सहरी विकासका कम्प्युटर अपरेटरले गरे नेपाल टेलिकमको सर्भर ह्याक
काठमाडौं । सहरी विकास तथा भवन कार्यालय धनकुटामा कार्यरत कम्प्युटर अपरेटरले नेपाल टेलिकमको सर्भर ह्याक गरेका छन् । कम्प्युटर अपरेटर दिवाकर देउजाले टेलिकमको सर्भर सिस्टममा प्रवेश गरी टेलिकमका प्याकेज प्रयोग तथा विक्री समेत गरेर आर्थिक लाभ लिएका छन् । आफ्नो सर्भर ह्याक भएको नेपाल टेलिकमले गत असार दोस्रो साता थाहा पाएको थियो । सर्भरमा अनधिकृत प्रवेश गरी कम्पनीलाई हानी नोक्सानी पुर्याएको भन्दै टेलिकमले गत असार १२ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा अनुसन्धानको लागि पत्राचार गरेको थियो । टेलिकमको यस्तो पत्र प्राप्त भएपछि सीआईबीले अनुसन्धान गर्दा धनकुटा जिल्ला पाख्रिबास नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भइ हाल धनकुटा नगरपालिका वडा नम्बर ४ बस्ने सहरी विकास तथा भवन कार्यालय धनकुटाका कम्प्युटर अपरेटर दिवाकर देउजा भएको पाइएको सीआईबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । ‘टेलिकमको पत्र प्राप्त भएपछि अनुसन्धान गर्दा सहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्युटर अपरेटर पदमा कार्यरत दिवाकर देउजाले ह्याक गरेको पत्ता लाग्यो, उनलाई सीआईबीले पक्राउ गरी नेपाल प्रहरीको साइबर व्यूरो पठाएको छ, थप अनुसन्धान भइरहेको छ,’ सीआईबीका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक पाण्डेले भने । देउजाले नेपाल टेलिकमको मोबाईल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गरी आफूले आर्थिक लाभ समेत लिई नेपाल टेलिकमलाई हानिनोक्सानी पुर्याकई कम्पनीको राजस्व तथा व्यावसायिक छविमा समेत गम्भीर क्षति पुर्याएको हुँदा कारबाही गरी पाउँ भनि नेपाल टेलिकमको २०७७ असार १२ गते सीआईबीमा पत्र पठाएकाे थियाे । पत्र प्राप्त भएपछि अनुसन्धानको सिलसिलामा ह्याकरले अनट्रयाकेबल इन्टरनेट प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक/पटक पहुँच बनाएको पाइएकाे सीअइबीकाे भनाइ छ । देउजामाथि विद्युतीय कारोबार ऐन अनुसार कारबाही चलाउने प्रहरीले जानकारी दिएको छ । ह्याकरले टेलिकमको सिस्टमभित्र प्रवेश गरी के कति आर्थिक लाभ वा टेलिकमलाई कति हानी नोक्सानी पुर्याए भन्ने बारेमा थप अनुसन्धानबाट खुल्ने सीआईबीको भनाइ छ ।
टेलिकमकाे अफरः १० रूपैयाँमै डे प्याक, भ्वाइस प्याककाे समय बढ्याे, अन्य के के ?
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक समर अफर उपलब्ध गराउने भएको छ । यसअघि नै उपलब्ध स्प्रिङ अफर अन्तर्गतका प्याकेजहरुलाई परिमार्जन गरी कम्पनीले समर अफर उपलब्ध गराएको हो । समर अफर अन्तर्गतको सेवा मिति २०७७ साउन १ गते देखि ९० दिनसम्म उपलब्ध हुनेछ । पहिले देखि नै उपलब्ध केही प्याक यथावत राखिएको छ भने केही प्याकलाई परिमार्जन गरी थप ग्राहकमैत्री बनाइएको छ । यस्ता छन् अफरहरुः कम्पनीले युट्युब स्ट्रिमिङ डाटा प्याक अन्तर्गत २५ रुपैयाँमा एक दिनका लागि १ जीबी डाटा उपलब्ध गराएको छ । सोसल मिडिया प्याक अन्तर्गत १५ रुपैयाँमा एक दिनका लागि २०० एमबी डाटा उपलब्ध हुनेछ । सोसल मिडिया प्याकमार्फत फेसबुक, ट्विटर, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ । रातिको समयमा प्रदान गरिएको भ्वाइस प्याक यसअघि राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र उपलब्ध भएकोमा अब एक घण्टा बढाएर बिहान ७ बजेसम्म