लकडाउनमा बढ्यो मोबाइल र ल्यापटपको मूल्य
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि सरकारले गरेको लकडाउनको कारण नेपाली बजारमा ल्यापटप तथा मोवाइलको मूल्यमा वृद्धि भएको छ । माग बढेसँगै बजारमा ल्यापटपको अभावसमेत हुन थालेको छ । लकडाउनका कारण कार्यालयहरु संचालन हुन सकेनन् । सोही कारण घरबाट नै कार्यालयका कामहरु गर्नु पर्ने (वर्क फ्रम होम) को अवस्था आयो । यसरी घरबाट काम गर्दा स्टाफ, कर्मचारीहरुलाई ल्यापटपको आवश्यकता हुनु स्वभाविक जस्तै बन्न पुग्यो । तर लकडाउनका कारण विदेशबाट नेपालमा आयात गरिने ल्यापटप, मोवाइल लगायतका सामाग्रीहरु विगतका दिनमा जस्तो सहज रुपमा भित्रिएका छैनन् । विश्वभरी नै कोरोना महामारीको असर बढ्दो अवस्थामा रहदा प्रविधिको प्रयोग तथा आवश्यकता पनि बढ्दो छ । डिजिटल कारोबारहरु ग्राहकको प्राथमिकतामा पर्न थालेसँगै ल्यापटपको माग बढ्न थालेको जानकारहरु बताउँछन् । अनलाइन कक्षाहरु संचालन हुन थालेसँगै विद्यार्थीहरुलाई ल्यापटप समेत भरपर्दो माध्यम बन्दै गएको छ । विद्यालयदेखि विश्वविद्यालय स्तरसम्मका विद्यार्थी जुम कक्षादेखि आफ्ना प्रोजेक्ट वर्क गर्न ल्यापटपको सहयोग लिदै आएका छन् । के भन्छन् जानकारहरु ? आईएमएस ग्रुपका अध्यक्ष तथा सामसुङ मोवाइल बेच्दै आएका दिपक मल्होत्राका अनुसार पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर भएका कारण मोबाइलको मूल्य बढेको हो । ‘डलरको विनिमय दर बढेका कारण मोवाईलको मूल्य ५ प्रतिशतले बढेको छ, लकडाउनका कारण चोरी पैठारी नभएका कारण मोवाइलको व्यापार तथा मूल्य बढेको हो’, मल्होत्राले भने । भिभो मोवाइलका डिजिटल म्यानेजर पियुष गिरीका अनुसार लकडाउनका कारण लामो समयदेखि मोवाइल किन्न नपाएका ग्राहकहरु बजारमा आएका र एकाएक आकर्षण देखिएको कारण मोवाईलको माग बढेको हो । मूल्य भने विश्वव्यापी रुपमै बढेको उनको भनाइ छ । ‘अहिले मोवाइलको मूल्य नेपाली बजारमा मात्रै होइन विश्वव्यापी रुपमा नै बढेको छ, कोरोना महामारीका कारण लामो समयसम्म ग्राहकहरुले मोवाइल किन्न पाएनन्, अहिले लकडाउनको अवस्था केही सहज हुन थालेपछि ग्राहकहरुको माग बढ्यो र मोवाइलको मूल्य बढ्न पुग्यो’, भिभो मोवाइलका डिजिटल म्यानेजर गिरीले विकासन्यूजसँग भने । पुतलिसडकस्थित आईटी ग्लोबलमा ल्यापटप पसल संचालन गर्दै आएका प्रकाश कार्कीका अनुसार लकडाउनका कारण ल्यापटको माग बढेको र मूल्यमा पनि वृद्धि भएको हो । ‘लकडाउनका कारण अन्र्तराष्ट्रिय उडानहरु बन्द हुन पुगे सोही कारण विदेशबाट ल्याइने सामानहरु स्वतः कम हँुदै गए, अन्य बेलामा पनि मोवाइल ल्यापटपको मूल्यमा हेरफेर हुने गर्छ, अहिले भने विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी तथा अमेरिकी डलरको भाउँको प्रभाव नेपाली बजारका ल्यापटपहरुमा देखिएको हो’, आईटी ग्लोबलका ल्यापटप बिक्रेता कार्कीले विकासन्यूजसँग भने । ल्यापटप लगायतका सामाग्रीहरु विदेशबाट भित्र्याउन विगतमा जस्तो सहज नभएको र समय पनि केही बढी लाग्ने गरेको व्यवसायीहरुको भनाइ छ । व्यवसायीहरुले ल्यापटप, मोवाइलको मूल्य ठ्याक्कै कतिले वृद्धि भयो भन्ने अंकमा नबताए पनि पछिल्लो समय आकर्षण भने राम्रै रहेको जानकारी दिएका छन् ।
