नासाले आफ्नो अन्तरिक्ष स्टेशन पर्यटकका लागि खुल्ला गर्ने
न्यूयोर्क । अमेरिकी वैज्ञानिक संस्था नासाले आगामी बर्षदेखि अन्तरिक्षमा रहेको आफ्नो स्टेशनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसस) को भ्रमण गर्न एक जनाले प्रतिदिन ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ र यो सन् २०२० पछि लागु हुनेछ । “पृथ्वीको परिक्रमा गर्ने सो स्टेशन पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि खुला गरिनेछ,” नासाले भनेको छ । आईएसएसका उप निर्देशक रोबिन गेटेन्सका अनुसार प्रत्येक वर्ष निजी खर्चमा दुईवटा छोटा अन्तरिक्ष भ्रमण हुनेछन् । अमेरिकी अन्तरिक्षयानमा बसेर जाने पर्यटकहरूले आईएसएसमा ३० दिनसम्म बस्ने अनुमति पाउने उनले बताए । रासस÷एएफपी
युवा वैज्ञानिक सम्मेलन जेठ २२ र २३ मा, पछिल्ला खोज/अनुसन्धानबारे छलफल हुने
काठमाडौँ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्ठन (सार्क) क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्ला खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न युवा वैज्ञानिक सम्मेलन आयोजना हुने भएको छ । प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यका यही जेठ २२ र २३ गते आयोजना हुने सम्मेलनमा सार्कमा आबद्ध देशसहित बेलायत, फिनल्याण्ड र जर्मनीका एक सयभन्दा बढी युवा वैज्ञानिकको सहभागिता रहनेछ । मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा युवा सम्मेलनका संयोजक प्रा डा दीपक अर्यालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा सार्थक कार्यान्वयन गर्न सम्मेलनले महत्वपूर्ण योगदान पुर्याउने बताए । सम्मेलनमा जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारेका असर, वन, कृषि, पर्यटन, ऊर्जा जल तथा ऊर्जा क्षेत्रमा पछिल्लो समय विकसित उपलब्धिलाई कार्यपत्र तथा पोष्टर प्रदर्शनीका माध्यमबाट प्रस्तुत गरिने छ । प्राडा रामेश्वर अधिकारी र प्रा डा विनोद दवाडीले विश्वविद्यालयमा प्राप्त ज्ञानलाई व्यावहारिक रुपमा उतार्न सम्मेलन सेतु बन्ने बताए । नेपालका विभिन्न क्षेत्रका कार्यरत ३५ युवा वैज्ञानिकले आफ्ना कार्यपत्र तथा आफूले गरिरहेका खोज तथा अनुसन्धानलाई प्रस्तुति दिनेछन् । “विश्वमा विकसित विज्ञान तथा प्रविधि क्षेत्रका ज्ञानसित सार्क क्षेत्रका वैज्ञानिकका ज्ञानलाई सम्मेलनले जोड्न सहयोग गर्नेछ”, उनीहरुले भने । पत्रकार सम्मेलनमा प्रदेश नं ३ का उद्योगमन्त्री अरुणप्रसाद नेपालले आर्थिक समृद्धिलाई सहयोग पु¥याउन मन्त्रालयले पहिलो पटक सम्मेलन आयोजना गर्न लागिएको बताए । उनले भने–“स्थानीय निकाय, प्रदेश तथा सङ्घलाई समेत विज्ञान तथा प्रविधिका क्षेत्रमा आगामी दिनमा गर्नुपर्ने कामको मार्गनिर्देशसमेत सम्मेलनले गर्नेछ । विज्ञान तथा प्रविधिको विकासविना आर्थिक समृद्धि हासिल गर्न कठिन छ । यस क्षेत्रमा लगानी बढाउन आवश्यक छ । ” रासस
