भायानेटले ल्यायाे किस्ताबन्दीमा ईन्टरनेट सेवा

काठमाडौं । भायानेट ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि इएमआई अफर ल्याएको छ । इएमआई अफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एक मुष्ट रकम नतिरी इएमआई अर्थात् मासिक किस्ताबन्दीमा सरल रुपले शुल्क तिर्न सकिने प्रावधान छ । यो अफर मार्फत् ग्राहकले १२ महिनाको अवधिको मासिक इएमआई मात्र १ हजार ९ सय ५६ रुपैयाँमा १२ महिनाको अवधिको ३० एमबिपिएस इन्टरनेट, भायाटिभी टेलिभिजन प्याकेज र त्यससँग लाग्ने सबै जडान खर्च, फाइबर वाइफाइ डिभाइस र एउटा सेट–टप–बक्स (वैकल्पिक) पाउनेछन् । इएमआई अफर लिने ग्राहकलाई थप १००० रिवार्ड प्वाईट पनि उपलब्ध गराइने र यो अफर भायानेटको अन्य प्याकेजमा पनि उपलब्ध हुने कम्पनीले जनाएकाे छ । । यो अफर हालकाे लागि एनआईसी एशिया बैंकको क्रेडिट कार्ड ग्राहकहरुको लागि सीमित रहेकाे र  छिट्टै नबिल बैंक र अन्य बैंकहरुसँग पनि समझदारी हुने भायानेटले बताएकाे छ ।  

एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा: अब सेवा लिन, प्रश्न वा गुनासोहरु राख्न झनै सजिलाे

काठमाडाैं । एनसेल आजियाटा लिमिटेडले आफ्नो डिजिटल ट्रान्सर्फमेसन योजना अनुरुप आफ्ना ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ । यो च्याट सेवाको डिजिटल प्लेटफर्म मार्फत ग्राहकले एनसेलको सेवा तथा सुविधाहरुका बारेमा सजिलै जानकारी लिन सक्नेछन् । च्याटबोट सेवा ‘माया’ एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्ने एनसेलले जनाएकाे छ । यो सेवा एनसेलको आधिकारिक फेसबुक मेसेन्जर, भाइबर, ह्वाटसएप र वेबसाइटमा उपलब्ध छ जसअन्तर्गत एनसेलका ग्राहकले च्याटबोट मार्फत एनसेलको सेवा लिन, आफ्ना प्रश्न वा गुनासोहरु राख्न सक्नेछन् । एनसेलकाे अनुसार च्याटबोट सेवा ‘माया’ माघ ४ गते देखि एनसेललका सबै आधिकारिक सामाजिक सञ्जाल पेज वा ह्याण्डलमा उपलब्ध भएका छन् । यस प्लेटफर्म मार्फत ग्राहकले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, भिसा तथा मास्टरकार्डबाट रिचार्ज गर्न, एनसेलको सेवा तथा सुविधाको बारेमा कुनै जिज्ञासा राख्न, ब्यालेन्स चेक गर्न, अफरहरुको बारेमा जानकारी लिन तथा कुनै गुनासो भए राख्न सक्ने कम्पनीले जनाएकाे छ ।

३० अर्ब ६६ करोड लगानी थप्दै एनसेल, गत वर्षकाे लाभांश साढे १७ अर्ब रूपैयाँ

काठमाडौं । एनसेल एक्जियटा लिमिटेडले टेलिकम्युनिकेशन क्षेत्रमा थप ३० अर्ब ६६ करोड रुपैयाँ लगानी विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले फोरजी सेवालाई फाइभजी सेवामा स्तरउन्नती गर्न ठूलो लगानीको तयारी गरेको हो । एनसेल आजियटाका प्रमुख कार्यकारी अधिकृत एन्डी छङले चार महिनाअघि पत्रकारहरूसँगकाे भर्च्यूअल कुराकानीमा नेपालीले छिट्टै फाइभजी सेवाको स्वाद लिन पाउने बताएका थिए ।  उनले विकसित नयाँ प्रविधि नेपाली प्रयोगकर्तासम्म अनुभव गराउन ढिला नगर्ने बताएका थिए । पछिल्लो समय विकसित प्रविधि फाइभ जी फोरजीमा भन्दा धेरै सुविधा रहेको र उच्च गतिको इन्टरनेट सेवा लिन सकिने प्रविधि हो । नेपालमा फाइभजी सेवा सञ्चालन गर्न अनुमति दिने विषयमा सञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गृहकार्य गरिरहेको छ । प्राधिकरणले फाइभजी सेवा परीक्षण स्वीकृति दिने विषयमा नीतिगत निर्णय गर्न मन्त्रालयमा प्रस्ताव पेस गरिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । प्राधिकरणले फाइभजी सेवाको लागि फ्रिकेन्सी बाँडफाँड, लागत निर्धारण लगायतको विषयमा पनि गृहकार्य शुरु गरेको हो । एनसेलले सहयाक कम्पनी खोलेर पेमेन्ट सर्भिस प्रोभाइडरको काम समेत गर्न लागेको बताइएकाे छ । नयाँ सेवा विस्तारकाे लागि कम्पनीले ३० अर्ब ६६ कराेड ६६ लाख ७० हजार रूपैयाँ लागतकाे याेजना बनाएकाे छ । उक्त लगानी जुटाउन कम्पनीले नेपाली बैंकहरुसँग कर्जा माग प्रस्ताव समेत गरेको छ । कम्पनीको माग अनुसार विभिन्न बैंकहरुले कर्जा लगानी गर्न तत्परता पनि देखाएका छन् । एनसेल नेपालको सबैभन्दा ठूलो कारोबार गर्ने, सरकारलाई सबैभन्दा बढी कर तिर्ने र सबैभन्दा बढी नाफा आर्जन गर्ने कम्पनी हो । यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाइ करिव साढे १७ अर्ब रूपैयाँ वितरण गरेकाे छ । एनसेलमा ८० प्रतिशत लगानी रहेकाे विदेशी साझेदार एक्जियता ग्रुपले मात्र नाफाबाट मात्र करिव १४ अर्ब रुपैयाँ लाभांश लगेको छ । नेपाल राष्ट्र बैंकले गत मंसिरमा मात्र एक्जियटा ग्रुपलाई एनसेलको नाफाबाट करिव १४ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश लैजान स्वीकृति दिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए ।