खुल्यो नेपालकै पहिलो विज्ञान संग्रहालय, रोबोटबाट कार्यक्रम सञ्चालन
काठमाडौं । सरकारले पहल थालेको २५ वर्षपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा देशकै पहिलो विज्ञान संग्रहालय खुलेको छ । बिपी कोइराला मेमोरियल राष्ट्रिय विज्ञान संग्रहालयको शनिबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका हुन् । संग्रहालयसँगै विज्ञानका विद्यार्थीलाई खोज, अनुसन्धानका लागि थ्रिडी अर्थात् त्रिआयामी थिएटरसमेत स्थापना गरिएको छ । संग्रहालयमा खगोलशास्त्र, खगोल विज्ञान, वनस्पति विज्ञान, डिएनए, रसायन शास्त्रलगायत विज्ञानका सामग्री र अनुसन्धानमा प्रयोग हुने ५० भन्दा बढी प्राविधिक उपकरण रहेको संग्रहालय विकास समितिका सूचना अधिकारी सरोज शाहीले बताए । मन्त्री पोखरेलले सरकार समृद्ध नेपाल निर्माणको अभियानमा रहेकाले विज्ञान र प्रविधिको क्षेत्रमा असाधारण काम र उपलब्धि हासिल गर्न आवश्यक रहेको बताए । एउटा स्वचालित यन्त्र अर्थात् रोबोट जसलाई फूलमाया नाम दिइएको छ । शनिबार मध्याह्न फूलमायाले अतिथिको नाम उच्चारण गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित आमन्त्रित स्टेजमा उक्लिए । मानिसले चलाएका कार्यक्रममा मात्रै सहभागी भएका मन्त्री र अतिथिलाई रोबोटले अंग्रेजीबाट स्वागत, धन्यवाद र पालैपालो मन्तव्यका लागि बोलायो । रोबोटको सम्बोधनले मन्त्री पोखरेल मक्ख देखिन्थे । घरिघरि अतिथिहरू नै झुक्किन्थे । हलमा रहेकाहरूको ध्यान रोबोटले तानेको थियोे । पूरै कार्यक्रम रोबोटले सञ्चालन गरेको थियो । राष्ट्रिय विज्ञान संग्रहालयमा रहने गरी समितिले खरिद गरेको रोबोटले संग्रहालय उद्घाटन कार्यक्रम त सञ्चालन ग¥यो नै, आगन्तुकलाई स्वागत गर्ने, घुमाउने र सूचना दिने काम पनि गर्नेछ । संग्रहालयमा रहेका सामग्री अवलोकनमा आउने विद्यार्थी र अनुसन्धानकर्तालाई रोबोटले जानकारी दिने व्यवस्था गरिएको संग्रहालयका निमित्त कार्यकारी निर्देशक डा। शर्माले बताए । समितिले रोबोट निर्माणका लागि १८ लाख रुपैयाँ खर्च गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर, अन्तर्राष्ट्रिय आगमन कलमा २ रुपैयाँ बोनस
काठमाडौँ । एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टि कार्यक्रम अन्तर्गत आकर्षक अफर ‘कल आयो पैसा पायो’ यो वर्ष पनि ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब विश्वका जुन सुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढी कुरा गर्दा प्रत्येक मिनेट रु २ बोनस स्वरुप प्राप्त गर्ने छन् । यो अफर वैशाख १६ गतेदेखि लागु भई तीन महिनासम्म जारी रहनेछ । एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाई र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेट पश्चात १० मिनेटसम्म प्रत्येक मिनेटको रु २ को दरले बोनस पाउनेछन् । यसको अर्थ अन्र्तराष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले रु १८ सम्म बोनस प्राप्त गर्ने छन् । यसरी प्राप्त बोनस ७ दिनका लागि मान्य हुनेछ । ग्राहकले उक्तबोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ माएसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् । बोनसका साथै, अन्र्तराष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पूरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी ए ट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन् । यो योजनाअवधिभर प्रत्येक हप्ता १० जनाग्राहकले १-१ थान स्मार्टफोन पाउने छन् । एक हप्ताको समयावधिमाग्राहकले पाएको बोनस, अन्र्तराष्ट्रिय आगमन कलको संख्या र औसत कलको समय अनुसार विजेताको छनोट गरिनेछ । आफ्ना परिवारका सदस्य, आफन्त र साथीभाई विदेशमा रहेका र उनीहरुसँग सम्पर्कमा रहिरहनु पर्ने ग्राहकका लागि थप मुल्य प्रदान गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो योजनाले ग्राहकलाई विदेशमा रहेका साथीभाई तथा परिवारका सदस्यसँग सम्पर्कमा रहँदै, एनसेलको नेटवर्कमा रहका अन्य आफन्तजन तथा साथीभाईसँग थप सम्पर्कमा रहन मद्दत गर्ने एनसेलले जनाएको छ ।
सोमबारदेखि प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा, शुल्क कति ?
काठमाडौँ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुनेछ । अव नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन् । त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने छन् । चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० रुपैयाँ लाग्ने छ । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ रुपैयाँ लाग्नेछ । भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्ने छ । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ लाग्ने छ । भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट ३ सय ९७ रुपैयाँ लाग्ने छ । एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रति एसएमएस ५४ रुपैयाँ र भारतबाट प्रति एसएमएस २४ रुपैैँया लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन । कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लन्च गर्नुभएको थियो । सो सेवालाई हाल व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको हो । कम्पनीले हालसम्म जीएसएम पोष्टपेड सेवामा मात्र अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको थियो । अब भने प्रिपेड मोबाइलमा समेत यो सेवा प्रयोग गर्न सकिने छ । यसका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ ।