मोबाइल र ल्यापटप रिपेयरिङमा फ्रि होम डेलिभरी सेवा दिदै बिपिनको थ्रिकम केयर

काठमाडौं । स्वदेशमा भन्दा विदेशमा आफ्नो उज्जवल भविष्य देख्ने थुप्रै नेपाली युवाहरु छन् । रोजगारीका खोजिमा विदेश पाइला टेक्न कैयौं युवा भिसाको पर्खाईमा छन् । कतिलाई म्यानपावर धाउँदै ठिक्क छ । स्वदेशमै उद्यम, व्यवसाय गर्न चाहने नेपाली युवाहरुको संख्या निकै कम छ । त्यसमाथि अरुलाई रोजगारी दिलाउनेको संख्या अझ कम छ । सर्लाही बरहथवाका विपिन जयसवाल तिनै थोरै युवाहरुमध्ये पर्छन् । जसले २५ वर्षकै उमेरमा २२ जनालाई रोजगारी दिलाएका छन् । र, उनी अझै त्यो संख्यालाई विस्तार गर्ने क्रममा छन् । न्युरोडस्थित पिपुल्स प्लाजाको तेस्रो तलामा छ, थ्रिकम केयर । त्यहीं भेटिन्छन्, हँसिलो चेहरा भएका जयसवाल । उनलै हाँकेका छन् यो कम्पनी । उनी हाइस्पिड ट्रेन जस्तै लाग्छन् । जे कुरामा पनि छिटो दौडिन चाहने । छिटो पुग्न चाहने । थ्रिकम केयरले बिग्रिएका ल्यापटप, मोबाइल, हार्ड डिस्क बनाउने काम गर्छ । शहरमा मोबाइल र ल्यापटप रिपेरिङ सेन्टर बग्रेल्ती छन् । चोकै पिच्छे रिपेरिङ सेन्टर खुलेपनि भरपर्दो र विश्वासिलो ठाउ भेट्न गार्‍हो छ । समस्या पर्दा मानिसहरु भौतारिएको देखिन्छ । तिनै समस्यामा परेका उपभोक्ताहरुको मन जित्दैछ, थ्रिकमले । अन्य रिपेरिङ सेन्टर भन्दा थ्रिकम के फरक छ भने यसले उपत्यकामा फ्रि पिकअप, फ्रि डेलिभरीको सुविधा प्रदान गर्छ । व्यस्त दिनचर्या हुनेहरुले एक कलको भरमा आफ्नो बिग्रिएको सामान मर्मत गर्न सक्छन् । उपत्यका बाहिरका उपभोक्ताहरुले भने कुरियरमार्फत आफ्ना सामानहरु मर्मत गर्न सक्छन् । २२ जनालाई रोजगारी दिलाएका थ्रिकम केयरका सञ्चालक जयसवालको पृष्ठभूमि संघर्षपूर्ण छ । सर्लाहीबाट १० वर्ष अघि काम खोज्नका लागि उनी राजधानी शहर पसेका थिए । केही इन्सिट्च्युटमा उनले मोबाइल, ल्यापटप बनाउने तालिम सिके पनि । तर, उनलाई त यसैमा भविष्य बनाउनु थियो । दक्ष बन्नु थियो । त्यसका लागि उनी भारतको नयाँ दिल्ली पुगे । उनमा नयाँ कुरा सिक्ने भोक यति थियो कि एक ठाउमा चित्त बुझाएनन् । उनी मोबाइल, ल्यापटपको स्पेशल कोर्ष गर्न नेहरु प्यालेस र डिसी सेन्टरमा एकै पटक भर्ना भए । २ लाख ३६ हजार भारु खर्चिएपछि उनको स्पेशल कोर्ष पूरा भयो । अवसर त यी युवा जयसवाललाई भारतमै पनि प्रशस्त थियो । तर, ५० हजार भारु बराबर सरसामानहरु किनेरनेपाल फर्किए । आफ्नै देशमा उद्यम गर्नुपर्छ भन्ने सोचले राजधानी फर्किए । तर, राजधानीमा व्यवसाय गर्न त्यति सजिलो थिएन । सुरुमा काम खोज्दै उनले महिना बिताए । पर्चा, पम्पलेट बनाएर पोल, पोल