म्याग्दी मालपोत कार्यालयले शुरु गर्यो अनलाइन सेवा, तथ्याङ्क विश्वसनीय हुने
काठमाडौं । मालपोत कार्यालय म्याग्दीले मालपोतसम्बन्धी अनलाइन सेवा शुरु गरेको छ । सेवाग्राहीको फोटो, औँठाछाप र हस्ताक्षर सबै डिजिटल नै प्रयोग गर्ने गरी अनलाइन सेवा शुरु गरेको हो । अनलाइन सेवाको डाटा सिंहदरबारमा रहने भएकाले त्यसको दुरुपयोग नहुने, भरपर्दो र विश्वसनीय हुने मालपोत अधिकृत मुकुन्द पौडेलले बताए । अनलाइन सेवा प्रवाह भएपछि अहिलेको प्रविधिअनुसार, पारदर्शी र सुशासन अपनाउने, तथ्याङ्क राख्ने र राजश्व सङ्कलन गर्नेलगायतका काम हुने भएको छ । पुर्जा बनाउने, जग्गा रोक्का, नामसारी, जग्गा दर्तालगायतका सेवाका लागि दैनिक सयौं सेवाग्राही कार्यालयमा आउने गरेका छन् । अनलाइन सेवाले कामलाई चुस्त र विश्वसनीय बनाउने अधिकृत पौडेलको भनाइ छ । अनलाइन सेवा शुरु गर्नका लागि मालपोतका कर्मचारीलाई प्राविधिक तालीमसमेत प्रदान गरिएको थियो । उक्त प्रविधिको प्रयोगमार्फत् भूमि अभिलेख प्रणालीलाई व्यवस्थित, कर छली रोक्न र सेवा प्रवाहलाई छिटो छरितो बनाउने उद्देश्यले अनलाइन सेवा शुरु गरेको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सेवाग्राहीलाई अनलाइन प्रणालीबाट जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराएर बुधबार सेवाको शुभारम्भ गरेका थिए । यसैगरी,पूर्वाधार र प्रविधिको थप व्यवस्थापन गरेर अनलाइन सेवालाई प्रभावकारी बनाउन पहल गर्ने अधिकृत पौडेलले बताएका छन् । रासस
डोल्पामा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध
काठमाडौं । दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा समस्या भएको छ । एक महिनामा तीनपटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् । मौरेलेकमा टेलिफोन टावरमा समस्या आएको हुनसक्ने अनुमान गरिएको छ । अहिले खराब भएको ठाउँमा मर्मतका लागि कर्मचारी खटाइएको छ । सदरुमकाम दुनैबाट धेरै टाढा भएका कारण मर्मतमा समस्या भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ । अहिले फोन अवरुद्ध भएसँगै डोल्पाका सबै ठाउँको सञ्चार सम्पर्कविच्छेद भएको छ । जिल्लाभरि कम सञ्चार पहुँच भएको डोल्पामा पटक–पटक फोन सेवा अवरुद्ध हुँदा पत्रकार, कर्मचारी, स्थानीयवासी हैरान भएका हुन् । रासस
अन्तर्राष्ट्रिय गन्तव्यमा उडान बढाउँदै निगम
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गर्ने भएको छ । निगमले भारतको नयाँ दिल्लीमा तीन र दुबई गन्तव्यमा एक उडान बढाउन लागेको जनाएको हो । अन्तर्राष्ट्रिय गन्तव्यमा उडान बढाउँदै लैजाने प्रयासअनुरुप दुई गन्तव्यमा उडान वृद्धि गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनका अनुसार निगमका जहाजको उपयोगिता बढाउन तथा उपलब्ध पाइलटबाट बढीभन्दा बढी उडान गर्ने योजनाअनुरुप हाललाई दिल्ली र दुबई उडान थप गरिएको छ । ती गन्तव्यमा उडान थपका लागि विमानस्थलबाट ‘स्लट’ पनि प्राप्त भइसकेको छ । निगमले ‘वाइडबडी’ जहाज र ‘न्यारोबडी’ जहाजमार्फत काठमाडौँ–दिल्ली गन्तव्यमा समान सात उडान गर्नेछ । यसअघि दिल्ली गन्तव्यमा हरेक साता ११ उडान भइरहेकामा हाल १४ पुर्याएको छ । यो गन्तव्यमा साताको २१ उडान भर्ने निगमको योजना छ । यस्तै दुबईमा हरेक साता तीन उडान गरिँदै आएकामा एक उडान थप गरी चार उडान पुर्याइएको छ । निगमले आन्तरिक उडानमा पूर्ण क्षमताका साथ जहाज उडाउनका लागि विमान चालकको तालिम सञ्चालन गर्न संस्थागत कार्य अघि बढाइएको जनाएको छ । वाइ–१२ जहाज उडान गर्न दुई जना वरिष्ठ पाइलटको असार मसान्तभित्रै तालिम सम्पन्न गरी जहाज सञ्चालन गर्नेतर्फ निगम सक्रिय रहेको विज्ञप्तिमार्फत जनाएको छ । निगमको ट्विनअटर जहाज सञ्चालन गर्ने आवश्यक जनशक्ति व्यवस्था गर्दै जाने योजनाअनुरुप हाल एक जना वरिष्ठ क्याप्टेन नियुक्त गरी तालिम गरिरहेको, साथै दुई वर्षदेखि रोकिएको को–पाइलटको तालिम सञ्चालन गराई एक जनाको तालिम सम्पन्न गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स प्राप्तिको प्रक्रियामा रहेको जनाएको छ । आगामी साउन मसान्तभित्र सम्पन्न गर्ने गरी बाँकी तीन जनाको पनि तालिम सञ्चालन भइरहेको छ । अन्तर्राष्ट्रिय कम्पनी विसिटीले गरिरहेको विमान मर्मतसम्भार कार्य जुलाई महिनादेखि निगमका इञ्जिनीयरबाट गर्ने प्रक्रिया अगाडि बढाइएको छ । यसबाट निगमको मासिक रु ६० लाख बचत हुने निगमले जनाएको छ । निगमले गत जेठ महिनामा कन्टिन्युइङ एयरवर्डिनेश म्यानेजमेन्ट विभागले (आइएसओ ९००१ः२०१५०) को सफल अडिट गराई प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ । भूमिस्त व्यवस्थापन (ग्राउण्ड ह्याण्डलिङ) तर्फ आयटाले गरेको परीक्षण (आइसागो) नवीकरण गरी प्रमाणपत्र प्राप्त गरेकाले यसबाट अन्तर्राष्ट्रियस्तरको उडान सुरक्षाको सुनिश्चितता हुने निगमले दाबी गरेको छ । निगमले दुई वाइडबडी, दुई न्यारो बडी र एक बोइङमार्फत विभिन्न मुलुकका आठ गन्तव्यमा उडान भर्दै आएको छ । रासस