टेलिकमले अपग्रेड गर्यो नयाँ सिष्टम, डाटा सेवा उच्च गतिमा चल्ने

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवाको नयाँ सिष्टम अपग्रेड गरी सम्पन्न गरेको छ । कम्पनीले नयाँ पिसिआरएफ सिस्टम जडान गरी पुराना ग्राहकहरुलाई स्तरोन्नति गरिएको सिस्टममा माइग्रेट गर्ने कार्य सम्पन्न गरेको हो । कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पीसीआरएफ (पीसीआरएफ-पोलिसी एण्ड चार्जिङ रुल्स फङ्सन) सिष्टमबाट जिएसएम प्रविधि अन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले पीसीआरएफ सिस्टमलाई स्तरोन्नति गरे पश्चात् सेवाग्राहीले उच्च गतिमा डाटा सेवा सहजरुपमा प्रयोग गर्न सक्नेछन् । यसबाट डाटाको स्पिड बढ्नुका साथै डाटा चलाउँदै गर्दा प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज पनि प्राप्त गर्नेछन् । यस स्तरोन्नतिबाट कम्पनीको जीएसएम टुजी/थ्रीजी/फोरजी अन्तर्गतका डाटा सेवा ग्राहकवर्गका लागि थप प्रभावकारी र आकर्षक हुने कम्पनीको विश्वास रहेको छ ।

अज्ञात समूहले टावर तोडफोड गरेपछि बैंकिङ कारोबार ठप्प

सिमकोट । अज्ञात समूहले चङ्खेली गाउँपालिका–३ स्थित रिमीको वल्र्डलिङ कम्युनिकेसन लिमिटेडको टावर तोडफोड गरेपछि सेवाग्राही मर्कामा परेका छन् । वल्र्डलिङका सामग्रीमा क्षति पुगेपछि सर्केगाड र चङ्खेली यी दुवै गाउँपालिकाको कामकाजमा असर परेको हो । गत फागुन ५ गते रातिको समयमा एक अज्ञात समूहले टावरसँग जोडिएका सबै तार र अन्य सामग्रीलाई तोडफोड गरेपछि गाउँपालिकाका सबै सेवाग्राही समस्यामा परेको वल्र्डलिङ कम्युनिकेसनका जिल्ला संयोजक रामजन रावतले बताए । रावतका अनुसार चैखेली गाउँपालिकामा रहेका वडा नं १ देखि ६ सम्मका कार्यालय, स्वास्थ्यचौकी, विद्यालय, स्वयं चङ्खेली गाउँपालिका कार्यालय तथा सर्केगाड गाउँपालिकाको सिटिजन्स बैंकको कारोवार ठप्प हुनुका साथै इलाका प्रशासन, सर्केगाडका वडा कार्यालय, स्वास्थ्यचौकी तथा विद्यालय समस्या भएको महिला कल्याण फिल्ड संयोजक पदमराज हमालले बताएका छन् । सर्केगाड, चङ्खेली, ताजाकोट र अदानचुली गाउँपालिकाका नागरिक सेवा लिन सदरमुकाम सिमकोट नै धाउनुपर्ने बाध्य छन् । त्यस्तै एक ठाउँबाट अर्को ठाउँमा ‘इमर्जेन्सी डकुमेन्ट मेल’ गर्न समस्या भएको गाउँपालिका कार्यालयले जानएको छ । सो टावर तोडफोड गर्ने व्यक्तिको खोजीका लागि मिमि प्रहरीचौकीले अनुसन्धान गरिरहेको जनाएको छ ।

रेडियो नेपालको प्रसारण पहुँच ७७ वटै जिल्लामा पुर्याउन सञ्चारमन्त्री डा. खतिवडाको निर्देशन

काठमाडौं । अर्थ, सञ्चार तथा सुचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले रेडियो नेपालको प्रसारण सामग्री र पहुँचलाई मुलुकका ७७ वटै जिल्लामा प्रभावकारी रुपमा पुर्याउने गरी योजना बनाउन निर्देशन दिएका छन् । डा. खतिवडाले शुक्रबार सिंहदरबारस्थित रेडियो नेपालको केन्द्रिय कार्यालयको निरिक्षणका क्रममा रेडियो नेपालको आधुनिकिकरणको प्रयास सकारात्मक रहेको बताए । उनले प्रशारणको नियमित अनुगमन गरी समय अनुरुप परिमार्जन गर्दै देशैभर सुनिने रेडियो प्रशारण सेवालाई प्रभावकारी बनाउँन निर्देशन दिएका छन् । मन्त्री खतिवडाले पछिल्लो समय फैलिएको कोभिड १९, कोरोना भाईरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएकाले यसबाट त्रसित नहुन तर सचेत र सतर्कता अपनाउने गरी सबैमा जनसचेतनामुलक सुचना प्रचार सामग्री प्रसारण गर्न पनि आग्रह गरे । रेडियो नेपालको वजेटको अर्धवार्षिक समिक्षा गर्न र त्यस अनुरुपको योजना बनाउन, रेडियो नेपालका बैद्धिक सम्पतिको संरक्षण तथा व्यवसायिक उपयोगमार्फत् आम्दानी बढाउन, त्यसबाट पेन्सन कोषको व्यबस्था गराउन र रेडियो नेपालबाट प्रसारित गीत संगीतको डिजिटिलाईजेशन गरी त्यसबाट समेत आम्दानी गर्न खतिवडाले निर्देशन दिएका छन् । उनले रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थानलगायतका राज्यका संचार माध्यम बीचको अनतरसम्बन्ध बलियो हुनुपर्नेमा जोड समेत दिए । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री समक्ष रेडियो नेपालले गरिरहेका कामकारवाही र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । त्यस अवसरमा रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष समेत रहेका सञ्चार मन्त्रालयका सचिव दिपक सुबेदीसहित मन्त्रालयका पदाधिकारीहरु पनि सहभागी थिए ।