कोरोना महामारीमा अनलाइनबाटै बसको टिकट, कुन–कुन ठाउँका लागि छ बससेवा ?

काठमाडौं । यतिबेला विश्वमा कोरोनाको महामारी छ । आम सर्वसाधारण आफ्ना दैनिक गतिविधि तथा काम गर्न पनि डर त्रास मानिरहेको अवस्था छ । अहिले नेपालीहरुको महान पर्व दशैं पनि नजिकिँदै छ । यो समयमा काठमाडौं उपत्यका लगायतका ठाउँहरुबाट गाउँ फर्किनेहरु पनि बढी हुन्छन् । कोरोना भाइरसको कारण गत वर्षको जस्तो भिड नभएपनि कोरोनाको डरकै बीच यात्रा गर्नैपर्ने मानिसहरु अहिले पनि अनलाइनबाटै टिकट लिएर घर गइरहेका छन् । अहिले कोरोनाको डरले लाइनमा बसेर टिकट काट्न सकिने अवस्था पनि छैन । यी विभिन्न समस्या तथा डिजिटल प्रविधिको प्रयोग गर्दै बससेवाले अनलाइन सेवालाई तिब्रता दिएको छ । २०७१ सालमा स्थापना भएको बस सेवा मार्फत यात्रुहरुले आफ्नो घरमै बसेर टिकट लिन सक्छन् । घरमै बसीबसी टिकट काट्न पाइने र बसपार्कमा गएर टिकट लिनु पर्ने झन्झट बससेवाले अन्त्य गरी दिएको छ । अहिले दशैं तिहार समयमा बसपार्कहरुमा टिकट काट्न जाँदा संक्रमण जोखिम बढी हुने भएकोले पनि अनलाईन टिकटिङमा यात्रुहरुको आकर्षण बढेको छ । बससेवाका महाप्रवन्धक मोहन बेलबासेले कोरोनाको महामारीका कारण पनि अनलाइनबाट टिकट काट्ने यात्रुहरुको संख्यामा वृद्धि भइरहेको बताए । उनले गत वर्षहरुको भन्दा यो वर्ष अनलाइनबाट टिकट लिनेहरुको संख्या बढ्ने बताए । ‘अहिले कोरोनाको महामारीमा मानिसहरु सुरक्षित हुन चाहन्छन्, अघिल्लो वर्ष ४ हजार बढीले टिकट लिएका थिए, गत वर्ष १५ हजार जानेले लिएका थिए भने यो वर्ष बढ्ने हामीले अनुमान गरेका छौं,’ उनले भने । धेरै ग्राहकको अनलाईन मार्फत टिकट काट्ने रुचि हुँदा हुदै पनि सिमित सिट संख्याका कारण सेवा दिन नसकिएको उनले बताए । यातायात व्यवसायीले टिकट दिए जति पनि टिकट काट्न सकिने उनले बताए । तर, हाल धेरै बस व्यवसायीहरुले टिकट काट्न अनुमति नदिएको उनले बताए । यात्रुहरुको सहजीकरणका लागि सरकारले कुनै चाँसो नदेखाएको उनको भनाइ छ । बससेवाले हाल काकडभिट्टा, बिरगञ्ज, भद्रपुर, गौर, बुटवल, बिर्तामोड, हेटौडा, भैरहवा, बुधबारे, चितवन,सुनौली, बनियानी, गोर्खा, लुम्बीनी, तौलिहवा, तेह्रथुम। भुलभुले, ईलाम र धरानका लागि बस टिकट सेवा दिइरहेको छ । यस्तै बससेवा मार्फत यात्रुहरुले पाल्पा, पोखरा, दाङ, दैलेख, बाग्लुङ, म्याग्दी, धनगढी, महेन्द्रनगर लगायतका ठाउँहरुका लागि टिकट लिन सक्नेछन् । उनले करिब डेढ सय गन्तव्यमा बस सेवामार्फत सेवा दिँदै आएको बताए । त्यसमा १ सयभन्दा बढी कम्पनी आवद्ध रहेको उनको भनाइ छ । यात्रुहरुले बसेसेवा डटकम, ईसेवा, आइएमई पे, मोवाइल बैंकिङ तथा इन्टरनेट बैकिङ लगायत माध्यमहरुबाट सहजै टिकट काट्न सक्ने बताइएको छ ।

