कनेक्ट आईपीएसमा एक महिनामै साढे ३ अर्बले बढ्यो कारोबार, क्यूआर कोड प्रयोग गर्ने पनि बढ्दै

काठमाडौं । पछिल्लो समय अनलाइनको सहजता र प्रविधिको प्रयोगले नगदरहित कारोबार गर्नेको संख्यामा बृद्धि हुन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ७ महिनाको तथ्यांक अनुसार इन्टरनेट तथा मोबाइल बैंकिङसहितका प्रविधिको प्रयोग गर्नेको संख्यामा बृद्धि भएको पाइएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको माघ मसान्तसम्मको तथ्यांक अनुसार गत महिनाको तुलनामा कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेट मार्फत हुने कारोबारमा बृद्धि भएको हो । उक्त प्रविधिको प्रयोग गरी गत महिनाको तुलनामा माघ महिनामा मात्र दश अर्ब बढीको कारोबार भएको छ । उक्त प्रविधिको प्रयोग गरी पुस महिनामा १ खर्ब ५३ अर्ब १७ करोड बढीको कारोबार भएकोमा माघ महिनामा एक खर्ब ६३ अर्ब ८७ करोड बढीका कारोबार भएको हो । बैंकको तथ्यांक अनुसार माघको एक महिनामा मात्र कनेक्ट आईपीएस मार्फत १ खर्ब ४ अर्ब ३९ करोडभन्दा बढीको कारोबार भएको छ । जुन गत पुसको तुलनामा साढे ३ अर्बले बढी हो । पुस महिनामा १ खर्ब ७७ करोड बराबरको कारोबार भएको थियो । यो अबधिमा १५ लाख ४५ हजार पटक कनेक्ट आईपीएसको प्रयोग भएको छ । माघ महिनामा मोबाइल बैकिङ मार्फत ३८ अर्ब ५९ करोड ७० लाख बढीको कारोबार भएको छ । गत पुस महिनामा ३३ अर्ब १५ करोड ३ लाख बढीको कारोबार भएको छ । माघ महिनामा मोबाइल बैंकिङमार्फत ९६ लाख ७२ हजार ४७८ पटक कारोबार भएको छ । यसैगरी, माघ महिनामा इन्टरनेट बैंकिङमार्फत ९ अर्ब २२ करोड ७० लाख बढीको कारोबार भएको छ । गत पुस महिनामा इन्टरनेट बैंकिङमार्फत ८ अर्ब ५० करोड ३० लाख बढीको कारोबार भएको थियो । माघ महिनामा ३१ हजार ४८२ पटक कारोबार भएको छ । पुस महिनाको तुलनामा माघमा वालेट मार्फत हुने कारोबार रकममा बृद्धि भएको छ । वालेट मार्फत पुस महिनामा ९ अर्ब ६५ करोड ६० लाख बराबरको कारोबार भएकोमा उक्त रकममा बृद्धि भई माघमा ९ अर्ब ९४ करोड ८० लाख बराबरको कारोबार भएको छ । कारोबार रकमसगैँ कारोबार पटकमा समेत बृद्धि भएको छ । एक महिनामा एक करोड ५१ लाख ६ हजार पटक कारोबार भएको छ । यसैगरी गत पुस महिनामा अनलाइन (इ–कमर्श) बाट ८४ करोड ३० लाख कारोबार भएकोमा माघमा उक्त रकममा बृद्धि भई ९३ करोड २० लाख बराबरको कारोबार भएको छ । बढ्यो क्यूआरमार्फत हुने कारोबार कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेट मार्फत हुने कारोबार रकमसगैँ क्यूआरमार्फत हुने कारोबारको रकममा समेत बृद्धि भएको छ । गत पुस महिनाको तुलनामा माघ महिनामा ४६ करोड ७० लाख बढीको कारोबार भएको छ । गत पुस महिनामा १ अर्ब २४ करोेड ५० लाख बराबरको कारोबार भएकोेमा माघ महिनामा १ अर्ब ७१ करोड २० लाख बराबरको कारोबार भएको हो । गत पुस महिनामा ३ लाख ७२ हजार १ सय ७६ पटक कारोबार भएकोमा माघ महिनामा ५ लाख ३५ हजार ७९० पटक कारोबार भएको छ ।

