नेपाल टेलिकमको १६औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं। नेपाल टेलिकमले आफ्नो स्थापनाको १६औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बुधबार विभिन्न कार्यक्रमको आयोजना गरी १६औं वार्षिकोत्सव मनाएको हो । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकमले पूर्व योजना बमोजिम नै ठूला आयोजना कार्यान्वयनमा प्राथमिकता दिएको र एक वर्षको अवधिमा फोरजी मोबाइल सेवा ७७ वटै जिल्लामा विस्तार गरेकोमा सन्तोष व्यक्त गरे । उनले एफटीटीएच प्रविधिको विस्तार र अप्टिकल फाइबर परियोजना निर्धारित अवधिमै सम्पन्न गर्नुपर्ने र कम्पनीले प्रदान गरेका सेवाहरुमा गुणस्तर कायम गरी सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकताको विषय बनाउनु पर्ने बताए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपक सुवेदीले टेलिकमले अब समयानुकुल विभिन्न स्मार्ट सेवाहरु वितरण गर्ने र अत्याधुनिक प्रविधिका सेवाहरु गुणस्तरसहित प्रदान गरी ग्राहकको मन जित्नु पर्ने बताए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणसँगको सम्झौता अनुसार एक वर्षको अवधिमा कम्पनीले ग्रामीण दूरसञ्चार विकास कोषको प्रयोग गरी विभिन्न स्थानमा अप्टिकल फाइबर बिछ्याउने कार्यमा हासिल गरेको उपलब्धिप्रति सन्तोष व्यक्त गर्दै पूर्ण क्षमतामा प्रयोग नभएका पूर्वाधारहरु सहप्रयोग गर्न पनि नेपाल टेलिकम तयार हुनुपर्ने सुझाव दिए । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीको समग्र अवस्था बारेमा जानकारी गराउँदै सम्झौता भएको एक वर्षभित्रै देशभर फोरजी विस्तार गर्ने महत्वाकांक्षी र चुनौतीपूर्ण लक्ष्य अनुरुप यसै साता देशका ७७ वटै जिल्लामा फोरजीको पहुँच पुर्याइएको बताए । उनले स्थानीय टेलिफोन सेवाको रुपान्तरणको लागि एफटीटीएच परियोजनालाई अगाडि बढाइएको र निकट भविष्यमा आईपीटीभी सेवा समेत एफटीटीएच मार्फत प्रदान गरिने बताए । उनले गएको १ वर्ष नेपाल टेलिकमको लागि निकै महत्वपूर्ण र चुनौतिपूर्ण रहेकाे बताए । उनले हालसम्म देशका २८ जिल्लाका ५७ एक्स्चेञ्जहरू मार्फत १ लाख ४५ हजारको नेटवर्क जडान भै ३६ हजार ४ सय भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकिएको बताए । उनले नेपाल दूरसञ्चार प्राधिकरणको कार्तिक महिनाको मीस रिपाेर्ट अनुसार कम्पनीको बजार हिस्सा भ्वाइस सेवा तर्फ ५५ पुगेको बताए ।
विरोध गर्ने कर्मचारीप्रति मन्त्री बास्कोटाको आक्रोश: बेलुका भोज खान त आउनुहुन्छ हाेला नि ! उतै हेरौंला
काठमाडौं । सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमका कर्मचारीप्रति आक्रोश पोखेका छन् । नेपाल टेलिकमको १६औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले टेलिकमको फोरजी विस्तार गर्ने समयमा कर्मचारीहरुले यो असम्भव भएको र हावा गफ भएको भन्दै विरोध जनाएका कारण उनी कर्मचारीप्रति आक्रोशित बनेका हुन् । ‘मैले फोरजीको कुरा गर्दा मन्त्रीले फोस्रो कुरा गर्यो भन्थे, तर अहिले करिब फोरजीको काम सकिएको छ, सबै दंग छन,’उनले भने । उनले विरोध गरिरहेका कर्मचारीलाई व्यङ्य गर्दै बेलुकामा भोजमा आउनु हुन्छ, उतै हेरौंला भन्ने कटाक्ष गरे । विरोध प्रदर्शन गर्ने कर्मचारीप्रति कडा शैलीमा प्रस्तुत हुँदै उनले रचनात्मक सुझावहरु ग्रहण गरिने तर राजनीतिका लागि राजनीति सह्य हुन नसक्ने सुनाए । कर्मचारीप्रति आक्रोशित हुँदै उनले सबैलाई अनुशासित हुन सुझाव दिए । अनुशासन र नियममा रहनुस्, अन्यथा यसको हिसाब किताब राखिनेछ, चुनौती सम्झिए चुनौती सम्झिनुस् म पराजित गर्छु’, उनले भने । असन्तुष्ट कर्मचारीलाई उनले के देशभरि फोरजी सेवा जानु हुँदैनथ्यो भन्ने प्रश्न गरे । कर्मचारी युनियनको प्रदर्शन कम्पनीमा क्रियाशील नेपाल टेलिकम वकर्स युनियनले कम्पनी व्यवस्थाले पर्याप्त नाफा वृद्धि गर्न नसकेको र कर्मचारीको वृद्धि विकासलाई प्राथमिकता नदिएको भन्दै कार्यक्रमस्थलमै आफ्ना मागसहितको प्ले कार्ड देखाएर