मेरोब्राण्ड अनलाईन सपिङ संचालनमा, मगाएको भन्दा फरक परे फिर्ता गर्ने सुविधा पनि

काठमाडौं । नेपाली ईकमर्स बजारमा मेरोब्राण्ड डटकमले आफ्नो कारोबार सुरु गरेको छ । अनलाईन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उदेश्यका साथ मेरोब्राण्ड डटकम संचालनमा आएको हो । निकै लामो गृहकार्य पश्चात मेरोब्राण्ड डट कम बजारमा उपस्थिती जनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार विष्टले बताए । बजारमा उपभोक्ताहरुले आफुले खोजेको ब्राण्ड न्युनतम मुल्यमा उपलब्ध गराउने कम्पनीको योजना रहेको सिइओ विष्टको भनाइ छ । काठमाण्डौ उपत्यकाभित्र १ दिनमै डेलिभरी गराउने कम्पनीको दाबी छ । अनलाईन सपिङ गर्दा उपभोक्ताले सोचेकै गुणस्तरीय सामाग्री उपलब्ध गराउने र त्यसबाट अनलाईन सपिङप्रति आमउपभोक्ताको विश्वसनीयता बढाउन रोल मोडल बन्ने कम्पनीको लक्ष्य रहेको सिईओ विष्टले बताए । आम उपभोक्ताले मेरोब्राण्ड डटकममा लगइन गरी आफुले चाहेको बस्तु खरिद गर्न सक्ने छन् । उपभोक्ताले बस्तु खरिद गर्दा क्यास अनडेलीभरी अनलाईन ट्रान्सफर वा भिसा कार्डबाट पनि रकम तिर्न सकिने सहज ब्यबस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ । मेरो ब्राण्ड तपाईको आफ्नै ब्राण्ड भन्ने नाराका साथ सुरु गरेको मेरोब्राण्ड अनलाईन सपिङ उपभोक्तालाई अपनत्व कायम गराउने दाबी गरिएको छ । यस अनलाइन प्ल्याटफर्ममा विभिन्न ब्राण्ड तथा भेराइटीका गुणस्तरीय सामग्रीहरु सुपथ मूल्यमा उपलब्ध गराइएको कम्पनीको सिइओ बिष्टले जानकारी दिए । दशैको घटस्थापना को विशेष अवसरमा सुरु गरिएको मेरोब्राण्ड डट कममार्फत खरिद गर्दा सामग्रीहरुमा दोहोरो छुट तथा अफरको सुविधाहरु पनि उपलब्ध गराएको छ । अर्डर पश्चात सर्वसुलभ भुक्तानी तथा छिटोभन्दा छिटो होम डेलीभरीको सुविधा समेत उपलब्ध गराउने कम्पनीको योजना रहेको छ । मगाएको सामान आफुले भने बमोजिम नभएमा ७ दिनभित्र फिर्ता गर्न सकिने रिटर्न पोलिसी समेत उपलब्ध गराइएको छ ।

डिजिटल कर्णालीका लागि केबीसीएफ र वर्ल्डलिंकबीच सम्झाैता

काठमाडौं । कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ)ले डिजिटल कर्णालीका लागि इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्ससँग सहकार्य गरेकाे छ । फाउण्डेशनले कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको सामाजिक आर्थिक विकासको लागि वर्ल्डलिंक सँग सम्झाैता गरेकाे हाे । केबीसीएफले जैविक विविधता संरक्षण, जीविकोपार्जनका अवसरहरू, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षामा पहुँच र इको टुरिजमलाई बढावा दिने क्रियाकलापहरूको लागि काम गरिरहेको छन भने वर्ल्डलिंक कम्युनिकेशन्सले नेपालका दुर्गम र ग्रामीण क्षेत्रमा आफ्ना सेवाहरू विस्तार गर्दैछ । वर्ल्डलिंक कम्युनिकेशन्सको प्रयासले समाजका विपन्न वर्गलाई इन्टरेटसँग जोडिएका र नजोडिएका बीचको ठुलो भिन्नतालाई कम गर्न मद्दत पुर्याउँछ । अहिलेको कोभिड १९ महामारीको बीच यसले पुष्टि गरी सकेको छ कि विद्यालय, व्यापार लगायत अनलाइनको प्रयोग सँगै इन्टरनेटको महत्व झनै बढेर गएको छ । केबीसीएफका अध्यक्ष राधेश पन्तले यस साझेदारीको महत्वमाथि जोड दिएका छन् । “यस क्षेत्रमा अझ धेरै उपलब्धि हासिल गर्न बाँकी छ, त्यसैले दीर्घकालीन र दिगो विकासको लागि एउटा बलियो आधारशिला निर्माण गर्नु महत्वपूर्ण छ । यस सम्बन्धमा डजिटल अर्थतन्त्रको लागि चाहिने सबै प्रकारका गुणस्तरीय तथा भरपर्दो पूर्वाधार हुनु महत्वपूर्ण हुनेछ । हाम्रो उद्देश्य यस क्षेत्रकालाई विकास प्रक्रियामा अगाडि बढ्नका लागी सहयोग गर्नु हो र यो अग्रगामी उद्देश्य प्राप्त गर्न वर्ल्डलिंक कम्युनिकेशन्स एक निर्विकल्प तथा विश्वासिलो साझेदार हो । ” त्यस्तै, वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष तथा संस्थापक निर्देशक दिलीप अग्रवालले भने- ‘हामी विकासको क्षेत्र चिन्न र स्थिर डिजिटल प्लेटफर्मको अवसरको लाभ उठाउन व्यवसायी, समिुदायिक समूह र व्यक्तिहरूको लागि इन्टरनेटको पहुँच पुर्याउने दिशामा संयुक्त रुपमा डिजिटल कर्णालीको भिजन साकार पार्ने काम गर्ने छौं । सबैका लागि, जहाँ पनि जतिबेला पनि जोडने’ हाम्रो संस्थाको मुल्य र मान्यता सँग पुर्ण रुपले मेल खाएको हुँदा यो कार्यक्रमलाई पूर्ण रुपमा सघाउने छौं ।’ दुबै पक्षले रोजगारी सृजना र स्थानीय उद्यमी एवम मध्यम तथा साना उद्यमीहरूलाई सहयोग पुर्याउन आर्थिक, वातावरणीय र सामाजिक प्रभाव प्राप्त गर्न सँगै मिलेर काम गर्ने वाचा गरेका छन् । दुबै केबीसीएफ र वर्ल्डलिंकले स्थानीय उत्पादन र दिगो स्थानीय आपूर्तिको चक्रलाई सहयोग र समर्थन गर्न मद्दत गर्नेछ । यो रणनीतिक साझेदारीले केआरबीका व्यक्ति र समुदायहरूलाई डिजिटल रूपमा समर्थन गर्दै र समृद्धिलाई अगाडि बढाउन प्रेरणा दिदै एकसाथ अवसरहरू प्रदान गर्नेछ ।