सजिलाे डाइन अर्थात डिजिटल क्यूआर मेन्यु
काठमाडाैं । विश्व बजार हिजो आज मानव रहित सुविधा वा डिजिटलाईज हुने क्रममा अघि बढिरहेको छ । बढ्दो प्रविधिको प्रयोग संगै हरेक क्षेत्रमा गरिने कामहरु छिटो छरितो र भरपर्दो सुविधाका लागि डिजिटल प्रविधि पछिल्लो समय तपाई हामीबीच लोकप्रिय हुदैंछ त्यसको एक उदाहरण हो- सजिलो डाइन डटकम । पछिल्लो समयको कोभिड–१९ ले सृजना गरेको महामारीकोबीच संचालमा आएको सजिलो डाइन होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरुमा सामाजिक तथा भैतिक दुरी कायम गर्दै वयेटर बिना आफ्लाई चाहेको मेन्यू अर्डर गर्न सकिने ई–मेन्यु हो । यसले उच्चतम प्रविधिको प्रयोग गर्दै होटल तथा रेस्टुरेन्टमा खाना तथा नास्ता गर्न जाने ग्राहक र सर्भिस कम्पनीलाई सहज हुनेगरी डिजिटल क्युआर स्क्यानर मेन्यू उपलब्ध गराएको छ । याे प्रयोग गर्न समेत एकदमै सहज र सरल छ । ग्राहकले आफ्नो टेबलमा रहेको क्युआर कोडलाई आफ्नो मोबाइलमा रहेको जुनसुकै क्यूआर स्क्यानरले स्यान गरी उक्त होटल तथा रेस्टुरेन्टमा उपलब्ध मेन्यूहरु आफ्नै मोबाइलमा देख्न र चाहेको परिकार तत्कालै अर्डर गर्न सक्नेछन् । ग्राहकले गरेको अर्डर सफ्वयरको माध्यमबाट सिधै सर्भिस दिने कम्पनीको एड्मिन र किचनमा पुग्दछ । जसले गर्दा ग्राहकले बेटर पर्खनु पर्ने झन्झटबाट मुक्त पाउने छन् भने अर्का तिर समयको बचत हुनेछ । कम्पनीका संचालकका अनुसार नेपालका बैंकिङ, शिक्षा, विमा, सपिङ सेन्टरहरु आदिमा रकम भुक्तानीको लागि प्रयोगमा आएको क्युआर स्क्यानर होटल तथा रेस्टुरेन्टको मेन्यू स्क्यानका लागि प्रयोगमा ल्याएको भने नेपालमा नै यो पहिलो पटक हो । हाल याे एप राजधानीका विभिन्न १ सय भन्दा बढि होटल तथा रेस्टुरेन्ट तथा पे.पे. पिज्जाका सबै शाखाहरुमा संचालमा आईसकेको छ । यसकाे प्रयाेग गर्नकाे लागि कुनै पनि होटल, रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रका व्यवसायीहरुले वार्षिक ३ हजारमा यसकाे प्रयाेग गर्न पाउने कम्पनीले जानकारी दिएकाे छ ।
इन्टरनेट सेवा विस्तारको तयारीमा सीजी कम्युनिकेशन
काठमाडौं । मोबाइल सेवा प्रदान गर्ने लाइसेन्स खारेज भएपनि चौधरी ग्रुप अन्तरगतको सीजी कम्युनिकेशनले इन्टरनेट सेवा विस्तारको तयारी थालेकोे छ । मोबिलिटी सेवाको अनुमतिपत्र खारेज भएको उक्त कम्पनीले फाइबर मार्फत इन्टरनेट सेवा सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माणको कार्य अगाडि बढाएको छ । अहिले सिजी कम्युनिकेसन बनेको तत्कालिन एसटीएम कम्पनीलाई मन्त्रिपरिषदबाटै निर्णय गरेर प्रदान गरिएको युनिफाइड लाइसेन्स खारेज भएपनि सिजीले इन्टरनेट सेवा प्रदान गर्न पाउने लाइसेन्सका आधारमा सो कार्य अघि