इन्जिनियरिङ्ग कलेज चाँंगुनारायणका विद्यार्थीले गरे गोजीमा राख्ने ईसीजीको विकास

काठमाडौं । नेपाल इन्जिनियरिङ्ग कलेज चाँंगुनारायणका विद्यार्थीले गोजीमा राख्ने ईसीजीको विकास गरेका छन् । कलेजका ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन संकाय दोस्रो बर्षमा अध्ययनरत विद्यार्थीले अत्यन्तै कम लागतमा यति सस्तोमा यो उपकरण बनाउन सफल भएका छन् । सहप्राध्यापक सचिन श्रेष्ठको निरीक्षणमा चूडामणि भट्टराई, सिद्धार्थकुमार यादव र सुवास कोइरालाले चौथो सेमेस्टरको मिनि प्रोजेक्ट अन्तर्गत बनाउँदै गरेको उक्त उपकरणको आकार एउटा सानो सलाईको बट्टा जत्रो हुने जनाइएको छ । जसको लागत नेपाली दुईदेखि तीनहजार रूपैयाँसम्म पर्ने उनीहरुले बताएका छन् । यो उपकरणमा अहिलेलाई मुटुको इसीजी प्रत्यक्ष रुपमा कम्प्युटरमा देखाउन र प्रिन्टरमा प्रिन्ट गर्न मिल्ने जनाइएको छ । साथै, यसले मुटुको धड्कनको गति देखाउने आदि सुबिधा पनि यसमा छन् । तर छिट्टै त्यसमा आवश्यक सुधार गर्दै ब्लुतूथ तथा वाईफाईका माध्यमले अन्य बिद्धुतीय साधनसँग जोडिने विद्यार्थीले बताएका छन् । यसले मुटुका बिरामीको यथास्थितिकाबारेमा डाक्टरसमक्ष प्रत्यक्ष जानकारी पठाउन सकिने उनीहरुले बताए । विद्यार्थी चूडामणि भटराईले यो साधन ब्याट्रीबाट एक साता भन्दा बढी चल्ने हुँदा यसलाई जसले पनि सजिलै गोजिमा बोकेर हिड्न सक्ने जनाए । विशेष गरी उक्त उपकरणलाई गाऊँगाऊँका स्वास्थ्य संस्थामा बिरामीजाँच गर्न र मुटुका बिरामीले चौवीसै घण्टा आफ्नो मुटुको सजिलै निरीक्षण गर्न सक्ने उनले जनाए । यसको सफल परीक्षणपछि ईएमजी, ईईजी जस्ता उपकरणमा पनि आफ्नो चासो रहेको जानकारी अर्का विद्यार्थी सिद्धार्थकुमार यादवले बताए । उनले चिकित्सा उपकरणलाई कसरी सर्वसुलव तथा सजिलै मर्मतसंभार गर्न सकिने खालका बनाउने भन्नेमा आफूहरुको अध्ययन केन्द्रित रहनेछ । टोलीका अर्का विद्यार्थी सुवास कोइरालाले युरोपबाट सोही विषयमा अनुसन्धान गरी फर्किएका आफ्ना सहप्राध्यापक सचिन श्रेष्ठको सहयोगका लागि विशेष आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि सबैको साथ र सहयोग भए नेपालमै थुप्रै उपकरणहरु बनाउन सकिने बताए । बेलाबेलामा हुने ईनजिनीयरिङ्ग प्रदर्शनीको खाँचो औँल्याउँदै उनले नेपाल इन्जिनियरिङ्ग कलेजले हालै आयोजना गरेको ‘नेक ईन्जेनियम २०१९’ आफूहरुका लागि एउटा सुवर्ण अवसर सावित भएको बताए । गएको साउन ५ गते आइतबार नेपाल इन्जिनियरिङ्ग कलेजले आयोजना गरेको प्रदर्शनीका मुख्य आकर्षणहरुमध्ये सो उपकरण पनि एउटा रहेको थियो । करिब दुईसय बढी सहभागीहरुले उक्त उपकरण प्रयोग गरी ईसीजी परीक्षण गरेको दावी उनीहरुको रहेको छ ।

लेखनाथमा खुल्यो भायनेटको नयाँ शाखा

काठमाडौँ । नेपालको अग्रणी इन्टरनेट र टिभी सेवा प्रदायक भायनेट कम्युनिकेशनले पोखराको लेखनामा नयाँ शाखा सञ्चालन गरेको छ । नेपालभर सेवा विस्तार गर्ने लक्ष्यका साथ अघि बढेको भायनेटले आफ्नो १५ औं शाखा तालचोक स्थित बराल कम्प्लेक्समा सञ्चालन गरेको हो । विगत १९ वर्षदेखि भायनेटले ब्रोड–ब्याण्ड सेवा प्रदान गर्दै आएको छ । सन् २०११ मा भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक्स सेवा अर्थात एफटीटीएच इन्टरनेट सेवा सुचारु गरेको थियो । सन् २०१६ मा भायनेटले आफ्नो ग्राहकहरुलाई उच्चस्तरीय टिभी सेवा प्रदान गर्नको निमित्त ८० भन्दा बढी एचडी च्यानल सहित २३० वटा च्यानल भएको एनईटीटीभीसँग साझेदारी गरेको थियो ।

जाजरकोटमा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध, निर्माणधीन सात टेलिफोन टावर अलपत्र

