टेलिकमले उपलब्ध गराएको बिलिङ प्रणाली के हो ? कसरी थाहा पाउने बिलको रेकर्ड ?
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुलाई पोस्टपेड मोबाइलको बिलिङ प्रणाली उपलब्ध गराइरहेको छ । यस प्रणालीतर्फ कतिपय ग्राहकहरुमा भ्रम रहेको पाइएको छ । तर हालको समयमा यस बारेमा स्पष्ट हुन जरुरी रहेको छ । के हो त बिलिङ प्रणाली ? पोस्टपेड बिलिङमा ग्राहकले गरेको प्रत्येक कल बराबरको रकमलाई अनबिल्ड अमाउन्टको रुपमा लेखांकन गरिन्छ र महिनाको अन्त्य (सामान्यतः अंग्रेजी महिनाको १५ तारिख) मा मात्र बिल तयार गरिन्छ । बिल तयार भइसकेको तर ग्राहकले भुक्तानी गर्न बाँकी रहेको रकमलाई अनपेड बिल भनिन्छ । उदाहरणको लागि मार्च २२ मा ९८५१०००००० को अनपेड बिल रु. १४२५ छ भन्नाले यस ग्राहकले मार्च १४ सम्म (फागुन महिना वा सो भन्दा अघि) को बिलमध्ये रु. १४२५ भुक्तानी गर्न बाँकी छ भन्ने बुझाउँछ । अनबिल्ड अमाउन्ट पोस्टपेड नम्बरको महिनाभरको प्रयोगको आधारमा महिनाको अन्त्यमा बिल तयार गरिने भए तापनि सिस्टमले हरेक कलपश्चात् उक्त कलवापत लाग्ने रकमको हिसाब गरिरहेको हुन्छ । यसरी बिल तयार गर्न बाँकी रहेको तर ग्राहकले चालु महिनामा गरेको सेवा उपभोग गरेवापतको रकमलाई अनबिल्ड अमाउन्ट भनिन्छ । उदाहरणका लागि मार्च २२ सम्ममा ९८५१०००००० नम्बरको अनबिल्ड अमाउन्ट रु. २४८ छ भन्नाले मार्च १५ (मार्च १४ सम्मको बिल तयार भए पश्चात्) भन्दा पछि मार्च २२ सम्म उपभोग गरेको सेवावापत तिर्नुपर्ने रकम रु. २४८ छ भन्ने बुझाउँछ । यस्तो महिनाभरको अनबिल्ड अमाउन्टका आधारमा चैत महिनाको अन्त्यमा (अप्रिल महिनाको १५ तारिख) प्रोसेसिङ गरी बिल तयार गरिन्छ । के हो ड्यू अमाउन्ट ? सेवा प्रयोग गरेवापत ग्राहकले कम्पनीलाई बुझाउन बाँकी रकमलाई ड्यू अमाउन्ट भनिन्छ । ड्यू अमाउन्ट भनेको अनपेड बिल र अनबिल्ड अमाउन्टको योगफल हो । उदाहरणको लागि माथिको ९८५१०००००० नम्बरको ग्राहकको मार्च २२ का दिनमा ड्यू अमाउन्ट रु. १६७३ (रु.१४२५+२४८) हुन्छ । आफ्नो यो सबै बिलिङ रकमको बारेमा जानकारी लिनका लागि *400# डायल गर्न सकिन्छ । यसरी कल गर्दा आउने एसएमएसमा देखिने अभाइलेबल क्रेडिट चाँहि अब ग्राहकले प्रयोग गर्न पाउने रकम हो । क्रेडिट लिमिट के हो ? हाल नयाँ पोस्टपेड नम्बर लिंदा स्वामित्व करवापतको रकम रु. ५००, भ्याटवापत रु. ६५ र क्रेडिट लिमिट वापत ३८० रुपैयाँ गरी जम्मा ९४५ रुपैयाँ लाग्दछ । स्वामित्व कर र भ्याटवापतको रकम सरकारी कोषमा जम्मा हुन्छ भने रु. ३८० रकम ग्राहकले सेवा प्रयोग गर्न पाउने गरी कायम रहन्छ । यो रु. ३८० नै ग्राहकको क्रेडिट लिमिट हो । नयाँ पोस्टपेड मोबाइल लिंदा लाग्ने शुल्कमा समयसापेक्ष परिमार्जन हुँदै आएकोले विभिन्न ग्राहकको क्रेडिट लिमिट पनि फरक फरक हुने गर्दछ । रेन्टल चार्ज पोष्टपेड मोबाइलका लागि मासिक रुपमा न्यूनतम रु. ३८३.