प्रधानमन्त्री ओलीले अनलाइनबाटै खोले नेपाल र सिद्धार्थ बैंकमा खाता, सवारी कर पनि अनलाइनबाटै तिर्न सकिने
काठमाडौं । आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले चौथो सूचना प्रविधि दिवस मनाएको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई मध्येनजर गर्दै मन्त्रालयले अनलाइनमार्फत नै साे दिवस मनाएको हो । सूचना प्रविधि दिवसको अवसरमा सरकारले विभिन्न कार्यक्रमहरुको सुभारम्भ गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अनलाइनमार्फत नेपाल र सिद्धार्थ बैंकमा खाता खोलेका छन् । अब सर्वसाधारणले पनि अनलाइनमार्फत नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सक्नेछन् । यस्तै, प्रविधि दिवसको अवसरमा नागरिक एपको पनि आज औपचारिक रुपमा शुरुवात गरिएको छ । यस्तै, सरकारले आजैदेखि फाइभ जीको परीक्षण शुरुवात गरेको छ । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री अनलाइनबाटै अब सवारी साधनवापतको कर बुझाउन सकिने गरी सेवा शुरुवात गरिने जानकारी दिए । यो सेवा कानून पारित भएसँगै त्यसको पनि शुरुवात गरिने जानकारी दिए । यस्तै, नेपाल टेलिकमको डिजिटल पेमेन्ट ‘नमस्ते पे’को पनि परीक्षण शुरुवात गरिएको मन्त्री गुरुङले बताए । उनले अब अब पत्रकारहरुले पनि अनलाइनमार्फत नै सूचना तथा प्रसारण विभागको पास नवीकरण गर्न सकिने बताएका छन् ।
कर्मचारीमा कोरोना देखिएपछि दूरसञ्चार प्राधिकरणको सबै सेवा अनलाइनमार्फत सुरु
काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रवाह हुने सबै सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ । प्राधिकरणमा कार्यरत आठजनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको हो । प्राधिकरणले एक सूचना जारी गरी अर्काे सूचना जारी नहुँदासम्म हाल हुँदै आएका सम्पूर्ण कार्य अनलाइनमार्फत हुने जनाएको हो । प्राधिकरणका प्रवक्ता सन्तोेष पौडेल प्राधिकरणबाट प्रवाह हुँदै आएका सेवाका लागि सेवाप्रदायक कम्पनीहरुले अनलाइनमार्फत जानकारी गराउनुपर्ने बताउँछन् । ‘हामीले अनुमतिपत्र प्राप्त सबै सेवा प्रदायक कम्पनीलाई प्राधिकरणबाट हुने कार्यका लागि सहजीकरण गर्छौं । यसअघि हुँदै आएको सबै नियमित कामहरु यथावत् हुन्छ । आवश्यक कामका लागि प्राधिकरणको इमेलमा अनलाइनमार्फत जानकारी गराउनुपर्ने हुन्छ’, उनले भने । ‘प्राधिकरणको सेवा सञ्चालन मार्गदर्शन, २०७७ मा उल्लेख भएअनुससार बढीमा एक तिहाइ कर्मचारीको उपस्थितिमा सेवा प्रदान गर्ने भन्ने व्यवस्था भए तापनि हाल प्राधिकरणका आठ जनाभन्दा बढीमा कोरोना देखिएको छ । अन्य कर्मचारीमा सङ्क्रमण अझ बढ्न सक्ने भएकाले कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमणलाई ध्यानमा राख्दै आजदेखि प्राधिकरणबाट हुने सबै काम ‘वर्क फर्म होम’को व्यवस्थाअनुसार मिलाइएको हो’, प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ । प्रवक्ता पौडेलका अनुसार घरबाटै काम गर्ने कर्मचारीहरुले बिहान १० देखि बेलुका ५ बजेसम्म अनलाइनमा बसी अफिस अटोमेशन सिस्टमबाट काम गर्ने व्यवस्था मिलाइएको छ । उनले घरबाटै काम गर्ने कर्मचारीले ई–हाजिरी प्रणालीमार्फत अनिवार्य रुपमा हाजिर गर्नुपर्ने बताए । यदि कार्यालयलाई आवश्यक परेको खण्डमा महाशाखा प्रमुखको निर्देशनमा भौतिक रुपमा उपस्थित भई कार्यालयको कामकाज गर्नुपर्ने छ । रासस
अब नेपाल टेलिकमको डाटा, भ्वाइस तथा एसएमएस प्याक खल्ती वालेटबाटै किन्न सकिने
काठमाडौं । नेपाल टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाईल एपबाटै किन्न सकिने भएको छ । खल्ती डिजिटल वालेटबाट खरिद गर्दा आफ्नो नम्बरका साथै अरूको मोवाइल नम्बरका लागि समेत खरिद गर्न सकिने छ । नेपाल टेलिकमको प्याक किन्न खल्ती एपको होमस्क्रिनमा रहेको डाटा प्याकभित्र गइ चाहेको प्याक छनौट गरेर खरिद गर्न सकिने छ । यसरी नेपाल टेलिकमको विभिन्न प्याकको शुल्क कति पर्छ भनेर सहजै थाहा पाउने छन् । नेपाल टेलिकम र खल्ती डिजिटल वालेटबीच यस सम्बन्धि सम्झौतापत्रमा नेपाल टेलिकमका निर्देशक मिनु प्रधान र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका छन् । खल्तीका सहायक प्रबन्धक जोनाम भूर्तेल ग्राहकको आवश्यकता बुझी नेपाल टेलिकमको डाटा प्याकलाइ मोबाइल एपमै ल्याएका बताउँछन् । ‘अब ग्राहकले आफ्नो मात्र नभई आफ्नो परिवार तथा साथीहरुको लागि पनि प्याक खरिद गरिदिन सक्ने छन्,’ उनले भने, ‘यसले गर्दा प्याक कहाँबाट किन्ने थाहा नहुनेहरुलाई र डायल गर्नुपर्ने विभिन्न कोडले गर्दा झण्झट मान्नेहरूलाई समेत सजिलो भएको छ ।’ नेपाल टेलिकमका १२ देखि ३ हजार रूपैयाँसम्मका प्याक खल्तीमा उपलब्ध छन् । ग्राहकले एपमा पैसा लोड गरी वा ‘खल्ती’ एपमा बैंक खाता लिंक गरी सिधै बैंकबाट सबै प्याकको भुक्तानी गर्न सक्नेछन् ।