नेपाल टेलिकमले पहिलोपटक शुरु गर्यो सिंगो गाउँपालिकालाई समेट्ने गरी द्रुत गतिको इन्टरनेट सेवा

काठमाडौँ । नेपाल टेलिकमले पहिलो पटक सिंगो गाउँपालिकालाई समेट्ने गरी द्रुत गतिको इन्टरनेट सेवा (एफटीटीएच–फाइबर टु द होम) को शुभारम्भ गरेको छ । भदौ २३ गते एक कार्यक्रमका बीच रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकास्थित सूर्यपुरा बजारमा सो सेवाको शुभारम्भ गरिएको हो । प्रमुख अतिथिको रुपमा पूर्व मन्त्री तथा संसदको सार्वजनिक लेखा समितिका सभापति एवम् रुपन्देही क्षेत्र नम्बर ५ का सांसद भरतकुमार शाहले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई एफटीटीएच प्रविधिको भ्वाइस तथा भिडिओ कल गरेर सो सेवाको विधिवत् शुभारम्भ गरे । सो अवसरमा प्रमुख अतिथि शाहले सेवा उपलब्ध गराएकोमा नेपाल टेलिकमलाई धन्यवाद दिंदै ग्रामीण भेगमा उच्च गतिको इन्टरनेट सेवा जडान भएकोले सबै समुदायलाई त्यसको उच्चतम प्रयोग गरी लाभान्वित हुन आग्रह गरे । नेपाल टेलिकम भैरहवा क्षेत्रीय निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले नेपाल टेलिकमले अंगिकार गर्नुपर्ने विभिन्न झञ्झटिला कानुनी प्रावधान र यसका कारण भोग्नु परेका समस्या बारेमा उल्लेख गर्दै कम्पनी सदैव ग्राहक सेवामा केन्द्रित रहेको बताए । सम्भवतः नेपालमै पहिलो पटक गाउँपालिका स्तरमा द्रुत गतिको इन्टरनेट सेवा प्रदान गर्ने सुअवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै निर्देशक मालाकारले आगामी दिनमा अन्य गाउँपालिकाहरुमा पनि क्रमशः सेवा विस्तार गर्दै लगिने जानकारी दिए । उक्त कार्यक्रममा त्यस भेगका उद्यमी, व्यवसायी, संघ संस्थाका प्रमुख, गाउँपलिकाका पदाधिकारी लगायत सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । गाउँमा सञ्चार सेवाहरु उपलब्ध नहुँदा र हुँदाका अवस्थाका बारेमा तुलनात्मक व्याख्या गर्दै समग्र गाउँपालिकाको तर्फबाट गैडहवा गाउँपालिकाका प्रमुख बच्चुलाल केवटले आफ्ना भनाइहरु राखेका थिए । कार्यक्रममा एफटीटीएच खरिद गर्ने ग्राहकहरुलाई राउटर (सीपीई) हस्तान्तरण गर्दै खादा ओढाएर सम्मान गरिएको थियो । सोही अवसरमा त्यस भेगका जनतालाई निःशुल्क प्रिपेड सिम समेत वितरण गरिएको थियो । नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजरका साथै कम्बो प्याकेज समेत उपलब्ध गराइरहेको छ । यस अन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ । हाल एफटीटीएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् । एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी र अत्याधुनिक भएको नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

टेलिकमको सीममा डाटा रोमिङ सेवा सुचारु, भारत जाँदा टेलिकमकै सीमबाट इन्टरनेट चलाउन मिल्ने

काठमाडौं । नेपाल टेलिकमले रोमिङ सेवा प्रयोग गर्ने ग्राहकहरुका लागि डाटा सेवा समेत उपलब्ध गराउने भएको छ । यसअघि भ्वाइस र एसएमएस सुविधा मात्रै उपलब्ध गराउँदै आएको टेलिकमले अब इन्टरनेट समेत सीममार्फत् चलाउन सकिने व्यवस्था गरेको हो । हाल नेपाल टेलिकमले पोस्टपेड ग्राहकहरुका लागि ८७ मुलुकमा र प्रिपेड ग्राहकका लागि भारत र चीनमा रोमिङ सेवा उपलब्ध गराउँदै आएको छ । पहिले पनि अन्तराष्ट्रिय डाटा रोमिङ सेवा सञ्चालन गरिएको भए पनि त्यसलाई परिमार्जन गर्न भन्दै टेलिकमले सो सेवा बन्द गरेको थियो । अब त्यो सुचारु भएको हो । डाटा रोमिङ सेवाका लागि बिहीबारसम्म रोमिङ सेवा क्रियाशील भएका मोबाइलहरुमा यो सेवा स्वतः सुचारु हुनेछ भने अन्यको हकमा रोकिङ सेवा लिएपछि सो सेवा सुरु हुनेछ । यो सेवा हाललाई भारतमा मात्रै लागु हुने र पछि अन्य देशहरुमा समेत विस्तार गरिने टेलिकमले जनाएको छ ।

कनेक्ट आइपिएस युजरबीच फण्ड ट्रान्सफर अब निःशुल्क

काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमा युजरबीच निःशुक्ल फण्ड ट्रान्सफरको सुविधा सुरु गरेको छ । सीमित अवधिका लागी सुरु गरिएको सो सुविधा अन्तर्गत यस प्रणालीमा आफ्नो बैंक खाता लिंक गरी भेरीफाइ गराइसकेका ग्राहकहरुले मोबाईल नम्बरको आधारमा गरिने फण्ड ट्रान्स्फर निःशुल्क गरिएको हाे । यस सेवाले कनेक्ट आइपिएसका ग्राहकहरुलाई सिधैं आफ्नो बैंक खाताबाट रियल–टाइम फण्ड ट्रान्सफर गर्न थप सुविधा पुग्ने अपेक्षा गरिएको छ । एनसीएचएलले ५३ भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुमार्फत ग्राहकहरुका लागि बैंक खातामा आधारित रियल–टाइम भुक्तानी गर्न कनेक्ट आइपिएस प्रणाली संञ्चालन गरिरहेको छ । यस प्रणालीमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड/बिलभुक्तानी लगायत सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी ,नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेका छन् । बैंकका ग्राहकले यस प्रणालीमा आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाइ लिंक तथा भेरिफाइ गराइ यसमा उपलब्ध हुने भुक्तानी सेवाहरु प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले कनेक्ट आइपिएसको डब्लुडब्लुडब्लु डट कनेक्टटिप्स डटकममा गएर अथवा मोबाईल एप्सको प्रयोग गरी अथवा सेवा प्रदायकहरुको पोर्टलमा को पेमेन्ट प्रोसेसर (गेटवे)मा गएर भुक्तानी गर्न सक्नेछन् ।