टेलिकमद्वारा ‘डाटा रोमिङ प्याक’ सञ्चालन, भारत भ्रमणमा जानेलाई सुबिधा
काठमाडौँ । नेपाल टेलिकमले कात्तिक ०१ देखि लागु हुनेगरी अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ । डाटा रोमिङ प्याक दैनिक, साप्ताहिक र मासिक गरी तीन प्रकारका छन् । दैनिक प्याक अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिनेगरी १ सय २५ रुपैयाँमा १०० एमबीको डाटा रोमिङ प्याक उपलब्ध गराइएको छ । यसैगरी साप्ताहिक प्याकमा ७ दिनसम्म प्रयोग गर्न सकिने गरी ५ सय ५५ रुपैयाँमा ५०० एमबी डाटा तथा मासिक प्याक अन्तर्गत २८ दिन प्रयोगमा ल्याउन सकिने गरी १ हजार १ सय २५ रुपैयाँमा १ जीबी डाटा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । डाटा रोमिङ प्याक सुविधा उपभोग गर्नका लागि ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गरेको हुनुपर्दछ । प्रिपेड ग्राहकहरुले आफ्नो मोबाइलबाट *1415# डायल गरी वा नेपाल टेलिकम मोबाइल एप मार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सक्नेछन् । पोष्टपेड मोबाइल ग्राहकहरुले यो सेवा हालका लागि ग्राहक सेवा केन्द्रबाट सुचारु गर्नु पर्नेछ । खरिद गरेकै समयदेखि उपरोक्त प्याकको मान्यता अवधि गणना हुने भएकाले ग्राहकहरुको सहजताका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा लिएर भारत पुगी त्यहाँका स्थानीय नेटवर्कमा रजिष्टर्ड भइसकेपछि मात्र रोजाइका प्याकहरु नेपाल टेलिकम एप मार्फत अथवा यूएसएसडी कोड *1415# डायल गरी खरिद गरेमा प्याकको पूर्ण सदुपयोग गर्न सकिने नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् । कम्पनीले गत भदौ २० देखि नै भारतमा डाटा रोमिङ सेवा उपलब्ध गराइरहेको छ र पर्वहरुको अवसरमा ग्राहकहरुलाई विशेष सुविधा प्रदान गर्न झण्डै स्थानीय दरमै डाटा रोमिङ प्याक ल्याइएको हो । हाल सञ्चालनमा ल्याइएको डाटा रोमिङ प्याक कम्पनीका पोस्टपेड र प्रिपेड दुवै मोबाइलमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
आठ करोडको लागतमा बन्यो राष्ट्रिय आविष्कार केन्द्र, सातवटा प्रडक्ट बिक्रीका लागि तयार
काठमाडाैं । ‘नेपालमा सियो पनि बन्दैन’ यो वाक्यले आम नेपालीहरुलाई पनि गिज्याउँछ । केही सामाग्री विदेश जान्छन् र त्यहि सामानले केहि आकार लिएर नेपाल भित्रिन्छन् । यो प्रक्रियाले नेपाल र नेपाली अर्थतन्त्रमा ठूलो घाटा गरेको छ । यहि घाटा र सास्तीलाई मध्यनजर गर्दै डा. महाबिर पुनले राष्ट्रिय आविस्कार केन्द्रको स्थापना गरे । अनुसन्धानमा नविनता र प्रबिधि मार्फत नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउने र प्रतिभावान नेपालीको सीप उपयोग गरी नयाँ कुरा आविस्कार गर्ने उद्देश्यका साथ उनले सन् २०१७ देखि आविस्कार केन्द्रको भौतिक काम सुरु गरे । केहि समय आर्थिक अभावले आविस्कार केन्द्र बनाउन नसकिने भन्दै आफुले प्राप्त गरेका अमूल्य पदक लिलामीमा समेत राखे । नेपाली युवालाई नयाँनयाँ आविस्कार, खोज र अनुसन्धानमा प्रेरित