बढाएको नेपाल दूरसंचार प्राधिकरण स्रोत बताउँछ । कम्पनीले इन्टरनेट सेवा सञ्चालनका लागि काठमाडौंमा आवश्यक पूर्वाधार तयारी अवस्थामा राखेको जानकारी आएको प्राधिकरणले जनाएको छ । कम्पनीको युनिफाइड लाइसेन्स खारेज भएपनि सीजीसँग इन्टरनेट सेवा प्रदायकको लाइसेन्स थियो । ‘सोही लाइसेन्सको प्रयोग गरी फाइबर मार्फत सेवा प्रदान गर्न लागेको हामीलाई जानकारी आएको छ, लाइसेन्स पाएको हुँदा प्राधिकरणमा जानकारी गराउँनै पर्छ भन्ने वाध्यता छैन्, आधिकारीक रुपमा जानकारी नआएपनि मौखिक रुपमा विस्तारको तयारी भएको जानकारी आएको छ,’ स्रोतले भन्यो । प्राधिकरण स्रोतका अनुसार सीजीले फाइबर इन्टरनेट सञ्चालनमा ल्याउने तयारी स्वरुप प्वाइन्ट टु प्वाइन्ट फाइबर कनेक्सन, अप्टिकल लाइन, राउटर लगायतका आवश्यक उपकरण खरिद प्रक्रिया अगाडी बढाएको छ । दूरसञ्चार सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज भएको सीजी पब्लिक कम्पनीको रुपमा दर्ता भएको छ । कम्पनीले केही समय अगाडी मात्र कम्पनी रजिष्ट्रारको कार्यालयबाट पब्लिक कम्पनीको अनुमति लिइसकेको छ । ग्रामीण क्षेत्रका ३४ जिल्लामा सिमित मोबाइल सेवा संचालन गर्ने अनुमति पाएर २०६० सालमा एसटीएम टेलिकम स्थापना भएको थियो । सो कम्पनीलाई पुस्पकमल दाहाल नेतृत्वको सरकारले २०७४ जेठ तेस्रो साता युनिफाइड लाइसेन्स दिएको थियो । तर, दूरसंचार प्राधिकरणले २०७६ साल माघ १९ गतेदेखि लागू हुने गरी एसटीएमको युनिफाइड लाइसेन्स खारेज गरिदिएको थियो । सोही कम्पनी अहिले सिजी कम्युनिकेसन भएको हो ।
गरिमा विकास बैंकले शुरु गर्यो ‘रहनुहोस् होसियार’ अभियान
काठमाडौं । गरिमा विकास बैंकले ‘रहनुहोस् होसियार’ नामक अभियान शुरु गरेको छ । राष्ट्रिय स्तरको बैंकले समग्र बैकिङ्ग प्रणालीमा बढ्दो इन्टरनेट फ्रड/फिसिङ्गबारे जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक संजालबाट एक महिने लामो अभियान शुरु गरेको हो । यस अभियान अन्तर्गत हरेक दिन यस बैंकले इन्टरनेट फ्रड/फिसिङ्ग सम्बन्धित विभिन्न चेतनामूलक साम्रागीहरु आफ्नो सबै सामाजिक संजालबाट प्रकाशित गर्दै आईरहेको छ । चिट्ठा परेको छ भन्दै बैंकिङ्ग विवरण मागेर मोबाईल बैकिङ्ग मार्फत हुने ठगी र अरुलाई आफ्नो बैकिङ्ग विवरण दिँदा हुने नोक्सानी सम्बन्धमा विभिन्न पोष्ट, अडियो र भिडियो मार्फत बैंकले चेतनामूलक सूचना फैलाईरहेको छ । यस अभियान अन्तर्गत गरिमा विकास बैंकको आईटी विभागले आफ्ना सम्पूर्ण कर्मचारीलाई नियमित रुपमा प्रशिक्षण समेत गरिरहेको छ । बैंकले हाल ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु एवं ५१ एटीएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिँदै आईरहेको छ ।