२ वर्षभित्र सबै सरकारी कार्यालयको कारोबार अनलाइन प्रणालीमा
काठमाडाैं । सरकारले अगाामी दुई वर्षभित्र सबै सरकारी कार्यालयहरुको कारोबार अनलाइन प्रणालीमा लैजाने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालसम्म ७० प्रतिशत सरकारी कार्यालयको कारोबार अनलाइन प्रणालीमा गइसकेको बताउँदै आउने दुईवर्षभित्र सबै कार्यालयलाई अनलाइन प्रणाली अनिवार्य गरिने बताएका हुन । ब्राण्डवर्थ प्रालीको आयोजनामा भएको ‘फोनपे डिजिटल इकोनोमी कन्क्लेभ २०२०’ मा बोल्दै उनले डिजिटल प्रणालीको उच्चतम प्रयोगका लागि निजी क्षेत्रसंग उचित समन्वय गर्ने र कर्मचारीतन्त्रलाई पनि प्रविधिमैत्री बनाउने बताएका छन् । शनिबार भएकाे कन्क्लेभमा प्रमुख वक्ताका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली रहेका थिए भने अर्थमन्त्री विष्ण पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गूरुङ, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी लगायत सरोकारवाला क्षेत्रका उच्च अधिकारीहरुकाे सहभागीता रहेकाे थियाे । सरकारले २ वर्ष अगाडी नै डिजिटल नेपाल फ्रेमवर्क २०७६ ल्याइ देशमा प्रविधिको विकास र उच्चतम प्रयोगमा पाइला अगाडी बढाइसकेको छ । डिजिटल नेपाल अभियानका लागि सरकारले डिजिटल फाउन्डेसन भन्दै प्रमुखत ८ वटा क्षेत्रलाई पहिचान गरेको छ । कृषि, शिक्षा, स्वाथ्य, उर्जा, पर्यटन, वित्त, शहरी पुर्वाधार लगायतलाई समावेश गरिएको छ । यसमा ८० वटा फाउन्डेसन तयार छन् जसअन्र्तगत डिजिटल फाउन्डेसन १९, कृषि ११ वटा, शिक्षा ८, स्वाथ्य ७, उर्जा ९, पर्यटन ७, शहरी पुर्वाधारमा ९ र वित्तमा ११ गरी ८० वटा क्षेत्र तय भएका छन् । चालु वर्षको बजेट प्रणालीमा पनि डिजिटल प्रविधिलाई प्राथमिकताका साथ अगाडी बढाएको भन्दै मोबाइल बैंकिंङ, इन्टरनेट बैंकिंङ, मोबाइल वालेटको विषयमा निजी क्षेत्रसंग समन्वय गरी प्रवद्र्धमा जुट्ने पाैडेलकाे भनाइ थियो । “डिजिटल इकोनोमीलाई सशक्त, प्रभावकारी ढंगले अगाडी बढाउन सरकार चाहिरहेकोे छ, अब डिजिटल प्रविधिको विकल्प अरु हुन सक्दैन” अर्थमन्त्री पौडेलले भने । यस्तै कन्क्लेभमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले डिजिटल नेपालका लागि पुर्वाधारहरु दु्रतनिर्माणको क्रममा रहेको बताए । अप्टिकल फाइवर, सूचना महामार्गको काम सातै प्रदेशमा काम भएको र पुर्वाधार कम्पनीको स्थापना गर्ने, सह कम्पनी तथा सहआयोजनाको पनि सूरुवात गर्ने जानकारी दिए । डिजिटल फ्रेमवर्क जुन ढंगवाट जानुपर्ने हो त्यसअनुसार नभएको भन्दै उनले मन्त्रालयले अब कडा कदम चाल्ने पनि बताए । “यसमा तुरुन्तै कार्ययोजना बनाएर अगाडी बढ्नेछौँ, सञ्चार मन्त्रालयले गर्नुपर्ने जिम्मेबारीमा कुनै कसर बाँकी रहनेछैन” उनले भने । यसै सन्दर्भमा अर्थमन्त्री पौडलले पनि चालु वर्षको बजेटमा डिजिटल प्रविधिको माध्यमबाट नेपाली अर्थतन्त्रलाई विश्वअर्थतन्त्रसंग आवद्ध गर्ने सरकारको अठोट रहेको बताए । “ज्ञानमा आधारित अर्थतन्त्रको विकास लागि सूचना प्रविधि, उद्योग व्यवसायको प्रवद्र्धन गर्ने चालु वर्षको बजेटमा हामीले गरेको प्रतिवद्धता हो” उनले भने । मन्त्रिपरिषद्ले कागजरहित अभ्यासलाई जोड दिएको छ । अहिले मन्त्रिपरिषद् पेपरलेस पद्धतीमा अभ्यस्त भएको छ । सरकारी कार्यालयमा पेपरलेस बनाउने सन्दर्भमा डिजिटल प्रविधिमा क्रमिक रुपमा अगाडी बढ्दै छौँ । यसका लागि आवश्यक प्रविधि र सचेतना हुनुपर्छ । अबको दुनियाँ डिजिटल प्रविधिमा अगाडी बढ्यो यसबाट नेपालमा पनि पछि हट्नेवाला नभएको उनले बताए । यता सञ्चार मन्त्री अहिले सबैगाउँपालिकामा भिन्न भिन्न एप भएको भन्दै सबैलाई एकिकृत गरेर ७५३ वटै स्थानीय तहलाई एउटै एपमा लैजान लागिएको जानकारी दिए । व्यक्तिहरु लाइन बसेर होइन अनलाइनबाटै डिजिटल नेपालको सुरुवात हुने उनले बताए । ब्राण्डवर्थ प्रालीका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरुलले सरकारले अगाडी सारेको डिजिटल फ्रेमवर्क अगाडी बढाउने सवालमा एउटा हिस्सा बन्न पाएकोमा खुसी व्यक्ति गरे । उनले डिजिटल प्रविधिको प्रयोगलाई बढावा दिन निजी क्षेत्रसंगै सरकार पनि अग्रसर हुनुपर्ने भन्दै सबैको एउटै लक्ष्य हुँदा मात्रै डिजिटल नेपाल बन्न सक्ने बताए ।
