नेपाल टेलिकमले फाइभजी सेवामा लैजान तयारी सुरु गर्नुपर्छ: मन्त्री गुरुङ
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमले फाइभ जी सेवामा लैजानको निम्ति तयारी गर्नुपर्ने बताएका छन्। बिहिबार नेपाल टेलिकमको १७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपाल टेलिकमले तुरुन्तै फाइभ जीमा जानको लागि तयारी गर्नुपर्ने बताएका हुन् । फोर जी सेवाको व्यवस्थापन, कार्यान्वयन तथा लगानी गर्दाको प्रभावकारीता समिक्षा गर्दै फाइभ जी तर्फ जानुपर्ने आवश्यकता रहेको उनको भनाई छ । नेपाल टेलिकमको फ्रिक्वेन्सीहरुलाई प्रयोगहिन नबनाउन उनले आग्रह समेत गरे । मन्त्री गुरुङले नेपाल टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा अघि बढाउनुपर्ने पनि बताए । टेलिकमलाई पूर्वाधार कम्पनीको रुपमा व्यवस्थापन गर्ने पहलकदमी मन्त्रालयले लिने उनको भनाई छ । उनले कर्मचारीको नियमावली पास गरेर कर्मचारी व्यवस्थापनको क्षेत्रमा नयाँ ढंगले सुधार गर्नुपर्ने र कर्मचारीहरुले फिल्डमा जान मन नगरेको अवस्थामा कार्यविधि बनाएर कर्मचारी एकपल्ट फिल्डमा जानैपर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए । संस्थाको हितको निम्ति कर्मचारीहरुले उठाएका आवाजहरुलाई पुरा गर्न मन्त्रालय तयार रहेको उनको भनाई छ । कर्मचारीको वृत्तिविकास र हकहितमा मन्त्रालयले ध्यानदिने भएपनि कर्मचारीको मागहरु व्यक्तिकेन्द्रीत नभई टेलिकम र सेवाग्राहीको हितमा पनि हुनुपर्ने उनले बताए ।
नेपाल टेलिकमको सेयर संरचना परिर्वतन गर्नु पर्नेमा मन्त्री गुरुङको जोड
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सेयर सर्वसाधारण नागरिकले पनि पाउनु पर्ने बताएका छन् । सर्वसाधारणको उपस्थिती तथा सहभागिताले मात्र कम्पनी दिगो हुने बताउँदै उनले नेपाल टेलिकमको सेयरमा सर्वसाधारणको पनि उल्येख्य सेयर स्वामित्व हुनु पर्ने जोड दिएका हुन् । बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गुरुङले टेलिकमको सेयर स्वामित्वमा सर्वसधारणको पनि सहभागिता हुनु पर्ने धारणा राखेका हुन् । कार्यक्रमममा प्रमुख अतिथि समेत रहेका मन्त्री गुरुङले भोलि नै सञ्चालक समितिको बैठक बसेर यसको बारेमा छलफल गर्न निर्देशन समेत दिए। ‘मैले सबै कूरा बझेको छु, अध्ययन गरको छु, यो कम्पनीलाई दिगो बनाउनको लागि जनताको सहभागिता अति नै आवश्यक हुन्छ, यस कम्पनीमा जनताको स्वामित्व चाहिन्छ, जनता पनि यस कम्पनीको मालिक हुनु पर्छ,’ उनले भने । उनले जनताको सहभागिता विनाको संस्था तथा कम्पनी दिगो नहुने बताउँदै छिटो भन्दा छिटो सर्वसाधारणले यसको उल्लेख्य स्वामित्व पाउने निर्णय गर्न समेत निर्देशन दिए । ‘जब सम्म जनताले यसको मालिक भएको अपनत्व लिन सक्दैनन्, तवसम्म त्यो दीगो रहन सक्दैन, त्यसैले जनता मालिक हुने र जनता पनि सहभागी हुने किसिमको नीति बनाउनुु पर्छ, यसको बारेमा छलफल चलोस्, उनले भने, ‘कम्पनीको अहिलेसम्मको संरचना कस्तो छ ? हामीले कस्तो संरचना बनायौं ? जनतालाई पनि मालिक बनाउने यसको सेयर संरचनामा के परिवर्तन गरेका छौं, भोलि नै छलफल गरौं ।’ कम्पनीले जति सहयोग गरे पनि ती सबै सहयोग मानिसले अनुभुति गर्ने खालका नभएको समेत उनले बताए । धेरै लामो समयदेखि टेलिकमको सेयर संरचना परिवर्तन गर्ने तयारी भइरहेको बताए पनि हालसम्म कुनै टुङ्गो लाग्न सकेको छैन । पूर्व मन्त्री गोकुल बाँस्कोटाले पनि यसको बारेमा छलफल तथा तयारी भइरहेको विभिन्न कार्यक्रममा बताउँदै आएका थिए । सर्वसाधारणमा सेयरको हिस्सा बढाउने र सरकारको सेयर घटाउँदै लैजाने योजना भएपनि हालसम्म सर्वसाधारणले यसको सेयर स्वामित्व पाउन सकेका छैनन् । सरकारसँग हाल कायम रहेको ९१.३ सेयर स्वामित्व रहेको छ भने सर्वासधारण र कर्मचारीहरुसँग ८.४७ प्रतिशत सेयर छ । पूर्वमन्त्री बाँस्कोटाले सरकारको स्वामित्वमा रहेको सेयर स्वामित्वमध्ये २६ प्रतिशत बिक्री गरेर ६६ प्रतिशतमात्र कायम गर्ने तयारी भइरहेको विभिन्न कार्यक्रममा बताउँदै आएका थिए । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा टेलिकमको १ सय रुपैयाँ अंकित मूल्य कायम रहेको १५ अर्ब रुपैयाँ बराबरको १५ करोड कित्ता सेयर सूचीकृत छ । त्यसमा सरकारको १३ करोड २७ लाख र सर्वसाधारण तथा कर्मचारीको १ करोड २७ लाख कित्ता सेयर रहेको छ । यस्तै मन्त्री गुरुङले रणनीतिक साझेदार भित्र्याउन पनि पहल गर्न निर्देशन दिएका छन् । लामो समयदेखि यो विषय उठ्दै आएको भए पनि हालसम्म यसको काम अगाडि नबढ्नु विडम्बना भएको उनको भनाई छ । कम्पनीका गत आर्थिक वर्ष २०७६/७७ मा ४२ अर्ब ९८ करोढ रुपैयाँ आम्दानी पुगेको छ भने कम्पनीको नाफा ९ अर्ब ७४ करोड रुपैयाँ भएको छ । कम्पनीले गत आवमा मुलुकको अर्थतन्त्रमा ३५ अर्ब ५ करोड अर्थात कुल आयको ८१ प्रतिशत योगदान गरेको छ । हाल कम्पनीको २ करोड ९ लाख ग्राहक पुगिसकेका छन् । मुलुकको ७० प्रतिशत जनसंख्या टेलिकमको सेवाको पहुँचमा रहेको बताइएको छ ।
टेलिकमद्वारा फाेरजी वायरलेस ब्राेडव्याण्ड सर्भिसकाे सुरुवात
काठमाडाैं । नेपाल टेलिकमले देशभर फाेरजी माेबाइल चलाउन मिल्नेगरी फाेरजी वायरलेस ब्राेडव्याण्ड सर्भिसकाे सुरुवात गरेकाे छ । टेलिकमले बिहिबार आफ्नाे १७ ओैं वार्षिकाेत्सवकाे अवसरमा फाेरजी वायरलेस ब्राेडव्याण्ड सेवाकाे सुरुवात गरेकाे हाे । एफटीटीएच वा तारवाला टेलिफाेन नपुगेकाे वा वाइफाइ सेवा उपलब्ध नभएकाे तर वायलेस माध्यमबाटै धेरै डाटा चलाउन ग्राहकहरुले कस्टमर प्रिमिसेस इक्युपमेन्ट प्रयाेग गरी सुलभ दरमा यस सेवाकाे प्रयाेग गर्न सक्नेछन् । हाल याे सेवाकाे प्रति महिना ६० जिबीकाे ९ सय, १२० जिबीकाे १५ सय र वार्षिक ९ हजार ६ सय मा ७२० जिबी र १६ हजारमा १४४० जिबी उपलब्ध हुनेछ कम्पनीले जनाएकाे छ । याेसँगैं टेलिकमले मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सेवाकाे पनि सुरुवात गरेकाे छ ।