अब खल्तीबाट एपबाट पिइएको शुल्क तिर्न सकिने
काठमाडौं । इन्जिनियरिंगको प्रवेश परीक्षा तयारी गर्ने विद्यार्थीले पिइए एसोसिएसनको शुल्क खल्तीडिजिटल वालेटबाट तिर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने सम्बन्धी पिइएसँग सम्झौता गरेको छ । खल्तीका ग्राहकले खल्ती बजारमा रहेको पिइए एसोसिएसनको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । यस्तै पिइएको वेवसाइटबाट पनि विद्यार्थीले यो सुविधाको उपयोग गर्न सक्नेछन् । पिइए एसोसिएसनले इन्जिनियरिंग पढ्न चाहने विद्यार्थीहरूलाई प्रवेश परीक्षा तयारमा सघाउँदै आएको छ । ‘खल्ती डिजिटल वालेटबाटै विभिन्न शुल्क तिर्न सक्ने भएपछि विद्यार्थीलाइ पिइएको सुविधा लिन निकै सहज हुने छ,’ पिइएका सूचना प्रविधि अधिकृत आर्जन बास्कोटाले बताए । खल्तीमार्फत पिइए अनलाइन कक्षा, पुस्तकलगायतका सामग्रीहरू, परीक्षा र अग्रिम बुंकिंगको शुल्क तिर्न सकिनेछ ।
इन्टरनेट स्लो भएको दोष टिकटकलाई, नियामक भन्छः लकडाउनमा शतप्रतिशत बढ्यो प्रयोग
काठमाडौ । इन्टरनेट गति कम भयो भन्दै उपभोक्ताले गुनासो गरिरहेका बेला सेवा प्रदायकले भने यसको दोष सामाजिक संजाल टिकटकलाई दिएका छन् । केही दिनयता टिकटकको प्रयोगकर्ता बढेसँगै त्यसले इन्टरनेटको गतिमा असर गरेको गुनासो सेवा प्रदायकहरुले गरेका हुन् । एक सातादेखि इन्टरनेटमा ट्राफिक बढेको त्यसमा खासगरी टिकटक प्रयोगकर्ताहरुको संख्यामा ह्वात्तै वृद्धि भएको सेवा प्रदायकहरु बताउँछन् । इन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुका प्रबन्ध निर्देशक सुधीर पराजुलीका अुनसार इन्टरनेटको गति पहिलो लकडाउन (चैत ११ गतेदेखि) घटेको भएपनि लकडाउन खुकुलो भएसँगै सामान्य अवस्थामा आएको थियो । तर, पछिल्ला केही दिनयता टिकटकको प्रयोगकर्ताको संख्यामा वृद्धि हुदाँ अब जरुरी काम समेत गर्न नमिल्ने होकि भन्ने अवस्था आएको पराजुली बताउँछन् । ‘ग्राहकलाई हामीले आवश्यक कामका लागि इन्टरनेटको प्रयोग गरेर लाभ उठाउन अनुरोध गर्छाैं, अहिलेको यो विषम परिस्थितिको बेला ठूला एप्लिकेसन, अनलाईन गेम, हाइ क्वालिटी भिडीयो तथा अनावश्यक प्रयोग सकेसम्म गर्नु हुदैन, त्यस्ता प्रयोगले आवश्यक तथा कार्यालयको काममा समेत असर पर्न सक्छ’, प्रबन्ध निर्देशक पराजुलीले भने । ‘तत्काल गति बढाउन सम्भव छैन’ इन्टरनेटको गति वर्तमान अवस्थासम्म प्रयोगकर्ताहरुको मागमा नै भर पर्ने सेवा प्रदायकको भनाइ छ । यसको मतलब प्रयोगकर्ता कम भएको बेलामा इन्टरनेट सामान्य अवस्थामा चल्छ, प्रयोग बढी भएको समयमा गति सुस्त हुन्छ । सेवा प्रदायकहरुले व्याण्डविथ बढाएको अवस्थामा मात्रै इन्टरनेटको गति सुध्रिन्छ । तर त्यसका लागि आवश्यक उपकरणहरु समेत थप्नुपर्ने भएकाले केही समय लाग्ने सेवा प्रदायकहरुले बताएका छन् । अहिलेको विषम परिस्थितिमा पनि इन्टरनेट सेवालाई निरन्तरता दिन आफूहरुले सक्दो प्रयास गरिरहेको सेवा प्रदायकहरु बताउँछन् । इन्टरनेट सेवाको शुल्क भुक्तानीका लागि डिजिटल माध्यम अपनाउन सेवा प्रदायकहरुको अपिल छ । नियामक पनि टिकटकलाई दोष दिदै दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकण (एनटीए) का अनुसार अन्य एपहरु लोकल व्याण्डविथको माध्यमबाट चल्ने तथा टिक टक भने अन्तर्राष्ट्रिय व्याण्डविथको माध्यमबाट चल्ने भएकाले यसमा लकडाउनको प्रभाव इन्टरनेटको गतिमा देखिएको छ । यद्यपि ग्राहकले खरिद गरेअनुसारको क्षमताको इन्टरनेट प्रवाह गर्नु सेवा प्रदायकको कर्तव्य भएको प्राधिकरणको भनाइ छ । ‘ग्राहक र सेवा प्रदायकहरुले इन्टरनेट लिने बेलामा नै सम्झौता गरेका हुन्छन्, आफूले खरिद गरेको क्षमता अनुसारको इन्टरनेटमा के चलाउने भन्ने कुरा ग्राहकको सरोकारको कुरा हो, टिकटक होस् वा अन्य कुनै माध्यमबाट इन्टरनेटको डिमाण्ड हुनु भनेको त राम्रो कुरा हो, ग्राहकसँगको सम्झौता अनुसारको इन्टरनेट दिनु सेवा प्रदायकको कर्तव्य हो,’ प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले विकासन्यूजसँग भने । प्राधिकरणले सेवा प्रदायकलाई ग्राहकको हकलाई प्राथमिकतमा राखेर अघि बढ्दा समस्याको समाधान हुने बताएको छ । प्राधिकरणले दिएको जानकारी अनुसार लकडाउन अघि कुल व्याण्डविथको ७ प्रतिशत हिस्सा मात्रै टिकटकमा प्रयोग हुन्थ्यो । कोरोना महामारीको कारण भएको लकडाउनको समयमा टिकटकले कुल इन्टरनेटको करिब १४ प्रतिशत हिस्सा ओगटेको थियो । अहिले केही दिनदेखि उक्त प्रतिशत समेत अत्याधिक बढ्न पुगेको प्राधिकरण बताउँछ । सो बढेको प्रतिशतको आँकडा भने प्राधिकरणले निकाल्न केही दिन लाग्ने बताएको छ ।
बुवाको मुख हेर्ने दिनको अवसरमा टेलिकमले ल्यायो सस्तो मूल्यमा ‘ह्याप्पी लर्निङ प्याक’
काठमाडौं । नेपाल टेलिकमले सस्तो मूल्यमा ह्याप्पी लर्निङ प्याक ल्याएको छ । टेलिकमले बुवाको मुख हेर्ने दिन (कुसे औंसी) को अवसरमा कार्यान्वयन हुने गरी पठनपाठनमा उपयुक्त हुने उक्त प्याक ल्याएको हो । निकै सस्तो मूल्यमा उपलब्ध हुने सो प्याकेजबाट विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनको माध्यमबाट प्रभावकारी रुपले सञ्चालन गर्न सकिने टेलिकमले जनाएको छ । सो प्याकेज अन्तर्गत ३१५ रुपैयाँमा २४ जीबी र ५०० रुपैयाँमा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई-लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यसैगरी, ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई-लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ । प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा पठाउनु पर्नेछ । सिफारिश प्राप्त भएका नम्बरलाई कम्पनीले एसएमएसमार्फत सन्देश पठाएर प्याकेज खरिद गर्न सुचना दिनेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *1441# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनौट गरी प्याकेज खरिद गर्न सकिने छ । ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत प्रयोग गर्न सकिने छ । यो प्याकेज आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ । विद्यार्थी अफर अन्तर्गत *1600# मा डायल गरी सिम रजिष्ट्रेसन गरेका एसईईका विद्यार्थीहरुले पनि नेपाल टेलिकमको आफ्नो सिमकार्ड भएको मोबाइलबाट *1441# डायल गरी ह्याप्पी लर्निङ प्याक खरिद गर्न सक्नेछन् ।