डोल्पामा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध
काठमाडौं । दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा समस्या भएको छ । एक महिनामा तीनपटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् । मौरेलेकमा टेलिफोन टावरमा समस्या आएको हुनसक्ने अनुमान गरिएको छ । अहिले खराब भएको ठाउँमा मर्मतका लागि कर्मचारी खटाइएको छ । सदरुमकाम दुनैबाट धेरै टाढा भएका कारण मर्मतमा समस्या भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ । अहिले फोन अवरुद्ध भएसँगै डोल्पाका सबै ठाउँको सञ्चार सम्पर्कविच्छेद भएको छ । जिल्लाभरि कम सञ्चार पहुँच भएको डोल्पामा पटक–पटक फोन सेवा अवरुद्ध हुँदा पत्रकार, कर्मचारी, स्थानीयवासी हैरान भएका हुन् । रासस
अन्तर्राष्ट्रिय गन्तव्यमा उडान बढाउँदै निगम
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप गर्ने भएको छ । निगमले भारतको नयाँ दिल्लीमा तीन र दुबई गन्तव्यमा एक उडान बढाउन लागेको जनाएको हो । अन्तर्राष्ट्रिय गन्तव्यमा उडान बढाउँदै लैजाने प्रयासअनुरुप दुई गन्तव्यमा उडान वृद्धि गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनका अनुसार निगमका जहाजको उपयोगिता बढाउन तथा उपलब्ध पाइलटबाट बढीभन्दा बढी उडान गर्ने योजनाअनुरुप हाललाई दिल्ली र दुबई उडान थप गरिएको छ । ती गन्तव्यमा उडान थपका लागि विमानस्थलबाट ‘स्लट’ पनि प्राप्त भइसकेको छ । निगमले ‘वाइडबडी’ जहाज र ‘न्यारोबडी’ जहाजमार्फत काठमाडौँ–दिल्ली गन्तव्यमा समान सात उडान गर्नेछ । यसअघि दिल्ली गन्तव्यमा हरेक साता ११ उडान भइरहेकामा हाल १४ पुर्याएको छ । यो गन्तव्यमा साताको २१ उडान भर्ने निगमको योजना छ । यस्तै दुबईमा हरेक साता तीन उडान गरिँदै आएकामा एक उडान थप गरी चार उडान पुर्याइएको छ । निगमले आन्तरिक उडानमा पूर्ण क्षमताका साथ जहाज उडाउनका लागि विमान चालकको तालिम सञ्चालन गर्न संस्थागत कार्य अघि बढाइएको जनाएको छ । वाइ–१२ जहाज उडान गर्न दुई जना वरिष्ठ पाइलटको असार मसान्तभित्रै तालिम सम्पन्न गरी जहाज सञ्चालन गर्नेतर्फ निगम सक्रिय रहेको विज्ञप्तिमार्फत जनाएको छ । निगमको ट्विनअटर जहाज सञ्चालन गर्ने आवश्यक जनशक्ति व्यवस्था गर्दै जाने योजनाअनुरुप हाल एक जना वरिष्ठ क्याप्टेन नियुक्त गरी तालिम गरिरहेको, साथै दुई वर्षदेखि रोकिएको को–पाइलटको तालिम सञ्चालन गराई एक जनाको तालिम सम्पन्न गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट लाइसेन्स प्राप्तिको प्रक्रियामा रहेको जनाएको छ । आगामी साउन मसान्तभित्र सम्पन्न गर्ने गरी बाँकी तीन जनाको पनि तालिम सञ्चालन भइरहेको छ । अन्तर्राष्ट्रिय कम्पनी विसिटीले गरिरहेको विमान मर्मतसम्भार कार्य जुलाई महिनादेखि निगमका इञ्जिनीयरबाट गर्ने प्रक्रिया अगाडि बढाइएको छ । यसबाट निगमको मासिक रु ६० लाख बचत हुने निगमले जनाएको छ । निगमले गत जेठ महिनामा कन्टिन्युइङ एयरवर्डिनेश म्यानेजमेन्ट विभागले (आइएसओ ९००१ः२०१५०) को सफल अडिट गराई प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ । भूमिस्त व्यवस्थापन (ग्राउण्ड ह्याण्डलिङ) तर्फ आयटाले गरेको परीक्षण (आइसागो) नवीकरण गरी प्रमाणपत्र प्राप्त गरेकाले यसबाट अन्तर्राष्ट्रियस्तरको उडान सुरक्षाको सुनिश्चितता हुने निगमले दाबी गरेको छ । निगमले दुई वाइडबडी, दुई न्यारो बडी र एक बोइङमार्फत विभिन्न मुलुकका आठ गन्तव्यमा उडान भर्दै आएको छ । रासस
स्मार्ट लाइसेन्स पुनः छपाइ गर्दा कार्यालयकाे गल्तीमा सेवाग्राहीले जरिवाना तिर्न नपर्ने
काठमाडौं । चालक अनुमतित्रपत्र छपाईमा कार्यालयकै गल्तीका कारण पुनः छपाइ गर्दासमेत सेवाग्राहीले जरिवाना तिर्दै आएकामा सो जरिवाना हटाउने तयारी भएको छ । नयाँ चालक अनुमतिपत्र वा नवीकरण गर्दा ‘स्मार्ट’ चालक अनुमतिपत्रमा फोटो वा विवरण स्पष्ट नहुँदा दिइएको प्रतिलिपिका लागि पनि चालक रकम तिर्न बाध्य थिए, यसैगरी सेवाग्राहीको गल्ती नभए पनि विगतमा पुनःछपाइ गर्दा उनीहरुसँग रकम लिने गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले बताए । उनले भने, “चालक आफ्नै कारण प्रतिलिपि लिँदाजस्तै गरेर हाम्रै कारणले प्रतिलिपि दिँदा दस्तुर लिनुहुँदैन भनेर हटाएका छौँ ।”प्रवक्ता खनालका अनुसार विभागले छपाइ चाँडो गर्न भन्दै गतवर्ष निजी कम्पनीलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्ने जिम्मेवारी दिएको थियो । उक्त कम्पनीले रङ्गिन छपाइ गर्दा कतिपयमा सेवाग्राहीको फोटो त कतिमा नाम, ठेगाना, रक्त समूहलगायत विवरण स्प्रष्ट बुझिने थिएन । अहिले विभाग आफैँले छापिरहेकाले यी समस्या नरहेको जानकारी दिँदै उनले भने, “हामीले उक्त परिचयपत्र श्यामस्वेत नै छापिरहेकाले नबुझने समस्या छैन ।” निजी कम्पनीले चालक अनुमतिपत्र छपाइ गर्दा झण्डै १३ हजार कार्डमा समस्या भएको थियो । तीमध्ये कतिपयले प्रतिलिपि लिइसकेका छन् भने कतिपयले लिन बाँकी छ । कार्यालयले अहिले ‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै नौ लाख ५४ हजार कार्ड छाप्न बाँकी छ । दैनिक झण्डै तीन हजारले चालक अनुमतिपत्रका लागि आवेदन दिइरहेका छन् । रासस