अब आफ्नो सेवा सम्बन्धी सबै जानकारी सुबिसुको पोर्टलबाटै पाइने
काठमाडौं । इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले आफ्ना ग्राहकका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ । सुबिसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकले आफुले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिन सक्नेछन् । साथै अनलाइन भुक्तानीबाट सेवा नविकरण गर्न पनि सक्छन् भने आफ्नो हालको सेवालाई आफुले चाहे अनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न सक्नेछन् । ग्राहकको सहजता एवम् सेवाको पारदर्शीताका लागि सेल्फ केयर पोर्टल सञ्चालन गरिएको विश्वास लिइएको छ । र आउने दिनहरुमा यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु पनि थपिदै लगिने छ । सुबिसु सेल्फ केयर पोर्टल selfcare.subisu.net.np बाट प्रयोग गर्न सकिने छ साथै www.subisu.net.np मा रहेको customer login द्वारा पनि प्रयोग गर्न सकिने छ ।
शिक्षक र विद्यार्थीकाे लागि टेलिकमकाे सस्ताे डाटा प्याक, ३१५ रुपैयाँमा २४ जीबी
काठमाडौं । कोभिड-१९ का कारणले ठप्प भएको पठनपाठन र अनुसन्धानका कार्य सुचारु गर्नका लागि विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच सोमबार सम्झौता सम्पन्न भएको छ । शिक्षा मन्त्रालयमा आयोजित एक समारोहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणी पोखरेलको समुपस्थितिमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रशासकीय अधिकृत सुभाष चन्द्र ढुंगेलबीच सम्झौता सम्पन्न भएको हो । कोभिड-१९ ले शैक्षिक सत्रलाई पार्नसक्ने प्रभावलाई न्यूनीकरण गर्नको लागि विश्वविद्यालय अनुदान आयोगले वैकल्पिक शिक्षा प्रणालीलाई सहज बनाउन तयार गरेको खाका ‘गाइडलाइन्स फर फ्यासिलिटेटिङ मोड अफ लर्निङ इन हाइयर एजुकेसन २०७७’ लाई मध्यनजर गरी सो सम्झौता भएको टेलिकमले जनाएकाे छ । सो सम्झौता अनुसार मुलुकका सबै विश्वविद्यालय र ती अन्तर्गतका आंगिक क्याम्पसहरुमा अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्न सबैलाई नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक उपलब्ध गराउने छ । सो प्याकेज अन्तर्गत रु. ३१५ मा २४ जीबी र रु. ५०० मा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने टेलिकमले जनाएकाे छ । ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ । यो प्याकेज प्रयोग गर्नका लागि विद्यार्थी, प्राध्यापक वा अनुसन्धानकर्ताहरुले [email protected] मा इमेल पठाउन सक्नेछन् । साथै नेपाल टेलिकमको वेबसाइट बाट यो सेवा उपलब्ध गराउनका लागि आवश्यक तयारी गरिरहेको टेलिकमले जनाएकाे छ । सो समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणी पोखरेलले नेपालको शिक्षा प्रणालीलाई प्रविधिमैत्री बनाउने प्रयास चुनौतीहरुको सामना गर्दै चाँडै कार्यरुपमा उत्रन लागेको बताए । उनले मुलुकको उच्च शिक्षाको व्यवस्थापन गरिरहेको आयोग र अत्याधुनिक दूरसञ्चार सेवा प्रदान गरिरहेको टेलिकमबीच भएको यो सम्झौताले विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्ताले किफायती मूल्यमा प्रविधिको प्रयोगबाट शिक्षा र ज्ञान आदानप्रदान गर्नसक्ने उल्लेख गरे । यसैगरी सो अवसरमा आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले जस्तोसुकै संकटको अवस्थामा पनि मुलुकको शैक्षिक कार्यक्रमहरु नरोक्न र सहजरुपले सरल मूल्यमा पठनपाठन र अनुसन्धानका कामहरु जारी राख्न यो सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । सो कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विषम अवस्थामा मुलुकको शैक्षिक वातावरण सहज बनाउन कम्पनीले सक्नेसम्म सबै कार्यहरु गर्ने उल्लेख गर्दै यसलाई कम्पनीले राष्ट्रिय दायित्वको रुपमा लिएको बताए ।
विद्युतीय कारोबार गर्ने ह्वात्तै बढे, असारमा मात्रै मोबाइल बैंकिङमार्फत १८ अर्बको कारोबार
काठमाडाैं । पछिल्लो समय नेपालमा विद्युतीय कारोबार गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आर्थिक प्रतिवेदनका अनुसार विद्युतीय कारोबार गर्नेहरुको संख्या ह्वात्तै बढेको देखिन्छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण ४ महिना लामो लकडाउनमा विद्युतीय कारोबार गर्नेको संख्या वृद्धि भएको तथ्यांकबाट देख्न सकिन्छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार २०७७ असारमा वालेट प्रयोग गर्नेहरुको संख्या १ करोड १ लाख ७९ हजार, कनेक्ट आइपीएस प्रयोग गर्नेहरुको संख्या ६ लाख ९६ हजार, आइपीएस प्रयोग गर्नेहररुको संख्या ५ लाख ९६ हजार, मोबाइल बैंकिङ प्रयोग गर्नेहरुको संख्या ५८ लाख १७ हजार, एटीएम प्रयोग गर्नेको संख्या ६३ लाख २ हजार र इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या ६ लाख ५३ हजार रहेको छ । यस्तै, जेठमा वालेट प्रयोग गर्नेहरुको संख्या १ करोड २७ लाख, कनेक्ट आइपीएस प्रयोग गर्नेहरुको संख्या ४ लाख ६५ हजार, आइपीएस प्रयोग गर्नेहररुको संख्या २ लाख ८४ हजार छ भने मोबाइल बैंकिङ प्रयोग गर्नेहरुको संख्या ५१ लाख ९६ हजार र इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या ४ लाख ९५ हजार पुगेको छ । जेठमा एटीएम प्रयोग गर्नेहरुको संख्या भने ४६ लाख ६२ हजार रहेको छ । यस्तै, बैशाखमा वालेट प्रयोग गर्नेहरुको संख्या ९६ लाख ३९ हजार, कनेक्ट आइपीएस प्रयोग गर्ने, ३ लाख १६ हजार, आइपीएस प्रयोग गर्ने २ लाख ८४ हजार, मोबाइल बैंकिङ प्रयोग गर्ने ४६ लाख ४२ हजार थिए भने इन्टरनेट बैंकिङ प्रयोग गर्ने ३ लाख ७३ हजार थिए । यस्तै बैशाखमै एटीएम प्रयोग गर्नेहरुको संख्या ३४ लाख ८८ हजार रहेको थियो । यसैगरी २०७७ बैशाखमा देशभर ४ अर्ब ३३ करोडको कारोबार वालेटबाट भएको थियो । यो आकार असारमा भने बढेर १० अर्ब माथि पुगेको छ । बैशाखमा वालेटबाट ९६ लाख ३९ हजार २२८ वटा कारोबार भएकोमा त्यो बढेर असारमा १ करोड १ लाख ७९ हजार ५ सय ५७ पुगेको छ । यो अवधिमा मोवाइल बैंकिंङबाट हुने कारोबार ८ अर्ब ६४ करोडबाट बढेर १८ अर्ब ८३ करोड माथि पुगेको देखिएको छ । एटीएम, डेविट कार्ड, क्रेडिट कार्ड, आरटिजिएस, इसीसी, आइपिएस र कनेक्ट आइपीएसबाट हुने कारोबारको रकम तथा संख्या समेत ह्वात्तै बढेको देखिन्छ ।