र भित्ताहरुमा टाँसे । जसमा लेखिएको थियो, हामी होम डेलिभरी सेवा दिन्छौं । घरमा आएर ल्यापटप बनाउने काम गर्छौं । चार महिनासम्म दौडिदा पनि भने जस्तो काम पाएनन् । जति नै समस्या भोगे पनि उनले हार खाएनन । जावलाखेलका रवी महर्जनसँगको चिनजानले भने जयसवाललाई राम्रै गर्‍यो । महर्जनको आफ्नै बिग्रिएका ल्यापटप बनाउने पसल थियो । पसलमा आएका सामानहरु महर्जनले बनाउनका लागि जयसवाललाई दिन्थे । र, ति सामानहरु बनाएर उनले पसलमा बुझाइदिन्थे । केही महिना यसरी काम गरेपछि पछि उनले आफ्नै कम्पनी खोले । पछि जयसवालले पिपुल्स प्लाजामा थ्रिकम कम्पनीको सूरुवात गरे । तीन जना स्टाफबाट उनले कम्पनीको सुरुवात गरेका थिए । चार महिनाको छोटो अवधिमै १० जना पुर्‍याए । पहिले पोल र भित्तामा टाँसिएका ठाउबाट फोन आउन थाल्यो । विभिन्न पसलहरुले उनलाई नै सम्पर्क गर्न थाले । कम्पनीलाई कामको कुनै कमी भएन । एक वर्षपछि त कम्पनीमा २२ जना स्टाफ नै पुगे । हाल कम्पनीको सीईओ जयसवालको मासिक तलब ६० हजार रुपैयाँ छ । कम्पनीको नाफा बेग्लै छ । बैंकर्स, नेता, व्यापारी, कुटनीतिज्ञ पिपुल्स प्लाजास्थित थ्रिकम कम्पनीका नियमित ग्राहक हुन् । फ्रि पिकअप, फ्रि डेलिभरी सेवाले अझ धेरै ग्राहकहरु बढिरहेका छन् । थ्रिकममा मोबाइल, ल्यापटप, हार्ड डिस्क बनाउने बेग्लाबेग्लै प्राविधिकहरु छन् । मोबाइल सर्भिस इन्जिनियर, ल्यापटप इन्जिनियर बाहेक सेल्स, पिक अप, ड्रपमा छुट्टै स्टाफहरु खटिदै आएका छन् । लेमिनेसन हाउस र थ्रिकम मार्ट आउने मंगलबारदेखि थ्रिकम केयरले पिपुल्स प्लाजामा थप दुई वटा शो रुम सुरु गर्दैछ, लेमिनेसन हाउस र थ्रिकम मार्ट । ‘बाइकलाई मोडिफाइ गरे जस्तै मोबाइल र ल्यापटपलाई मोडिफाइ गरिने सुविधा दिदैछौं ।’ जयसवालले भने ‘मार्टबाट मोबाइल र ल्यापटपका सामानहरुको सेल्स हुनेछ ।’ यस्तै पिपुल्स प्लाजाकै पाँचौ तलामा म्याकबुक रिपेयर हब सुरु हुँदैछ । लकडाउन खुलेपछि नयाँ दिल्ली पुगेर त्यसका लागि विशेष तालिम लिएर उनले म्याकबुक रिपेयर हब सुरु गर्न लागेका हुन् । यो हबबाट म्याकबुकका पाटपुर्जा रिप्लेस, रिपेयर गर्ने र यसका पाटपुर्जाहरु पनि बेचिने उनले बताए । उपत्यकाका सिमित ठाउमा मात्र म्याकबुक रिपेयर गर्ने ठाउ छन् । ति धेरै महंगो छन् । उपभोक्ताहरुले महंगो मूल्य तिरेर म्याकबुक बनाउँन सकिरहेका छैनन् । त्यसैलाई आत्मसात गर्दै सुलभ मूल्यमा सेवा दिन उनले म्याकबुक रिपेयर हब सुरु गर्न लागेका हुन् । अबको केही समयभित्र नेपालका प्रमुख शहरमा थ्रिकमका ब्राञ्च खोल्ने तयारी रहेको जयसवाल बताउँछन् । त्यसो त उनी नेपालका सबै जिल्लामा