माेवाइलमै आउने भयो जापान र कोरियाबाट नगद, खल्तीमा सिधै पठाउन सकिने
काठमाडौं । खल्ती मेावाइल वालेटले जापान र कोरियाबाट नेपालमा रेमिटान्स भित्र्याउन सुरू गरेको छ । खल्तीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरसँगको सहकार्यमा उसको भगिनी संस्था सिटी एक्सप्रेस मनी टान्सफर जापान कम्पनी लिमिटेड र दक्षिण केरियाको जि मनि ट्रान्समार्फत खल्ती मेवाइल वालेटमा सिधै रेमिटान्स भित्र्याउन थालेको हो । खल्तीले यी दुइ मुलुकबाट मेवाइल खातामा सिधै रकम पठाउन मिल्ने सेवा सुरू गरेपछि नेपालमा रकम प्राप्त गर्ने ब्यक्तिले पिन नम्बर र आफ्ने परिचय पत्र लिएर रेमिटान्स कम्पनीको एजेन्टकहाँ रकम झिक्न धाउनु पर्ने झण्झट अन्त्य भएको छ । जापानमा रहेका नेपालीले सिटी एक्स्प्रेस मनि ट्रान्सफरको नजिकैको एजेन्टकहाँ गएर सिधै नेपालमा आफन्तको खल्ती मेवाइल खातामा सिधै रकम पठाउन सक्ने छन् । उता काेरियाबाट भने रकम पठाउन चाहनेले मेवाइल एपबाटै ट्रान्सफर गर्न सक्ने छन् । त्यहाँ रहेका नेपालीले जि मनीका तीन वटा शाखाहरूमा गएर पनि खल्ती वालेटमा रकम पठाउन सक्नेछन् । सिटिका जापानमा टेकियो सिन्जुकु-कु, नागोया, फुकुओका र तेचिगीमा शाखाहरू रहेका छन् । यस्तै जि रेमिटका केरियामा सोल, ग्योंगी-डो र ग्योंसांनाम-डोमा शाखाहरू रहेका छन् । सिटी एक्स्प्रेसका ब्यवसाय विकास प्रबन्धक सागर खनालले विभिन्न मुलुकबाट स्थानीय रेमिटान्स कम्पनीहरूसँग सहकार्य गरेर रेमिटान्स भित्र्याइरहेकामा जापान र काेरियाबाट भने आफ्नै कम्पनीबाट खल्तीमार्फत रेमिटान्स भित्र्याउन थालेकाे जानकारी दिए । ‘विश्वभर लकडाउनले घर बाहिर निस्कन नसकिरहेकाे अबस्थामा माेवाइलबाटै खल्तीमा रेमिटान्स पठाउन सकिने ब्यवस्थाले विदेशमा रहेका नेपालीलाइ धेरै सहज भएकाे छ’, उनले भने, ‘विस्तारै अन्य मुलुकबाट पनि माेवाइल वालेटमै रेमिटान्स भित्र्याउने ब्यवस्था गर्न लागेका छाैं ।’ खल्तीका निर्देशक अमित अग्रवाल जापान र काेरियाबाट डिजिटल माध्यमबाट रेमिटान्स भित्र्याउन थालेपछि रकम पठाउने र प्राप्त गर्ने दुवैलाइ निकै सहज हुने बताउँछन् । ‘माेवाइल एपबाटै रकम पठाउने सेवा सुरू हुनुअघि रकम पठाउने नगद बुझाउन र पाउने नगद बुझ्न एजेन्टकहाँ धाउनु पर्ने बाद्यता थियाे,’ उनले भने, ‘यसले गर्दा असुरक्षा हुने, नगद हातमा परेपछि अनावश्यक खर्च हुने अबस्था थियाे । अब माेवाइलमै नगद प्राप्त हुने र सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले सुरक्षित हुनुका साथै फजुल खर्च हुने सम्भावना हुँदैन । तुरून्तै रकम प्राप्त हुने भएकाले लकडाउनका बेलासमेत गर्जाे टार्न सजिलाे हुनेछ ।’ खल्ती नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छ । कसरी डाउनलोड गर्ने खल्ती एप ? खल्ती एप यो लिंकबाट डाउनलोड गर्न र उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।
अब कक्षा ९ र १० को पठनपाठन पनि डिस होमबाटै, रिचार्ज नगर्ने ग्राहकले पनि निःशुल्क हेर्न सक्ने
काठमाडौं । टेलिभिजन च्यानल प्रशारण संस्था डिस होमले विद्यालय तहका कक्षा ९ र १० का विद्यार्थीलाई पनि मध्येनजर गरेर पठनपाठन सुरु गरेको छ । नेपाल सरकारले सबै विद्यार्थीहरुको पठनपाठन टीभी र रेडियोबाट गराउने योजना अनुसार सरकारसँगको समन्वयमा डिस होमबाट पठन पाठन सुरु गरिएको हो । डिस होमले असार ७ गतेदेखि विद्यार्थीहरुलाई दैनिक ४ घण्टासम्म पढाइरहेको छ । डिस होमको १०० र १०१ च्यानलमार्फत पढाई निःशुल्क सुरु गरेको हो । पढाई बिहान १० बजेदेखि २ बजेसम्म भइरहेको डिस होमका जनरल म्यानेजर रमेश सापकोटाले बताए । रिचार्ज गर्न नसकेका ग्राहकले यी दुई च्यानल मार्फत हेर्न सक्ने उनले बताए । उनका अनुसार कुनै प्राविधिक कारणले डिस होममा समस्या आएपनि तत्काल डिस होमको टोलफ्रि नम्बरमा सम्पर्क गर्न सकिने र तुरुन्तै प्राविधिक पठाएर समस्याको समाधान हुनेछ । डिस होमको टोल फ्रि नम्बर १६६००१२२००० र एनसेलको ९८०११५५००० मा रहेको छ । यस्तै, डिस होमले डियरवाक लर्निङ् सेण्टरको सहकार्यमा बैशाख २० गतेदेखि नै ७ वटा कक्षाको पठन पाठन शुरु गरेको थियो । कक्षा ४ देखि १० सम्मका ४ विषयको पढाई भईरहेको थियो । अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरुका लागि भिन्ना भिन्नै च्यानल निर्धारण गरिएको छ । सरकारले निर्धारण गरेको पाठ्यक्रममा आधारित रहेर डियरवाक लर्निङ् सेण्टरको संयोजनमा शिक्षकहरु मार्फत कक्षा सञ्चालन गरिएको जनाईएको छ । उक्त कक्षालाई डिस होम मार्फत प्रशारण गरिएको हो । विद्यार्थीहरूले लकडाउन अवधिभर अब घरमै बसेर दूरशिक्षा लिन पाउने भएका छन् । सरकारले उनीहरुलाई घरमै बसेर श्रव्य–दृश्य सञ्चार माध्यमबाट पढ्न पाउने वातावरण मिलाएको हो । गत चैतदेखि नै लकडाउनका कारण स्कुल, कलेजहरु बन्द छन् । उनीहरुलाई शिक्षाबाट वञ्चित नगर्न शिक्षा मन्त्रालयले असार १ गतेदेखि रेडियो, टीभी र इन्टरनेटको पहुँच तथा उपलब्धताका आधारमा पढ्ने व्यवस्था मिलाएको हो । यस्तै, लकडाउनको समयमा डिस होमले आफ्ना ग्राहकका लागि विभिन्न योजना ल्याएको छ । डिस होमका ग्राहकले वार्षिक रिचार्ज गर्दा २५ प्रतिशतसम्मको छुट पाइरहेका छन् भने हरेक हप्ता दुई जनालाई एक लाखको लक्की ड्र पनि निरन्तर रुपमा अगाडि बढिरहेको छ ।