नेपाल टेलिकमको मोवाइल सेवा: ‘ताप्लेजुङदेखि मुस्ताङसम्म पुग्यो टेलिकमको नेटवर्क’
काठमाडौँ । नेपाल टेलिकमले रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दूर्गम र विकट भेगहरुमा मोवाइल सेवा बिस्तार गरेको छ । हालसम्म मोबाइल तथा टेलिफोन जस्ता सञ्चार सेवाबाट वञ्चित भौगोलिक रुपले अति विकट यी स्थानहरुमा हालै कम्पनीले सञ्चार सेवा पु¥याउन सफल भएको जनाएको छ । कम्पनीले ४ हजार २९० मिटर उचाईमा अवस्थित रसुवाको पाङसाङ डाँडामा बीटीएस राखेर सेवा प्रदान गरेको छ । यसबाट लाङटाङ ट्रेकिङ रुट, गोसाइकुन्ड ट्रेकिङ रुटको केही भाग, ठूलो स्याफ्रु, भिम्सा, सिंगवा, नागथली, ग्यात्लाङ, शेर्पा गाउँ, लामा होटल, घोडा तबेला, मुन्टु, सिङडुङ, खाङजिम आदि स्थानमा मोवाइल सेवा उपलब्ध हुनेछ । सो क्षेत्रका ५ सय घरधुरीका करिब २ हजार जनसंख्यालाई सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । रसुवाकै ३ हजार २४२ मिटर उचाईमा अवस्थित लाङटाङ पदमार्गमा पनि अर्को बीटीएस टावर स्थापना गरिएको छ । यसबाट लाङटाङ उपत्यकाका २ सय घरधुरीका करिब ७ सय जनसंख्याले सञ्चार सेवा उपभोग गर्न पाउने छन् । यता, ताप्लेजुङको विकट स्थान घुन्सामा पनि सेवा उपलब्ध गराइएको छ । ३ हजार ८२५ मिटर उचाईमा अवस्थित टावरमार्फत घुन्सा, थामे, ज्याल्पा र कन्चनजंघा बेसक्याम्प आदि स्थानमा सेवा उपलब्ध हुनेछ । यसबाट ८० घरधुरीका करिब ३ सय जनसंख्या लाभान्वित हुने नेपाल टेलिकमले जनाएको छ । यसैगरी डोल्पाको मुकोट र शे फोक्सुन्डोमा पनि हालै बीटीएस सञ्चालनमा आएका छन् । ३ हजार ३१६ मिटर उचाईको मुकोटमा अवस्थित टावरमार्फत छार्का तान्सुङ गाउँपालिकाका दुई वडा र काइके गाउँपालिकाका दुई वडा तान्छिन र खानीगाउँमा सेवा उपलब्ध हुनेछ । त्यसैगरी ३ हजार ७०४ मिटरको से फोक्सोन्डुमा अवस्थित टावरमार्फत से फोक्सुन्डोका दुई वडा र्याती र पुग्मा तथा रिग्मो, रिखे, ताप्रिजा र फोक्सुन्डो तालसम्म सेवा प्रयोग गर्न सकिने छ । दुवै टावरमार्फत करिब २ हजार सेवाग्राहीले सेवा पाउने कम्पनीद्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ । कम्पनीले हालै मुस्ताङको घमी र छोसेरमा समेत सेवा उपलब्ध गराएको छ । घमी ३ हजार ८ सय मिटर र छोसेर ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित छन् । यसबाट याराघारा, घमी, ढाकमर, गर्थु, न्याम्दो, चुङजुङ र कोरला जाने रुटसम्म सेवा उपलब्ध हुनेछ । त्यसैगरी उपल्लो मुस्ताङको छुसाङमा पनि थ्रीजी मोबाइल सेवाको शुरुवात भएको छ । यहाँस्थित बीटीएसले त्यहाँका छुसाङ, जेताङ र चैले गाउँका वासिन्दालाई मोबाइल र इन्टरनेट सुविधा उपलब्ध गराउने छ । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने कम्पनीको नीति रहेको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जनाएकी छन् ।