०७ रेन्टल चार्ज तय गरिएको छ । यसको अर्थ ग्राहकले यो भन्दा थोरै रकमको सुविधा प्रयोग गरेपनि रु. ३८३.०७ तिर्नै पर्छ । यद्यपि कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष अफर लिएका ग्राहकहरुको हकमा भने यो रकम फरक हुनसक्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पहिले देखि नै गरिएको हो । मासिक रुपमा यो भन्दा धेरै रकम प्रयोग गर्नेहरुले क्रेडिट लिमिट बढाउँदा राम्रो हुन्छ । यही रेन्टल रकमबाटै सामान्य रुपमा फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइन्छ । तर पोष्टपेड प्याक बाहेक अन्य छुट्टै प्याक किन्दा थप पैसा तिर्नुपर्छ । पोस्टपेड प्याक लिनका लागि *1415*2# डायल गरी आफूलाई उपयुक्त प्याक खरिद गर्न सकिन्छ । साथै संचित रकम सकिएर कल गर्न रोकिएको पोस्टपेड नम्बरमा रिचार्ज गर्दा जम्मा भएको नेगेटिभ व्यालेन्स कट्टा गरी बाँकी रकम मात्र व्यालेन्समा देखिन्छ । सेवा एकतर्फी भएको मोबाइलमा पहिल्यै किनेको प्याक बाँकी रहेछ भने त्यो प्याक चलाउन सकिंदैन र रिचार्ज गरी दुईतर्फी सेवा सुचारु भएपछि बाँकी रहेको प्याक पुनस् प्रयोग गर्न सकिन्छ । सामान्यतः नेपाली महिनाको अन्त्य अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा बिल हिसाब गर्दा धेरै ग्राहक झुक्किने गरेको पाइन्छ । यो अवस्थामा महिनामा थोरै मात्र रकम प्रयोग गरेको भएपनि रु. ३८३.०७ जोडेर त्यो महिनाको हिसाब गरिन्छ । मानौ कुनै ग्राहकले महिनामा रु. १०० मात्र प्रयोग गरेको भएपनि रु. ३८३.०७ नै काटिन्छ र आफ्नो रु. २८३.०७ कता हरायो भनी झुक्किएको पाइन्छ । बिल थाहा पाउने तरिका पोस्टपेड मोबाइल बिलको जानकारी लिनका लागि *400# डायल गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत https://gsmbl.ntc.net.np/ बाट र कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि हेर्न सकिन्छ । कम्पनीको एपबाट पनि आफूले प्रयोग गरेको पछिल्लो ५ दिनसम्मको सबै बिलको रेकर्ड समेत हेर्न सकिन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलमार्फत गरिने कलको दर प्रिपेडको तुलनामा सस्तो हुनुका साथै अन्य विभिन्न सुविधा समेत यसबाट प्रयोग गर्न सकिन्छ । यसबाट प्रयोग गरिने पोस्टपेड प्याकेज र अन्य विभिन्न सुविधाका साथै प्रयोग गर्ने व्यक्तिको व्यक्तित्व बढाउनमा समेत यसले महत्वपूर्ण भूमिका निभाइरहेको छ ।
प्रभु-पे दुर्गम वस्तीको पनि सारथी बनेको छः सीईओ रेग्मी