पोखरा महानगरलाई डिजिटल बजार बनाउन इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच सहकार्य

काठमाडौं । इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ । पोखरा महानगरपालिकालाई डिजिटल बजार बनाउने उदेश्यका साथ दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा इसेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामिछाने र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै पोखरा उद्योग वाणिज्य संघमा आबद्ध हरेक सदस्य तथा अन्य पसलहरुमा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने सुविधा प्रदान गरिनेछ । पोखरा उद्योग वाणिज्य संघमा ७१ वटा वस्तुगत संघ र ३५ सय बढी व्यवसाय तथा फर्म आबद्ध छन् । सम्झौता कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले गरेका थिए । कार्यक्रममा बोल्दै उनले अनलाईन पेमेन्टले भ्रष्टाचार रोक्न सघाउ पुर्याउने बताए । उनले नगद भुक्तानको लागि धेरै व्यक्तिहरु धेरै ठाउँमा खटिनुपर्ने बताउदै अति नै मितव्ययी रहेकोले इसेवा डिजिटल पेमेन्टको क्षेत्रमा आजको आवश्यकता रहेको टिप्पणी गरेका थिए । क्यूआर तथा डिजिटल साझेदारी सम्झौता कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले भने ‘ परिवर्तित समय अनुसार आफ्ना व्यापार व्यावसायलाई परिमार्जन गर्दै लैजाने क्रममा इसेवासँग साझेदारी सम्बन्ध गाँस्न पाउँदा खुसी छौं । पछिल्लो समय क्यूआरको लोकप्रियता बढेको छ र यसले पैसा बोक्ने सिस्टम बिस्तारै कम हुदै गएको हुनाले हामी पनि यसको प्रयोगलाई बढाउन अग्रसर भएको हौं ।’ कार्यक्रममा इसेवाका सीएसओ रोशन लामिछानेले प्रविधिको सहि र उच्चतम प्रयोगका लागि, संघ र सदस्यहरुको सामिप्यताका लागि तथा डिजिटल भुक्तानी र प्रविधिमैत्री शहर र व्यवसायका लागि संघसँग इसेवाले सहकार्य गरेको बताए । मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले पछिल्ला दिनमा सरकारी क्षेत्रमा शुल्क बुझाउँदा बेहोर्नुपर्ने झञ्झटको अन्त्य गर्न विभिन्न किसिमका सेवा थप गर्दै गएको छ । हाल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या करिब २ लाख छन् । इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

खल्तीबाट २० रूपैयाँको रिचार्ज गर्दा ‘आइफोन १२’ जित्न सकिने

काठमाडाैं । ‘खल्ती’ डिजिटल वालेटले भाइबर कम्युनिटीमा “खल्तीमा आइफोन १२” नामक अभियान सञ्चालन गरिरहेको छ । खल्तीले अहिलेको समयमा क्याम्पेन प्रयोगकर्तालाई प्रविधिसँग अझै नजिक्याउन “खल्तीमा आइफोन १२” अभियान ल्याएकाे हाे जस अन्तर्गत १ भाग्यशाली विजेताले आइफोन १२ जित्न सक्नेछन् । याे अभियानमा एक भाग्यशाली बिजेता लक्की ड्र मार्फत छानिनेछन् र उनले आइफोन १२ जित्नेछन् । सहभागीले खल्ती भाइबर कम्युनिटीमा जोइन गरी खल्ती स्टिकर डाउनलोड गर्न पर्नेछ । र, खल्ती एप भित्र गई “खल्तीमा आइफोन १२” सेक्सनबाट २० रूपैयाँको रिचार्ज गर्नु पर्नेछ । यति मात्र हैन, खल्तीले आफ्नो भाइबर कम्युनिटीमा अझै थुप्रै रमाइलो हुने खेल जस्तै क्विज र गिबअवेहरु पनि गरिरहेको हुन्छ जस अन्तर्गत जो कोहिले थुप्रै कुपन तथा उपहारहरु पनि जित्न सक्छन् । यो अफर २८ मार्च अर्थात चैत १५ गतेसम्म लागू हुनेछ । खल्ती डिजिटल वालेट नेपालको पेमेन्ट गेटवे हो । जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, ई-कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक-शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढी छन् ।