ब्राञ्च खोल्न चाहन्छन् । त्यसका लागि दक्ष जनशक्ति उत्पादन गर्न स्पेशल कोर्ष पनि दिन थालिसकेका छन् । थ्रिकम केयरमा तालिम पनि थ्रिकम केयरले मोबाइल, ल्यापटप बनाउने स्पेशल कोर्ष पनि प्रदान गरिरहेको छ । हाल १५ जनाले नि:शुल्क तालिम लिईरहेका छन् । एक वर्षको यो कोर्षपछि सञ्चालक जयसवालले आफ्नै कम्पनीमा उनीहरुलाई रोजगारी दिलाउँने बताएका छन् । ‘कतिले आफ्नै क्षेत्रमा गएर पनि कम्पनी खोल्न सक्छन् ।’ उनी भन्छन्, ‘नेपालमै बस्न चाहन्छु, स्वदेशमै कमाउँछु भन्नेलाई राम्रो अवसर छ ।’ १५ जना बाहेक अन्यले सिक्न चाहेमा भने कोर्षको लागि शुल्क तिर्नुपर्नेछ । यसरी विशेष कोर्ष गर्नेहरुले १० हजार देखि २ लाख रुपैयासम्म कमाइ गर्न सकिने जयसवाल बताउँछन् । आफ्नो क्षमता अनुसार कमाइ गर्न सकिने उनले बताए । नेपालमै अवसरै अवसर युवा व्यवसायी जयसवाल नेपालमै अवसरै अवसर देख्छ न् । काम गर्न चाहनेले वेरोजगार बस्न नपर्ने उनले बताए । प्राविधिक क्षेत्रमा झन् अवसर र सम्भाबनाको खानी भएको उनी बताउछन् । ‘यो क्षेत्रमा समय धेरै दिनुपर्छ । त्यो अनुसार उर्जा र समय खेर जाँदैन । प्रतिफल अबश्य पाईन्छ ।’ विदेश जान खोज्ने युवाहरुलाई उनी यतै सीप सिकेर उद्यम, व्यवायमा लाग्न सल्लाह दिन्छन् । खाडीबाट आउने नेपालीहरु पनि स्वदेशमा कामको खोजीमा भौतारिरहेका हुन्छन् । उनीहरुलाई नआत्तिएर यतै काम गर्न उनी सुझाउँछन् । सर्लाहीको मध्यमवर्गिय परिवारमा जन्मिएका जयसवालका पीता राम नारायण घर बनाउने काम गर्छन् । आमा इन्दु देवी हाउसवाइफ । आफू यो स्थानमा पुग्न दाइ सञ्जयको ठूलो भूमिका भएको उनी बताउँछन् । जयसवालले अहिलेसम्म ५ लाख रुपैयाँ सेयरमा हालेका छन् । त्यसबाहेक मोबाइल र ल्यापटपमा लगानी रहेको उनी बताउछन् । यसै क्षेत्रलाई बृहत बनाउने उनको सोच छ । उनको मुख्य व्यापार नै यही हो । मंगलबार खुल्न लागेका दुई वटा शोरुम गरेर थ्रिकममा अहिलेसम्म १ करोड २३ लाख रुपैयाँ लगानी भईसकेको उनी बताउँछन् । उनले नेपाल बैंकबाट ऋण लिएका छन् । नेपाल बैंक र राष्ट्रिय वाणिज्य वैंकले उनलाई ऋण दिएर सहयोग गरिरहेका छन् । ‘थ्रिकमलाई राष्ट्रिय स्तरको कम्पनी बनाउँन कस्सिएको छु ।’ जयसवाल भन्छन्, ‘नेपालमै भविष्य खोज्ने युवालाई सक्दो सहयोग गर्नेछु । नेपालमा अपार सम्भाबना छ । त्यसलाई हामीले प्रमाणित गर्नु पर्छ ।’ जति गफिए पनि युवा जयसवाल एकदमै आशावादी देखिए । युवापुस्तालाई सकारात्मक सोच लिएर अगाडी बढ्न उनी सल्लाह दिन्छन् । ‘हामी युवाले नगरे कसले गर्ने ?’ छुट्टिने बेला युवा उद्यमी जयसवालले उल्टै प्रश्न गरे ‘अहिले नगरे कहिले गर्ने ?’  