देश लकडाउनमा छ । विश्व कोरोना भाइरस (कोभिड १९) सँगको लडाइँमा छ । सबै घरभित्रै छन् । मानिसहरुका दैनिक गतिविधीहरुदेखि सबै व्यापार व्यावसाय ठप्प छन् । तर, यतिखेर एउटा व्यवसायले भने बजार निकै तताएको छ, त्यो हो डिजिटल वालेट । नेपालमा धेरै डिजिटल वालेटहरु छन् । उनीहरुले अहिले घरमै बसेका नागरिकहरुलाई सहज तरिकाले आफ्नो सेवा दिइरहेका छन् । ती डिजिटल वालेटहरू मध्येको एक हो प्रभु-पे । प्रभु ग्रुपबाट सञ्चालित प्रभु-पेले यो समयमा कसरी काम गरिरहेको छ ? आफ्ना ग्राहकलाई कसरी सेवा दिइरहेको छ ? र व्यापार विस्तार तथा नयाँ रणनीतिका बारेमा विकासन्युजका सन्तोष रोकायाले प्रभु-पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) खुशल रेग्मीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश लकडाउनको समय छ, ग्राहकहरुलाई सेवा कसरी दिइरहनु भएको छ ? देशमा लकडाउन भएदेखि नै हामी घरबाटै काम गरिरहेका छौं । हामीले हाम्रा ग्राहकलाई कसरी सन्तुष्ट बनाउन सकिन्छ भन्ने उद्देश्यका साथ २४सै घण्टा टेलिफोन गर्न सक्ने सुविधा पनि राखेका छौं । हामी पहिलेको भन्दा ग्राहकको सेवामा झन बढी समर्पित भएर काम गरिरहेका छौं । अफिस समयभन्दा पनि बढी हाम्रा ग्राहकले सेवा पाइरहेका छन् । लकडाउन हुनुभन्दा अगाडि हामीले केही पूर्व तयारी गर्नाले अहिले काम गर्न केही सहज भएको छ । अहिले ग्राहकलाई चाहिने भनेको रेमिट्यान्स र टपअप हो । हामीले त्यसलाई बढी जोड दिइरहेका छौं । अहिले त्यसैको नै कारोबार बढिरहेको अवस्था छ । हामीले देशका विभिन्न ठाउँमा रहेका हाम्रा एजेन्ट र मर्चेन्टहरु मार्फत काम गरिरहेका छौं । ग्राहकले हामीलाई फोन गर्नुहुन्छ । हामीले हाम्रा एजेन्टहरुलाई सम्पर्क गरेर ग्राहकको समास्याको समाधान गरिरहेका छौं । रेमिट्यान्सको सुविधा चाहियो फोन आउने बित्तिकै उनीहरुलाई हाम्रा मर्चेन्टको विवरण दिन्छौं । उनीहरुमार्फत नै समस्याको समाधान हुन्छ र उनीहरुले सहजै हाम्रो सेवा पाउँछन् । यो लकडाउनको समयमा कारोबारको अवस्था कस्तो छ ? अहिले अफिस खोलेरै गर्नु पर्ने कारोबारहरु भएका छैनन् । तर, जुन डिजटलबाट हुने कारोबार हो त्यो चाहिँ बढेको छ । प्रभु पेको कारोबार ३० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कुनै कारोबार भएन कुनै कारोबार बढेको छ । यसले पनि हाम्रो व्यापारमा सन्तुलन ल्याएको छ । कोरोबार बढेको चाहिँ कुन–कुन हो ? हाम्रो सबैभन्दा बढी त रेमिट्यान्स बढेको छ । इन्टरनेटको पेमेन्टहरु राम्रो नै भएको छ । कतिपयले पहिले घरमा भएको टिभी थन्क्याएर राखेका थिए । तर, अहिले टीभीको रिचार्ज गर्ने संख्या बढेको छ । टपअप, इन्टरनेट रिचार्ज लगायतका कारोबार बढेका छन् । पहिले मानिसहरुमा अफिसमा इन्टरनेट चलाइन्छ भनेर रिचार्ज कमै गर्थे । अहिले त्यो संख्या पनि बढेको छ । कारोबार बढ्याे भन्नु भयो, कतिले बढ्यो, तपाईहरु नाफामा हुनुहुन्छ ? हामीलाई नोक्सान भयो भन्ने अवस्था छैन । किनकि हामी सन्तुलनमा छौं । केही गतिविधी घटेको छ भने केही बढेको छ । अहिले धेरै व्यापार घटे भन्ने पनि सुन्नमा आउँछ तर हाम्रो व्यवसायमा