अमेरिकाले लगायाे चीनले सहयोग गरेकाे ह्याकरले अनुसन्धान ‘चोर्न खोजेको’ आरोप

काठमाडाैं । अमेरिकाले कोरोनाभाइरस नियन्त्रणका लागि आफ्नो देशमा भइरहेका खोप र उपचारबारेका अनुसन्धान चीनले चोर्न खोजेको आरोप लगाएको छ । अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआई तथा साइबर सुरक्षा निकायले कोभिड -१९ बारे अध्ययन गरिरहेका अमेरिकी संस्था र औषधि उत्पादक कम्पनीहरूमा चीनले सघाएका ह्याकरहरूले आक्रमण गरेको विषयमा अनुसन्धान गरिरहेको बताएका छन् । कोरोनाभाइरसको उत्पत्ति र महामारी फैलिएको विषयमा चीन पारदर्शी नभएको भन्दै ट्रम्प प्रशासनले पटकपटक चीनको आलोचना गर्दै आएको छ । दुवै देशले एकअर्कालाई उक्त प्रकोप नियन्त्रण गर्ने कार्यमा असफल भएको भन्दै आरोप लगाइरहेका छन्। कोभिड-१९ बाट विश्वभरि ४३ लाखभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा सङ्क्रमितमध्ये ८४ हजारभन्दा बढीले ज्यान गुमाएका छन्। चीनमा ४ हजार ६सय जनाले ज्यान गुमाएको बताइएको छ । एफबीआई र साइबर सुरक्षासम्बन्धी निकायले बुधवार संयुक्त रूपमा सम्भावित डिजिटल ह्याकबारे चेतावनी जारी गरेका हुन् । लोक कल्याणकारी विज्ञापन भनिएको उक्त चेतावनीमा स्वास्थ्य सेवा, औषधि उत्पादन गर्ने कम्पनी र कोभिड-१९ का विषयमा अनुसन्धान गरिरहेका कम्पनीहरू ह्याकरहरूको मुख्य निसानामा रहेको उल्लेख गरिएको छ । यसै हप्ताको आरम्भमा चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले कोभिड-१९को उपचार र खोप बारे अनुसन्धानका विषयमा आफूहरूले नेतृत्व गरिरहेको बताउँदै बिनाप्रमाण चीनलाई आरोप लगाउनु अनैतिक रहेको बताएका थिए । गत सोमवार नियमित पत्रकार सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि चीनको कथित साइबर गतिविधितर्फ सङ्केत गरेका थिए । (बिबिसी)

हावाहुरीले रेडियो तथा टेलिभिजन टावरमा क्षति

काठमाडौं । वर्षातसँगै आएको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ । हुरीले रेडियो नेपालको एफएफ रिलेस्टेशन र टेलिभिजन दुवैको टावर भाँचेको हर्रेस्थित एफएम रिलेस्टेशनमा कार्यरत प्राविधिक मोहन केसीले राससलाई जानकारी दिए । “जोडले चलेको हुरीबतासले रेडियो र टेलिभिजन दुवैको टावर ढलेर एन्टेना भाँचिएको छ”, प्राविधिक केसीले भने, “कार्यालय भवनकै छतमा टावर ढल्दा भवनमा समेत क्षति पुगेको छ ।” त्यसबाट कुनै मानवीय क्षति भने नभएको उनले जनाए । रेडियो एन्टेना भाँच्चिएपछि फ्रिक्वेन्सी मोडुलेसन १०० मेगाहर्जको प्रसारण अवरुद्ध भएको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख जानकीशरण साहले जानकारी दिए । उनका अनुसार यो रिलेस्टेशन प्रसारण सेवाबाट बाँके, बर्दिया, सल्यान, जाजरकोट र सुर्खेत प्रभावित भएका छन् । “बन्दाबन्दीका कारण क्षतिग्रस्त ठाउँमा पुग्न सकिएको छैन”, केन्द्र प्रमुख साहले भने, “जिल्ला प्रशासन कार्यालय सुर्खेतबाट सवारी अनुमति लिएर आज इलाका प्रहरी कार्यालय छिन्चुको सुर्खेतको सहयोगमा क्षति यकिन गरिने छ ।” हुरीबतासले क्षतिग्रस्त टावर बनाउन केही समय लाग्ने भए पनि सेवाग्रहीका लागि हाललाई मिडिएम वेभ ५७६ किलो हर्ज सुर्खेतबाट प्रसारण सेवा नियमित भइरहेको बताए । रासस