जाजरकोट । जाजरकोट सदरमुकामलगायत जिल्लाको विभिन्न स्थानमा चार दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । पटकपटक अवरुद्ध हुने टेलिफोनले गर्दा यहाँका स्थानीय हैरान छन् । नेपाल टेलिकमको चरम लापरवाहीका कारण यहाँका स्थानीय हैरान भएका छन् । मर्मतका लागि पटक पटक कुरा गरे पनि काम नभएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । टावरको कभरेज कम भएकाले टावर आए पनि नेपाल टेलिकमको सदरमुकामस्थित टावरबाट करिब एक किमि दूरीमा रहेका स्थानीयका घरमा समेत टेलिकमको टुजी चल्दैन । खलङ्गा बजारभित्रै पनि फोनको गतिलो पहुँच नहुँदा यहाँका सेवाग्राही मर्कामा परेका छन् । इन्टरनेट सेवा कमजोर हुँदा काममा समस्या भएको छ । मोबाइल फोन, नेटवर्क र इन्टरनेटको समस्या स्थानीय बासिन्दालाई मात्र नभइ सरकारी कार्यालय, वित्तीय संस्था, स्थानीय तहमा समेत परेको छ । सदरमुकाम खलङ्गा बजार क्षेत्रमा पर्ने थाप्ले, ठाँटी, थाप्लेचौर, स्याँला, पिपे, रिम्ना, रिसाङ, कल्याणपुरलगायत स्थानमा समेत नेपाल टेलिकम मोबाइल सेवाको काम नगर्दा समस्या हुँदै आएको छ । टेलिकमले नियमित टावर मर्मत, नयाँ टावर निर्माण, क्षमता विस्तार, पावर अपडेट, लाइन सुधार गर्नेलगायत काम नगर्दा फोन तथा इन्टरनेटको सुविधा भरपर्दो नभएको स्थानीयवासी प्रकाश शाहीले बताए  । यसरी, टेलिफोन र इन्टरनेटकै कारण दुर्गमका सेवाग्राहीले सरकारी सेवा लिन सास्ती व्यहोर्नुपरेको छ । जिल्लामा आवश्यकताअनुसार टावर निर्माण तथा मर्मत नहुँदा ग्रामीण क्षेत्रका बासिन्दा पनि टेलिफोन सेवाबाट वञ्चित भएका छन् । कुशे गाउँपालिकाको लाताचुली र जुनीचाँदे गाउँपालिका मजकोटको स्काई टावर बिग्रिएको एक वर्ष बितेको छ तर सम्बन्धित निकायले पुरानो टावर मर्मत र नयाँ टावर निर्माणमा बेवास्ता गरेको स्थानीय जुनीचाँदेका रेशमबहादर खड्काले बताउनुभयो । कुशे, जुनीचाँदे र बारेकोट गाउँपालिकाका बासिन्दालाई फोनमा कुरा गर्न दुई घण्टा उकालो चढेर डाँडामा पुग्नुपर्ने बाध्यता छ । निर्माणाधीन सात टेलिफोन टावर अलपत्र जिल्लामा निर्माणाधीन सात ठाउँमा टावर अलपत्र अवस्थामा परेका छन् । रतनकोट, गडी, रातापटान, लाँताचुली, चिउँदुवा, भैरीलेकलगायत स्थानमा निर्माणाधीन टावर अलपत्र परेका हुन् । ठेकेदार कम्पनीले लापरवाही गरेको टेलिकमले जनाएको छ । टावर निर्माणका लागि ठेकेदार कम्पनीसँग दुई वर्षअघि सम्झौता भएको थियो । नलगाड नगरपालिका–२ को गडी, बारेकोट गाउँपालिका ५ को रतनकोट, ९ को लेकचौर, २ को रातापटान, कुशे गाउँपालिका ८ को लाँताचुली, शिवालय गाउँपालिका ५ को चिउँदुवा र जुनीचाँदे २ स्थित भैरीलेकको नमस्ते मोबाइल टावर निर्माण अलपत्र छन् । टावर निर्माणका लागि टेलिकमले गत वर्षको अक्टोबरमा १ वर्षमै काम सक्ने गरी भारतीय कम्पनी एस्टर नेपाल प्रालिसँग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले टावर निर्माणमा लापरवाही गरेको मध्यपश्चिम क्षेत्रीय निर्देशनालय नेपालगञ्जका प्राविधिक प्रमुख शिव खनालले बताएका छन् । बाटुले, छेडा, चाल्ना, लाता, जिन्ताला, पाँचकाटीया, सक्ला, काप्ती, घाट, दह, गर्खाकोट, मनघाट, मोर्कबजार, चौखाबजार, बानियागाउँ, स्यानाखोलालगायत गहिरो स्थानका गाउँमा मोबाइल फोन सेवाको पहुँच पुगेको छैन । दुर्गम गाउँमा रहेका स्काई मोबाइल टावरबाट घाम लाग्दा नेटवर्क आउने र बादल लाग्दा नआउने समस्या छ । नेटवर्क कमजोर हुँदा समस्या भएको टेलिकमका निमित्त प्रमुख लोकेन्द्र भण्डारी बताउँछन् । उनले भने, “रातामाटा टावरको लिंकमा बारम्बार डिस्टर्ब हुँदा थप समस्या छ, टावरको क्षमताभन्दा मोवाइलकर्ताको सङ्ख्या बढी हुँदा पनि नेटवर्कको समस्या भएको हो ।” बजारबाट वितरण भएका सिमको गणना हुन नसकेको उनी बताउँछन् । त्यस्तै, छिमेकी जिल्ला डोल्पाको मुड्केचुलाको नकुमा निर्माण गर्ने टावरका सामग्री वर्ष दिनदेखि रुकुमको त्रिवेणीमा अलपत्र अवस्थामा परेको छ । रासस