घरमै बसेर १ सय ४५ देशका नागरिकलाई पढाउने ‘ग्लोकल टिन हिरो’ समिरको कथा
काठमाडौं । यो सूचना प्रविधिको युग हो । दिनप्रतिदिन बढ्दै गएको सूचना प्रविधिको विकास सँगै यसको कार्यक्षेत्र पनि फराकिलो हुँदै गएको छ । सूचना प्रविधिको सही सदुपयोग गरे सफल र धेरै ज्ञान प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् मोरङका समिर फुयाँल । समिर फुयाँल ग्लोकल टिन हिरो हुन् । यही सूचना प्रविधिको सही सदुपयोग, जिज्ञासु र सूना प्रविधिमा उच्चतम ज्ञान भएकै कारण उनी २०१९ को ग्लोकल टिन हिरो बने । सरल, नम्र र जिज्ञासु स्वभावका समिरको प्रविधि तथा विज्ञान सम्बन्धिको उत्सुकता, कामप्रतिको रुचि, र काममा निरन्तरताले उनी हाल एक प्रख्यात सफ्ट डिजाइनर वा डेभलपर्सका नामले परिचित छन् । समिरले जीवनमा धेरै काम गर्न बाँकी नै छ । उनी भर्खर कक्षा १२ मा पढ्दैछन् । तर, धेरेले पत्याउँदैनन् की उनी कक्षा १२ मा पढ्छन् । उनी अहिले १८ वर्षका भए । भनिन्छ नी–‘भगवानले एउटा–एउटा गुण सबैलाई दिएको हुन्छ’, तर त्यो गुणलाई जिवित राख्नु वा त्यसलाई फलाउनु फुकाउनु भने स्वयमं व्यक्तिको हातको कुरा हो । यस्तै, आफुलाई पनि भगवानले एउटा गुण दिएको हुन सक्ने समिर बताउँछन् । उनी सानैदेखि सूचना तथा प्रविधिमा रुचि राख्ने स्वभावको भएको बताउँछन् । ‘म कक्षा आठमा पढ्थेँ, त्यतिखेर मलाई माईक्रोसफ्ट वर्ड र फोटोसपप्रति एकदमै रुचि लाग्यो, कक्षामा पढे अनुसार नै काम गर्न व्यवहारमा उतार्न थालेँ’, उनले भने । कक्षामा जब शिक्षकले सूचना प्रविधिको बारेमा सिकाउँथे आफु धेरै उत्सुकता जनाएर पढ्ने उनी बताउँछन् । दिन बित्दै गए । त्यो दिन समिरलाई अझैँ याद आउँछ । शिक्षकले कक्षामा प्रोग्रामिङको बारेमा पढाउँदै थिए, यो कुरा तिमीहरुलाई काम लाग्दैन, अर्को पाठ पढौं भने । सूचना प्रविधि र प्रोग्रामिङको बारेमा जान्न एकदमै उत्सुक समिरलाई भने रमाइलो लाग्यो त्यो कुराले । उनी झन उत्सुक भए । नपढ्ने चिज भए त किन किताबमा समावेश गरेको ? उनले त्यो पाठ झन उत्सुक भएर पढेको बताए । उनले त्यो पाठ पढेर प्रोग्रामिङ सम्बन्धि धेरै कुरा सिके । गाउँघरमा कतै पनि कम्प्युटर इन्स्टिच्युट थिएनन् । यसले पनि उनलाई समस्या पारिरहेको थियो । उनले किताब पढेरै धेरै कुराको ज्ञान भयो । अब उनले किताब पढेर मात्र भएन । सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा उतार्ने अठोट गरे । कक्षा ९मा पढ्दापढ्दै उनले यूटुव र वेबसाइटबाट नै ज्ञान हासिल गर्न सुरु गरे । उनका साथीहरु कम्प्युटरमा गेम खेलेर समय बिताउँथे । आफु भने वेभ डेभलेपमेन्टका कोर्षहरु सिक्दै बस्ने उनी बताउँछन् । त्यही इन्टरनेट समिरको जीवनका लागि एक किसिमको टर्निङ प्वोइन्ट बन्यो । गर्दै–सिक्दै जाँदा उनी प्रोग्रामिङमा दख्खल राख्न थाले । धेरै दक्ष पनि बने । त्यही दख्खलताले उनी २०१९ को ग्लोकल टिन हिरो पनि बने । र, त्यही निरन्तरता र कामप्रतिको जिम्मेवारी बोधले उनी हाल एक शिक्षकको रुपमा चिनिएका छन् । उनी हाल विभिन्न स्थानिय कम्पनीहरुको वेभसाइट बनाउनको साथै विभिन्न एप्सहरु निर्माण गर्दैछन् । उनले अनलाइन विज्ञापन मञ्चको रुपमा ‘नयाँ किनमेल डट कम’ वेभसाइट सुरु गरेका छन् । विज्ञापनलाई डिजिटाइज गरी खरिदकर्ता र बिक्रेताबिचको दुरिलाई घटाउने उद्धेश्यले अनलाईन मन्चको सुरुवात गरेको उनी बताउँछन् । समिर फुयाँले श्रेय पाउने अर्को ठूलो कुरा छ । त्यो हो अनलाइन शिक्षण । उनी हाल अनलाइनमार्फत नै १ सय ४५ देशका १३ हजारभन्दा बढि मानिसहरुलाई युडेमि एपको मार्फत डिज्याङ्गो कोर्ष सिकाउँदै आएका छन् । उनी वेभ एप्लिकेसन कोर्षको बारेमा सरल रुपमा अनलाइनमार्फत ती मानिसहरुलाई सिकाउँदै आएको बताउँछन् । उनी सबैलाई सशुल्क पढाउँछन् । प्रति कोर्षको ९.