स्मार्ट च्वाइसको स्मार्ट क्यूआर सेवा सञ्चालनमा, अनलाइन भुक्तानी थप सजिलाे हुने

काठमाडाैं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले कुइक रेस्पोन्स कोड (क्यूआरसी) भुक्तानी प्रणाली स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तीमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकिकृत गर्न सक्ने गरी यो स्मार्ट क्यूआर सञ्चालनमा ल्याइएको बताइएको छ । नेपाल राष्ट्र बैंकको नगदरहित कारोवारलाई बढावा दिँदै वित्तीय कारोबार अघि बढाउने नीति अनुरुप विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई विश्वस्तरीय, सुरक्षित सेवा प्रदान गर्न यो प्रणाली सक्षम रहेको स्मार्ट च्वाइस टेक्नोलोजिजका निमित प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले बताए । मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा योगदान गर्ने कम्पनीको नीति र प्रतिबद्वता अनुसार यो सेवा सञ्चालनमा ल्याईएको उनले बताए । परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने कम्पनीको लक्ष्य रहेको बताइएको छ । स्मार्ट क्यूआरको प्रयोगबाट छिटो, मितव्ययी र सरल ढंगले क्युआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुनेछ । विशेषतः यस क्यूआरसी भुक्तानी प्रणालीबाट आवद्ध भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुले इएमभिको स्टान्डर स्ट्याटिक वा डाइनामिक क्यूआर कोड जेनेरेट गरी स्वदेशी तथा बिदेशी क्यूआर भुक्तानी सेवाहरुको बीचमा पनि सहजै कारोवार गराउन सक्नेछन । स्मार्ट क्यूआरको सञ्चालनमा आइएमई पे, प्रभु पे, क्यू पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक र अन्तर्राष्ट्रिय संस्था युनियन पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको कम्पनीले जनाएको छ । आगामी दिनमा यस प्रकारको सेवा प्रदान गर्ने स्वदेशी तथा बिदेशी संस्थाहरुको अधिक संलग्नता गराँउदै यसको पहुँचलाई अझै बिस्तार गर्दै लैजाने लक्ष्य लिईएको छ । राष्ट्रको भुक्तानी प्रणालीको डिजिटाइजेशन प्रक्रियामा आफ्ना ग्राहकलाई आधुनिक सेवा प्रदान गर्न कम्पनी सधैं अग्रसर रहने बताइएको छ ।

किन प्रयोग गर्ने टेलिकमको कल ट्रान्सफर सेवा ?

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण हाल विश्वभरी नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत संकुचित हुनुका साथै व्यवसायलाई निरन्तरता दिने शैलीमा परिवर्तन आएको छ । वर्क फ्रम होम अर्थात् घरबाटै कार्यालय वा व्यावसायिक काम गर्ने शैलीलाई विस्तारै आत्मसात गरिँदैछ । यस्तो अवस्थामा ग्राहक वा सेवाग्राहीले कार्यालय/पसलमा फोन गर्दा कर्मचारीको अनुपस्थितिले फोन उठाउन र सेवा लिन वा दिनबाट वञ्चित हुनुपर्ने पनि देखिएको छ । यस्तै असामान्य परिस्थितिमा नेपाल टेलिकमले विगतदेखि उपलब्ध गराउँदै आएको कल ट्रान्सफर सुविधाले केही राहत दिनसक्छ । नेपाल टेलिकमका तारवाला टेलिफोनमा आउने फोन कलहरु अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिन्छ । सबै आगमन कललाई सिधै वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा नेपाल टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैंले कल ट्रान्सफर गर्न सकिन्छ । यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन कलहरु नछुटाई अर्को फोनमा उठाउन सकिन्छ । यो सेवा ग्राहकले नजिकैको नेपाल टेलिकमको कार्यालयमा गई निःशुल्क रुपमा सुचारु गराउन सकिन्छ । सेवा प्राप्त भएपश्चात ग्राहक स्वयंले नै चार अंकको लक कोड नम्बर आवश्यकता बमोजिम प्रयोग गरी डाइरेक्ट कल ट्रान्सफर अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा ट्रान्सफर हुने व्यवस्था मिलाउन सकिन्छ । कल गरिएको नम्बर व्यस्त भएमा बिजी ट्रान्सफर अर्थात् व्यस्त हुँदा तत्काल अर्को नम्बरमा ट्रान्सफर हुने तथा नो एन्सर ट्रान्सफरमा चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा ट्रान्सफर हुने सुविधा आवश्यकता बमोजिम उपयोग गर्न सकिन्छ । कल ट्रान्सफर वा अन्य प्रयोजनका लागि प्रयोग हुने लक कोड ग्राहक आफैंले परिवर्तन पनि गर्न सकिन्छ । यी सुविधाहरु देशभरका नेपाल टेलिकमका ल्याण्डलाइन नम्बरहरुमा उपलब्ध छन् । सबै सुविधाहरु एक्टिभेसन र डिएक्टिभेसन गर्न आफ्नो एक्सचेञ्ज अनुरुप केही किओर्डहरु डायल गर्नुपर्ने हुन्छ जसको विवरण नजिकको दूरसञ्चार कार्यालय वा कम्पनीको वेबसाइटबाट प्राप्त गर्न सकिन्छ ।

तपाईको मोबाईल फोन हरायो ? दुरसंचार प्राधिकरणमा खबर गर्नुस्

काठमाडौ । नेपाल दुरसंचार प्राधिकरणले सर्वसाधारणहरुलाई लक्षित गर्दै ‘मोबाईल ट्रयाकिङ्ग’ सेवा ल्याएको छ । यस मोबाईल ट्रयाकिङ्ग सेवा मार्फत कसैको मोबाईल फोन हराएमा अब सहजै पत्ता लगाउन सकिनेछ । एकपटक चलाई सकेको फोनको रेकर्ड दुरसंचार प्राधिकरणमा बस्छ । यस्तै, (सेवा प्रदायक) दुरसंचार कम्पनीहरुमा समेत प्रयोग भएका फोनको रेकर्ड रहिरहन्छ । प्राधिकरणले मोबाईल फोनसेटको पहिचानको रुपमा हरेक मोबाईल फोनसेटमा रहेकाे इन्टरनेशनल मोबाईल इक्युइपमेन्ट आर्ईडेन्टिटी (आईएमईआई) बाट मोबाईलको पहिचान आफूहरुसँग रहने जनाएको छ । मोवाईल ट्रयाकिङ्ग सिस्टम मार्फत कसैले आफ्नो मोबाईल फोन हराएमा एनटीएलाई उजुरी गर्न सक्नेछन् । एनटीएले एक पटक प्रयोग भएको फोन अर्को पटक प्रयोग हुँदा सहजै पत्ता लाग्ने भन्दै कसैले हराएका फोन भेट्टाएमा तत्काल फिर्ता दिन सूचना जारी गरेको हो ।