नेपाल टेलिकमको डाटा शुल्क ३० प्रतिशतले घट्यो

काठमाडौं । नेपाल टेलिकमले डाटा शुल्क ३० प्रतिशतसम्म घटाएको छ । सरकारले चैत्र १६ गते इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई २५ प्रतिशत शुल्क घटाउन निर्देशन दिएपछि टेलिकमले ३० प्रतिशतसम्म शुल्क घटाएको जनाएको छ । जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको प्रबक्ता राजेश जोशीले जानकारी दिए । नयाँ व्यवस्था अनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी कर सहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा पर्ने टेलिकमले जनाएको छ । तर यस्तो छुट ७ दिनका लागि मात्र दिएको टेलिकमले जनाएको छ । चैत्र २० देखि २६ गतेसम्म मात्र छुट भएको उसको भनाई छ । सेवाहरू सुपथ मूल्यमा उपलब्घ गराउने क्रममा नेपाल टेलिकमले जीएसएम सेवामा डाटा प्याक उपलव्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा १ सय रुपैयामा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयामा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ । यसरी रू. १ सयमा बोनस सहित कुल ४ जीबी र रू. २ सयमा बोनस सहित कुल १० जीबी डाटा प्राप्त हुनेछ । यसैगरी कम्पनीकै नेटवर्क भित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गदा चैत्र २० देखि २६ गतेसम्म लागू हुने गरी ५० प्रतिशत छुट उपलव्ध गराउने निर्णय गरेको छ । सो अन्तर्गत पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि रु. २५ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ । यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक सात दिनका लागि रु. १०० मा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी रु. २५ मा एक दिनका लागि बोनस सहित ६० मिनेट र रु १०० मा ७ दिनका लागि बोनस सहित २८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ ।

अरुलाई इसेवा चलाउन रिफर गर्दा ८० रुपैयाँसम्म बोनस पाइने

काठमाडाैं । भुक्तानी सेवाप्रदायक इसेवाले रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ । नगदरहित समाजनिर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियानअन्तर्गत इसेवाले हरेक व्यक्तिलाई डिजिटल अभियन्ताबनाउनकालागी यो अफर सार्बजनिक गरेको हो । कोरोना भाइरसको प्रकोपका कारण सबैजना घरमा बसिरहेको अवस्थामा यो अफरबाट इसेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिन्छ । अफर अन्तर्गत इसेवा चलाउन सिकाए बापत प्रतिग्राहक ८० रूपैयाँसम्म प्राप्त गर्न सकिनेछ । आफ्ना परिवार, साथि भाइ तथा आफ्नो मोबाईलमा रहेका सम्पर्क नम्बरहरूलाई इसेवा चलाउन सिकाउन सकिनेछ । ‘हरेक नेपालीलाई डिजिटल कारोबारमा जोड्ने उदेश्यका साथ यो योजना सुरु गरिएको हो।’- इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेज लगायतको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

इन्टरनेट सेवा जुनसुकै बेला अवरुद्ध हुनसक्छ, अनावश्यक खपत नगरौंः एनटीए

काठमाडौं । इन्टरनेट सेवामा ग्राहकहरुको माग बढेको कारण इन्टरनेटको गति कम भएको नेपाल दूरसंचार प्राधिकरण (एनटीए) ले जनाएको छ । सरकारले घोषण गरेको लकडाउनको कारण धेरैले इन्टरनेट प्रयोग गर्दा गति कम भएको र अत्याधिक प्रयोगका कारण कुनैपनि बेला सेवा अवरुद्ध हुनसक्ने भएकाले अनावश्यक काममा इन्टरनेटको प्रयोग नगर्न एनटीएले प्रयोगकर्तालाई सुझाएको छ । अहिले इन्टरनेटको गतिलाई असर पार्ने अन्य केही कारण नभई प्रयोगकर्ताहरुबाट माग ह्वात्तै बढेका कारण इन्टरनेटको गतिमा असर पुगेको एनटीएका सूचना अधिकारी सन्दिप अधिकारी बताउँछन् । ‘माग बढेकै कारण इन्टरनेटको गतिमा असर पुगेको हो, केही समयपछि यो समस्या आफै हटेर जान्छ तर तत्कालका लागि भने अनावश्यक प्रयोग गर्नु हुँदैन’, एनटीएका सूचना अधिकारी सन्दिप अधिकारीले विकासन्युजसँग भने । तत्काल समस्या समाधान हुँदैन अनावश्यक हाई स्ट्रिमीङ्ग भिडियो नहेर्न तथा गेम नखेल्न एनटीएले सुझाएको छ । तत्कालका लागि व्याण्डविथको कमी भएकाले माग अनुसारको आपूर्ति गर्न गाह्रो भएको हो । अहिले कोरोना भाइसरको कारण सरकारले लकडाउन गरिरहेको अवस्थामा घरबाटै इन्टरनेट चलाउनेहरु बढेको एनटीएले बताएको छ । लकडाउनभन्दा बाहेकको अवस्थामा अन्य काममा व्यस्त हुने प्रयोगकर्ताहरु अहिले इन्टरनेट प्रयोगमा व्यस्त छन् । घरभित्र रहदा विभिन्न प्रकृतिका काममा इन्टरनेट चलाईने भएपनि एनटीएले आवश्यकतामा मात्रै चलाउँन अनुरोध गरेको छ । व्याण्डविथ नै कमी भएको र अत्याधिक प्रयोगकर्ता भएको कारण इन्टरनेटको गति कम भएकोले यसलाई बढाउने विकल्प नभएको एनटीएको भनाइ छ । नेट स्लो भए उपाए छैन तत्कालका लागि नयाँ व्याण्डविथ राख्न सम्भव नभएको कारण देखाउँदै इन्टरनेट सेवा भन्ने बित्तीकै बलियो बनाउँन नसकिने एनटीएको तर्क छ । सेवा लिदै आएका ग्राहकहरुको हकमा सकेसम्म कुनै किसिमका अप्ठेरो आउँन नदिने अधिकारी बताउँछन् । विगत केही महिनादेखि विश्वमा देखिएको कोरोना भाइरसका कारण विश्वव्यापीमा रुपमा इन्टरनेट प्रयोग बढेको र नेपालमा पनि यही अवस्था रहेकोले कुनै पनि बेला सेवा नै अवरुद्ध हुन सक्ने एनटीएले जनाएको छ । सोही कारण प्रयोगकर्ताले सो कुरालाई बुझेर महत्वपूर्ण काममा मात्र इन्टरनेट प्रयोग गर्न अनुरोध गरेको छ । अहिले सेवा प्रदायकको दोष छैन एनटीएले अहिले अन्य बेला जस्तो नभई विशेष समय भएकोले सबैले आफ्नो तर्फबाट सहयोगी भुमिकामा काम गर्न आवश्यक रहेको बताएको छ । विभिन्न सन्दर्भमा सेवा प्रदायकहरुलाई गुणस्तरको माग गर्दै आएपनि अहिले भने माग अनुसारको सेवा प्रदान गर्न सेवा प्रदायकहरु लागिपरेको एनटीएको दाबी छ । सबैजनाले मनोरञ्जन लगायतका गतिविधिका लागि इन्टरनेट प्रयोग गर्ने हो भने तत्कालको लागि धान्न गाह्रो हुन्छ । सोही कारण आफूले पाएको सेवाको सही सदुपयोग गर्नुपर्ने एनटीएको अनुरोध छ ।