बालबालिकालाई इन्टरनेटको दुरुपयोगबाट बचाउन अनलाइन वर्कशप सञ्चालनमा

काठमाडौं । बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेट र युनिसेफको आयोजनामा भर्चुअल वर्कसप आयोजना हुने भएको छ । ‘इभिडेन्स रिभ्यु, रिसर्च र एडभोकेसी अन चाइल्ड अनलाइन प्रोटेक्सन’ विषयमा ६ वटा भर्चुअल वर्कसप सञ्चालन हने चाइल्ड सेफनेटले जनाएको छ । यस भर्चुअल वर्कसपमा बालबालिका, अभिभावक, युवा, इन्टरनेट सेवा प्रदायक, सरोकारवाला तथा सरकारसँग छलफल गरिने सेफनेटले जनाएको छ । यसको उदेश्य अनलाइनमा बालबालिका तथा युवाहरुको सुरक्षामा सचेतना बढाउदै सरोकारवालाहरुको राय संकलन गर्न रहेको चाइल्ड सेफनेटका सञ्चालक अनिल रघवंशीले बताए । २०७७ साउन ३ गते (जुलाई १८, २०२० तारिख) देखि सञ्चालन हुने वर्कशप साउन १४ गते अर्थात २९ जुलाइसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । नेपालमा इन्टरनेट र यसको प्रयोग बढेसँगै बालवालिका विभिन्न किसिमले असुरक्षित बनिरहेको र गलत प्रयोगबाट समाजमा विभिन्न किसिमका नकरात्मक असरहरु देखिएको प्रति चाइल्डसेफ नेटले अभिभावक, वालवालिका र सरोकारवालाहरुको ध्यानाकर्षण गराउदै आएको छ । संस्थाले विभिन्न सचेतनामुलक कार्यक्रमहरु, अनलाइन कन्टेन्ट तथा भिडियो सामग्रीहरु प्रशारण, बालवालिका सम्वन्धी विभिन्न सर्वेक्षण गर्दै रिपोर्ट प्रकाशन गर्ने कामहरु गरिरहेको रघुवंशीले बताए । भर्चुअल वर्कसपको पहिलो सेसन साउन ३ गते(२० जुलाई) शनिवार आयोजना हुनेछ । साँझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुने यस वर्कसपमा बालबालिकाहरुको दृष्टिकोणमा सुरक्षित इन्टरनेटको प्रयोग वियमा बालबालिकासँग छलफल हुनेछ । कार्यक्रमको दोस्रो सेसन साउन ५ गते सोमबार आयोजना हुनेछ । यस सेसनमा अभिभावकको दृश्टिकोणमा बालबालिकाको स्क्रिन समय र साइबर सुरक्षा व्यवस्थापन विषयमा आमाबुबासँग छलफल गरिनेछ । यो सेसन साउन ५ गते साझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ । तेस्रो सेसन साउन ८ गते बिहिबार दिउसो २ देखि ३.३० बजेसम्म सञ्चालन हुनेछ । यस सेसनमा युवा व्यक्तिहरुको नजरमा अनलाइन, यौन दुर्व्यवहार र बालबालिका तथा युवाको शोषण बारेमा युवा व्यक्तिहरुसँग छलफल हुनेछ । चौथौ सेसन साउन १० गते शनिबार दिउसो २ देखि ३.३० बजेसम्म सञ्चालन हुनेछ । यस सेसनमा बालबालिका तथा युवाको नजरमा साइबर बुलिङ र हेट स्पीच विषयमा छलफल हुनेछ । यसैगरी पाचांै सेसन साउन १२ गते सोमबार साझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ । यसमा अनुचित अनलाइन सामग्री, बाल यौन दुर्व्यवहार र शोषन सामग्रीहरुको जोखिमको बारेमा दूरसञ्चार प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायकसँग छलफल गरिनेछ । छैठौ सेसन साउन १५ गते बुधबार साझ ४ देखि ५.३० बजेसम्म सञ्चालन हुनेछ । यस सेसनमा बालबालिका तथा युवालाई अनलाइन सुरक्षामा सरकारी भुमिका विषयमा सरोकारवाला तथा सरकारी अधिकारिहरुसँग छलफल गरिनेछ । कार्यक्रममा सहभागि जनाउन [email protected] मा इमेल गरेर मिटिङ आइडी तथा लिंक प्राप्त गर्न सकिनेछ । कार्यक्रममा उठेका विषय, चासो र संवोधनलाई एकिकृत गर्दै संस्थाले रिपोर्ट प्रकाशन गर्नेछ । यसअघि अनलाइनबाटै लिइएको सर्वेक्षणलाई पनि समावेश गर्दै रिपोर्ट प्रकाशन गरेर सम्वन्धित निकायमा गर्नपर्ने सुधार, योजना र कार्यक्रमहरुको लागि ध्यानाकर्षण गराइने आयोजकले जनाएको छ । कार्यक्रममा डिजिटल संवाद र लिभिङ विथ आइसिटीको सहकार्य र सहयोग रहेको छ ।