अस्ट्रेलियामा फेसबुक र गुगलले रकम तिर्नुपर्ने कानुन पारित

एन्जेसी । अस्ट्रेलियामा फेसबुक र गुगलले समाचारका लागि रकम तिर्नुपर्ने विधेयक पारित भएको छ । केही समय अगाडीदेखि यो मुद्दा विचाराधिन अवस्थामा रहेको थियो । बुधबार अस्ट्रेलियाको माथिल्लो सदनबाट नयाँ मिडिया कानुन पारित भएको हो । समाचार संस्था रोयटर्स  का अनुसार अस्ट्रेलियाले ल्याएको नयाँ कानुन अनुसार फेसबुक र गुगल अस्ट्रेलियन मिडियाको समाचार प्रयोग गरेबापत रकम तिर्नु पर्नेछ । यो कानुन अनुसार सूचना तथा प्रविधि कम्पनीहरूले रकम तिर्नु पर्ने उल्लेख छ । तर, कति रकम तिर्नु पर्ने भन्ने कुनै मापदण्ड तोकिएको छैन । अस्ट्रेलियाको नयाँ कानुन अनुसार फेसबुक र गुगलले स्थानिय मिडिया संस्थालाई निश्चित रकम तिर्न दवाव परेको थियो । अस्ट्रेलियाले ल्याउन लागेको कानुनमा फेसबुक र गुगलले असहमति जनाउँदै रकम नतिर्ने बताएका थिए । गुगलले मिडिया कम्पनीसँग केही अघि सम्झौता गरिसकेको छ । फेसबुकले भने अस्ट्रेलियाली प्रयोगकर्ताहरुलाई समाचार सेयर गर्न रोक लगाएको थियो । सरकारी अधिकारीसँग पछिल्ला दिनमा वार्ता गरेपछि फेसबुक आफ्नो कदमबाट पछि हटेको छ । बिगत ६ महिना यता अस्ट्रेलियासँग फेसबुक र गुगलको द्वन्द्व थियो । सूरुवातमा गुगलले अस्ट्रेलियाबाट बाहिरिने चेतावनी दिएको थियो । गएको साता भने रकम तिर्न राजी भएको थियो । अस्ट्रेलियाका ठूला प्रकाशकलाई झण्डै ४७ मिलियन डलर तिर्न गुगल तयार भएको छ । फेसबुकले भने मिडियालाई पैसा नतिर्ने भन्दै अस्ट्रेलियाको कानुनमा असहमती जनाएको थियो । अस्ट्रेलियाली प्रयोगकर्ताहरुलाई समाचार सेयर गर्न, पढ्न पाँच दिनसम्म प्रतिबन्ध लगाएको थियो ।

राष्ट्र बैंकको नयाँ संचार नीतिः कार्यकारी निर्देशकलाई पनि सुचना दिन कडाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले विशिष्ट श्रेणीका कर्मचारी (कार्यकारी निर्देशक) हरुलाई पनि सुचना प्रवाहमा कडाई गरेको छ । राष्ट्र बैंकबाट प्रवाह हुने सुचना तथा जानकारीहरुमा एकरुपता कायम गरी व्यवस्थित गर्न भन्दै कडाई गरिएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको सुचना तथा संचार नीतिले सुचना तथा जानकारी प्रवाह गर्नको लागि गभर्नर, डेपुटी