बैंक अफ काठमाण्डूका ग्राहकहरुले सेलपेबाट विद्युतिय काराेबार गर्ने सक्ने

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले डिजिटल भुक्तानी सेवा प्रदायक सेलपेबाट विभिन्न विद्युतिय भुक्तानी गर्न सक्ने भएका छन् । मंगलबार दुई कम्पनीबिच सहकार्य गर्ने सम्झाैता भएकाे हाे । सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एंड मार्केटिङ्ग प्रमुख रितेश लामिछाने तथा सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् । सेलपेले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । ग्राहकहरुले सेलपेमा आवद्ध गरी सकिएका अन्य बैंकमा वा त्यहाँबाट बैंक अफ काठमाण्डू खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी पनि गर्न बैंकले जनाएकाे छ। यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टि.भी हरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन-पाउन, बिमा रकम भुक्तानी, इएमआइ भुक्तानी तथा शेयर कारोबारको भुक्तानी गर्न सकिने बैंकले जनाएकाे छ ।

टेलिकमकाे सियुजी सिम सार्वजनिक विद्यालयका कर्मचारी र अभिभावकले पनि पाउने

काठमाडौं । नेपाल टेलिकमकाे सियुजी सिम सार्वजनिक विद्यालयका कर्मचारी र अभिभावकले पनि पाउने भएका छन् । टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुका लागि वितरण गरिरहेको ‘पाठशाला सियुजी सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुले पनि पाउने भएका हुन् । महामारीको अवस्थामा मुलुकभरका विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी नेपाल सरकारले लागु गरेको आकस्मिक शैक्षिक योजना २०७७ अन्तर्गत कम्पनीले पठनपाठनका लागि सहुलियत दरमा ‘पाठशाला सियुजी सेवा’ वितरण गरिरहेको छ । यो अफरमाआवद्ध हुन नेपाल टेलिकमको जीएसएम वा सीडीएमए प्रिपेड मोबाइल नम्बर आवश्यक हुन्छ । पहिलेदेखि प्रयोगमा रहेका प्रिपेड सिमकार्डलाई पाठशाला सियुजी सेवामा आवद्ध गर्न सकिन्छ । नेपाल टेलिकमको प्रिपेड सिमकार्ड नहुने प्रयोगकर्ताहरुले निःशुल्क रुपमा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डलिई सियुजी सेवा उपयोग गर्न सक्नेछन् ।  

डिशहाेममा साेमबारदेखि भिडियाे म्यागजिन सग्लाे समाज

काठमाडाैं । डिश मिडिया नेटवर्कले सोमबारदेखि साप्ताहिक भिडियो म्यागजिन सग्लाे समाज प्रसारण गर्ने भएको छ । हिमाल मिडियाले निर्माण गरिरहेको सो म्यागजिन पत्रकार तथा लेखक कनकमणि दीक्षितले प्रस्तुत गर्नेछन् । सो म्यागजिन डिश होमको सरोकार च्यानल ९१३०० मा राती साढे ८ बजे प्रसारण हुन्छ । देशभित्रै निर्माण गरिएका कार्यक्रम बढाउँदै लैजाने नीति अनुरूप हिमाल मिडियासँग समझदारी भएअनुसार यो कार्यक्रम प्रसार हुन लागेको डिश मिडियाका अध्यक्ष हेमराज ढकालले बताए । सग्लो समाजमा आफुहरुले चिन्तन गर्नुपर्ने, चिन्ता लिनुपर्ने र समाजलाई उत्साहित बनाउने विषयलाई म्यागजिनको ढाँचामा प्रस्तुत गरिने हिमाल मिडियाका प्रकाशक तथf कार्यक्रमका प्रस्तोता कनकमणि दीक्षितले बताए ।