त्यस्तो अवस्था छैन । हुनत हाम्रो जस्तै सेवा दिने धेर डिजिटल वालेटहरु छन् । हाम्रोमा बाहिरबाट आएको रेमिट्यान्स पनि रिसिभ गर्न मिल्छ । हाम्रो कसैले रेमिट्यान्स आयो भने कुनै एजेन्टकोमा धाउनु पर्दैन । पिन नम्बर राखेर वालेटमै रकम राख्न सकिन्छ । सो रकमलाई चाहे अनुसार बैंकमा ट्रान्सर्फर गर्न सकिन्छ । मानिसहरु वालेट गर्ने बढेका छन् । यी सबै समग्रमा ३० प्रतिशतले बढेको छ । यो भनेको हाम्रो लागि सकरात्मक पक्ष हो । अझै बढ्ने दर छ । हाम्रो प्रमोसन पनि राम्रो छ । हामी सामाजिक सञ्जालमा बढी फोकस गरेर काम गरिरहेका छौं । प्रत्येक दिन फरक फरक डिजाइन र कोभिड १९ सम्बन्धि सन्देशहरु दिएर प्रमोसन गरिरहेको छौं । हामीले अहिले बारफोनको सेवा दिएका छौं । जसबाट स्मार्टफोन नभएकाहरु पनि सजिलै सेवा पाइरहेका छन् । नेपालमा अझै पनि बारफोन चलाउने मान्छे धेरै छन् । त्यो जनसंख्यालाई मध्येनजर गर्दै हामीले बारफोनको सेवा ल्यायौं । हामीले यो पाइलट प्रोजेक्ट बनाएर दुर्गमका मानिसलाई पनि हाम्रो सेवामा ल्यायौं । हामी यसलाई पछि नै लञ्च गर्ने मनासायमा थियौं । तर, कोरोनाका कारण कर्णाली र सुदूरपश्चिमका मानिसलाई रिचार्ज गर्न पनि समस्या भएको कुरा सुन्नासाथ उनीहरुलाई बढी मध्येनजर गर्दै यो सेवा ल्यायौं । उक्त सेवा युएसएसडी मार्फत मोबाइल रिचार्ज, टेलिफोन बिल भुक्तानीलगायतका धेरै कारोबार गर्न सकिन्छ । प्रभु-पेमा युएसएसडीको प्रयोगकर्ताको आकर्षण कस्तो छ ? लकडाउनको समयमायसलाई मध्येनजर गर्दै दिनानुदिन बढ्दाे क्रममा छ । युएसएसडी प्रयोगकर्ताहरुले पनि हाम्रो सेवा सुविधाको बारेमा बुझ्दै हुनुहुन्छ । हामी अहिले ग्राहकहरुलाई त्यस सम्बन्धि बुझाई पनि रहेका छौं । त्यसको फिडब्याक राम्रो आइरहेको छ । सहजै तरिकाले उनीहरुले प्रयोग गरिरहनु भएको छ । बारफोन प्रयोगकर्ताले पैसा ट्रान्सर्फर गर्नको लागि चार तरिका अपनाउन सक्छन् । पहिला वालेट टु वालेट बार फोन भएको मान्छेलाई टन्सफर गर्न सक्छन् । त्यसमा एजेन्ट पनि हुन सक्छ । अर्को, प्रभुको सञ्जाल अन्तर्गत सहकारी संस्थाको खातावालबाट पनि ट्रान्सर्फर गर्न सकिन्छ । एकले अर्को वालेटबाट नै गर्न सक्छ । तेस्रो, कियोक्स (प्क्ष्इक्प्) मेसिनबाट पनि मानिसहरुले हाम्रो सेवा लिन सक्छन् र चौथो रेमिट्यान्स लोड गर्न सक्छन् । गाउँघरका मानिसहरुले बढी यसको सेवा लिइरहेका छन् । प्रभु-पे डिजिटल वालेटहरुमा पछाडि आएको पनि हो, देशभर मर्चेन्ट तथा एजेन्ट के कति बनाउनु भयो ? हाम्रो सञ्जाल धेरै ठूलो छ । हाम्रो प्रभु ग्रुपको आ–आफ्नै एजेन्टहरु छन् । डिजिटल वालेटका मात्रै छुट्टै मर्चेन्ट छन् । त्यसैले कसैको जस्तो सिमीत भन्दा पनि हाम्रो गु्रपमा सहकार्य गरेर अगाडि बढ्न सहज भइरहेको छ । हामी हाम्रो प्रभु गु्रपको मर्चेन्ट र एजेन्टहरुसँग पनि समन्वय