दिए । त्यसका लागि हेलो सरकारले सबै स्थानीय तहलाई हेलो सरकारको ‘युजरनेम’ र ‘पासवर्ड’ दिएको छ । उक्त युजरनेममा हेलो सरकारमा आएका गुनासो सम्बन्धित ठाउँका स्थानीय तहमा पठाइन्छ र गुनासोलाई सम्बोधन गरिन्छ । “हामीले अब सिधैँ हामी कहाँ आएका गुनासो स्थानीय तहलाई पठाउँछौँ”, उनले भने, “ती गुनासोलाई सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र गुनासो सुन्ने अधिकारीले सम्बोधन गर्नेछन् ।” पहिले हेलो सरकारमा आएका गुनासोलाई यहाँका कर्मचारीले सम्बन्धित निकायसँगको सहयोगमा सम्बोधन गर्ने गर्दथे । हेलो सरकारले सङ्घीय मन्त्रालय, विभाग, प्रदेश मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई समेत हेलो सरकारको युजरनेम र पासवर्ड दिएको छ । वि.सं २०६८ कात्तिक १७ गतेबाट तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले जनताका गुनासो सम्बोधन गर्नका लागि हेलो सरकार सञ्चालनमा ल्याउनुभएको हो । नयाँ पोर्टल सञ्चालन भएपछि गुनासा घटे हेलो सरकारको नयाँ पोर्टल सञ्चालन भएपछि गुनासाको सङ्ख्या घटेको छ । पहिलेको पोर्टलमा हेलो सरकारमा आएका जस्ता गुनासो पनि लिने गरिन्थ्ये भने अहिले ती आएका गुनासोलाई अवस्था हेरेर लिने गरिन्छ । “अहिले आएका गुनासोको व्यहोरा पूर्णरूपमा उल्लेख गरिएको छ कि छैन भनेर हामीले छलफल गरेर मात्र सम्बन्धित ठाउँमा ती गुनासो पठाउने गरेका छौँ”, हेलो सरकार शाखाकी शाखा अधिकृत हरिकला आचार्यले भने, “जसले गर्दा हेलो सरकारमा आउने गुनासाको सङ्ख्या घटेको हो ।” उनका अनुसार गत वैशाख १ देखि असारमसान्तसम्म एक हजार ८ सय ९ गुनासो आएका थिए, भने नयाँ पोर्टल सञ्चालन भएपछि साउनदेखि असोजसम्म एक हजार ७२ गुनासा आएका छन् । ट्वीटरबाट बढी गुनासा यसैगरी सर्वसाधारणले हेलो सरकारमा पहिले फोनबाट बढी गुनासा राख्ने गरेता पनि अहिले ट्वीटरबाट बढी गुनासो राख्ने गरेको पाइएको छ । शाखाका शाखा अधिकृत किरण जोशीले दैनिक ट्वीटरबाट सयको सङ्ख्यामा गुनासो आउने गरेको बताए । फोनबाट भने दैनिक १५ को सङ्ख्यामा मात्र गुनासो आउने गरेका छन् । हेलो सरकारमा फोनसहित फेसवुक, ट्वीटर, भाइवर र इमेलमार्फत गुनासो लिइने गरिन्छ । फोनका लागि पैसा नलाग्ने नम्बर ११११, भाइवरका लागि ९८५११४५०४५ र इमेल [email protected] रहेको छ । शाखा प्रमुख पौडेलले हेलो सरकारबारे जनचेतना जगाउन आवश्यक रहेको बताए । “अझै हेलो सरकारबारे सर्वसाधारणलाई थाहा छैन”, भने, “त्यही भएर सर्वसाधारणलाई जानकारी दिनका लागि जनचेतना जगाउने कार्यक्रम ल्याउन थालेका हौं ।” दैनिक दुई सयको सङ्ख्यामा हेलो सरकारमा सर्वसाधारणका गुनासो आउने गरेका छन् । अहिले बिहान ७ः०० देखि साँझ ९ः०० बजेसम्म हेलो सरकारमा १६ कर्मचारी जनताका गुनासो सम्बोधन गर्न खटिएका छन् । गत आर्थिक वर्षमा हेलो सरकारमा १६ हजार १२० गुनासोमध्ये आठ हजार २२ गुनासो फछ्र्यौट गरिएको छ । रासस
चाडपर्वमा नेपाल टेलिकमको अफर, कात्तिक १० देखि १६ गतेसम्म रिचार्जमा कति पाइन्छ बोनस ?
काठमाडौँ । नेपाल टेलिकमले नेपालीहरुको महान चाड तिहारका साथै छठ र नेपाल संवतका अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ । सो अवसरमा मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । यो भन्दा पहिले देखि नै उपलब्ध फोरजी÷एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफरहरुलाई समेत निरन्तरता दिइएको छ । रिचार्जमा बोनस: जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यस योजनामा रु. ५०।–, १००।– र २००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– र १०००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु. ५०।–, १००।– र २००।– को बोनस ३ दिन भित्र र रु. ५००।– र १०००।– को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ । त्यसैगरी एमपोसबाट रु. १०।– देखि ४९९।– सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ । यी अफरहरुलाई पनि निरन्तरता १. फोरजी/एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने छ । २. पहिलो पटक फोरजी÷एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । ३. पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ । यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहने छ । ४. प्रिपेड नम्बरमा पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सकिनेछ । ५. कम्पनीको इन्टरनेट/इन्ट्रानेट लिज लाइन सेवा लिने नयाँ ग्राहकहरुलाई दर्ता शुल्क रु. ३२०।– आगामी छठसम्म निःशुल्क गरिएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।