टेलिकमले पोस्टपेड मोबाइल र एफटीटीएच सेवामा ल्यायो विभिन्न अफर, कुनमा के के ?

काठमाडौं । नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा विभिन्न अफरहरु उपलब्ध गराएको छ । यी अफरहरु आज (मिति २०७७ साउन १ गते) देखि नै लागु भएका छन् । एफटीटीएच फाइबर टु द होम अर्थात एफटीटीएचलाई डाटा र कम्बो प्याक गरी थप ग्राहकमैत्री बनाइएको छ । क) डाटा प्याक यस अन्तर्गत २० र ५० एमबीपीएसका एक महिना, तीन महिना र १२ महिनाका लागि विभिन्न दरका प्याकहरु उपलब्ध गराइएका छन्: २० एमबीपीएसको एक महिनाको प्याक रु. १२००, तीन महिनाको रु. ३६०० र १२ महिनाको रु. १४,४०० मा उपलब्ध हुनेछ । ५० एमबीपीएसको एक महिनाको प्याक रु. १८००, तीन महिनाको रु. ५४०० र १२ महिनाको रु. २१,६०० मा उपलब्ध हुनेछ । ख) कम्बो प्याक यस अन्तर्गत १५, २५ र ६० एमबीपीएसको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध गराइएका छन् । १५ एमबीपीएसको एक महिनाको प्याक रु. १०००, तीन महिनाको रु. ३,००० र १२ महिनाको रु. १२,००० मा उपलब्ध हुनेछ । २५ एमबीपीएसको एक महिनाको प्याक रु. १५००, तीन महिनाको रु. ४,५०० र १२ महिनाको रु. १८,००० मा उपलब्ध हुनेछ । यसैगरी ६० एमबीपीएसको एक महिनाको प्याक रु. २०००, तीन महिनाको रु. ६,००० र १२ महिनाको रु. २४,००० मा उपलब्ध हुनेछ । प्रत्येक कम्बो प्याक अन्तर्गत एक महिनाको प्याकमा २५० मिनेट, तीन महिनाको प्याकमा ७५० मिनेट र १२ महिनाको प्याकमा ३,००० मिनेट भ्वाइस सेवा समावेश गरिएको छ । यसैगरी १२ महिनाको प्याक खरिद गर्दा थप २ महिना गरी १४ महिनासम्म प्रयोग गर्न सकिने समयावधि कायम गरिएको छ । पोस्टपेड मोबाइल नेपाल सरकारको निर्णयानुसार यही २०७७ साउन १ देखि लागु हुनेगरी स्वामित्व शुल्कमा परिमार्जन गरिएकोले हाल पोस्टपेड मोबाइलमा पहिलो पटक सिम खरिद गर्दा लागु भइरहेको रु. ५०० स्वामित्व शुल्क अब उप्रान्त नलाग्ने भएको छ । प्रत्येक नयाँ सिमकार्ड र रिचार्ज कार्ड खरिद तथा शुल्क भुक्तानीमा २ प्रतिशत स्वामित्व शुल्क लागु हुनेछ । सो अनुसार हाल नयाँ सिमकार्ड लिनका लागि रु. ९४५ लाग्ने गरेकोमा अब रु. ५०० मा नयाँ पोस्टपेड सिमकार्ड खरिद गर्न सकिने छ । रु. ५०० मा खरिद गरिने पोस्टपेड मोबाइलमा रु. ४६० क्रेडिट लिमिट रहने छ । पोस्टपेड मोबाइलमा जुनसकै माध्यम (रिचार्ज कार्ड, एमपोस, बैंक, कम्पनीको काउन्टर, स्मार्ट कार्ड आदि) बाट भुक्तानी गर्दा २ प्रतिशत स्वामित्व शुल्क लागु हुनेछ । पोस्टपेड मोबाइलमार्फत प्रदान गरिने विभिन्न सुविधाहरुलाई अझै ग्राहकमैत्री बनाउनका लागि एक महिना समयावधि भएका विभिन्न नयाँ प्याकहरु बनाइएका छन् । यस अन्तर्गत बेसिक प्याक रु. ३८४, प्रिमियम प्याक रु. ७४९, गोल्ड प्याक रु. ९९९, डायमन्ड प्याक रु. १४९९ र प्लाटिनम प्याक रु. २४९९ मा खरिद गर्न सकिन्छ । यी प्याकहरु ‘नेपाल टेलिकम एपु प्रयोग गरेर तथा *1415# डायल गरेर पनि प्राप्त गर्न सकिन्छन् । पहिलोपटक कम्पनीको एप प्रयोग गर्दा १०० एमबी डाटा निःशुल्कः उपलब्ध हुनेछ ।