गरेर अगाडि बढिरहेका छौं । बजारमा तपाई जस्तै डिजिटल वालेटहरु अन्य धेरै छन्, उनीहरुसँग प्रतिस्पर्धा कसरी गर्दै हुनुहुन्छ ? जति बढी प्रतिस्पर्धा भयो त्यति नै आम नामगरिकमा सचेतना तथा यो डिजिटल पेमेण्ट सम्बन्धि जानकारी हुन्छ । डिजिटल पेमेण्ट मार्केट बढ्नु भनेको यो सेवा झन प्रभावकारी र गुणस्तरीय हुनु हो । एउटैले गरेर मात्र देशभरी नै सेवा दिन सम्भव पनि हुँदैन । तपाई धेरै प्रतिस्पर्धा त छ भन्नु हुन्छ । तर, जिजिटल वालेटहरुले १० प्रतिशत पनि मार्केट ओगटेको छैन । कहाँ छ त प्रतिस्पर्धा ? यसलाई प्रतिस्पभर्धा भन्न मिल्दैन । अहिले प्रभु पे स्मार्ट फोन नभएपनि सर्वसाधारणले बोक्ने अथवा चलाउने (बारफो)मोबाइलसम्म पनि पुगेको छ । त्यहाँ हामी एक्लै छौं । यो फाष्ट मुभर भन्दा पनि फष्ट मुभर हुनु नै ठूलो कुरा हो । त्यसैले हाम्रो कसैसँग प्रतिस्पर्धा गर्नु छैन । हाम्रो आफ्नो नै नेटवर्क छ । आम–नागरिकले अन्य डिजिटल वालेटभन्दा प्रभु-पे नै किन रोज्ने ? हामीलाई सबैले राम्रो छ भन्छन् । हामी ग्राहकको सेवामा कुनै कम्प्रमाइज गर्दैनौं । हामी पनि सबै जस्तो नै हो । तर, हामी पछि आएको हौं । हामीले राम्रो सेवा दिइरहेका छौं । नेपाल र नेपाली बजारले चाहिने सेवा समेटेका छौं । जनता र मार्केटलाई के चाहिन्छ भन्ने कुरा मनन् गरेर सेवा दिएका छौं । विकटमा गएर पनि सुविधा दिएका छौं । हामीले सर्वसाधारणमैत्री बनेका छौं । हामीले आफुभन्दा पनि ग्राहकको सेवालाई मध्येनजर गर्दै काम गर्छौं । हाम्रो ठूलो ग्रुप छ । हामी भर पर्दो र विश्वासिलो छौ । त्यसैले पनि हामी कहाँ ग्राहकहरु आफै आउँछन् । अहिले तपाईहरुको व्यवसाय प्रवर्द्दन गर्ने पनि एउटा उचित समय हो, तपाईले यो समयलाई कसरी सदुपयोग गर्दै हुनुहुन्छ ? हाम्रो ग्राहकको वृद्धिदर दैनिक बढ्दै गएको छ । वृद्धिदर राम्रो छ । हामीले भविश्यलाई हेरेर काम गरिरहेका छौं । विभिन्न हामी दैनिक ग्राहकहरुसँग सम्पर्कमा हुन्छौं । भनेको समस्या छिनभरमै समाधान गर्छौं । यस प्रभु पे वालेटको प्रयोगबाट घरमै बसेर मोबाइलबाटै कुनै पनि बैंक तथा वित्तीय संस्थाको रकम एउटा खाताबाट अर्कोमा ट्रान्सफर गर्न, बिजुली तथा पानीको बिल भुक्तानी गर्न, किनमेलमा खर्च भएको बिलको रकम भुक्तानी गर्न, प्रभु टिभी रिचार्ज गर्न, मोबाइल रिचार्ज गर्न सकिन्छ । डिजिटल पेमेन्टहरुको एउटा मुख्य उद्देश्य क्यासलेस बनाउने पनि हो, तपाईको बुझाइमा नेपालमा यो कतिको सम्भव छ ? यसमा सचेतनाको कमि छ । मान्छेहरु अझै पनि पुरानै कारोबारमा छन् । धेरैले वा सरकारले नै नागरिकलाई यसप्रति विश्वास दिलाउन सकिरहेको अवस्था छैन । क्यासलेस गराउने भन्ने तर १० प्रतिशत मार्केट पनि नओगेट्ने भन्ने हुन्छ ? जस्तै, हामीले हाम्रा वालेट प्रयोगकर्ताहरुको लागि सिजनल रुपमा बीमाको सुविधा पनि