टेलिकमकाे ई-शिक्षा प्याकेजबाट ७७ वटै जिल्लाका विद्यार्थी लाभान्वित

काठमाडाैं । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले मुलुक लकडाउन गरिरहेको समयमा नेपाल टेलिकमले अनलाइन कक्षा सञ्चालन गर्न ल्याएको ई-शिक्षा प्याकेजबाट ७७ वटै जिल्लाका विद्यार्थीहरु लाभान्वित भइरहेका छन् । मुलुकको प्रतिष्ठित बुढानिलकण्ठ स्कुलले त्यहाँ अध्ययनरत ७७ वटै जिल्लामा छरिएर रहेका विद्यार्थीहरुलाई नेपाल टेलिकमको ई-शिक्षा प्याकेजमार्फत शिक्षा प्रदान गरिरहेको छ । ७७ वटै जिल्लाका जेहेन्दार तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरी निःशुल्क शिक्षा पनि दिइरहेको सो विद्यालयमा अध्ययनरत सबै विद्यार्थी अहिले अ-आफ्नो घरमा छन् । ती विद्यार्थीहरुमध्ये मुलुकभर छरिएर रहेका दुर्गम जिल्ला र क्षेत्रका विद्यार्थीहरुलाई समेत टेलिकमको ई-शिक्षा प्याकेज दिएर विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको हो । बुढानिलकण्ठ स्कुलका प्रधानाध्यापक होम आचार्य भन्छन्, ‘नेपाल टेलिकमको ई-शिक्षा प्याकेजबाट ७७ वटै जिल्लामा रहनुहुने विद्यार्थीहरुलाई समेटी अनलाइन कक्षा सञ्चालन गरिरहेका छौं ।’ कम्पनीसँग विद्यालयले प्याकेज खरिद गरी दुर्गम जिल्ला र क्षेत्रमा रहेका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई निःशुल्क डाटा सेवा उपलब्ध गराएको पनि उनले बताए । उनी भन्छन्, ‘सबै क्षेत्रमा पुगेको नेपाल टेलिकमको डाटा सेवाको स्पिड पनि राम्रो रहेकाले काठमाडौबाटै मुलुकभर कक्षा सञ्चालन गर्न सहयोग पुगेको हो ।’ स्कुलमा रहेको अभिभावक संघसँगको सहकार्यमा विद्यार्थीहरुलाई निःशुल्क डाटा सेवा उपलब्ध गराइएको छ । उक्त विद्यालयले अहिले दैनिक ८ सय विद्यार्थीलाई अनलाइन कक्षाबाट दीक्षित गरिरहेको छ । नेपाल टेलिकमले विशेष ई-शिक्षा प्याकेज अन्तर्गत २ सय ६० रुपैयाँमा ६ जिबी र ५ सय रुपैयाँमा १५ जिबी डाटा २८ दिनभित्र उपयोग गर्न सकिने गरी उपलब्ध हुनेछ । हालको विषम परिस्थिति र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई दृष्टिगत गरी बजार मूल्यभन्दा निकै सस्तो मूल्यमा उपलब्ध गराइएका उपरोक्त सेवाहरु विश्वविद्यालय र विद्यालयहरुको सिफारिशका आधारमा विद्यार्थी र शिक्षकहरुलाई कम्पनीले उपलब्ध गराउने छ । कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना [email protected] मा विश्वविद्यालय तथा विद्यालयहरुले प्याकेज प्रदान गर्नुपर्ने नम्बरहरुको सूचीसहित सिफारिश पठाउनु पर्ने छ । सिफारिश प्राप्त भएका नम्बरहरुलाई *१४४१# डायल गरी प्याकेज खरिद गर्नको लागि कम्पनीले एसएमएसमार्फत सूचित गर्नेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *१४४१# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक प्याकेज खरिद गर्न सकिने छ । ई-शिक्षा प्याकेज नेपाल टेलिकमले प्रदान गर्ने सबै प्रकारका जीएसएम मोबाइल डाटा सेवा (टुजी, थ्रिजी र फोरजी) मार्फत प्रयोग गर्न सकिने छ ।