आरटीजीएसमा मासिक १३ खर्ब कारोबार, गभर्नर भन्छन्ः अब देश डिजिटल बन्छ
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय डिजिटल भुक्तानी बढ्दै गएकाले देश विस्तारै पूर्ण रुपमा डिजिटल बन्ने बताएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय दातृ निकाय डेफिडको सहयोगमा वित्तीय पहुँच अन्तर्गत युकेड सक्षमकसँगको सहकार्यमा शुरु भएको रियल टाइम ग्रस स्याटलमेन्ट (आरटीजीएस) हस्तान्तरण कार्यक्रमा उनले यस्तो बताएका हुन् । कार्यक्रममा गभर्नर अधिकारीले नेपालको वित्तीय क्षेत्रको सुदृढीकरण तथा वित्तीय पुर्वाधार विकासका लागि बेलायत सरकारको उल्लेखनीय सहयोग रहेकोले युके सरकार तथा युकेका जनताहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गरे । उनका अनुसार पछिल्लो समय मासिक १३ खर्ब रुपैयाँ कारोबार भइरहेको छ । यस्तै आरटीजीएस प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थाहरुको संख्या ३७ रहेको र यो संख्या बढ्दो क्रममा रहेको उनको भनाई छ । यस्तै, उनले युकेड सक्षम वित्तीय पहुँच परियोजनाले नेपालमा वित्तीय समावेशिता बढाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै सो प्रोजेक्टले डुइङ विजनेस इन्डेक्समा नेपालको रेंकिङ बढाउन सहयोग गरेको चर्चा गरे । उनले डिजिटल नेपाल अभियानलाई सफल बनाउन आगामी दिनमा समेत युकेडबाट यस किसिमको सहकार्य रहने अपेक्षा व्यक्त गरे । आरटीजीएस तथा मोडुलर डाटा सेन्टर औपचारिक रुपमा हस्तान्तरण गर्ने कार्यक्रममा अधिकारीसहति डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र नेपालस्थित वेलायती राजदुतावासका प्रतिनिधि रोब क्लार्क युकेएड सक्षमका प्रतिनिधि तथा नेपाल राष्ट्र बैंकका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सुरुवातमा युकेएड सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालल आरटीजीए तथा मोडुलर डाटा सेन्टर प्रोजेक्टको विषयमा संक्षिप्त मन्तव्य राख्दै उक्त प्रोजेक्ट कार्यान्वयनको सिलिसिलामा नेपाल राष्ट्र बैंकबाट भएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।
सरल भुक्तानीका लागी ‘कर्पोरेट पे’
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका व्यवसायीक ग्राहकलाई लक्षित गर्दै ‘कर्पोरेट पे’ को सूरुवात भएको छ । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) ले यो प्रणालीको सूरुवात गरेको हो । अब चेक बोकेर बैंकको शाखा धाउनु पर्ने छैन । ‘कर्पोरेट पे’ मार्फत रकम विद्युतीय भुक्तानी गर्न सकिनेछ । यस प्रणालीको औपचारिक सूरुवात नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरे । चेक बोकेर बैंकको शाखा धाउनु पर्ने बाध्यता हटेको छ । एनसीएचएलका अध्यक्ष नरेश शाक्यले भने । व्यवसायीक ग्राहकलाई ‘कर्पोरेट पे’ मा आबद्ध गरेपछि बैंक तथा वित्तीय संस्थाले विभिन्न विद्युतीय कारोबार गर्न सक्नेछन् । यस प्रणालीको प्रयोगले बैंकको सञ्चालन खर्च घट्ने र डिजिटल कारोबार बढ्ने विश्वास गरिएको छ । ‘कर्पोरेट पे’ प्रयोग गर्दा थप शुल्क लाग्ने छैन । यसमा आवद्ध भएका बैंक तथा वित्तीय संस्थाका व्यवसायीक ग्राहकले फण्ड ट्रान्सफर, कर्मचारीको तलब, कर तथा राजस्व भुक्तानी लगायत ठूलो रकम भुक्तानी गर्न ‘कर्पोरेट पे’ भरपर्दो माध्यम बन्दैछ । एनसीएचएलका सिइओ निलेसमान सिंह प्रधानका अनुसार यस प्रणालीमार्फत १ करोड रुपैंयाँदेखी २० करोड रुपैंयाँसम्मको कारोबर गर्न सकिने छ ।
माउन्टेक सोलुसनले आइतबार वेबिनार गर्दै : यसरी सहभागी बन्नुहोस्
काठमाडौं । क्लाउड कम्प्युटिङका विषयमा वेबिनार हुने भएको छ । माउन्टेक सोलुसनले आइतबार वेबिनारको आयोजना गर्न लागेको हो । यो वेबिनार आइतबार साँझ साढे ६ देखी साढे ८ बजेसम्म सञ्चालन हुनेछ । सूचना तथा प्रविधि क्षेत्रका विद्यार्थीहरु, वैंकमा सूचना तथा प्रविधि क्षेत्रमा काम गर्ने कर्मचारी तथा क्लाउड कम्प्युटिङमा रुचि हुने जोसुकैले यस वेबनारमा सहभागी हुन सक्नेछन् । कार्यक्रममा वरिष्ठ सफ्टवेयर इन्जिनियर दिलिप योगी स्रोत व्यक्तिका रुपमा रहनेछन् । उनले वरिष्ठ वरिष्ठ सफ्टवेयर इन्जिनियरका रुपमा मास्टरकार्ड, एटी एण्ड टीमा काम गरिसकेका छन् । स्रोत व्यक्ति योगीले एडब्लुएसको क्लाउड कम्प्युटिङ र यसको महत्वका विषयमा सेसन सञ्चालन गर्नेछन् । यस वेबनारबाट साइबर खतराहरुका बारेमा पनि जानकारी मिल्नेछ । वेबिनारमा सहभागी हुन यो लिंक मा गएर पनि रजिस्टर गर्न सकिनेछ ।