सहरी विकासका कम्प्युटर अपरेटरले गरे नेपाल टेलिकमको सर्भर ह्याक

काठमाडौं । सहरी विकास तथा भवन कार्यालय धनकुटामा कार्यरत कम्प्युटर अपरेटरले नेपाल टेलिकमको सर्भर ह्याक गरेका छन् । कम्प्युटर अपरेटर दिवाकर देउजाले टेलिकमको सर्भर सिस्टममा प्रवेश गरी टेलिकमका प्याकेज प्रयोग तथा विक्री समेत गरेर आर्थिक लाभ लिएका छन् । आफ्नो सर्भर ह्याक भएको नेपाल टेलिकमले गत असार दोस्रो साता थाहा पाएको थियो । सर्भरमा अनधिकृत प्रवेश गरी कम्पनीलाई हानी नोक्सानी पुर्याएको भन्दै टेलिकमले गत असार १२ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा अनुसन्धानको लागि पत्राचार गरेको थियो । टेलिकमको यस्तो पत्र प्राप्त भएपछि सीआईबीले अनुसन्धान गर्दा धनकुटा जिल्ला पाख्रिबास नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भइ हाल धनकुटा नगरपालिका वडा नम्बर ४ बस्ने सहरी विकास तथा भवन कार्यालय धनकुटाका कम्प्युटर अपरेटर दिवाकर देउजा भएको पाइएको सीआईबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । ‘टेलिकमको पत्र प्राप्त भएपछि अनुसन्धान गर्दा सहरी विकास तथा भवन कार्यालय धनकुटामा कम्प्युटर अपरेटर पदमा कार्यरत दिवाकर देउजाले ह्याक गरेको पत्ता लाग्यो, उनलाई सीआईबीले पक्राउ गरी नेपाल प्रहरीको साइबर व्यूरो पठाएको छ, थप अनुसन्धान भइरहेको छ,’ सीआईबीका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक पाण्डेले भने । देउजाले नेपाल टेलिकमको मोबाईल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा बिक्री समेत गरी आफूले आर्थिक लाभ समेत लिई नेपाल टेलिकमलाई हानिनोक्सानी पुर्याकई कम्पनीको राजस्व तथा व्यावसायिक छविमा समेत गम्भीर क्षति पुर्याएको हुँदा कारबाही गरी पाउँ भनि नेपाल टेलिकमको २०७७ असार १२ गते सीआईबीमा पत्र पठाएकाे थियाे । पत्र प्राप्त भएपछि अनुसन्धानको सिलसिलामा ह्याकरले अनट्रयाकेबल इन्टरनेट प्रविधिको प्रयोग गरी अनाधिकृत रुपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक/पटक पहुँच बनाएको पाइएकाे सीअइबीकाे भनाइ छ । देउजामाथि विद्युतीय कारोबार ऐन अनुसार कारबाही चलाउने प्रहरीले जानकारी दिएको छ । ह्याकरले टेलिकमको सिस्टमभित्र प्रवेश गरी के कति आर्थिक लाभ वा टेलिकमलाई कति हानी नोक्सानी पुर्याए भन्ने बारेमा थप अनुसन्धानबाट खुल्ने सीआईबीको भनाइ छ ।