दिएका छौं । एकलाख सम्मको दुर्घटना दिने सुविधा छ । नियमित ग्राहकलाई १० लाखसम्मको बीमाको सुविधा पनि छ । यसरी नै ग्राहकलाई विश्वस्त बनाएर काम गर्न आवश्यक छ । नागरिकको मन जित्न दिन सक्नुपर्छ । डिजिटलमा जानु पर्छ केही भयो भने हामी जिम्मेवमरी छौं भन्ने खालको वातावरण सबैले सिर्जना गर्न सक्नु पर्छ । अहिले सबैको ध्यान यसमा गएको छ । सबैले क्याम्पियन पनि चलाइरहनु भएको छ । आशा गरौं यो चाँडै सम्भव हुनेछ । सबैले चलाउँदा सबैलाई फाइदा हुन्छ । डिजिटल कारोबारहरुमा सँगै सुरक्षाको चुनौती पनि उत्तिकै छ भन्छन् नी ? जहाँ अवसर हुन्छ त्यहाँ चुनौती अवश्य नै हुन्छ । चुनौतीको सामना र समाधान कसरी गर्ने भन्ने कुरामा भर पर्छ । यसको लागि नेपाल राष्ट्र बैंकले पनि नियमन गर्ने काम गरिरहेको हुन्छ । त्यसकै परिधीमा रहेर हाम्रो सिस्टम राखेका छौं । उसको मापदण्ड अनुसार नै हामी काम गरिरहेका हुन्छौं । हामी हाम्रा ग्राहककको डाटा अथवा रकम सुरक्षित राख्छौं भनेर पनि हामीले आफ्नै मापदण्ड र प्रतिवद्धता जनाएका छौं । कतिपय अवस्थामा त कमजोरी पनि हुन्छन् तर त्यसको समाधान गर्दै अगाडि बढ्नु पर्छ । व्यापार विस्तार गर्ने योजना तथा नयाँ रणनीति के छ ? व्यापार विस्तार त गर्नु नै पर्यो । ग्राहक अथवा प्रयोगकर्ता बढाउनका लागि व्यापार विस्तार अपरिहार्य हुन्छ । रेजिष्टे«सन गराएर त काम नै हुँदैन । त्यसमा एक्टिभ प्रयोगकर्ताहरु पनि चाहिँन्छ । हामीले नाफामुलक हुनु पर्ला । नेपाल राष्ट्र बैंकले दिएको क्षेत्राधिकार भित्र रहेर हामीले काम गर्नु नै पर्छ । यसलाई ध्यानमा दिएर काम गरिरहेका छौं । अहिलेको लकडाउनले जनमानसमा एक किसिमको सचेतना वृद्धि गरेको छ । हामीले पनि लकडाउन सकिएको लगत्तै केही त गर्नै पर्छ भनेर पनि सोचिरहेका छौं । अहिले पनि हामी बसिरहेका छैनौं । काम गरिरहेकै छौं । अहिले फोनबाटै नयाँ नयाँ मर्चेन्ट बनाउने काम पनि गरिरहेका छौं । हामी व्यापार विस्तारको प्रक्रियामा नै रहेका छौं । हामी अब हाम्रा केही नयाँ प्रडक्ट बजारमा ल्याउने सोचेका छौं । सायद त्यो लकडाउनको समय भित्रै ल्याउँ छौं । त्यो पनि लगभग ग्रामिण स्तरका सहकारी आधारित छ । हामी त्यसको आन्तरिक गृहकार्यमा नै छौं । धेरैले लकडाउनमा व्यापार चौपट भयो भनिरहेका छन् तर हाम्रो राम्रो नै भइरहेको छ । वृद्धि पनि राम्रो भइरहेको छ । डिजिटल पेमेण्टको सबै ३० प्रतिशतले वृद्धि भएको छ । हाम्रो सम्पूर्ण गतिविधि तथा कारोबार बढेको छ । यसलाई निरन्तरता दिन हामी लागि परेका छौं । अहिले डिजिटल वालेटहरु बढी शहरकेन्द्रित भए भन्ने पनि छ, यसमा तपाईका धारणा के छ ? हो, यसलाई नै मनन् गरेर विभिन्न विकट क्षेत्रमा गएर काम गरिरहेका छौं । यसलाई नै मध्येनजर गर्दै युएसएसडी बार फोनको कार्य सुरु गरेका हौं । हामी ग्रामिण भेगमा डिजिटल पहुँच पुर्याउन सक्छौं भन्ने मान्यताका साथ अगाडि बढिरहेका छौं । यो भन्दा राम्रो के होला र ?