९९ डलरको हिसाबले पढाउने गरेको उनी बताउँछन् । समिरले धेरै एप्स पनि निर्माण गरेका छन् । समिरले कक्षा १२का विद्यार्थीहरुको लागि म्याजिक अफ बोर्डसको सारांश र प्रश्न उत्तरको एप्स पनि बनाएका छन् । उनी सूचना प्रविधिको प्रयोगलाई बढाई युटुवमा पनि सक्रिय छन् । यसका साथै उनी हालै आइसीटी ज्ञान (ICT Gyan)नाम गरेको युट्युबमा च्यानल चलाईरहेका छन् । उनी त्यसमा नेपाली भाषामा वेभ डेभलपमेन्ट र प्रोग्रामिङका कोर्ष सिकाउँछन् । उनी हाल पनि मोरङमै बस्छन् । काठमाडौंमा भन्दा बाहिर बसेको कारण अवसरहरु कम आउने समिर बताउँछन् । त्यसैले उनी काठमाडौमां आउने सोच बनाइरहेका छन् । भविश्यमा टेक्नोलोजिको क्षेत्रमा राम्रो योगदान दिने चाहना समिरको छ ।
खल्ती वालेट र भाटभटेनीबीच सम्झौता, एपबाटै पैसा ट्रान्सफर गर्न सकिने
काठमाडौं । खल्ती डिजिटल वालेट र भाटभटेनी ग्रुपबीच खल्ती एपबाटै मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । भाटभटेनी ग्रुपद्वारा प्रबर्धित भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक मुनाल जंग कार्की र खल्तीका निर्देशक अमित अग्रवालले कान्तिपथ स्थित भाटभटेनी मनी ट्रान्सफरको मुख्य कार्यालयमा आयोजित एक समारोहबीच सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त सेवाको थालनी गरेका हुन् । सम्झौता अनुसार अब खल्ती एपबाट सिधै पैसा पठाउन सकिने र भाटभटेनी सुपरमार्केट तथा भाटभटेनीका देशैभरी रहेका २५०० भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत उक्त पैसा झिक्न सकिनेछ । यस सम्झौतासँगै खल्तीले एपमा रेमिट्यान्स नाम गरेको एउटा नयाँ आइकन ल्याएको छ । उक्त आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले आफ्ना साथीभाई तथा परिवारलाई पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् । यसरी पैसा पठाईसकेपछि पाउनुपर्ने पाउने व्यक्तिले आफ्नो मोबाईलमा एसएमएस मार्फत एउटा पिन प्राप्त गर्न सक्नेछन् । प्राप्तकर्ताले तोकिएको भाटभटेनी सुपरमार्केट अथवा रेमिट्यान्स एजेन्टको कार्यालयमा गई उक्त पिन देखाएर सहज तथा सरल रुपमा पैसा निकाल्न सक्नेछन् । यसका साथै अब खल्ती प्रयोगकर्ताले भाटभटेनी सुपरमार्केट तथा देशैभरी रहेका रेमिट्यान्स एजेन्ट मार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । भाटभटेनी ग्रुप सँगको उक्त सम्झौताका बारेमा बोल्दै खल्तीका निर्देशक अमित अग्रवालले भने, “यस प्रकारको सहकार्य गरी खल्ती प्रयोगकर्ताहरुलाई एपबाटै सिधै पैसा पठाउन र भाटभटेनी सुपरमार्केट तथा देशैभरी रहेका रेमिट्यान्स एजेन्ट मार्फत भुक्तानी लिने सेवा थालनी गर्न पाउँदा उत्साहित छौँ । यस सहकार्य सँगै नेपालमा नविनतम डिजिटल फाइनान्सियल सेवा मार्फत मानिसको जीवन सहज बनाउने हाम्रो लक्ष्य तर्फ एक कदम अगाडी बढेको भान भएको छ ।” त्यस्तै, भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक मुनाल जंग कार्कीले भने, “प्रविधि व्यवसायमा संलग्न नेपाली युवाहरुको समूहले सुरु गरेको वालेट एपबाटै पैसा पठाउने र भाटभटेनी सुपरमार्केट तथा हाम्रा एजेन्ट मार्फत पैसा निकाल्ने उहाँहरुको अप्रोच हामीलाई राम्रो लाग्यो। आन्तरिक मनी ट्रान्सफर सेवा सँगै बिना अतिरिक्त शुल्क खल्ती वालेटमा पैसा लोड गर्न र विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्न हामी आतुर छौँ ।”
नेपाल टेलिकमकाे अनलिमिटेड डाटा र भ्वाइस प्याक यस्ता छन्, कसरी लिन सकिन्छ ?
काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय रहेका छन् । सस्तो मूल्यमा असीमित अर्थात कम्पनीकै नेटवर्कमा जति पनि कल गर्न र डाटा चलाउन पाइने भए पछि सेवाग्राहीहरु समेत निकै नै लाभान्वित भएको पाइएको छ । हाल नेपाल टेलिकमले उपलब्ध गराइरहेको एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक निकै नै रुचाइएका छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार आफूलाई उपयुक्त प्याक खरिद गर्न सक्छन् । एक घण्टा अनलिमिटेड प्याक यो प्याक २० रुपैयाँमा लिन सकिन्छ । प्याक एक्टिभ भए पश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सकिन्छ । एक घण्टा सम्म जति पनि भ्वाइस कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने भएकोले यो प्याक निकै नै रुचाइएको छ । डे टाइम भ्वाइस प्याक डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म जति पनि कल गर्न सकिने छ । सो प्याक खरिद गरेको २४ घण्टाभित्र उपयोग गर्न सकिने छ । उदाहरणका लागि विहान १० बजे खरिद गरेको प्याक बेलुकी ५ बजे सम्म र भोलि विहान फेरि १० बजे सम्म प्रयोग गर्न सकिन्छ । आफ्नो आवश्यकता अनुसार आफन्त वा प्रियजनसँग कुराकानी गर्नका लागि यो प्याक निकै नै उपयोगी बनेको छ । अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म कल गर्न सकिन्छ । रातको समयमा जति पनि कल गर्न सकिने भएकाले यो निकै नै उपयोगी बनेको छ । अनलिमिटेड नाइट डाटा प्याक अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत एक रातका लागि १८ रुपैयाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिने प्याक पनि उपलब्ध छ । रातको समयमा डाटा चलाउनु पर्ने व्यवसायीहरुका लागि समेत यो प्याक निकै नै उपयोगी बनेको छ । प्याक खरिद गर्ने तरिका विभिन्न प्रकारका प्याक प्राप्त गर्नका लागि ग्राहकले स्टार१४१५ह्याज मा डायल गरेर आवश्यकता अनुसारको प्याक खरिद गर्न सकिन्छ । विभिन्न नम्बर डायल गरेर वा एसएमएस पठाएर पनि प्याक खरिद गर्न सकिन्छ । एक घण्टा अनलिमिटेड प्याक खरिद गर्नका लागि सिधै स्टार१४१५स्टार८ ह्याज डायल गरेर आफूले प्रयोग गर्न चाहेको भ्वाइस, एसएमएस वा डाटाका लागि क्रमशः १, २ र ३ अंक डायल गर्नु पर्छ । त्यसैगरी सिधै एफडि प्याक टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । त्यसैगरी, डे टाइम भ्वाइस प्याक खरिद गर्नका लागि सिधै स्टार१४१५स्टार९स्टार दुइ ह्याज डायल गर्न सकिन्छ । सिधै डिभियुएनएल टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । अनलिमिटेड नाइट टाइम भ्वाइस प्याकका लागि सिधै स्टार१४१५स्टार१स्टार५स्टार४ ह्याज डायल गर्न सकिन्छ । सिधै एनभियुएनएल टाइप गरी १४१५ मा एसएमएस पठाउन पनि सकिन्छ । अनलिमिटेड नाइट डाटा प्याकका लागि सिधै स्टार१४१५स्टार३ह्याज डायल गरेर १ दिनका लागि प्याक लिने भए १ र ७ दिनका लागि प्याक लिने भए २ अंक डायल गर्नुपर्छ । त्यसैगरी एक दिनको प्याकका लागि एनयुएनएल र ७ दिनका लागि भए युएनएल७ टाइप गरी १४१५ मा एसएमएस पठाउन सकिन्छ । बाँकी प्याक थाहा पाउने तरिका मोबाइलमा लिएको भ्वाइस प्याक वा अन्य कुनै पनि प्याक कति बाँकी छ भनी थाहा पाउनका लागि स्टार१४१५स्टार५५ह्याज डायल गर्न सकिन्छ । त्यसैगरी भिएल लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । त्यसपछि कति भ्वाइस प्याक वा अन्य प्याक बाँकी छ भन्ने जानकारी सहितको एसएमएस आउँछ । साथै नेपाल टेलिकम एपमार्फत पनि बाँकी प्याक थाहा पाउन सकिन्छ ।