विरोध जनाएका छन् । यस्तै कार्यक्रममा उनले टेलिकमलाई गोरखकाली टायर र टिम्बर कर्पाेरेसन जस्तो घाटामा जान नदिने बताएका छन् । ‘सरकारले हात हालेको सबै क्षेत्र घाटामा नै जान्छ भन्ने हुँदैन, सरकारले टेलिकमलाई कान्छो छोराछोरी सरह माया गरेको छ, यतिखेर यसको नाफा हुन्छ,’ उनले भने । कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका ७७ वटै जिल्लामा हालै फोरजी सेवा सञ्चालन गरेको बताए । कार्यक्रममा विभिन्न सेवा र विधामा उत्कृष्ट सेवा प्रदायक र कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।
पहुँच विस्तारसँगै गुणस्तर सुधार्न टेलिकमलाई निर्देशन
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पहुँचको विस्तारसँगै गुणस्तर सुधारमा लाग्न नेपाल टेलिकमको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिएका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले प्रतिस्पर्धा र नयाँ चुनौतीलाई स्वीकारेर जनताको सेवामा समर्पित हुन आग्रह गरेका हुन् । मन्त्री बाँस्कोटाले गत वर्ष देशभर फोरजी सेवा पुर्याउने सङ्कल्प गर्दा नपत्याइए पनि हाल देशभर सो सेवा पुगेकामा खुशी व्यक्त गर्दै कम्पनीको स्वस्थ्य जीवनका निम्ति इमानदार भएर आफ्नो सम्पूर्ण क्षमता देशका लागि प्रयोग गर्न आग्रह गरे । वार्षिकोत्सवस्थलमा कम्पनीमा क्रियाशील एक कर्मचारी युनियनले विरोध जनाएकामा असन्तोष व्यक्त गर्दै मन्त्री बाँस्कोटाले प्रश्न गर्दै भने, आमाको जन्मदिनका दिन मङ्गलधुन बजाउने कि शोकधुन बजाउने ? यो त गाईजात्रा देखियो । पञ्चायतको टालोजस्तो पहेँलो टालो बाँधेर विरोध गरिनु कुनै बहादुरी होइन, निराशाको सन्देश हो । मन्त्री बाँस्कोटाले लोकसेवा आयोगमा पुगेपछि टेलिकमको कर्मचारी विनियमावली आउने भएकाले विरोधका नाममा राजनीति नगर्न र राजनीति गर्नु छ भने पार्टी कार्यालयतिर जान सुझाव दिए । उनले भने- अहिले सरकारले यो संस्थालाई कान्छा छोरा, छोरीजस्तै माया गरेको छ, यो बेलामा पनि उँभो लाग्न सकेन भने यो संस्था आफ्नो मलामी आफैं जान्छ । हामी यस्ता गाईजात्रा पन्छाउँदै देशको विकासमा लाग्नेछौँ । विरोध प्रदर्शन गर्ने कर्मचारीप्रति कडा शैलीमा प्रस्तुत हुँदै मन्त्री बाँस्कोटाले भने, ‘रचनात्मक सुझावहरु ग्रहण गरिन्छ तर राजनीतिका लागि राजनीति सह्य हुन सक्दैन । अनुशासन र नियममा रहनुस् । अन्यथा यसको हिसाबकिताब राम्रैसँग राखिनेछ । चुनौती सम्झिए चुनौती सम्झिनुस् । राजनीतिका लागि राजनीति गर्ने विध्वांशात्मक विरोधलाई म पराजित गर्छु ।’ असन्तुष्ट कर्मचारीलाई मन्त्री बाँस्कोटाको प्रश्न थियो, के देशभरि फोरजी सेवा जानु हुँदैनथ्यो ? त्यसकारण तपार्ईंहरु दुःखी हुनुभयो ? संस्थाको छवि माथि जान लागेको हो भनेर चिन्ता लागेको हो ? सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीलगायत सहभागी कार्यक्रममा उनले देशकै समृद्धिको कुरा गरेर हिँडेको सरकार दुई–चारजनाको विरोधबाट नहच्किने र गाईजात्रा पन्छाउँदै देशको समृद्धितर्फ अघि बढ्छ । कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका ७७ वटै जिल्लामा हालै फोरजी सेवा सञ्चालन गरेको, सूचना प्रविधि महामार्ग निर्माणको काम भइरहेको र राष्ट्र निर्माणमा सञ्चार क्षेत्रबाट अग्रणी भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा टेलिकमको वार्षिकोत्सवसँग सम्बन्धित स्मारिका विमोचन गरिएको थियो भने विभिन्न सेवा र विधामा उत्कृष्ट सेवा प्रदायक र कर्मचारीलाई पुरस्कृत गरिएको थियो । कर्मचारी युनियनको प्रदर्शन कम्पनीमा क्रियाशील नेपाल टेलिकम वकर्स युनियनले कम्पनी व्यवस्थाले पर्याप्त नाफा वृद्धि गर्न नसकेको र कर्मचारीको वृत्ति विकासका काममा प्राथमिकता नदिएको भन्दै कार्यक्रमस्थलमा आफ्ना मागसहितको प्ले कार्ड भिरेर विरोध गरेको छ । सो युनियनका वाग्मती प्रदेशका अध्यक्ष अच्युतकुमार ओझाले ट्रेड युनियन अधिकारको रक्षाका लागि आफूहरुले शान्तिपूर्ण खबरदारी गरेको बताए । रासस