उपलब्ध गराइने छ । नाइट टाइम भ्वाइस प्याक अन्तर्गत रु. १० मा उपलब्ध ६० मिनेटको भ्वाइस प्याक यथावत उपलब्ध छ भने रु. १५ मा ३ रातका लागि २०० मिनेट र रु. ३० मा ७ रातका लागि ३५० मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ । यी प्याक राती १० बजे देखि बिहान ७ बजे सम्म प्रयोग गर्न सकिने छ । अल टाइम डाटा प्याक अन्तर्गत ३ दिन, ७ दिन र २८ दिनका लागि लिन सकिने प्याकमा केही परिमार्जन गरिएको छ । यसमा रु. ६० मा ३ दिनका लागि ४०० एमबी, रु. १०० मा ७ दिनका लागि ८०० एमबी, रु. २८० मा २८ दिनका लागि २.५ जीबी, रु. ५०० मा २८ दिनका लागि ७ जीबी र रु ८०० मा २८ दिनकै लागि १६ जीबी डाटा उपलब्ध हुनेछ । डे डाटा प्याक अन्तर्गत अब रु. १० मा ८० एमबी र रु. १८ मा २५० एमबी डाटा प्याक प्राप्त गर्न सकिने छ । विहान ६ देखि साँझ ६ बजे सम्म प्रयोग गर्न सकिने सो प्याकको समयावधि २४ घण्टा हुनेछ । वान नाइट अनलिमिटेड डाटा अन्तर्गत राती ११ देखि विहान ६ बजे सम्म चलाउन सकिने प्याकेज रु. २० मा उपलब्ध हुनेछ । डे भ्वाइस प्याक अन्तर्गत रु. १२ मा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म १२० मिनेट कल गर्न सकिने अर्को प्याक पनि उपलब्ध हुनेछ । यो अफरमा प्रदान गरिएको १२० मिनेट एकैदिन प्रयोग भएन भने भोलिपल्ट २४ घण्टासम्म सोही अवधिमा प्रयोग गर्न सकिने छ । रु. १५ मा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म लागु हुने अनलिमिटेड कल अफरलाई निरन्तरता दिइएको छ । लार्ज डाटा प्याक अन्तर्गत अब रु. १,६०० मा ६० दिनका लागि ३० जीबी प्याक र रु. ३००० मा १२० दिनका लागि ६० जीबी प्याक उपलब्ध हुनेछ । फोरजी/एलटीई अफर अन्तर्गत रु. १५ मा १ दिनका लागि जम्मा १०० एमबी डाटा उपलब्ध हुनेछ । यसबाट ५० एमबी सबै नेटवर्कमा प्रयोग गर्न सकिने छ र थप बोनसको रुपमा फोरजी नेटवर्कमा प्रयोग गर्न सकिने ५० एमबी डाटा उपलब्ध हुनेछ । साथै पहिले देखि नै स्प्रिङ अफरका रुपमा उपलब्ध अन्य प्याकहरु यथावत रहेका छन् । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । पहिलोपटक कम्पनीको एप प्रयोग गर्दा १०० एमबी डाटा फ्रि उपलब्ध हुनेछ ।
एनसेलले ल्यायो ‘इन्डलेस कुराकानी प्लस’
काठमाडौं । एनसेलका प्रिपेड ग्राहकले अब आफ्ना परिवार, आफन्त र साथीभाइसँग एनसेल नेटवर्क भित्र अझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ लिन सक्छन् । प्रिपेड ग्राहकले यस अफर अन्तर्गत ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्याइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्नेछन् । ग्राहकले ७ दिन समयसिमा रहेको ७०० मिनेट अन नेट टक टाइम कर सहित मात्र रु ९५.७७ लिन सक्नेछन् । यो प्याकमा ग्राहकले प्रति दिन ७ दिनसम्म १०० मिनेट टक टाइम प्राप्त गर्नेछन् । त्यस्तै १५ दिनको प्याकमा ग्राहकले कर सहित मात्र रु १९१.५४ मा १,८७५ मिनेट अन नेट टक टाइमको पाउनेछन् र १५ दिनसम्म प्रत्येक दिन १२५ मिनेटको टक टाइमबाट फाइदा लिन सक्छन् । साथै भ्वाइस सेवाको अलि धेरै आवश्यकता रहेका ग्राहकका लागि ३० दिनको आकर्षक भ्वाइस प्याक रहेको छ । यस प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु ३८१ं.७९ मा ४,५०० मिनेट अन नेट टक टाइम लिन सक्छन् । यसमा ग्राहकले हरेक दिन १५० मिनेट टक टाइम ३० दिनसम्म प्राप्त गर्दछन् । यो प्याक सुचारु गर्ने ग्राहकले मात्र ८ पैसा प्रति मिनेटमा कुराकानी गर्न सक्छन् ।