टेलिकमको एफटीटीएचमा एडेपटर प्रयोग गर्दा भ्वाइस सेवा अवरुद्ध नहुने
काठमाडौं । नेपाल टेलिकमले सञ्चालनमा ल्याएको एफटीटीएच सेवामा विद्युत आपूर्ति बन्द भएको समयमा पनि भ्वाइस सेवा अवरुद्ध नहुने भएको छ । हाल बजारमा सानो खालको राउटर यूपीएस वा एडेप्टर समेत सहज रुपमा उपलब्ध भएको हुनाले ग्राहकहरुले आफ्नो सुविधाका लागि यस्ता डिभाइस प्रयोग गर्नु उपयुक्त हुने टेलिकमले जनाएको छ । विद्युत आपूर्ति अवरुद्ध भएको समयमा एफटीटीएचको भ्वाइस सेवा अवरुद्ध हुन जाने हुनाले इन्भर्टरको फुल व्याकअप भएका घर तथा कार्यालय बाहेक अन्य स्थानहरुमा भ्वाइस सेवा प्रयोगमा असुविधा उत्पन्न भएको पाइएको छ । राउटर यूपीएस जस्ता साना डिभाइस विभिन्न क्षमताका हुन्छन् र विद्युत नभएको समयमा केही घण्टासम्म सेवाको निरन्तरताका लागि उपयुक्त हुन्छन् । एडेप्टरमा भने त्यसमा भएको ब्याट्री विद्युत उपलब्ध भएको समयमा आफैं चार्ज हुन्छ र विद्युत नभएको समयमा त्यही ब्याकअप पावर खपत हुन्छ । कम्पनीले वितरण गरिरहेको एफटीटीएच सेवाका लागि १२ भोल्ट र एक एम्पियर क्षमताको एडेप्टर उपयुक्त हुने भएकाले ग्राहकले आफ्नो आवश्यकता तथा सहजता अनुसार बजार वा अनलाइनबाट खरिद गरी प्रयोग गर्न उपयुक्त हुने टेलिकमल जनाएको छ । टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले निकट भविष्यमै यही सेवामार्फत टेलिभिजन सुविधा समेत उपलब्ध गराउने तयारी गरिरहेकाले यस सेवाप्रतिको आकर्षणमा निरन्तर वृद्धि हुने देखिन्छ । हाल कम्पनीले एफटीटीएच सेवामा विभिन्न प्याकेजहरु आकर्षक दरमा उपलब्ध गराइरहेको छ । प्राविधिक रुपले सम्भव हुने स्थानहरुमा पुरानो ल्याण्डलाइन फोनलाई एफटीटीएच प्याकेजअन्तर्गत एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध गराई नयाँ एफटीटीएच जडान गर्दै आएको छ । यसका लागि ग्राहकवर्गले नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्दछ । उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु, टेलिफोन सेवा र भविष्यमा टेलिभिजन समेत उपलब्ध भए पश्चात् ग्राहकवर्गका लागि कम्पनीको ट्रिपल प्ले सुविधा थप आकर्षक हुने टेलिकमको विश्वास छ ।
डिशहोममा हाँस्य टेलिसिनेमा ‘खै कुरा बुझेको ?’
काठमाडौ । डिशहोमको रियालिटी टिभी च्यानल १०२ मार्फत अब हाँस्य टेलिसिनेमा ‘खै कुरा बुझेको ?’ हरेक बुधबार राति ८ः३० बजे प्रशारण हुने भएको छ । विणभ क्रियशन र स्वस्तिक सिने आर्ट्सको प्रस्तुतिमा निर्मित ‘खै कुरा बुझेको ?’ हाँस्य टेलिसिनेमाको लेखन तथा निर्देशन सञ्चारकर्मी तथा सिने निर्देशक समिर जोशीको रहेको छ । ‘खै कुरा बुझेको ? टेलिसिनेमाको कलाकारहरूमा शितल केसी, श्याम राई, युगज्योति क्रियाशिल, अस्मिता बस्नेत, निशा पाख्रिन, सबिता खड्का, सुस्मिता न्यौपाने, दिपेश बञ्जारा, सागर गिरी, सागर बस्नेत र समिर जोशी लगायतको बडो गजबको अभिनय रहेको छ । यस कार्यक्रम शृंखलाकाका निर्देशन निर्देशक बाणी पोखरेलले गरेका छन् भने टेलिसिनेमाको निर्माता सागर बस्नेत हुन् । टेलिसिनेमाको छायांकन दिलीप विष्टले गरेका हुन् भने सम्पादनमा सुनिल श्रेष्ठको रहेको छ । सञ्चारका पहुँच नपुगेका दूरदराजका ग्राहकहरुले समेत आफूले मनले खाएको अथवा चाहेको नेपाली मनोरञ्जनमूलक कार्यक्रमहरु डिसहोमको आफ्नै च्यानेलहरुमार्फत छानीछानी नयाँनयाँ सजिलै हेर्न पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।