लकडाउनमा डिजिटल बैंकिङः कारोबार गर्ने ४० प्रतिशत घटे, रकम भने ह्वात्तै बढ्यो
काठमाडौं । कोरोना संक्रमण फैलनबाट रोक्न सरकारले देशभर लकडाउन घोषणा गरेपछि डिजिटल बैंकिङमा उल्लेख्य सुधार हुने धेरैको अनुमान थियो । लकडाउनमा सर्वसाधारणलाई घर बाहिर जान अप्ठेरो हुने तथा नोटबाट पनि कोरोना भाइरस सर्न सक्छ भन्ने सन्देश प्रवाह भएकोले डिजिटल बैंकिङले फड्को मार्ने नीति निर्माता र बैंकरसम्मले गरेका थिए । तर, नेपाल राष्ट्र बैंकको तथ्यांकले भने लकडाउनपछि डिजिटल बैंकिङ गर्नेको संख्या घटेको देखाएको छ । पहिला विजुलीको विल, मोबाइल, टेलिफोनको विल तिर्न तथा प्लेनको टिकट काट्न बढी मात्रामा प्रयोग भएको डिजिटल बैंकिङ पछिल्लो समय दैनिक उपभोग्य बस्तु खरिदमा पनि प्रयोग हुन थालेको नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । दैनिक उपभोग्य बस्तुको खरिदमा पनि डिजिटल बैंकिङ कारोबार हुन थालेकोले कारोबार रकम भने धेरै बढेको उनको भनाइ छ । ‘सामान्य अवस्थाको तुलनामा लकडाउनको समयमा डिजिटल बैंकिङ गर्नेको संख्या ६० प्रतिशत मात्रै छ, तर कारोबार रकम भने घटेको छैन, यसको अर्थ कारोबार गर्नेहरुको संख्या घटेपनि कारोबार रकम भने बढेको हो,’ कार्यकारी निर्देशक नेपालले भने । लकडाउनको समयमा डिजिटल बैंकिङ बढ्ने भन्दै बैंकहरु विभिन्न कार्यक्रम र योजना ल्याएका छन् । डिजिटल कारोबार बढाउनकै लागि नेपाल राष्ट्र बैंकले पनि यस्तो सेवा निःशुल्क दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइसकेको छ । लकडाउनको समयमा ग्राहकले बैंकसँग आएर कारोबार गर्न अप्ठेरो हुने भन्दै बैंकहरुले ग्राहकको मोबाइल वा टेलिफोन नम्बरमा फोनै गरेर डिजिटल बैंकिङ सिकाइरहेका छन् । अहिले संचालनमा रहेका सबै बैंकले आफ्नै मोबाइल एप मार्फत पनि बैंकिङ कारोबार गर्न प्रोत्साहन गरिरहेका छन् भने इसेवा, प्रभु पे, आइएमइ पे, सेल पे जस्ता भुक्तानी सेवा प्रदायकले पनि लकडाउनमा डिजिटल कारोबारमा सर्वसाधारणलाई आकर्षित गर्न प्रयास गरिरहेका छन् । सरकारले लागू गरेको लकडाउनका कारण उपभोग्य बस्तु विक्री गर्ने पसल बन्द भएका, कोरोना संक्रमण सन्त्रासको कारण सर्वसाधारणले बाहिर सामान किन्न कम गरेको, होटल, रेष्टुरेन्ट, सिनेमा घर, हवाइ सेवा जस्ता क्षेत्र बन्द भएका कारण पनि उपभोगमै कमी आएर कारोबार गर्नेहरुको संख्या घटेको हुन सक्ने अनुमान राष्ट्र बैंकको छ । सम्बन्धित सामग्री डिजिटल बैंकिङः लकडाउनले ग्राहकलाई साक्षर बनायो २०७७ सालः डिजिटल बैंकिङ अबको आधार ४ महिनामा बैंकहरुको करिब ५ अर्ब आम्दानी गुम्दैछ लकडाउनलाई अवसरमा परिणत गर्दै माछापुच्छ्रे बैंक, मोबाइल बैंकिङका ग्राहक १०० प्रतिशत सक्रिय