नेपालमा भारतीय समाचार च्यानलहरुको प्रशारण रोक्ने निर्णय
काठमाडाैं । नेपालमा भारतीय न्युज च्यानलहरुको प्रशारण रोक लगाउने निर्णय भएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरूले बिहीबार साँझदेखि भारतीय न्युज च्यानलको प्रशारण रोक्ने निर्णय गरेका हुन्। यद्यपि यो निर्णय भारत सरकारको स्वामित्वको दूरदर्शनको हकमा लागू हुने छैन। मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार पछिल्लो समय भारतीय न्यूज च्यानलहरूले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गर्न थालेपछि यो कदम चालिएको हो। एक भारतीय मिडियाले त प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक विषय प्रसारण गरेको थियो।
नेप्सको प्रमुख कार्यकारी अधिकृतमा सुब्बा, भन्छन्ः वित्तीय समावेशीतामा केही गरेर देखाउँन आएको छु
काठमाडौं । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स) को प्रमुख कार्यकारी अधिकृतमा सन्जिव सुब्बा नियुक्त भएका छन् । करिब १ वर्षअघि नेपाल बैंकिङ इन्स्टिच्युट (एनबीआइ) को प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका सुब्बालाई नेप्सले ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल (तत्कालिन नेपाल ग्रिनलेज बैंक) बाट बैंकिङ करिअर सुरु गरेका सुब्बा सो बैंकमा करिब १० वर्ष काम गरेपछि जागिर छोडेर थाइल्याण्ड गएका थिए । थाइल्याण्डको वेब्स्टार विश्वविद्यालयमा १० वर्ष काम गरेका सुब्बा सो विश्वविद्यालयको रजिष्टार हुँदै कार्यकारी निर्देशकसम्म बनेका थिए । उनी ३२ वर्षको उमेरमै सो विश्वविद्यालयको रजिष्टार बनेका थिए । वेब्स्टार विश्वविद्यालयमा १० वर्ष काम गरेपछि सुब्बा फेरि नेपाल फर्किएका थिए । नेपाल फर्केपछि उनी एनबीआईको प्रमुख कार्यकारी अधिकृत बनेका थिए । खासै चर्चामा नरहेको एनबीआईलाई उनले नेपालको वित्तीय क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने प्रभावकारी संस्थाको रुपमा स्थापित गराए । एनबीआईको प्रमुख कायृकारी अधिकृतको जिम्मेवारी वहन गर्दा सुब्बा ४२ वर्षका थिए । एनबीआईमा करिब १० वर्ष काम गरेपछि उनले पदबाट राजीनामा गरेका थिए । वित्तीय समावेशीताको क्षेत्रमा काम गर्न खोजिरहेका सुब्बा प्रविधिसँग नजिक रहेर आफूले सोचे अनुसार अगाडि बढ्न सकिने अपेक्षा सहित नेप्सको व्यवस्थापन सम्हाल्न पुगेका हुन् । वित्तीय समावेशीताको क्षेत्रमा आफूलाई काम गर्ने इच्छा भएको र प्रविधिको प्रयोग गरी आफ्नो इच्छा अनुसारको काम गर्न पाइने सम्भावना देखेर नेप्समा संलग्न भएको सुब्बाले बताए । ‘अबको आवश्यकता भनेको वित्तीय समावेशीता हो, यो क्षेत्रमा काम गर्ने मेरो ठूलो इच्छा छ, प्रविधि प्रयोग गरेर वित्तीय समावेशीता कायम गर्न सकिन्छ भन्ने लाग्यो, त्यसैले नेप्समा आवद्ध हुने निर्णय गरेको हूँ, प्रविधिसँग साक्षात्कार आजको पुस्तासँग काम गर्न पाउँदा पक्कै पनि रमाइलो हुन्छ होला, सबैको साथ पाउँछु होला,’ नेप्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गरेपछि विकासन्युजसँग कुरा गर्दै सुब्बाले भने । थाइल्याण्डको वेब्स्टार विश्वविद्यालयको रजिष्टारमा नियुक्त हुँदा सुब्बा ३२ वर्षका थिए भने नेपालको वित्तीय क्षेत्रलाई दक्ष जनशक्ति उत्पादन गरिदिने एनबीआईको प्रमुख कार्यकारी अधिकृत हुँदा उनी ४२ वर्षका थिए । सुचना प्रविधिको प्रयोग गरेर वित्तीय सेवा प्रदान गर्ने नेप्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी भने उनले ५२ वर्षको उमेरमा सम्हाल्न पुगेका छन् ।