गभर्नरहरु, प्रवक्ता, सुचना अधिकारी तथा सहप्रवक्तालाई मात्रै सुचना तथा जानकारी प्रवाह गर्ने अधिकार प्रदान गरिएको छ । ‘बैंकले प्रवक्ता, सूचना अधिकारी तथा सह–प्रवक्तामार्फत सरोकारवालालाई बैंकको तर्फबाट आधिकारिक धारणा तथा सूचना सम्प्रेषण गर्नेछ,’ नीतिमा उल्लेख गरिएको छ । नयाँ नीति अनुसार राष्ट्र बैंकसंँग सम्बन्धित कुनै पनि काम कारवाही तथा मुलुकको आर्थिक एवम् वित्तीय अवस्थाका बारेमा कुनै पनि समयमा गभर्नरले सूचना सम्प्रेषण गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, बैंकसँग सम्बन्धित आफ्नो कार्यक्षेत्रभित्र पर्ने कुनै पनि काम कारवाही तथा मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको बारेमा कुनै पनि समयमा सम्बन्धित डेपुटी गभर्नरले सूचना सम्प्रेषण गर्न सक्ने भनिएको छ । बैंकको निर्णय तथा गतिविधिबारे बैंकको प्रवक्ता वा सहप्रवक्ता सञ्चार माध्यमलाई सूचना सम्प्रेषण गर्ने भनिएको छ । गभर्नरको स्वीकृति बमोजिम आफ्नो विभागसँग सम्बन्धित कामकारवाहीको वारेमा सम्बन्धित विभागीय प्रमुखले प्रवक्तासँग समन्वय गरी सूचना सम्प्रेषण गर्न सक्ने व्यवस्था मिलाइएको छ । प्रदेशस्थित कार्यालय प्रमुखले प्रवक्ता, सहप्रवक्ता तथा सूचना अधिकारीको समन्वयमा आपूm कार्यरत प्रदेशसँग सम्बन्धित कुनै पनि काम कारवाही तथा आर्थिक अवस्थाको बारेमा सूचना सम्प्रेषण गर्नुपर्ने व्यवस्था मिलाइएको छ । प्रवक्ता, सहप्रवक्ता तथा सूचना अधिकारील कुनै सूचना तथा जानकारी सम्प्रेषण गर्ने क्रममा आवश्यक देखेमा सम्बन्धित विषयवस्तुको ज्ञान भएको कर्मचारीमार्पmत विशेषज्ञको रूपमा सो विषयबारेको सूचना तथा जानकारी सम्प्रेषण गर्न गराउन सक्ने बाटो नीतिले खोलेको छ । बैंकले प्रवाह गर्नुपर्ने सूचना तथा जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न सक्ने व्यवस्था नीतिमा छ । सामाजिक सञ्जालको सञ्चालन गभर्नरको कार्यालय, सूचना तथा सञ्चार समन्वय महाशाखाले प्रवक्ता तथा सूचना अधिकारीको समन्वयमा गर्ने भनिएको छ । बैंकले विभिन्न सामाजिक सञ्जालमार्फत बैंकको आधिकारिक पेज वा अकाउन्ट सञ्चालन गरी बैंकका सूचना तथा जानकारी सम्प्रेषण गर्न सक्ने भनिएको छ । [pdf id=261340]