गर्ने उद्देश्यकाले आर्थिक जोडतोडका लागि कठोर संघर्ष पनि गरे । यहि संघर्ष र विभिन्न दाताहरुको आर्थिक तथा सामाजिक सहयोगले शुक्रबार त्रिभुवन विश्वबिद्यालयको परिसर भित्र उनले राष्ट्रिय आविस्कार केन्द्र भवनको उद्घाटन गराउन सफल भए । करिब ६ हजार स्क्वायर फिटमा एक ठूलो भवन बनेको छ । जहाँ नविनतम आविस्कारसँग रम्ने र केहि आइडिया भएका युवाहरु जानेछन् र नयाँ प्रबिधिसँग खेलेर आफु र देश आर्थिक समृद्धिका लागि केहि योगदान गर्नेछन् । हाल आविस्कार केन्द्रमा ४८ जनाले विभिन्न क्षेत्र र प्रविधिसँग सम्बन्धित कामहरु गरिरहेका छन् । अाठ करोडको लागतमा आविस्कार केन्द्र राष्ट्रिय आविस्कार केन्द्रको शुक्रबार उद्घाटन गरिएको हो । त्रिभुवन विश्वबिद्यालयका उपकुलपति सुधा त्रिपाठी, पूर्व विज्ञान, प्रविधि तथा वातावरण मन्त्री गणेश शाह, डेनमार्कका प्रोफेसर फ्लेमिङ टोप्से लगायतको उपस्थितीमा भवनको औपचारिक उद्घाटन भएको हो । सामाजिक अभियान्ता डा. पुनले आविष्कार केन्द्र निर्माण र सामानहरुको खरिदमा करिब अाठ करोड रुपैयाँ खर्च भएको बताए । शुरुमा आर्थिक जोहो गर्न धेरै गाह्रो भएपनि विस्तार सहयोगी हातहरु पनि बढ्दै गएको उनले बताए । केन्द्रको स्थापनाकै लागि विदेशी नागरिकहरुले पनि सहयोग गरेका छन् । डेनमार्कका प्रोफेसर फ्लेमिङ टोप्से, डेविड कोवासले पनि केन्द्रलाई आर्थिक सहयोग गरेको उनले बताए । आविस्कार केन्द्रका लागि आम विदेशी नेपाली संघ (म्यान्गो)ले पनि ६ लाख ६३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । डा. पुनले एनआइसी नेपाल गैर नाफामुलक कम्पनी भएकोले आविस्कारसँग सरोकार राख्ने र केहि सीप तथा आइडिया भएकाहरुले आएर काम गर्न सक्ने बताए । उनले अनुसन्धान र नविनताको संस्कृति विकास गर्नु, प्रतिभाशाली र रचनात्मक व्यक्तिलाई विदेश जानबाट रोक्नु र उनीहरुको प्रतिभालाई आर्थिक विकासको लागि प्रयोग गर्नु केन्द्रको मुख्य उद्देश्य भएको बताए । भवन उद्घाटन कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयकी उपकुलपति त्रिपाठीले आविस्कार केन्द्रको स्थापनाले नेपाली विद्यार्थीहरुलाई धेरै सहयोग पुग्ने बताइन् । उनीहरुको प्रतिभालाई उत्प्रेरित गरेर विदेश जानबाट रोक्न केन्द्रले भूमिका खेल्ने उनले बताइन् । पुर्व विज्ञान,प्रविधि तथा वातावरण मन्त्री गणेश शाहले पनि बालबच्चाहरुको र प्रविधीसँग रम्न खोज्नेहरुको साथसाथै देशका आर्थिक विकासका लागि पनि टेवा पुग्ने बताए । गुन्द्रुक पकाउनेदेखि गाडी बनाउने काम गरिँदै हाल आविष्कार केन्द्रमा विभिन्न प्रविधिहरुको सहायताले विविध मेसिनहरु निर्माण भइरहेका छन् । ती विभिन्न कामका लागि ४८ जना विद्यार्थी खटिएको पुनले बताए । केहि आइडिया भएकाहरुले केन्द्रमा आएर काम सिक्न सक्ने उनले बताए । उनीहरुको सपोर्टका लागि सम्पूर्ण सामाग्रीहरु उपलब्धता गराउने, उनीहरुको पकेट खर्च पनि केन्द्रले दिने उनले बताए । ‘पढेकाहरुसँग मात्र केहि आइडिया हुन्छ भन्ने आम मानिसहरुको मानसिकता हुन्छ’ उनले भने-‘नपढेकाहरुसँग पनि केहि आइडिया छ भने हामी उनीहरुलाई सहयोग गर्न तयार छौं, त्यो काम सफल होस् वा नहोस् ।’ काम सफल भएपछि व्यवसायिक रुपमा लागेर स्वयम् व्यक्ति र देशका लागि टेवा पुग्नु पर्ने उनले बताए । हाल केन्द्रमा २० प्रोडक्टका कामहरु भइरहेका छन् । सुर्यको तापबाट पानी तताउने मेशिन, तरकारी नकुहिने मेसिन, बेबी वारमर, इलेक्ट्रीक मेडिकल सिस्टम, मेडिकल ड्रोन, होमस्टे बुकिङ सिस्टम, मोटर एण्ड ब्याट्री डेभलप मेसनहरु बनिरहेको पुनले बताए । यस्तै बाँदर तर्साउने मेसिन, अगरबत्ती बनाउने मेसिन, सेलरोटी, गुन्द्रुक बनाउने मेसिन र अनलाइन टिकट बुकिङ सिस्टम पनि भयरहेको उनले बताए । केन्द्रमा आविस्कारका लागि लागेका विद्यार्थीहरुले प्लास्टिक बोतल रिसाक्लिङ सिस्टम, क्लोथ वासिङ मेसिन पनि बनिरहेका बताए । हाल केन्द्रमा सातवटा प्रडक्टहरु विक्रि वितरणका लागि तयार भएको उनले बताए ।
सोर्स कोड दिन बाध्य बनाउँदा एनआरएनको निर्वाचनमा मेसिन चलेन: राम-लक्ष्मण
काठमाडौं । गैर आवासीय नेपाली संघको निर्वाचनमा मतदान गर्ने मेसिनले काम नगर्नुमा आयोजक नै दोषी भएको प्राविधिक काम गर्दै आएको युवा बैंज्ञानिकद्वय राम लक्ष्मण रिसालले बताएको छन् । ‘जब मेशिन तयार गर्दै गर्दा मेशिनको सोर्स कोड चाहियो नत्र निर्वाचन हुन नदिने भनी एक पक्षले प्राविधिक टोली पठायो । पहिल्यै ढिलो भइसकेको सेड्युलको झण्डै १ घण्टा त्यसैमा बिताउनु पर्यो । प्राविधिक टोलिलाई सोर्स कोड दिन पनि हामी बाध्य भयौं’ मेसिनले काम नगरेको विषय प्रष्टपार्न राम लक्ष्मणले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । उनीहरुले विगतमा पनि २ पटकसम्म एनआरएनको निर्वाचनमा आफूहरुले तयार गरेको भोटिङ मेशिन प्रयोग भएको र नेपालमा ५० भन्दा बढी निर्वाचनमा यस्तो प्रविधि प्रयोग भएको उनीहरुले बताएका छन् । ‘मतदाता नामावली देखिनै ढिलो भएको प्रकृयाले उम्मेद्वारको नामावली प्रकाशनमा अत्यन्तै ढिलो भइरहेको थियो । बाहिर रहेका मतदाताको दवाव त्यत्तिकै रहेको र जसरी पनि आश्विन २९ गते नै निर्वाचन गराउन पर्ने भन्ने कुराले हामी लगायत हाम्रा प्राविधिक समूह अत्याधिक तनावमा थियौं’ ज्यादा तनावमा काम गर्नु परेको विषयलाई उनीहरुले जोड दिएका छन् । ‘मेशिनमा प्राविधिक परीक्षण गरेर तयार पार्नको लागि समय चाहिन्छ भनेर हामीले सम्झौताकै बखतमा अन्तिम नामावलीको प्रमाणित प्रति न्युनतम् ८ घण्टा ( जसमा नामावली चढाउने, परिक्षण गर्ने, १०० नमुना मतदान गर्ने लगायतका कामहरु गर्नुपर्ने हुन्छ ) अघि दिनुपर्ने भन्ने प्रष्टै लेखेका थियौं । तर हामीले ३ घण्टा पनि समय पाएनौं । यस निर्वाचनमा यत्तिका हतारमा काम गर्न पर्ने वाध्यताले गर्दा न त निर्वाचन बाट आधिकारिक नामावली पाउन सक्यौं, न त काम गर्ने समय पनि’ उनीहरुले भनेका छन्–‘उम्मेद्वारकोनाम तस्विर राखिनसक्दै बाहिरको भिड थामिनसक्नु भयो र परीक्षणविनै मतदान शुरु गर्नु पर्ने वाध्यताले मेशिनको बट्टामा नट सम्म कस्न भ्याएनौ ।’