एनसेलले ल्यायो ‘ननस्टप युट्युब’ अफर
काठमाडौं / एनसेलका सबै फोरजी ग्राहकले अब लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबबाट भरपुर फाइदा लिन सक्छन् । भिडियो सामाग्रीहरु हेर्दा धेरै डेटा खपत हुने र शुल्क पनि बढि लाग्ने चिन्ताबाट मुक्त हुँदै ग्राहकले युट्युबको प्रयोग गर्न सक्छन् । एनसेलको प्राइभेट लिमिटेडले आफ्नो नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’ अफर ल्याएको छ । एनसेलको ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको कम्पनीले जनाएकाे छ । ‘प्लस’ थिम अन्तर्गतको ननस्टप युट्युब अफरमा ग्राहकले निश्चिन्त रुपमा मात्र रु १०० (कर सहित मात्र रु १२७.६९) मा एक साताभरि ४८०पी मा युट्युब भिडियो सामाग्रीहरुकोे मजा लिन सक्नेछन् । साथै यो अफरमा ग्राहकले ४ जिबी फोरजी अल टाइम अल नेटवर्क डेटाको पनि फाइदा लिन सक्नेछन् । फोरजी नेटवर्कमा ननस्टप युट्युब र ४ जिबी अल टाइम अल नेटवर्क डेटा सुचारु भएको दिनबाट ७ दिनको लागि मान्य रहनेछ । साथै यो प्याक सुचारु गर्ने ग्राहकले फेसबुक र टिकटकको लागि सुलभ दरमा छुट्टा छुट्टै आकर्षक प्याक पनि लिन सक्ने कम्पनीले जनाएकाे छ । ग्राहकले ननस्टप युट्युब प्याक सुचारु गरे पछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र रु २० (कर सहित मात्र २५.५३) मा ३५०० एमबि थप डेटाको लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक चलाउनको लागि प्रयोग गर्न सक्नेछन् । त्यति नै शुल्कमा टिकटक चलाउन रुचाउने ग्राहकले पनि हरेक दिन ५०० एमबिको दरले ७ दिन सम्म ३५०० एमबि थप डेटाको मजा लिन सक्नेछन् । आफ्नो आवश्यकता अनुसार ग्राहकले फेसबुक र टिकटकका लागि दुवै डेटा पनि लिन सक्नेछन् । एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स१७१२३ एस्ट्रिक्स१ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सजिलै सुचारु गर्न सक्नेछन् । सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता अनुरुप एनसेलले आफ्ना फोरजी ग्राहकलाई लक्षित गर्दै यो आकर्षक योजना ल्याएको हो । सन् २०१७ मा फोरजी सेवा संचालनमा ल्याए पछि कम्पनीले देशको विभिन्न भागमा तदारुकताका साथ यो सेवाको विस्तार गरेको छ । भिडियो कन्टेन्टको बढ्दो मागले गर्दा देशमा डेटा सेवाको बढ्दो उपभोग भइरहेको अवस्थामा ननस्टप युट्युब अफरको साथमा सुलभ दरमा आफ्ना ग्राहकलाई युट्युबमा पहुँच दिन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ । फोरजी अल टाइम अल नेटवर्क डेटासँग बण्डलिङ्ग तथा लोकप्रिय सामाजिक सञ्जाल फेसबुक र टिकटकको लागि निकै सुलभ दरमा थप डेटा सहितको यस अफरले ग्राहकलाई थप लाभ प्रदान गर्ने विश्वास एनसेलले लिएको छ । यस अफर अन्तर्गतको ननस्टप युट्युबको फाइदा लिन ग्राहकसंग एनसेल फोरजी सिम कार्ड, फोरजी चल्ने मोवाइल र एनसेलको फोरजी नेटवर्क कभरेज भित्र हुनु पर्दछ । आफ्नो थ्रिजी सिम कार्ड फोरजी सिममा अपगे्रड गरी नसकेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गएर आफ्नो सिम निःशुल्क अपग्रेड गर्न सक्नेछन् । साथै सिम अपगे्रड गर्नुहुने ग्राहकले थप १ जिबी डे प्याक डेटा निःशुल्क प्राप्त गर्नेछन् ।