एनआईसी एशिया र अष्ट्रेलियाको लिगल रेमिटबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । नेपालकाे एनआईसी एशिया रेमिट र अष्ट्रेलियाको लिगल रेमिटबीच रेमिट्यान्स सम्झौता भएकाे छ । उक्त सम्झौता पश्चात अष्ट्रेलियाका नेपालीहरूले लिगल रेमिटबाट रकम पठाएर एनआईसी एशिया बैंकको एनआईसी एशिया रेमिट मार्फत तुरुन्त रकम भुक्तानी लिन सक्नेछन् । साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ । लिगल रेमिट मार्फत अष्ट्रेलियामा रहेका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालमा रहेका उनीहरुका आफन्तहरू वा अन्य व्यक्तिहरूले सजिलै भुक्तानी गर्न सक्नेछन् । उनीहरुले यस बैंकको मुलुकभर छरिएर रहेका ३१९ वटा शाखा, १०७ वटा एक्स्टेन्सन काउण्टर, ५८ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा ९ हजारभन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्नेछन् । एनआईसी एशिया बैंक र लुम्बिनी ग्रुप प्राइभेटबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबार समेत सुरु भएको छ ।

एफवान सफ्टद्वारा ‘क्वीक भुक्तानी’ प्लाटफर्मको शुरुवात, मेगा बैंकसहित तीन कम्पनी सम्मानित

काठमाडौं । एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीक भुक्तानी’ नामक नेपालकै नवीनतम अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्मको कार्य सुरुवात भएको गरेकाे छ । उक्त प्लाटफर्मको काम सुरु भएकाे अधिकारिक घोषणा गर्दै कम्पनीले यसका प्रथम प्रयोगकर्ताहरुलाई सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा प्रथम बैंकको रुपमा मेगा बैंक, प्रथम क्रेता कम्पनीको रुपमा हामा कन्सट्रक्सन प्रा. लि. र प्रथम बिक्रेता कम्पनीको रुपमा बि एल स्टील प्रा. लि. रहेका छन् । ‘क्वीक भुक्तानी’ युकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रम सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो । आवद्ध बैंकहरुले आफ्ना ग्राहकहरुलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराँदछन् भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्दछ । ‘क्वीक भुक्तानी’ यस्तो अनलाईन प्लाटफर्म हो जसले विभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता (सप्लायर), ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ । सप्लायरले, यो प्लाटफर्म प्रयोग गरी, आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछ र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन पाउँदछ । यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्र्पूण रकम क्रेता कम्पनीबाट प्राप्त गर्नेछ ।

इसेवाबाट बीमाको प्रिमियम भुक्तानी गर्दा नगद पाइने, साथै मोबाइल पनि

काठमाडौं । जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्ने उदेश्यका साथ इसेवाले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यस उपहार योजनामा कुनैपनि जीवन बीमाको प्रिमियम इसेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार सय रुपैयाँसम्म कमाउनुको साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल जित्न सकिनेछ । यस योजना अन्तर्गत एक महिनामा २० देखि ४९ वटा बीमाका प्रिमियम भुक्तानी गर्नेले प्रतिकारोबार ५० रुपैयाँ, ५० देखि ९९ वटासम्म प्रिमियम भुक्तान गर्ने व्यक्तिले प्रतिकारोबार ७५ रुपैयाँ तथा सय वटा भन्दा माथि कारोबार गर्नेले प्रतिकारोबार सय रूपैयाँ रुपैयाँ इन्सेन्टिभ पाउनेछन् । यो योजना एजेन्ट नेटवर्क तथा व्यक्तिगत एकाउन्ट दुबैमा लागु हुनेछ । यो योजना १, मार्च २०२० देखि जुलाई ३१ सम्म लागु हुनेछ । यस योजनाको इन्सेन्टिभ रकम हरेक महिना गणना हुने र आगामी महिनाको २ हप्ताभित्र ग्राहकको इसेवा खातामा उपलब्ध गराइनेछ । पाँच महिनाको अवधिमा कोही पनि ग्राहकले ५ सयवटा लाइफ इन्स्योरेन्स्को भुक्तानी गर्न सफल भएमा प्रतिकारोबार सय इन्सेन्टिभका साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल समेत प्राप्त गर्न सक्नेछन् । पछिल्ला दिनमा अनलाइनबाट बीमाको प्रिमियम भुक्तानी गर्नेको संख्या बढ्दै गएकोमा यसलाई अझ प्रोत्साहन गर्न यो योजना सञ्चालन गरिएको हो । इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक हो । इसेवामार्फत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।